मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली पत्रकारिताको विकासबारे लण्डनमा अन्तरक्रिया

सोमबार, ०२ पुस २०७५, १९ : ३७
सोमबार, ०२ पुस २०७५

–बिपिन निरौला 

लण्डन– विदेशमा बेलाबेलामा स्थानीय संघ संस्था र पत्रकारहरुबीच  समन्वयको कमीले ले गर्दा असमन्यजस्यताको स्थिति उत्पन्न हुने गर्दछ । यधपि पत्रकार र समुदायलाई एकअर्काका परिपुरक भन्ने गरिन्छ । कतिपयले यो सम्बन्धलै नङ र मासुको जस्तै भन्छन् भने कतिपयले उद्धेश्यका  हिसाबले दुई हातले मात्र ताली बज्दछ भनि परिभाषित गर्दछन् । 

नेपाल पत्रकार महासंघ युकेले आइतबार लण्डनमा  गरेको अन्तरक्रियामा स्थानीय नेपाली समुदायका प्रतिनिधि र समाजका अगुवाहरुले यस्तै  सुझाव सहितका विचारहरु अभिव्यक्त गरे।  कार्यक्रम संयोजक तथा शाखाका वरिष्ठ उपाध्यक्ष ध्रुबराज अर्यालले  बेलायतस्थित नेपाली समुदायको आवश्यकता र अपेक्षाअनुसारको पत्रकारिताको विकासका लागि सुझाव संकलन गर्नु कार्यक्रमको मुल उद्धेश्य रहेको दाबी गरे । साउथ ईस्ट लण्डनबाट सुरु भएको अन्तरक्रिया बेलायतका हरेक क्षेत्रका नेपाली समुदायहरुमाझ पुगेर आयोजना गर्ने शाखाको लक्ष्य रहेको अर्यालले बताए ।

कार्यक्रममा सहभागी समुदायका तीन दर्जन बढी प्रतिनिधिले  बेलायतको नेपाली पत्रकारिताको विकास र सुधारका लागि विभिन्न सुझावहरु दिए । पछिल्लो केही वर्षयता नेपाली पत्रकारिता सशक्त बन्दै गएपनि अझ व्यवसायिक हुन नसकेको धारणा उनीहरुले राखे । अधिकांश सहभागीले अनुसन्धनात्मक, निष्पक्ष तथा सत्य तथ्य समाचारमा जोड दिन पत्रकारहरुलाई आग्रह गरे । 

सामुदायिक वा व्यवसायिक पत्रकारिता के गर्ने त्यसबारे प्रष्ट हुनुपर्ने पनि कतिपयको सुझाव थियो । केही वक्ताले पत्रकारहरुबाट अपेक्षा बढि गर्ने तर उनीहरुको वाध्यता नबुझ्ने प्रवृत्ति पनि औंल्याएका थिए । सहभागी नेपाली संघ–संस्थाका प्रतिनिधिले पत्रकारिताजस्तो संवेदनशील र महत्वपूर्ण पेशामा आवद्ध हुन पत्रकारहरुको योग्यताबारे पनि प्रश्न उठाएका थिए । बेलायतमा संख्यात्मक रुपमा पत्रकारहरु बढेपनि योग्य पत्रकारहरुको संख्या ज्यादै न्यून पाइएको पनि उनीहरुको जिकिर थियो । 

कार्यक्रममा अवधारणा प्रस्तुत गर्दै शाखाका पूर्व सल्लाहकार समेत रहेका बीबीसीमा आबद्ध वरिष्ठ पत्रकार भगीरथ योगीले प्रवासी नेपाली समुदायको दरिलो सहयोग र समर्थन बिना डायस्पोराका मिडिया बाच्न र फस्टाउन नसक्ने बताए । पत्रपत्रिकाको ग्राहक बनेर, ग्राहक शुल्क नियमित तिरेर, आफ्नो व्यवसायको विज्ञापन दिएर वा आफ्ना संघसंस्थाका सदस्यहरुलाई पत्रपत्रिका तथा टेलिभिजनको ग्राहक बन्न प्रेरित गरेर नेपाली समुदायले डायस्पोरा मिडियालाई सघाउन सक्ने उनको सुझाव थियो । 

