शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय

कामका लागि महिला विदेश जानुपर्दैन : अध्यक्ष शर्मा

सोमबार, ०२ पुस २०७५, १८ : ०७
सोमबार, ०२ पुस २०७५

गोदावरी– राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालमै घरेलु महिला कामदारको माग बढ्दो रहेकाले विदेश जानुपर्ने बाध्यता नरहेको बताएका छन् । 

ललितपुरमा आज आयोजित ‘आप्रवासी कामदारको  मानवअधिकार संरक्षणमा आयोगको प्रयास’ विषयक पुस्तक सार्वजनिकीकरण गर्दै उनले नेपाली महिला विदेशमा कामका लागि जाँदा विभिन्न समस्या भोग्नुपरेको उल्लेख गरे । ‘नेपाली चेली शोषणमा परेको समाचार दिनानुदिन बढ्दै गएकोले किन महिलाहरु कामका लागि खाडी मुलुक जान चाहनुहुन्छ,’ उनले भने, ‘शोषणमा परेर तपाईं चेलीहरु विदेशमा नबस्नुहोस् ।’ 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशराज दाहालले नेपालमा खुला सिमानाका कारण महिला घरेलु कामका लागि दलालको फन्दामा परी भागेर विदेश जाने क्रम बढ्दो रहेको बताए । आयोगले त्यसमा कडा ध्यान दिनु जरुरी रहेको दाहालले बताए ।

मन्त्रालयको आँकडानुसार हाल ३० देखि ३५ लाख हाराहारीमा नेपाली वैदेशीक रोजगारीका लागि गएका छन् । वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले शाखा खोल्न लागेको उनले जानकारी दिए । 

वैदेशिक रोजगार विभागका महानिर्देशक दिलीप चापागाईंले आप्रवासी कामदारले परिवारसंँग प्रत्यक्ष सम्पर्क गर्न सूचनाको हकको व्यवस्था हुनुपर्ने बताए । विगतका वर्ष वैदेशिक रोजगार विभागमा ११ हजार मुद्दा परेको बताउँदै चापागाईं भने, ‘यस वर्ष निकै मुद्दा घटेको छ ।’ 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप