सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

तीन दर्जन पुलको नालीबेली : पप्पुभन्दा कम छैनन् अन्य ठेकेदार

मङ्गलबार, ०३ पुस २०७५, १० : १०
मङ्गलबार, ०३ पुस २०७५

बुटवल– प्रदेश ५ को अस्थायी राजधानी रुपन्देही जिल्लामा सडक जस्तै तीन दर्जन पुल पनि निर्माणकै क्रममा छन् ।

निर्माण प्रक्रियामा रहेका ठूला पुल ठूलै ठेकेदारले जिम्मा पाएका छन् । ठूलो ठेकेदार चुनिन राम्रो ग्रेडको लाइसेन्स पाएका ठेकेदारहरूले यहाँको पुल निर्माणमा भने चरम लापरवाही गरेका छन् ।
ठूला ठेकेदारको ठूलै सम्बन्धले सम्झौता भएको ८ वर्षसम्म पनि पुल भने बनेका छैनन् । 

६९ सालमा निर्माण सम्पन गुर्नपर्ने कतिपय पुल अहिलेसम्म सकिएका छैनन्, जसले गर्दा नागरिकहरू मारमा परेका छन् । ‘सार्वजनिक खरिद ऐनमा टेकेर नियमन गर्ने पक्षले उल्टै ठेकेदारलाई ढिलाइ गर्ने परम्पराको नमुना यहाँको पुल निर्माणको ढिलाइले देखाउँछ । ठेकेदारलाई पैसा र समयपछि दुवै थप तर जनतालाई सधैँ समस्या छ’, पारदर्शी सरोकार केन्द्र बुटवलका अध्यक्ष तथा अधिवक्ता महेन्द्र पाण्डेयको आक्रोश छ ।

तिनाउ नदीले विभाजन गरेको रुपन्देहीको मणिग्राम र मोतिपुर जोड्ने गरी आठ वर्षअघि पक्की पुल निर्माण सुरु गरियो । उक्त पुल दुई वर्षमा सक्ने गरी एलिट कन्स्ट्रक्सन प्रालीसँग २०६७ असार २५ गते ठेक्का सम्झौता भयो ।

यो पुल आजसम्म पनि निर्माण सकिएको छैन, जसले तिलोत्तमा नगरपालिकाका बासिन्दाको हैरानी लम्बिँदै गएको छ । यो पुलको दुईवटा पिलर बनाएर तेस्रोको निम्ति जग खन्दा जमिनमुनि चट्टान भेटिएपछि निर्माण रोकिएको डिभिजन सडक कार्यालय बुटवलको दाबी छ । यो पुलको निर्माण लागत १० करोड ३८ लाख रुपैयाँ थियो ।

अचम्मको कुरा त के छ भने कम्पनीले ५ करोड २८ लाख ७७ हजार भुक्तानी लगिसकेको छ । दुईवटा पिल्लर ठड्याएकालाई ४२ प्रतिशत काम सम्पन्न भएको सडक डिभिजनको प्रचार छ । २०६७ असार २५ गते ठेक्का सम्झौता भएर ०६९ साल असार २४ गते सक्नुपर्नेमा यो पुल निर्माणका लागि पुनः ०७२ असार २४ गते म्याद थप गरियो तर पनि काम सकिएको छैन । 

सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर रामपुकार जयसवालले ४२ प्रतिशत निर्माण पूरा भएपछि पिल्लरको जगमै समस्या देखिएर काम रोकिएको बताए ।

अहिले पुलका लागि बनाइएका तीनवटा पिल्लर तिनाउ बगरमा ठिङ्ग उभिएका छन् । यसरी पुल निर्माणको काम बीचमै अलपत्र परेको उदाहरण यो मात्र होइन ।

२०३८ सालमा तिनाउ नदीमा आएको बाढीले बुटवलको नयाँबजार र पुरानो बजार जोड्ने पुल्चोकको पक्की पुल बगायो । पुल बगेपछि विच्छेद भएको वारिपारिलाई झोलुङ्गे पुल निर्माण गरी जोडिए पनि सवारी आवतजावत हुन सकेन । यहाँको निर्माणाधीन पुल पनि आधामै रोकियो । पुरानो बुटवलको विकासका लागि महत्त्वपूर्ण मानिएको यो पुल डिजाइनमै समस्या देखिएको भन्दै रोकिएको हो ।

चार वर्षअघि निर्माण सकिनुपर्ने उक्त पुलको ५१ प्रतिशत काम पूरा भएपछि बल्ल डिभिजन सडक कार्यालयले डिजाइनमा कमजोरी देखाएको हो । 

इन्जिनियर मेघबहादुर केसीले पुलको पश्चिमतर्फको पिल्लरको जग झोलुङ्गे पुलको जग र पर्खालसँग जोडिएकाले डिजाइन परिवर्तन गरिएको जानकारी दिए ।

यो पुलका लागि बज्रगुरु रायमाझी जेभीले ६ करोड ७२ लाखमा ठेक्का सम्झौता गरेको थियो । उक्त पुलको तेस्रो पटक थपिएको म्याद गत असार २५ गते सकिएको छ । 

रुपन्देहीका तिनाउ, दानव, कञ्चन, रोहिणी, कजरार, सियारी, भलुही, घाघरा, घोडाहालगायत खोलामा ३१ वटा पुल निर्माणाधीन छन् । 

अधिकांश पुल ठेकेदार कम्पनीको ढिलासुस्ती, डिजाइनमा कमजोरी र बजेट अभावले वर्षौंदेखि अलपत्र छन् ।

पर्याप्त बजेट नहुँदा निर्माणमा प्रगति हुन नसकेको डिभिजन सडक कार्यालयका प्रमुख ई. मेघराज मरासेनीले दाबी गर्छन् । भन्छन्– ‘कतिपय पुलका ठेकेदारलाई कारवाही पनि गरेका छौँ ।

रुद्रपुर बनकसियाघाट जोड्ने कञ्चनीय पुलको तेस्रो पटक थपिएको म्याद २०७३ कात्तिकमा सकियो । २०७१ असारमै पूरा गर्ने गरी बोखिम शान्ति जेभीले २०६९ मा उक्त पुलको निर्माण ठेक्का लिएको थियो ।

कम्पनीले ३ करोड ७५ लाखको लागतमा ठेक्का सम्झौता गरेको थियो । त्यसमध्ये २ करोड १३ लाख रुपैयाँ भुक्तानी लगिसकेको छ । पुलको निर्माण भने ५६ प्रतिशत मात्र पूरा भएको छ ।

ठेकेदारलाई उल्टै सरकारको क्षतिपूर्ति 

कतिपय ठेकेदारहरूले पुल समयमा सम्पन्न गर्नुको सट्टा उल्टै समय थप्ने र रकम पनि थप्ने गरेका छन् । सम्झौता उल्लङ्घन गर्ने कम्पनीलाई दुई सय दिनको समयावधिमा काम सक्न निर्देशन दिई सम्झौताको १० प्रतिशत हर्जना तिराउने नियम छ । तर निर्माण कम्पनीले विभिन्न बहाना देखाउँदै उल्टै क्षतिपूर्तिसमेत लिने गरेका छन् ।

यस्तै नयाँगाउँ दुर्गानगर जोड्ने पुल ०७१ असार २१ गते नै सकिनेगरी ०६९ असार २२ गते लुम्बिनी बिल्डर्ससँग ठेक्का सम्झौता भए पनि हालसम्म जम्मा ६९ प्रतिशत मात्रै काम भएको छ । आयोजनाले ठेकेदार कम्पनीसँंग तेस्रो पटक ०७५ मङ्सिर २२ गते सक्नेगरी सम्झौता गरेको छ । ६ करोड ६४ लाखको सम्झौता भए पनि ठेकेदार कम्पनीले  ५ करोड ६० लाख रुपैयाँ भुक्तानी लगिसकेको छ ।

 त्यसैगरी सिसवा कोलुवा खड्वा बनगाई जोड्ने पुल ०७१ असार ३१ गते ९ करोड ६० लाखमा सम्झौता भए पनि हालसम्म जम्मा ३२ प्रतिशत काम भएको छ । मृत सञ्जीवनी, देव एन्ड सायर जेभीले ठेक्का पाएको उक्त पुल निर्माण तेस्रो पटकको ०७५ असोज ७ गते नै सकिएको छ । तर पनि पुल निर्माणले भने गति लिन सकेको छैन ।

निर्माण कम्पनीको तेस्रो पटक थप गरिएको म्याद यही असोज ७ गते सकिसकेको छ । 

०७२ साल साउनमा आएको बाढीले बुटवलको हात्तीसुढ देवीनगर जोड्ने झोलुङ्गे पुल बगाएपछि निर्माण थालिएको पक्की पुल निर्माणको काम  ७० प्रतिशत पूरा भएको छ । 

लुम्बिनी/अरनिको/एसियाटिक जेभीले १० करोड ४६ लाखको लागतमा निर्माण सुरु गरेको कम्पनीले सम्झौताअनुसार ०७४ फागुन ६ गते सक्नुपर्ने भए पनि तेस्रो पटकको म्याद यही फागुन ६ गतेसम्मका लागि थपिएको छ । निर्माण कम्पनीले हालसम्म ९ करोड रुपैयाँ भुक्तानी लगिसकेको छ ।

रुपन्देहीकै रामापुर भुमरीमा ०७३ साल असार २८ गते ४ करोड ९१ लखमा पुल बनाउने सम्झौता भए पनि निर्माण कम्पनी बाबुल निर्माण सेवाले अहिलेसम्म पुलको निर्माण कार्य सम्पन्न गरेको छैन । सम्झौताअनुसार उक्त कम्पनीले ०७४ चैत १३ गते सक्नुपर्ने भए पनि हालसम्म जम्मा ८१ प्रतिशत मात्रै काम गरेको छ भने ४ करोड ७२ लाख रुपैयाँ भुक्तानी लगिसकेको छ ।

त्यस्तै सियारी कम्हारियामा निर्माणधीन पुलको काम जम्मा २७ प्रतिशत भएको छ । ०७३ साउन ३० गते ६ करोड ८४ लाख रुपैयाँमा सम्झौता भए पनि कामले गति लिन सकेको छैन । मैनाचुली सिद्धि साई अन्जना जेभीले ०७५ साउन ३३ गते सक्नेगरी सम्झौता गरेको थियो । अहिले डिजिभन कार्यालय उक्त कम्पनीसँग म्याद थप भने अझै गरेको छैन ।

०७२/०७३ को ठेक्का नं. ९२ अनुसार भलुही मदरहानी सैनिक सडकमा निर्माण थालेको पुलको काम जम्मा ६८ प्रतिशत सकिएको छ । ६ करोडको लागतमा निर्माण भइसकेको उक्त पुल एसियाटिक अरनिको एन्ड भीम जेभीले लिएको छ । 

एउटै कम्पनीलाई आधा दर्जन पुलको जिम्मा

रुपन्देहीमा  ठूला र चलेका ठेकेदारको ठूलासँगै उठबस भएपछि एउटै कम्पनीले आधा दर्जन पुलको जिम्मा पाएका छन् । अधिकांश कम्पनीले दुईदेखि पाँचवटा पुल निर्माणको जिम्मा पाएका छन् । एउटै कम्पनीलाई एकभन्दा धेरै पुलको जिम्मा दिँदा पनि निर्माण प्रभावित बनेको सरोकारवालको भनाइ छ । सीमित जनशक्ति र उपकरणले एकै सिजनमा धेरै ठाउँमा काम गर्दा सबै पुलको निर्माणमा ढिलाइ भएको बताइन्छ । रुपन्देहीका निर्माणाधीन पुलमध्ये दुईवटा निर्माण कम्पनीले १० वटाको ठेक्का पाएका छन् । मृत सञ्जीवनी निर्माण सेवा हेटौंडा र अर्घाखाँची बाबुल निर्माण सेवा सिद्धार्थनगरले ५/५ वटा पुलको ठेक्का पाएका हुन् । बाबुलले पाँचवटा पुलमा अर्घाखाँचीसँग मिलेर ठेक्का लिए पनि दुईवटा पुलमा एक्लैले ठेक्का लिएको छ । मृत सञ्जीवनीले दुईवटा पुलमा देव एन्ड सायरसँग मिलेर ठेक्का लिएको छ । एसियाटिक, लुम्बिनी र स्वच्छन्दले अरू कम्पनीसँग मिलेर दुईभन्दा बढी पुलको ठेक्का लिएका छन् ।

कति काम कति रकम  

निर्माणाधीन रहेका ३१  पुलमध्ये कति रकम लगेका छन् । कति प्रतिशत काम सम्पन भएको छ । सडक कार्यालयका अनुसार यस्तो देखिन्छ । 

पूर्वधारमा निर्माणमा फड्को मारेको रुपन्देहीमा पुल निर्माणको काम सुस्त गतिमा भइरहे पनि ठेक्का लगाउने क्रम भने रोकिएको छैन । सम्झौता म्याद नाघेर कतिपय पुलहरू निर्माणकै क्रममा पनि छन् ।