शाखाका पूर्व सल्लाहकार योगीले पत्रकारहरुले जहाँ कार्यरत हो, त्यहाँको कुरा समुदायमा ल्याएर, मातृभूमिसँग जोड्न पहल गरेर एवं  स्थानीय समुदायसँग चिनाउने काम गरेर प्रमुख भूमिका निर्वाह गर्न सक्ने धारणा समेत राखे । 

अन्तरक्रियापछि विश्लेषणात्मक टिप्पणी गर्दै युनिभर्सिटी  अफ लण्डनका  असोसिएट प्रोफेशर डा.तेजेन्द्र फेरालीले अनुसन्धानमुलक र गुणस्तरिय पत्रकारिताको अभाव औंल्याए । ‘नयाँ वर्ष, दशैं तिहार मनाएको समाचार मात्र होइन, अब बेलायतका नेपाली पत्रकारले स्थानीय मुद्दा र अनुसन्धानमा आधारित समाचार, लेख पनि लेख्न शुरु गर्नुपरयो’ उनको सुझाव थियो । इन्टिग्रेसन र नयाँ पुस्तालाई आकर्षित गर्ने खालका सामाग्री पस्कन पनि उनले सुझाए ।   

शाखा अध्यक्ष नरेश खपाङ्गीमगरले रचनात्मक सुझाव सल्लाहका लागि उपस्थित संघ–संस्थाका प्रतिनिधिप्रति आभार व्यक्त गरे । उनले बेलायतमा नेपाली पत्रकारहरुले गरिरहेको अभ्यास समुदायको अपेक्षासँग मेल खान्छ वा खान्न र के कस्ता सुधार आवश्यक छ भन्ने बुझ्न कार्यक्रम गरिएको प्रष्टयाए ।

कार्यक्रममा ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा नेपालीपत्रका प्रबन्धक राजन कँडेल, एनसिआई ग्रुप यूकेका अध्यक्ष मोहन गुरुङ, वाटर एड यूकेमा कार्यरत डा.ओमप्रसाद गौतम, बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष दिपक श्रेष्ठ, पासा पुच यूकेका अध्यक्ष कुमार श्रेष्ठ, एनआरएनए यूकेका कोषाध्यक्ष सचिन श्रेष्ठ, सचिव सुरोज मास्के, गेसोकी केन्द्रीय कोषाध्यक्ष देवीमाया पुन, आरजिएनएसका महासचिव जित रानाभाट, पशुपतिनाथ मन्दिर लण्डनका अध्यक्ष सहदेव गिरी लगायतले धारणा राखेका थिए । 

चाल्र्टन नेपाली समाजका अध्यक्ष कृष्ण खरेल, डार्टफोर्ड नेपाली समाजका अध्यक्ष दिपक थापा, सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स् यूकेका अध्यक्ष शेखर वाग्ले, साहित्य चौतारी यूके संयोजक वासु शर्मा, प्रतिभा नक्षत्रका राजेन्द्र खस, नेपाली युथ एशोसिएसनका लक्ष्मण गुरुङ, जिगेसा अध्यक्ष लिलादेवी गुरुङ, बेक्सली नेपाली समाजका आनन्द धरेल, जमघट सांस्कृतिक परिवारका अध्यक्ष तीर्थबहादुर थापा र उपाध्यक्ष बाबु राना, थकाली समाज साउथ ईस्टका अध्यक्ष अकिंत गौचन, ठकुरी समाज साउथ ईस्टका अध्यक्ष हरिकुमार मल्लले पनि अन्तरक्रियामा सहभागिता जनाउँदै भनाइ राखेका थिए ।

त्यस्तै, कर्ण शाही, दासुराम पाण्डे, नरेन्द्र कँडेल, फत्त थापा, एकाउन्टेन्ट एलएन पाण्डे, कृष्ण गैरे, होम शर्मा, पण्डित निलहरि घिमिरे, राजन खकुरेल, रेशम बस्याल लगायतका साउथ ईस्ट लण्डनस्थित नेपाली समुदायका बुद्धिजिवी, सामाजिक अभियन्ताहरुले पनि आफ्नो विचार व्यक्त गरेका थिए । 

अन्तरक्रियामा पत्रकारहरुको तर्फबाट विकलचन्द्र आचार्य, विपिन निरौला, संगीता मरहट्ठा, फडिन्द्र भट्टराई, जगन कार्की लगायतले बोलेका थिए ।महासचिव सञ्जयभक्त कँडेलले सञ्चालन गरेको उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष श्याम लुईंटेलले धन्यवाद ज्ञापन गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप