सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘सात सालदेखि ०७५ सम्म : यस्तै हो भने काँग्रेस विघटन हुन्छ’

मङ्गलबार, ०३ पुस २०७५, ०९ : ३९
मङ्गलबार, ०३ पुस २०७५

काँग्रेस महासमिति बैठकमा एकताको नाटक रचिने कुरा नैलो होइन  । धेरै पछाडिको कुरा होइन, केही दशक अगाडि मात्र पनि कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले हात मिलाएर हामी मिल्यौँ भनी कार्यकर्ता झुक्याए । यो महासमितिमा रामचन्द्र पौडेल र शेरबहादुर देउवाले विजय गच्छदारको मध्यस्थतामा हामी मिल्यौँ भने । यस्ता मध्यस्थकर्ता पनि काँग्रेसभित्र धेरै नै उदाएका छन् र अस्ताएका पनि । 

काँग्रेसका शीर्ष नेताहरूको पटक पटक हामी मिल्यौँ भन्ने बाध्यताको पृष्ठभूमि केलाउँदा मात्रिकाप्रसाद कोइराला र बीपी कोइरालासम्मै पुग्नुपर्ने हुन्छ । 

मात्रिका र बीपीमै थियो गुटबन्दी

यी दुई दाजुभाइको झगडाले २००७ सात सालको क्रान्तिका उपलब्धि झण्डैझण्डै गुमेको थियो । यी दुईको झगडाले कमजोर भएको राजतन्त्रले शक्तिशाली हुने आधार भेट्यो । झगडाको राप र ताप यस्तो थियो कि  मात्रिका र बीपीको झगडा मिलाउन भारतका ठूलै नेता जयप्रकास नारायणले नै मध्यस्थता गर्नुपर्यो । यो मध्यस्थताका कारण उनीहरू केही समय मिले तर त्यो मिलाप धेरै दिन टिक्न सकेन । 

मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री र पार्टी सभापति हुनुहुन्थ्यो । जयप्रकाश नारायणको मध्यस्थता पछि बीपी पार्टी सभापति हुने वातावरण बन्यो । बीपी एक व्यक्ति एक पदको पक्षमा हुनुहुन्थ्यो भने मात्रिका त्यसको विपक्षमा । झगडाको बीउ यही थियो । तर बीपी स्वयम् पनि पछि यो मान्यतामा अडिग भएको देखिँदैन । यो झगडा काँग्रेसमा लामो समय रह्यो र अझै पनि छ । 
 मात्रिकाबाबुले पछि काँग्रेस पार्टी नै छाड्नुभयो । यसरी काँग्रेसभित्र सात सालको क्रान्तिसँगै काँग्रेसमा गुट र विभाजनको रेखाहरू कोरिए । 

बीपीको चमत्कारिक व्यक्तित्वले ०१५ सालको आम निर्वाचनमा दुई तिहाई बहुमत काँग्रेस पार्टीले ल्यायो । सरकार चलाएको १५, १६ महिना मात्रै भएको थियो तुलसी गिरी, विश्वबन्धु थापाहरूले बीपीका विरुद्ध  हस्ताक्षर नै चलाए । पार्टीमा चरम गुटबन्दी थियो र यसको प्रभाव बीपीको सरकारमाथि पनि परेको हो । यिनै आरोह अवरोहमा तत्कालीन राजा महेन्द्रले “कू” गरे २०१७ साल पुस १ गते बीपी जेल पर्नुभयो । बीपी जेलमा रहुन्जेल काँग्रेसभित्र नैराश्यता थियो । कलकत्ता बसेर सुवर्ण शमशेरले ‘हिट एन्ड रनको’ रणनीतिले तत्कालीन राजालाई गलाउन प्रयत्न गरे पनि त्यो खासै प्रभावकारी भएन । तर जब बीपी कोइराला आठ वर्षको जेल जीवनपछि केही छुटेर प्रवास जानुभयो अनि काँग्रेसमा दुई धार बन्यो ।

०४६ साल अगाडिका काँग्रेसजनको निष्ठा पार्टी र सम्पूर्ण नेतृत्वपङ्क्तिप्रति थियो । तर ०४६ को परिवर्तनपछि भने अब पार्टीप्रति भन्दा शीर्ष नेतृत्वको एउटा छहारीको अनुयायी हुनुपर्ने परिस्थिति निर्माण भयो । सबै शीर्ष नेताहरूलाई काँग्रेस कार्यकर्ता होइन, आफ्नो कार्यकर्ता चाहियो । यसरी देशभरी गिरिजाप्रसाद  र किसुनजीबीच काँग्रेस बाँडियो । 

बीपी प्रवास गएपछि दुई धार 

बीपी जेलबाट छुटेर प्रवास गएपछि काँग्रेसमा दुई धार देखापर्यो । एउटा धार सशस्त्र क्रान्ति गर्ने पक्षमा अर्को सत्याग्रही बन्ने । शान्तिपूर्ण सत्याग्रहको माध्यमबाट प्रजातन्त्रको पुनस्र्थापना गर्ने नेतृत्व कृष्णप्रसाद भट्टराईले गर्नुभयो । सशस्त्र क्रान्तिको नेतृत्व बीपीले गर्नुभयो । यही दुई धारलाई “काँग्रेसको प्रवासधार र स्वदेशधार” पनि भनिन्छ । यसरी दुईधार काँग्रेसमा हुर्किरहँदा दुई संस्कारको काँग्रेस निर्माण भयो । एउटा कोइराला काँग्रेस जसलाई प्रवासधारभन्दा पनि हुन्छ, अर्को कोइराला विरोधी धार जसले नेपालमै बसेर प्रजातन्त्र पुनस्र्थापनाका लागि सङ्घर्षरत रह्यो ।   

प्रवासमा बस्ने धार सुरुबाटै कोइराला पक्षमा लाग्यो । स्वदेशमा बस्ने धार भट्राई पक्षमा लाग्यो । यद्यपि यसमा लाभहानी हेरी व्यक्तिले आफ्नो स्वार्थ र महत्त्वाकाङ्क्षा पूरा गर्न क्याम्प पनि प्रशस्त चेन्ज गरेका छन् । धेरैजसो विद्यार्थी राजनीतिबाट आएका युवाहरू कोइराला विरोधी क्याम्पमा गए र आज तिनै काँग्रेसको नेता भएका छन् । यसरी समयक्रममा प्रवासधार अर्थात कोइराला क्याम्प कमजोर शिथिल भयो । सुशील कोइरालाको अवसानसँगै सुस्ताएको कोइराला धार काँग्रेसमा कोइरालात्रयको नामबाट भावी महाधिवेशनमा एकगठ हुन प्रयत्न गर्दैछ । 
 
२०४६ पछि गिरिजा सङ्कटमा 

२०४६ सालको परिवर्तनको नेतृत्व गणेशमानजीले गर्नुभयो । अन्तरिम प्रधानमन्त्री गणेशमान सिंहको सिफारिशमा कृष्णप्रसाद भट्टराई हुनुभयो । ०४८ सालको पहिलो आम निर्वाचनपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्नुभयो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेपछि उहाँलाई अप्ठ्यारो पर्यो । किनभने २०४६ सालको परिवर्तन त कम्युनिस्टसँग मिलेर भएको थियो । जुन बीपी दर्शन र राष्ट्रिय मेलमिलापको विपरीत थियो ।  बीपी राष्ट्रिय मेलमिलावादी हुनुहुन्थ्यो । अर्थात राजतन्त्र र काँग्रेसको मिलनबाट नेपालको समृद्धि र राष्ट्रियताको संवद्र्धन हुने दृष्टिकोण बीपीले अगाडि सार्नुभएको थियो ।

गिरिजाप्रसादको प्रजातन्त्रप्रतिको निष्ठालाई सदासर्वदा  शङ्काको दृष्टिले हेर्ने गणेशमान र किसुनजीको आँखा थियो । यता प्रम भएपछि गिरिजाप्रसादलाई पार्टी सम्पूर्णरूपमा आफ्नो पक्षमा कब्जा नगरी प्रम पद र राजकाज चलाउन गाह्रो हुन्छ भन्ने सोच विकसित भयो । यसरी पार्टीमा रस्साकस्सी चल्दा पार्टी गुट, उपगुट र गिरोहमा परिणत भयो । गिरिजाप्रसादले सुशील कोइरालामार्फत पार्टी कब्जाको अभियान नै चलाउनुभयो सम्पर्क कार्यालयमार्फत भने कोइराला विरोधीहरूमा अस्तित्व रक्षाका लागि अर्को क्याम्प खडा गर्नुको विकल्प रहेन ।  

०४६ साल अगाडिका काँग्रेसजनको निष्ठा पार्टी र सम्पूर्ण नेतृत्वपङ्क्तिप्रति थियो । तर ०४६ को परिवर्तनपछि भने अब पार्टीप्रति भन्दा शीर्ष नेतृत्वको एउटा छहारीको अनुयायी हुनुपर्ने परिस्थिति निर्माण भयो । सबै शीर्ष नेताहरूलाई काँग्रेस कार्यकर्ता होइन, आफ्नो कार्यकर्ता चाहियो । यसरी देशभरी गिरिजाप्रसाद  र किसुनजीबीच काँग्रेस बाँडियो । 

यो अवसरमा पूर्वपञ्चहरू, कम्युनिस्ट पृष्ठभूमिबाट काँग्रेसमा आएकाहरू, राजधानी र मोफसलका तथाकथित ‘इलिट’हरूले नेताहरू माथि कब्जा गरे । दुवै खेमामा नवकाँग्रेसीहरूको जमघटले प्राथमिकता पाउन थाल्यो । बीपी कोइरालाले भनेझै ‘सुकिला मुकिलाहरूले’ काँग्रेस नेतालाई घेरे । खासगरी कोइराला क्याम्पमा गैरकाँग्रेसीको अधिपत्य नै भयो भन्दा हुन्छ ।  

पार्टीसत्ता र राज्यसत्तामाथि गिरिजाप्रसादको प्रभाव बढ्दै जाँदा गणेशमान सिंहले २०५१ को आम निर्वाचनमा ‘गिरिजा मार्का काँग्रेसी हराउ’ अभियान नै चलाउनुभयो  । त्यसपछि काँग्रेस वडादेखि केन्द्रसम्मै  गिरिजा पक्ष र विपक्षमा बाँडियो ।  तलैदेखि विभाजनको रेखामा गयो । यहाँ उप्रान्त गिरिजाप्रसादविरुद्ध गिरिजा विरोधी खेमाबाट सधैँ चुनौती आइ नै रह्यो डमीको रूपमा । 

कृष्णप्रसाद भट्टराईले चिरञ्जीवी वाग्लेमार्फत सुरु गर्नुभएको डमीधार काँग्रेसको ९औँ पोखरा महाधिवेशनसम्म आइपुग्दा शेरबहादुर देउवाको नेतृत्वमा सशक्त भइसकेको थियो । यी सबै प्रकरणमा कोइराला क्याम्पलाई कमजोर पार्न नेपालका कम्युनिस्टहरू पनि सक्रिय र सहयोगी भए ।  किनभने गिरिजाप्रसादलाई कमजोर पार्दा काँग्रेस कमजोर हुन्छ भन्ने कम्युनिस्टको बुझाइ थियो ।

यसैक्रममा गणेशमानजीले पार्टी त्याग्नुभयो । किसुनजीले पनि गिरिजाप्रसादसँग भिड्ने रणनीति फरक गर्नुभयो । किसुनजी पार्टी कार्यालय पनि नजाने, गिरिजाप्रसाद र उनको लाइनलाई पनि नमान्ने भन्दै नेतृत्व युवाहरूमा जानुपर्छ भन्न थाल्नुभयो । त्यसपछि सबै युवाहरूमा महत्त्वाकाङ्क्षा बढ्यो । फलस्वरूप शेरबहादुर देउवा सबैभन्दा सशक्त भएर त्यो विरासत थाम्न आइपुग्नुभयो ।  

पछिल्लो समय  जब रामचन्द्र पौडेल, देउवा र सिटौलाबीच महाधिवेशनमा भीडन्त भयो र देउवाले सभापति जिते । त्यसपछि देउवाको गनगन सुरु भयो । त्यो गनगन रामचन्द्र पौडेलले ४० प्रतिशत मागे भन्ने हो । जुन ४० प्रतिशतको बीउ देउवाले रोपेका थिए त्यही बीउ अहिले रामचन्द्र पौडेलले रोप्न थालेपछि आजसम्म झगडा त्यसैमा छ । 

देउवाको गनगन झगडाको बीउ

गिरिजाप्रसादपछि काँग्रेसको नेतृत्व सुशील कोइरालामा गयो । प्रवासधारको सुशील अन्तिम पुस्ता थिए । यद्यपि कोइराला परिवारको राजनीतिक महत्त्वाकाङ्क्षा यही समय प्रकट भयो । सुशीलसँग देउवा पार्टी सभापतिमा हारे पनि बार्गेनिङका लागि देउवासँग ठूलो साइज थियो । अर्थात भागवण्डाको साइज ठूलो थियो । देउवाले पार्टीमा भागवण्डाको प्रतिशत नै माग गरे । 

पछिल्लो समय  जब रामचन्द्र पौडेल, देउवा र सिटौलाबीच महाधिवेशनमा भीडन्त भयो र देउवाले सभापति जिते । त्यसपछि देउवाको गनगन सुरु भयो । त्यो गनगन रामचन्द्र पौडेलले ४० प्रतिशत मागे भन्ने हो । जुन ४० प्रतिशतको बीउ देउवाले रोपेका थिए त्यही बीउ अहिले रामचन्द्र पौडेलले रोप्न थालेपछि आजसम्म झगडा त्यसैमा छ । 

‘रामचन्द्रले काम गर्न दिएनन्, ठूलो केक माग्यो । सिटौला पनि अर्को गुट बनाइरहेका छन् । म सभापति, मलाई कमजोर बनाउन थालियो’ भनेर देउवा भनिरहेका छन् । वर्तमानमा काँग्रेसको आन्तरिक जीवनको यथार्थ यही हो । काँग्रेसमा गुट, उपगुट, गिरोह र विभाजन अब नेतासम्म मात्र सीमित रहेन, तलदेखि माथिसम्म समानान्तर छ । 

स्थापनाको प्रारम्भिक दिनदेखि ०४६ सालसम्म संस्थापक शीर्ष नेताहरू बीचमा वैचारिक र कार्यगत नीतिलाई लिएर मतभेद थियो । किसुनजी, बीपी, गणेशमान, सुवर्ण शमशेर, गिरिजाप्रसाद सूर्यप्रसाद उपाध्याय सबै बीच कुन पद्धति र प्रक्रियाबाट प्रजातन्त्र नेपालमा ल्याउने र कसरी समाज रूपान्तरण गर्ने भन्नेमा मतभेद थियो । पछिल्ला झगडाहरू भने पार्टीसत्ता र राज्यसत्तामा आफ्नो हिस्सेदारी बढाउनमा सीमित भयो । 

रामचन्द्र भन्दा शेरबहादुर शक्तिशाली

गुट र गिरोह बनाउन पार्टीको शीर्षस्थ नेतृत्व लाग्छ भने त्यसलाई सक्रिय पार्न, आफ्नो पक्षमा लागिराख्न पैसा खर्च गर्नुपर्ने हुन्छ । काँग्रेस सङ्गठनमा राजनीतिकभन्दा अराजनीतिक समूहको सक्रियता छ । अराजनीतिक समूह पैसा, प्रतिष्ठा र पदविना कुनै काम गर्दैन । अहिले काँग्रेस सङ्गठनमा त्यही रोग छ । 

 पैसामार्फत पार्टीमा नेता हुने क्षमता रामचन्द्रको भन्दा शेरबहादुरको बढी छ ।  हिजो खुमबहादुर र शेरबहादुर काँग्रेसमा शक्तिशाली थिए भने त्यसको पछाडि पैसाको प्रभाव प्रमुख थियो । यद्यपि खुमबहादुरसँग वैचारिक रूपमा हिन्दु कार्ड थियो र उनी कार्यकर्तामाझ भिजेका र लोकप्रिय भने पक्कै थिए । 

काठमाडौँमा शक्तिशाली आर्थिक स्वार्थ खोज्ने गिरोह छ, जसलाई राजनीतिक सहयोग चाहिन्छ । त्यसले काँग्रेसमा मात्रै होइन, कुनै पनि पार्टीमा भूमिका निर्वाह गर्ने गरेको छ । यो काममा काँग्रेसमा देउवाले बाजी मारेका छन् । उनी आफ्ना प्रतिस्पर्धी रामचन्द्रभन्दा यो सन्दर्भमा धेरै नै अगाडि छन् । 

चुनाव खर्चिलो भयो । खर्चिलो चुनाव लड्न लडाउन नेताहरूलाई असीमित पैसा चाहिन्छ । यस्तो पैसा वैधभन्दा अवैध धन्दा गर्नेहरूले नेतालाई दिन्छन् । अनि तिनै अवैध धन्दा गर्नेले पार्टीमा कब्जा पनि सजिलै गर्न सक्छन् । 

देउवा पार्टी सभापति र संसदीय दलको नेता छन् । सङ्घर्षको इतिहास पनि छ देउवाको तर उहाँको शक्ति भनेको पूर्वपञ्चहरू, बद्नामी कमाएका तस्करहरू, ब्युरोक्रेट्सलगायत काठमाडौँको व्यापारी र भारदारहरूको लगाव देउवासँग छ । पार्टीभित्र गुट बनाउन र बचाउन यस्ता अराजनीतिक व्यक्तिको सहयोग र समर्थन निरन्तर चाहिन्छ । अन्यथा नेतृत्वमा पुग्न अबको नेपालमा सजिलो छैन । 

गुट व्यवस्थापन चुनौती 

काँग्रेसमा गुट निर्मूल हुँदैन । व्यवस्थापन गर्न सकिन्छ । यसको व्यवस्थापन गर्ने केही उपाय छन् । 

गुटको नेतृत्व गर्ने व्यक्ति उमेरको हद या कुनै विधानको व्यवस्थामार्फत  चाँडै रिटार्यड गर्नसक्नुपर्छ । खासगरी पार्टी सभापतिमा एक टर्म मात्रको व्यवस्था गर्दा यो सहज हुने हो  । 

दोस्रो, राष्ट्रिय निर्वाचन हारेपछि जसको नेतृत्वमा पार्टी हार्छ उसले  सभापति छोड्नुपर्छ । चुनाव भएको छ महिनाभित्र पार्टीको अधिवेशन गराउनुपर्छ । यो लोकतान्त्रिक देशमा नेतृत्व परिवर्तनको स्वाभाविक प्राक्टिस पनि हो ।  देउवाको नेतृत्वमा गतसाल चुनाव भयो । पार्टी हार्यो । कम्युनिस्टले जिते अधिनायकवाद आउँछ भनेर क्याम्पियन भयो । त्यो जनताले पत्ताएनन् ।  कमल थापादेखि बाबुराम भट्टराई र मधेसी दलहरूसँग गरेको गठवन्धन चुनावमा काम लागेन ।  रणनीतिले पनि फेल खायो । नीति र नेतृत्व दुवै हारेपछि फेरि पनि उनै मान्छले संसदीय दल, पार्टीसभापतिमा निरन्तरता दिनुको साटो छोड्नुपर्छ ।

तत्काल गर्नुपर्ने काम भनेको एक कार्यकालभन्दा उसलाई दिनै हुन्न जबकि अर्को कार्यकालमा म सभापति हुन्छु भन्ने सम्भावना नै राख्न दिनुहुन्न । यो नगर्ने हो भने काँग्रेसमा गुटको व्यवस्थापन हुँदैन, अरू उपाय नै छैन ।

निर्वाचनमा उठ्ने अनि हारेपछि गुट निर्माण गर्ने रोगलाई कम गर्न दोस्रो हुनेले  ३०, ४० प्रतिशत मत ल्याएको छ भने स्वतः उसलाई दोस्रो पद उपसभापतिमा राखिदिने काँग्रेस विधानमा व्यवस्था गर्नुपर्छ । गुट मात्रै व्यवस्थापन गर्नसके काँग्रेसमा ऊर्जा बढ्छ । अहिलेको अवस्थामा रहिरहने हो भने त काँग्रेसले कम्युनिस्टसँग कुनै हालतमा फाइट गर्न सक्दै सक्दैन ।