दानव नदीमा दयानगर छपिया सडक खण्डमा निर्माण भइरहेको पुल निर्माण सम्पन्न गर्नुपर्ने समय जम्मा ४ महिना मात्र बाँकी छ । निलगिरी नेसनलले  ८ करोड ५० लाख रुपैयाँमा ठेक्का लिएको उक्त पुलको काम अहिले जम्मा १५ प्रतिशत मात्र पूरा भएको छ । ०७३ साल असार ३० गते सम्झौता भएर ०७५ फागुन १५ गतेको म्याद भए पनि यो पुल पनि समयमै सम्पन्न हुने देखिएको छैन । ठेकेदारले १५ प्रतिशत काम हुँदा  ३ करोड ९६ लाख रुपैयाँ भने भुक्तानी लगिसकेको छ ।

कजरार खोलाको केराबारी भेटवार पुल अहिले निर्माणको क्रममा छ । ०७३ असार २७ गते सम्झौता भएको यो यही असोज २२ गते निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ । ६ करोड ६३ लाखमा मैनाचुली सिद्धी साई अन्जना जेभीले निर्माण गरेको यो पुलको हालसम्म ४६ प्रतिशत काम सम्पन्न भइसकेको छ । उसले ४ करोड रुपैयाँ भुक्तानी लगिसकेको छ ।

चम्कीपुर सेमलार जोड्ने पुल ०७३ असार २७ गते निर्माणका लागि सम्झौता भएर मृत सञ्जीवनी निर्माण सेवाले  ११ करोड ८३ लाखमा निर्माण सम्झौता गरेको उक्त पुल निर्माण ०७६ वैशाख १२ गते सम्पन्न गर्नुपर्ने भए पनि कामको प्रगति २२ प्रतिशत भएको छ ।

कञ्चन खोला सालझण्डीमा निर्माणाधीन पुल निर्माणको काम जम्मा ४८ प्रतिशत सम्पन्न भएको छ । बाबुल निर्माण सेवाले ०७३  असार २८ गते निर्माण सम्झौता गरेर पुल निर्माण थालेको थियो । सम्झौताअनुसार यही पुस १३ गते म्याद सकिने भए पनि काम भने तीव्र गतिमा हुन सकेको छैन । 

८ करोड २९ को लागतमा निर्माण सम्झौता भएको यो पुल निर्माणका लागि कम्पनीले ४ करोड रुपैयाँ भुक्तानी लगिसकेको छ ।

कञ्जन नदीस्थित गँजेडी रुद्रपुर जोड्ने पुल निर्माण अहिले धमाधम भइरहेको छ । रायमाझी कन्ट्रक्सन प्रालि सामाखुसी, काठमाडौंले  ६ करोड २१ लखमा निर्माण सम्झौता गरेर यही माघ १९ गते सक्नेगरी तेस्रो पटक म्याद थप गरेर काम भइरहेको छ । ०७२ साल साउन ३ गते निर्माण सम्झौता भएर ०७३ माघ ३ गते सक्नुपर्ने भए पनि म्याद थप गरेर यही माघ १९ गते सक्नुपर्ने हुन्छ । तर निर्माणको काम भने ७१ प्रतिशत मात्रै भएको छ ।

देवदह र तिलोत्तमा भाटा मत्रहर जोड्ने पुल निर्माणको काम ४८ प्रतिशत भएको छ । नागार्जुन कन्ट्रक्सन कम्पनीले ०७३ असार ३० गते १० करोड रुपैयाँमा निर्माणका लागि सम्झौता गरेको छ । फागुन १५ गते सक्ने अन्तिम समय अवधि भए पनि यो पुल निर्माण आधा मात्र भएको छ । निर्माण कम्पनीले ६ करोड ७४ लाख रुपैयाँ भुक्तानी भने लगिसकेको छ ।

यता एक वर्षअघि निर्माण सम्झौता गरेर काम सुरु गरेका पुलहरूको निर्माण प्रगति पनि सन्तोषजनक देखिँदैन । ०७४ मा सम्झौता भएका अधिकांश पुल ०७६÷०७७ सम्म सकिसक्नु पर्नेमा यी पुलहरूको निर्माण प्रगति औसतमा जम्मा ३० प्रतिशत मात्र भएको छ । देवदह वडा नं. १० मा निर्माण थालेको पुल निर्माणको काम ४४ प्रतिशत भएको छ । अर्घाखाँची निर्माण सेवाले ०७४ जेठ ४ गते सम्झौता गरेर ०७६ जेठ १९ गतेको समय सीमा पाएको छ । ५ करोड ३० लाखको लागतमा यो पुलको निर्माण भइरहेको छ ।

