ज्यापू दिवसमा प्रधानमन्त्री ओली सहभागी हुने
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली १५ औं राष्ट्रिय ज्यापू दिवस समारोहमा सहभागी हुने भएका छन् ।
ज्यापू समूदायको संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यका साथ आगामी शनिबार काठमाडौंको बसन्तपुरमा आयोजना हुने १५ औं राष्ट्रिय ज्यापू दिवस समारोहमा सहभागिताका लागि ज्यापू समूदायको गरेको आग्रह प्रधानमन्त्री ओलीले स्वीकार गरेका हुन् ।
ज्यापू संस्कृतिको झलक दिने बाजागाजा र पहिरनसहित सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका ज्यापू महागुठी नेपाल नेतृत्वको ज्यापू समूदायले ज्यापू संस्कृति अनुसार प्रधानमन्त्री ओलीलाई नेवारी पोशाकसहित सो दिवस समारोहमा सहभागी हुनका लागि नियन्त्रणा गरेका थिए ।
ज्यापू संस्कृति नेपालको राष्ट्रिय संस्कृति भएकाले यसको संरक्षण र सम्वद्र्धनमा सरकारको विशेष भूमिका हुने भएकाले सदाझैं यस वर्ष पनि ज्यापू दिवसमा सहभागी हुन प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरिएको ज्यापू महागुठी नेपालका अध्यक्ष राजभाई जकर्मीले जानकारी दिए ।
सो दिवसमा प्रधानमन्त्री ओली प्रमुख अतिथिको रुपमा सहभागी हुनेछन् ।
नेपाल भाषामा ‘ज्या’ भनेको काम र ‘पू’ भनेको बीउ हो । निरन्तर खेती किसानीमा संलग्न हुने मिहिनेती र पौरखको रीत र परम्परा नै ज्यापू संस्कृति हो । नेवारी समूदायको समेत मूल संस्कृतिको रुपमा रहेको यसको संरक्षणका लागि सरकारले ज्यापू दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिई यस दिन काठमाडौं उपत्यकामा सार्वजनिक विदा समेत दिँदै आएको छ ।
विक्रम संवत २०६१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले यसलाई राष्ट्रिय दिवसको मान्यता दिएको हो ।
हाल मुलुकभर ज्यापू समूदायका करिव ६ लाख नागरिक छन् । यसैबीच, ज्यापू संस्कृतिको संरक्षणका लागि बसन्तपुरमा ज्यापू संग्राहलय बनाउने योजना पनि अघि सारिएको छ ।