होइन, तेरो र मेरो मान्छे भन्ने हो भने पार्टीलाई विघटन गर्नुको विकल्प नै छैन । अब काँग्रेस कि अघि बढ्ने कि विघटनमा जाने ? दुई विकल्प मात्रै छन् । विघटन भनेको समाप्त हुनु नै हो । यसले यसै ऊर्जा पाउँदैन । एउटाले हिन्दु धर्म राख्ने भन्छ अर्को धर्म निरपेक्ष भनेको छ । गगन थापालगायत गणतन्त्र र सङ्घीयता सडकको माग भनिरहेका छन् । शशांक कोइरालाहरू हिन्दु राष्ट्र भनिरहेका छन् । बीपी जो धर्म नै मान्नुहुन्नथियो उहाँको छोरा नै हिन्दुराष्ट्र भन्नुहुन्छ भने काँग्रेस पतनको पराकाष्टा के हुनसक्छ ? यी र यस्तै कारणले काँग्रेस सङ्कटमा छ, जसले पार्टी विघटन पनि हुन सक्छ । काँग्रेसको वर्तमान अवस्था हेर्दा म शैलजा आचार्यले पटक पटक भन्ने गरेको ‘यो पार्टीको अब मृत्यु हुनसक्छ’ भन्ने वाणी सम्झन्छु । 

अहिले जारी रहेको महासमितिमा पनि यो पार्टीलाई कसरी बचाउने भनेर बहस त भएको छ तर त्यसका लागि महासमिति सदस्यहरूको औचित्य कति छ भनेर हेर्नुपर्छ । महासमिति सदस्यहरूको पहिलो दिनको भेला हेर्दा त्यसमा राजनीतिक चरित्र मैले कमै देखेँ । काँग्रेस पुनर्जीवनका लागि यो चिन्ताको विषय हो । 

तीन वर्षसम्म महासमिति भएन । किन भएन ? सङ्गठित आवाज उठाएर नेतृत्वलाई झुकाउन कसैले आवश्यक ठानेन ।  पार्टीको नीति निर्माण तहमा महासमिति सदस्यहरूको भूमिका छ कि छैन ? औचित्य  छ भने किन त्यसको कार्यन्वयन भएन ? यदि महासमिति बैठकले हस्तक्षेप नगर्ने हो भने महासमितिको औचित्य कहाँ खोज्ने ? 

देउवा नेतृत्व रहँदा काँग्रेस भोलि कसरी आउन सक्छ ? यो सोच्ने जिम्मा महासमिति सदस्यहरूको हो । महाधिवेशन प्रतिनिधिभन्दा पनि महासमिति सदस्यहरूको भूमिका बढी हुन्छ । महासमिति सदस्यहरूले चार पाँचवटा काम गर्नुपर्छ । 

पहिलो, यो संविधानलाई बोक्ने कि छोड्ने ? यो विषयमा महासमितिमा चुनाव गर्नुपर्छ । बहुमतले पास गर्छ कि फेल गर्छ ? संविधानमा रहेका आधारभूत कुरालाई काँग्रेसले बोक्दैन भने संविधानको विरुद्धमा आन्दोलन गर्ने निर्णय महासमिति बैठकले गर्नसक्नुपर्छ । 

दोस्रो, हिजो भएको तीनै तहको निर्वाचनको समीक्षा गर्नुपर्छ । आर्थिक नीति र साङ्गठनिक चरित्रको पनि मूल्याङ्कन जरुरी छ । 

तेस्रो, अहिलेको नेतृत्वले भावी दिनमा काँग्रेस चलाउन सक्छन् कि सक्दैनन् ? सक्छन् भने केन्द्रीय र प्रादेशिक संसदमा काँग्रेस प्रमुख प्रतिपक्षजस्तो भएर किन प्रस्तुत हुन सकेको छैन ? केले रोकेको छ ? त्यसको छिनोफानो गर्नुपर्छ । काँग्रेसभित्र युवाहरूको आकर्षण कम भएको छ ।  

(कुराकानीमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पुरञ्जन आचार्य
पुरञ्जन आचार्य
लेखकबाट थप