त्यस्तै चिलिया मैनहियामा निर्माणाधीन पुलको काम अहिलेसम्म ४ प्रतिशत भएको छ । ०७४ असार १५ गते मृत सञ्जीवनी निर्माण सेवाले  ११ करोड ७० लाख रुपैयाँमा निर्माण सम्झौता गरेको थियो । ०७६ फागुन २९ गते निर्माण सक्ने समयावधि पाएको उक्त कम्पनीले अहिलेसम्म जम्मा ४ प्रतिशत काम गरेको छ भने  १ करोड ६० लाख रुपैयाँ रकम लगिसकेको छ ।

०७६ माघ १३ गते निर्माण सक्ने गरी कर्साघाट सैनामैना सेमलार जोड्ने पुल निर्माणका काम अहिले जारी छ । अर्घाखाँची बुलुुबुल जेभी सिद्धार्थनगरले ०७४ असार २९ गते सम्झौता गरी १३ करोड २८ लाखको लागतमा निर्माण सुरु गरेको यो पुलको जम्मा अहिलेसम्म १० प्रतिशत मात्र काम भएको छ । कम्पनीले  १ करोड ७५ लाख रुपैयाँ रकम लगिसकेका छन् ।

तिनाउ नदीमा एसआरएम लखनचोकमा निर्माणाधीन पुलको काम १० प्रतिशत भएको छ । निर्माण कम्पनी मृत सञ्जीवनी निर्माण सेवाले यो पुल निर्माणको ठेक्का ०७४ असार २९ गते सम्झौता गरेको थियो । कुल २२ करोड ५८ लाखमा ठेक्का भएको यो पुल ०७७ पुस १३ गते सकिसक्नुपर्नेछ । १० प्रतिशत काम हुँदा ठेकेदार कम्पनीले  ६ करोड १७ लाख रुपैयाँ रकम भने लगिसकेको छ ।

दानव नदीस्थित तामनगर सेमलार जोड्ने पुल भर्खर मात्र सुरु भएको छ । ०७४ असार २९ गते सम्झौता भएको उक्त पुल निर्माणको काम अर्घाखाँची बुलबुल जेभीले पाएको छ ।  १६ करोड २४ लाखको लागतमा निर्माणाधीन पुल ०७७ साउन १३ गते सक्नुपर्ने अन्तिम समय छ । हाल पुलको २ प्रतिशत मात्र काम पूरा भएको छ भने १ करोड ४३ लाख रुपैयाँ लगिसकेको छ ।

रोहणी नदीको निरर्चिहवा १ र २ जोड्ने पुल निर्माणको काम अहिलेसम्म १७ प्रतिशत सम्पन्न भएको छ । अर्घाखाँची बुलबुल जेभीले १७ करोड २० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको यो पुल ०७७ असार १३ गते सकिसक्नुपर्ने समय छ । निर्माण कम्पनीले हालसम्म ७ करोड रुपैयाँ लगिसकेको छ ।

त्यस्तै गौरीखोलास्थित सिसापुर भवानीपुर पुल निर्माणको काम जारी छ । प्राकृतिक जनसेवा जेभीले ०७४ असार ९ गते निर्माण सम्झौता गरेको यो पुलको काम अहिलेसम्म ४९ प्रतिशत पूरा भएको छ ।  ५ करोड ९५ लाखको लागतमा निर्माण भइरहेको यो पुल ०७६ असार २३ गते सकिसक्नुपर्ने समय अवधि छ । ४९ प्रतिशत काम गरेको निर्माण कम्पनीले हालसम्म ३ करोड २५ लाख रुपैयाँ रकम लगिसकेको छ ।

०७६ असोज ४ गते सकिसक्नुपर्ने सम्झौता अनुसार अहिले सिद्धार्थनगर नगरपालिका वडा नंं ११ सिसहवामा पुल निर्माणको काम भइरहेको छ ।  एसीटीक इन्जिनियरले ८ करोड ३६ लाखमा सम्झौता गरेको यो पुल निर्माणको सम्झौता ०७४ असार २० गते भएको छ । निर्माण कम्पनीले २७ प्रतिशत काम पूरा गर्दा  ३ करोड ५५ लाख रुपैयाँ भुक्तानी लगिसकेको छ ।

