केन्द्रीय संस्करण

अभिभावकको पेसाले छोराछोरीको मनोविज्ञानलाई नकारात्मक असर गर्छ ?

person explore access_timeपुस ३, २०७५ chat_bubble_outline0

–हारवार्ड बिज्नेस रिभ्यु, स्टेवार्ट डी फ्रायडम्यान

वयस्कहरूको कामले तिनका छोराछोरीहरूको मनोविज्ञानमा कस्तो असर गर्छ ? यो प्रश्न धेरै पहिलेदेखि उठ्ने गरेको छ । 

यही प्रश्नमा केन्द्रित रहेर दुई दशकअघि ड्रेक्सेल विश्वविद्यालयका जेफ ग्रिनहो र म मिलेर एक सर्वेक्षण गर्यौं । लगभग ९०० व्यापारिक व्यवसायीहरू माझ गरिएको उक्त सर्वेक्षणलाई आधार बनाएर हामीले काम र पारिवारिक जीवनबीचको सम्बन्ध खोज्यौं । २५ देखि ६३ वर्ष उमेरका ती व्यवसायीहरू विभिन्न व्यवसायमा संलग्न थिए । उक्त अध्ययनले जीवनका यी दुई महत्त्वपूर्ण पक्षहरू मित्र र शत्रु दुवै रहेको देखिएको छ । 
समाजमा पछिल्लो समय मानसिक स्वास्थबारे चासो बढिरहेको छ । यो सकारात्मक कुरा हो । यस्तोमा अभिभावकको करियरले बालबालिकाको मनोवैज्ञानिक जीवनलाई कसरी असर गर्छ भन्ने अध्ययनबाट निस्किएको निष्कर्षहरूलाई मनन गर्दा फाइदा नै हुन्छ । 

यस अध्ययनको निष्कर्षले अभिभावकहरू डिजिटल माध्यममा व्यस्त रहँदा बालबालिकालाई  नकारात्मक असर पर्छ भन्ने हाम्रो अर्को अध्ययनलाई व्याख्या गर्न सहयोग गर्छ । साथै काममा हुने तनावले पारिवारिक जीवनमा हानिकारक असर गर्छ भन्ने तथ्यलाई पनि पुष्टि गर्छ । 

अभिभावकको रोजगारीले बालबालिकामा पर्ने असरबारेमा भएका अधिकांश अनुसन्धानले परिवारकी आमाले काम गरेको छ कि छैन भन्ने ख्याल गरेको हुन्छ ? त्यस्तै अभिभावकहरू पूरा समय काम गर्छन् कि पार्ट–टाइम काम गर्छन् भन्ने पनि खोजको विषय हुन्छ ? यी अध्ययनमा महत्त्व दिइने अन्य कुरामा अभिभावकले काममा खर्च गर्ने समय, बालबालिकाको जीवनको कुन अवधिमा अभिभावक रोजगार थिए भन्ने पर्छन् ।

हामीले उल्लेखित पक्षको अतिरिक्त केही महत्त्वपूर्ण पक्षलाई समेटेर हेर्यौं । हामी दुईले आफ्नो अनुसन्धानमा काममा अभिभावकको अनुभवलाई विशेष महत्त्व दियौं ।  

त्यसका अतिरिक्त करियर र परिवारलाई अभिभावकले दिएको महत्त्व, कामको तनावले पारिवारिक जीवन गर्ने हस्तक्षेप (अर्थात भौतिक रूपमा परिवारसँग बसेको बेला पनि कामबारे सोच्ने कार्य), पेसामा भावनात्मक सहभागिताको मात्रा आदिलाई पनि हामीले अध्ययनमा समावेश गर्र्यौं । काममा समन्वयको वातावरण र काममा आफूले भनेको हुने आदि कुरालाई पनि अनुसन्धानमा ख्याल गरिएको थियो । 

वयस्कहरूको पेसागत जीवनका यी सबै पक्षहरूको तिनका बालबालिकाहरूको व्यवहारगत समस्यासँग सम्बन्ध भएको पाइयो ।

दुर्भाग्यबस बालबालिकाको मानसिक स्वाथ्यमा परिवारले पार्ने असरको अनुसन्धानमा आजको मितिसम्म अभिभावकको कार्यस्थलको अनुभव ( काममा विताएको समय होइन) प्राथमिकतामा नै परेको छैन । यसलाई प्राथमिकता दिइनुपर्छ किनकि यो बालबालिकाको स्वास्थ्यमा असर पार्ने एक अर्को माध्यम हो । 

हामीले गरेको अनुसन्धानको मुख्य अंश तल प्रस्तुत छ ।

आमाबाबु दुवै रोजगार हुँदाको असर

हामीले बालबालिकाको मनोवैज्ञानिक स्वास्थ्य तब उच्च भएको पायौं जब बाबु र आमा दुवैले परिवारलाई पहिलो प्राथमिकता दिनुपर्छ भन्ने विश्वास गरेका थिए । यसमा तिनले काममा बिताएको समयको असर थिएन । 

अभिभावकले आफ्नो कामलाई चुनौतीपूर्ण, सिर्जनात्मक र आनन्दात्मक रूपमा लिँदा त्यसले बालबालिकाको मनोविज्ञानमा राम्रो गरेको पाइयो । यसमा पनि तिनले काममा दिने समयले केही फरक पारेको देखिएन । 

त्यस्तै हामीले बालबालिकाहरू तब बढी खुसी भएको देख्यौँ जब तिनका अभिभावक भौतिक रूपमा आफ्ना छोराछोरीसँगै हुन सक्थे । 

बाबुको रोजगार अनुभवको सन्तानमा असर

पिताहरूले अत्यधिक समय पेसाबारे सोचेर बिताउँदा बालबालिकामा भावनात्मक समस्या देखिने सम्भावना देखियो ।  यसमा पनि उनीहरूले लामो समय काम गरेको नगरेकाले भने फरक पारेको देखिएन । 

पिताले परिवारसँग समय बिताउँदा र आराम गर्दाको समयमा कामबारे सोच्दा पनि बालबालिकाको भावनात्मक र व्यवहारगत अवस्थामा नकारात्मक असर गरेको देखियो । अर्कोतर्फ आफ्नो कामबाट सन्तुष्ट पिताको छोराछोरीहरूमा तुलनात्मक रूपमा कम व्यवहारगत समस्या देखिए । यसमा पनि काममा खर्चिएको समयले भने असर नपारेको देखियो । 

आमा जागिरे भएको अवस्थामा 

आमाको हकमा कार्यक्षेत्रमा कायम समझदार वातावरण र त्यहाँ तिनले भनेजस्तो हुने अवस्थाले बालबालिकामा राम्रो प्रभाव पार्ने देखियो । साथै आराम र आफ्नै स्याहारमा बढी समय खर्चने र घरको काममा कम समय दिने आमाका बालबालिकाहरूमा बढी सकारात्मक परिणाम देखियो । 

यो सकारात्मक असर आमाहरू घरमा हुने कि काममा भन्ने कुरामा होइन, तिनले कामबाहेकको समयमा घरमा कसरी समय बिताउँछन्, त्यसमा भर पर्ने पनि अनुसन्धानले देखायो । 

आमाहरूले आफ्नो स्याहारका लागि बालबालिकासँग नरहँदा पनि त्यसको कुनै नकारात्मक असर देखिएन । तर आमाहरू कामबाट फर्किएर घरको काममा व्यस्त हुँदा भने भने छोराछोरीहरू व्यवहारगत समस्याले घेरिने सम्भावना बढी देखियो । 

निष्कर्ष 

हामीले यो अध्ययन सञ्चालन गरेदेखि आमा र बाबुका परम्परागत भूमिका निश्चित रूपले बदलाव आएको छ । तर पनि अझै महिलाले बालबालिकाको हेरचाह गर्ने र हुर्काउने जिम्मेवारीको ठूलो मनोवैज्ञानिक भार बोकिरहेकी छन् ।

हाम्रो अध्ययनले आमाले घरको अतिरिक्त काममा समय खर्चनुभन्दा आफ्नो स्याहारसुसारमा समय दिँदा तिनका बालबालिकाको हेरचाह गर्ने क्षमता बढेको देखियो । 

पिताहरूले छोराछोरीलाई तब मनोवैज्ञानिक रूपमा सकारात्मक असर गराएको पाइयो जब उनीहरू भौतिक रूपमा उपस्थित हुन सक्थे । साथै पिताले आफ्नो काममा दक्ष र सहज मानेको अवस्थामा बालबालिकाको मनोवैज्ञानिक स्वास्थमा सकारात्मक असर परेको देखियो ।

यो अध्ययनको सुसमाचार भनेकोे अभिभावकले आफ्ना कामकाजी जीवनका उल्लेख्खित पक्षहरूमा केही हदसम्म फेरबदल ल्याउन सक्छन् । 

हाम्रो अध्ययनको एक आश्चर्यजनक निष्कर्ष के रह्यो भने अभिभावकले आफ्ना छोराछोरीहरूसँग विताउने समयले बालबालिकाको मानसिक स्वास्थमा त्यति असर नगरेको देखियो । 

त्यसैले पेसाले आफ्ना छोराछोरीमा पर्ने प्रभावबारे हामी चासो दिन्छौँ भने हामीले हाम्रो पेसा र छोराछोरीमध्ये कसलाई महत्त्व दिइरहेका छौं भन्ने ख्याल गर्नुपर्छ । यो त्यति गाह्रो कुरा पनि होइन । साथै हामीले आफ्ना छोराछोरीसँग भौतिक र मनोवैज्ञानिक उपस्थित हुनका लागि केही सिर्जनशील तरिका अपनाउन गर्न सक्छौं । फेरि उपस्थिति धेरै समयका लागि हुनुपर्छ भन्ने पनि होइन । मुख्य कुरा उनीहरूसँग उपस्थित हुँदा हामी कति उनीहरूलाई ध्यान दिन्छौं भन्ने कुरामा निर्भर गर्छ ।  

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...