शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय

गाउँपालिकाले दियो ३६६ जनालाई रोजगारी

बुधबार, ०४ पुस २०७५, ०९ : १५
बुधबार, ०४ पुस २०७५

पर्वत — महाशिला गाउँपालिकाले एकै पटक ३६६ जनालाई रोजगारी दिएको छ । गाउँपालिकाले ‘एक घर, एक रोजगारी’ कार्यक्रममार्फत रोजगारी दिन थालेको हो । 

गाउँपालिकाले १५ दिन खटाइएको ठाउँमा स्वयंसेवकको रूपमा काम गर्ने तथा १५ दिन घरमै बसेर उत्पादनमा समय खर्चने योजनासहित रोजगारी प्रदान गरेको हो । गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीका अनुसार सबैभन्दा बढी २२० जनालाई सडक स्वयंसेवकको रूपमा रोजगारी दिइएको छ ।

उनीहरुले सडक मर्मत, स्तरोन्नतिलगायतका काम गर्नेछन् । बीस जनालाई शिक्षक स्वयंसेवक बनाइएको छ भने २७ जनालाई विद्यालय स्वयंसेवक बनाएर गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा खटाइनेछ ।

गाउँ प्रहरीको रूपमा ३४ जनालाई गाउँरक्षक स्वयंसेवकको रूपमा रोजगारी दिइएको छ । यस्तै १० जनालाई विद्युत् स्वयंसेवक, १० जनालाई प्लम्बर, पाँच जनालाई सहकारी स्वयंसेवक, ११÷११ जनालाई कृषि र पशु स्वास्थ्य स्वयंसेवक, पाँच जनालाई जनस्वास्थ्य स्वयंसेवक तथा ६ जनालाई सामाजिक परिचालकको रोजगारी दिइएको छ । 

गाउँपालिकाले पहिलो चरणमा ३७० जनालाई सीपमूलक तालीमसहित ‘महासिला विकास स्वयंसेवक’का रूपमा भर्ना गरे पनि दोस्रो चरणमा सीपमूलक तालीमसहित ३६६ जनालाई छनोट गरिएको प्रमुख प्रशाकीय अधिकृत किसान क्षेत्रीले बताए । महाशिला गाउँपालिकामा दुई हजार २०० भन्दाबढी परिवार बसोबास गर्दै आएका छन् । गाउँपालिकाका अध्यक्ष राजु पौडेल १५ दिनसम्म गाउँपालिकाले खटाएको काम गरेपछि मासिक रु ६ हजार तलब दिइने बताउँछन । “गाउँपालिकाभित्र आवश्यक पर्ने शिक्षकदेखि सबै जनशक्ति तयार गर्न यस्तो अवधारणा अघि सारिएको हो,” उनले भने, रोजगारी पाएका सबैको न्यूनतम रु पाँच लाख बराबरको दुर्घटना बीमा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप