५ सयको डोको पसले अहिले महलमा : राजस्व मात्रै डेढ करोड बुझाउँछन्
बुटवल – नाम : ध्रुव न्यौपाने । उमेर : ४० । ठेगाना : गुल्मी छत्रकोट गाउँपालिका–१, साविक हुँगा गाविस ९ झेदी । पेसा : १५ वर्षको उमेरदेखि डोकोमा बोकेर किराना पसल । सफलता : जम्मा ५ सय लगानीमा डोकोबाट सुरु गरेको पसल २५ वर्षको दौरानमा डिपार्टमेन्ट स्टोरसम्म । वार्षिक कारोवार : २५ करोड ।
उनै भरियाका अहिले साढे तीन सय जना कामदार । आफ्नै कम्पनी, आफ्नै भवन र गाडीहरू । जीवनशैली : उही भरिया हुने ताकाकै । कामदारसँगै मेसमा खान, उनीहरू जतिकै मजदुरी । मालिक र कामदार चिन्नै गाह्रो ।
उतिबेलाको पहिचान : डोको पसले । अहिलेको पहिचानः पैँचो पसल प्रालि बलेटक्सार गुल्मीका एमडी । सोही स्थानमा प्रधान कार्यालय । बुटवल र गुल्मीको सदरमुकाममा शाखा डिपार्टमेन्ट स्टोर । पहिलो पटक पैँचोकै कृषि प्रशोधन केन्द्र सञ्चालन र दर्जनभन्दा बढी सुविधा सम्पन्न होटल पौवा प्रालिमा लगानी ।
०००
एक समयको डोकेको अहिले अवस्था यस्तो ? भनेर नपत्याउनेहरू पनि होलान् तर प्रत्यक्ष हेर्दा नपत्याई सुखै छैन । पहाडमा पाइने कृषि उत्पादन कुहिएर खेर जाने आरूदेखि अमिलो (निबु)सम्म, अदुवादेखि अलैँची, अम्रिसोसम्म ।
सिन्की–गुन्द्रुकदेखि सुकेसागसम्म । अब नबिकेर किसानले खेर फाल्ने कुन ? मकैदेखि कालो कोदोसम्म बनाइँदै कालो सुन । पैँचोको डिपार्टमेन्ट स्टोरमा सबै प्रकारका खाद्य वस्तु, सहरिया कपडालत्तादेखि शृङ्गारको सामानसम्म । उनै छोरा डोकोदेखि महलसम्म, वृद्धा आमा पर्छिन् अचम्म ।
सङ्घर्ष र सफलताको कथा
बाबु आमा र १३ जना दाजुभाइ, दिदीबहिनीसहित १५ जनाको परिवार थियो । सामान्य किसान परिवारका थिए उनीहरू । घर चलाउन मुस्किल परेपछि बाबु भारतको मजदुरीमा हिँडेका थिए । ७ दिदीबहिनी र ६ दाजु भाइको पालन पोषण र पठन पाठनमा चरम आर्थिक अभाव आइपरेपछि घरमा अलि टाठो स्वभावका साइँला छोरा धुर्ब न्यौपानेले एक रात गहिरोसँग सोचे, मैले त्यो अभाव टार्न के गर्न सक्छु भनेर ।
उनी त्यतिबेला कक्षा ७ मा पढ्दै थिए । अन्ततः त्यो अल्लारे उमेर त्यसरात उनी आफैलाई लागेको अल्लारे निर्णयलाई बिहानीको झुल्के घामसँगै कार्यान्वयनमा ल्याउन उनले घरको नाम्लो र डोको जुटाए । आमासँग ५ सय रूपैयाँ मागे । आमालाई पत्यार लागेन । त्यो ५ सय आमाबाट खुस्काउन बढो मुस्किल पर्यो ।
धेरै पटकको आनाकानीपछि उनले आमालाई विश्वास दिलाएर त्यो ५ सय रूपैयाँ लिएर डोको बोक्दै लागे घरदेखि ३ घण्टा ओराले हिँडेर पुगिने बडिगाडखोला पारि उल्ली खोला बजारमा । चिनी–चियापत्तिलगायतका किराना सामान किनेर त्यही डोकोमा बेकेर ल्याए घरमा । घरमा आई टिनका बाकसहरू खोजे । काठका फलेकहरू जुटाएर पसल राख्न सुरु गरे ।
पसल त सुरु गरे तर गाउँमा बढी मात्रमा उधारो जाने, टिकाउन मुस्किल पर्यो उनलाई । त्यत्रो परिवार धान्न १२ वटा भैँसी त्यति नै मात्रामा बाख्रा र गाई गोरु पालिएको थियो । घाँस दाउरा गर्नका गाह्रोले धौंले साहुजी बन्न थालेको छ भनेर दाजुभाइ दिदी बहिनीहरूको टोकासो पनि सुन्नुपथ्र्यो उनले ।
त्यसका बाबजुद पनि एसएलसी गर्ने बेलासम्म उनले त्यस किराना पसललाई टिकाइराखेर पढाइ खर्च आफ्नो मात्र होइन अरू दाजुभाइ दिदीबहिनीहरूको पनि पुर्याउन सफल भए ।
टहरामा चाउमिनबाट दोस्रो यात्रा
१८ वर्षको हुँदा हुँगाकै जनजागृति माध्यमिक विद्यालयबाट एसएली पास गरेपछि माइलो दाजु लक्ष्मण न्यौपाने काम गर्न हिँडेको स्थान कैलालीको टीकापुरतिर हिँडे उनी । त्यहाँ पुगेपछि जेटीए पढ्दै र सानो एउटा टहरामा खाजा पसल खोलेर चाउमिन र चाउचाउ पकाउन थाले । दुबै दाजुभाइलाई भ्याई नभ्याई भयो ।
पहाडी चिसो मौसम रहेको गुल्मीबाट बढी नै गर्मी हुने तराई टीकापुरमा असिनपसिन हुँदै चुलोमा खट्ने ती दुई भाइले नसोचेकै आम्दानी लिन थाले । त्यसका ८,९ महिनापछि सिद्धार्थ बिजनेस ग्रुपमा आबद्ध भए । क्रमिक रूपमा त्यस ग्रुपमा धेरै जना युवाहरू आबद्ध भए । रेस्टुरेन्टसहित त्यस गु्रपले १४ वटा कम्पनी सञ्चालन गर्न सुरु गर्यो ।
तेस्रो यात्रा
२०७० सालसम्म आइपुग्दा त्यस ग्रुपको पुँजी झण्डै एक अर्ब पुग्यो । त्यस ग्रुपमा उनका दाजु लक्ष्मणसहित १६ जना थिए । सोही सालमा उनले आफ्नो गाउँ र त्यहाँको कृषिउपज सम्झे । गाउँको कृषि उपजलाई बजारीकरण गर्ने सोच बनाए । ग्रुपमा प्रस्ताव राखे ।
साथीहरूमध्ये धेरैले मानेन । केही साथीहरूसहित उनी आफूले पाउने साढे तीन करोड रकम लिएर उनी बाहिरिए । अन्ततः उनले आफ्नो सोच कार्यान्वयन गर्न जन्मथलो गुल्मी फर्किए । गाउँमा पहिल्यैदेखि प्रचलनमा रहेको एैचो–पैँचो प्राणालीलाई उनले प्रयोग गरे ।
हिजो गाउँको कोदो मकै र घिउ तत्कालीन बटौली खसौलीमा नुन चिनी तेलसँग साट्न जान्थे पुर्खा भने यही गाउँमै उनीहरूले साट्न पाए भने उनीहरूलाई सजिलो मात्रै नभएर कृषि उत्पादनले प्रोत्साहनसमेत पाइन्छ भन्ने सम्झेर गुल्मीको व्यापारिक केन्द्रमध्येको एक बलेटक्सारमा २०७० सालमा पैँचो पसल प्रालि सञ्चालनमा ल्याए ।
कालो कोदोसमेत बन्यो कालो सुन
फलतः किसानले उचित मूल्य पाउन नसकेका कोदो मकै, तरकारीदेखि त्यतिकै सडेर जाने गरेका खनियाका गेडो बेडुँला,अम्बा (बेलौती) आरुबखडा, फर्सी र काँचा आँपलेसमेत उनको त्यस पैँचो पसलमा उचित मूल्य पाउन थाल्यो । उनको त्यस पैँचो पसलमा किसानलाई दैनिक उपभोग्य सबै वस्तु उपलब्ध गराए ।
खाद्यन्न, पेय पदार्थदेखि कपडा लत्ता र शृङ्गारका सामग्रीसम्म उनको डिपार्टमेन्ट स्टोरमा उपलब्ध भएपछि घरमा पालेको कुखरा बोकेर वा साग–सब्जी बोकेर चेलीबेटीहरूको चुरा डोरीमा समेत भीड लाग्न थाल्यो । बाँडेर, केटाकेटीहरूले चोरेर सकिने आरु, काक्रा समेत नगदमा परिणत भयो ।
ती वस्तुहरूका प्रचलित बजार मूल्य र किसानका ती सबै खाले उत्पादनको पनि बजार मूल्य निर्धारण भई किसान र पैँचो पसलबीच आदन प्रदान हुन थाल्यो । १ करोडबाट सुरु गरेको त्यस पैँचो पसलको अहिलेको कारोबार ५ वर्ष पूरा नहुँदै २५ करोडभन्दा बढीको हुन पुगेको छ ।
अर्को फड्को
त्यति मात्र होइन उनले फलफूल, तरकारी र अन्य खाद्यान्न प्रशोधन केन्द्रसमेत पश्चिम नेपालमा पहिलो पटक रिडीमा सञ्चालनमा ल्याएका छन् । जहाँ विभिन्न प्रकारका अचार, जाम, चुकलगायत र मकै र कोदाको पीठो पिसान गरी प्याक गरेर देशैभर बजारीकरण गरेका छन् । उनले चीनबाट कोदो पिस्ने मिल मगाएर कालो कोदोलाई यति बेला कालो सुन बनाएका छन् ।
हरेक गाउँमा कोदो र मकै खोज्न भ्याई नभ्याई छ उनका एजेन्टहरूलाई । पहाडी जिल्लाका हरेक अर्गानिक खाद्य वस्तु के चाहिने हो खोज्न त्यहाँ पुग्दा रित्तो हात फर्किनु पर्दैन । सिन्की, गुन्द्रुक चाहिने हो कि भटमास, गहत चाहिने हो कि झिलिङ्गे (सिल्थुङ्ग) र मासकको दाल । लोकल टमाटर चाहिने हो कि मरौटी, तितौरा (मस्यौरा), टिमुर, मरिच, दूध दही, मह, अन्य साग सब्जी, जडीबुटी, मसलाजन्य वस्तु के चाहिने हो ? गाउँमा उत्पादित सबैथोकको भण्डारण हो पैँचो पसल प्रालि र पैँचो प्रशोधन केन्द्र ।
कृषिउपजसहित होटल पौवा प्रालि पनि
उनले प्रदेश ५ को रूपन्देहीको भैरहवमा, सालझण्डी, कपिलवस्तु गोरुसिंहे, दाङ लमही, बाँकेको नेपालगञ्ज, सुर्खेत, सल्यान, तानसेनदेखि जुम्ला जस्तो दुर्गम क्षेत्रसहित १४ वटा स्थानमा सञ्चालित होटल पौवा प्रालि ग्रुपमा समेत लगानी गरेका छन् । उक्त होटलललाई स्टार होटलमा परिणत गर्दै पोखरा र काठमाडौँमा समेत विस्तार गर्ने तयारी भइरहेको न्यौपानेली बताए ।
उनै भरियाका अहिले साढे तीन सय कामदार
कुनै समय डोकोमा किराना सामानको भारी बोक्ने र गाउँबासीले समेत दुई चार रूपैयाँ दिएर सरसमान किन्न पठाउने उनै भरियाले अहिले साढे तीन सय कर्मचारी कजाउँछन् । उनीहरूसँगै मेसमा खान खान्छन्, सँगै काम गर्छन् ।
रिडीस्थित प्रशोधन केन्द्रको फ्याक्ट्रीमा पुग्दा कुन मालिक कुन कामदार छुट्याउन गाह्रो हुन्छ । उनको व्यक्तिगत बैङ्क खाता छैन । सय रूपैयाँ चाहिए पनि आफ्नो पारिश्रमिकबाट कटाउने गरी एकाउन्टेनसँग माग्छन् ।
श्रीमान श्रीमतीनै किसानकै शैलीमा काम गर्छन् । तरकारी, फलफूल केलाउ छन् । लाड अनलोडमा पनि आफै कस्सिन्छन् । गुल्मीसहित विभिन्न जिल्लाका १२ हजारभन्दा बढी किसानहरूसँग उनले कारोवार गर्छन् । ४ सय जना अगुवा कृषकले दैनिक प्रत्यक्ष स्वरोजगार बनेका छन् ।
यस आर्थिक वर्षमा मात्र उनले किसानबाट तरकारी, फलफूलजन्य वस्तु दाल र अन्य खाद्यान्न खरिद गरेको बताउँछन् । त्यसबाट किसान, स्वयम् उनको पैँचो पसल प्रालिलाई मात्र फाइदा भएको छैन । एउटा युवा व्यवसायीले राज्यलाई वार्षिक एकदेखि डेढ करोडसम्म राजस्व बुझाउँछन् ।