देवदह मायादेवी पार्कमा निर्माणाधीन पुल निर्माणको काम अहिलेसम्म ४६ प्रतिशत सकिएको छ । लुम्बिनी प्राकृतिक जेभीले ०७४ असार २९ गते निर्माण सम्झौता गरेको थियो । कुल ९ करोड २४ लाखको लागतमा निर्माणाधीन पुल ०७६ पुस १३ गते सक्नुपर्ने समय अवधि रहेको छ । निर्माण कम्पनीले हालसम्म  ६ करोड रुपैयाँ भुक्तानी लगिसकेको छ ।

त्यस्तै बुटवलको वडा नं. १३ र १५ जोड्ने पुल निर्माणको काम अहिलेसम्म २७ प्रतिशत पूरा भएको छ । शाहचन्द्रा लुम्बिनी जेभीले  १२ करोड ८१ लखको लागतमा निर्माणाधीन पुल सम्झौता अनुसार ०७७ जेठ १४ गते सकिसक्नुपर्ने अवधि छ । ०७४ असार ३० गते सम्झौता भएको उक्त पुल निर्माणका लागि निर्माण कम्पनीले हालसम्म  ३ करोड ३१ लाख रुपैयाँ भुक्तानी लगिसकेको छ ।

सैनामैना देवपुरमा निर्माण भइरहेको पुल निर्माणको काम ५४ प्रतिशत भएको छ । अर्घाखाँची बुलबुल जेभीले ०७४ असार ३० गते निर्माण सम्झौता गरेको थियो । कुल ७ करोड ९५ लाखको लागतमा निर्माणाधीन पुल ०७६ असोज १३ गते सकिसक्नुर्ने समय अवधि छ । निर्माण कम्पनीले भने हालसम्म  ४ करोड ९६ लाख रुपैयाँ भुक्तानी लगिसकेको छ ।

त्यसैगरी ०७७ वैशाख १४ गते सक्ने गरी  बुटवल मैनाबगर र बुटवल ११ जोड्ने पुल निर्माणको काम भइरहेको छ । काठेपुलबाट आवतजावत गर्दै आएकोमा यो पुल निर्माण भएपछि मैनाबगरसँगको दूरी अझ नजिकिनेछ भने बाइपासका लागि समेत पुल आवश्यक ठानिएको छ । बज्रगुरु निर्माण कम्पनीले  १२ करोड ६८ लाखको लागतमा निर्माण सम्झौता गरेको यो पुल भर्खर मात्र सुरु भएको हो । ०७४ असार ३० गते सम्झौता भएको यो पुल निर्माणको काम बल्लतल्ल १ प्रतिशत मात्र भएको छ । निर्माण कम्पनीले हालसम्म  १ करोड १२ लाख रुपैयाँ भुक्तानी लगिसकेको छ । 

हाटिबनगाई मर्चवारमा निर्माण भइरहेको पुल ३३ प्रतिशत सम्पन्न भएको छ । दिया निर्माण सेवाले ०७४ असार २९ गते निर्माण सम्झौता गरी काम थालेको थियो । ६ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको पुल ०७६ साउन १३ गते सक्नुपर्ने अन्तिम समयअवधि रहेको छ । ३३ प्रतिशत काम हुँदा निर्माण कम्पनीले हालसम्म ३ करोड रुपैयाँ लगिसकेको छ ।

त्यस्तै तिलकपुर रामनगर जोडने पुल हालसम्म ८ प्रतिशत मात्र पूरा भएको छ । नागार्जुन कन्स्ट्रक्सन कम्पनीले ९ करोड १३ लाखको लागतमा यही माघ १५ गतेसम्म सक्नुपर्ने गरी सम्झौता गरेको थियो । तर काम भने कछुवाको गतिमा भइरहेको छ । 

सैनामैना ११ पाल्पा सडकमा निर्माणाधीन पुलको काम ४८ प्रतिशत भएको छ । स्वछन्द महेश प्रदीप जेभीले  ५ करोड ७९ लाखमा निर्माण सुरु गरेको यो पुल ०७६ चैत १२ गतेसम्म सक्नुपर्ने अन्तिम समय छ । ०७४ असार २८ गते सम्झौता भएको उक्त पुल निर्माण गर्दा कम्पनीले हालसम्म २ करोड ४० लाख रुपैयाँ लगिसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप