बाख्राको आधुनिक खोर निर्माणमा सहयोग
रोल्पा–रोल्पाको सुनिल स्मृति गाउँपालिकाको वडा नम्बर २ स्थित हिलेगाउँ भौगोलिक हिसाबले जटिल र पानी उपलब्धताका हिसाबले दयनीय अवस्थामा छ ।
सो स्थानमा जलवायु परिवर्तनका असरका कारण खडेरी, पानीको मुहान सुक्ने, कृषिबालीमा रोगकिरा जस्ता जस्ता समस्या देखिँदै आएको छ ।
तर, सामुदायिक बनमा प्रसस्तमात्रामा घाँस रहेको तथा सहजरुपमा उत्पादन गर्न सकिने भएकाले बाख्रापालन यहाँका किसानका लागि प्रमुख आय आर्जनको माध्यम बनेको छ ।
उन्नत जातका बाख्रा भित्र्याउन लागेका स्थानीयको बाख्राको खोर निर्माणका साथै यससम्बन्धी विविध कार्यमा सहयोगका लागि पहाडी साना किसानका लागि अनुकूलन आयोजना रोल्पाले अग्रसरता देखाएको छ ।
आयोजनाले एक वर्षयता यहाँका खोर सुधारका लागि कामहरु गर्दै आएको जनाइएको छ ।
गत बर्ष सो गाउँमा ३१ घरधुरीले खोर निर्माण गरेकोमा अहिले थप ४४ घरधुरीले सुधारिएको बाख्राखोर निर्माण गरेको आयोजना संयोजक रामबालक यादबले जानकारी दिए ।