शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय

लोप हुँदै परम्परागत पञ्चेबाजा

शनिबार, २९ मङ्सिर २०७५, १८ : ४१
शनिबार, २९ मङ्सिर २०७५

ओखलढुंगा । पञ्चेबाजा नेपाली परम्परागत बाजा हो । तर पछिल्लो समय यो बाजा संरक्षणको अभावमा लोप हुँदै गएको छ । विवाह–ब्रतबन्ध तथा अन्य शुभकार्यमा बजाइने पञ्चेबाजा संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको हो ।

नेपाली समुदायले परमपरागत रुपमा बजाउँदै आएको पञ्चेबाजा नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेको छ । समुदायको पुख्यौली पेशालाई पछिल्लो पुस्ताले स्वकार नगर्दा संस्कृति नै हराउन थालेको सिद्धिचरण नगरपालिका १२ का स्थानिय कृष्ण बहादुर नेपालीले बताए । 

शुभ कार्यमा भित्रीएको आधुनीक शैलीको  बाजामा नयाँ पुस्ताको आकर्षणले समेत पुरानो कला–संस्कृति हराउन थालेको नेपालीको भनाई छ । ‘अहिले त अब खै कसैले बजाउन मान्दैन्न । भएका बाजाको समेत माग हराउन थालेको छ । हुन त अहिले विभिन्न आधुनिक बाजाहरु भित्रिएर होला,’ उनले भने । 

नेपाली संस्कृतिमा शुभ कार्यका लागि साईत हेर्ने चलन छ । उक्त साईतलाई शुभ बनाउनका लागि पञ्चेबाजाका धुनहरु बजाउने गरिन्छ । पञ्चेबाजा परम्परागत रूपमा नेपाली समुदायले बजाउँदै आएको भएपनि केही समयअघि अन्य समुदायले समेत बजाउने गर्दथे । तर पछिल्लो समय गाउँघरमा पहिलेजस्तो पञ्चेबाजाप्रतिको आकर्षण घटेको छ । 

यस समुदायका ब्यक्तिहरुले पनि बाजालाई लिएर ब्यवसायीकता बन्न नसकिएको गुनासो गर्ने गरेका छन् । हालसम्म छिटफुट रुपमा भएपनि बाजाको माग आएको बताउँदै आफूहरु रहुन्जेल यसलाई मर्न नदिने सिद्धिचरण नगरपालिका १२ कै अर्का स्थानीय भीमबहादुर नेपालीको धारणा छ । ‘अहिले हामी हुँदासम्म एउटा भनेपनि बजाएका छौं । छिटफुटरुपमा बजेकै छ । अब खै भोलीका दिनमा त कस्ले पो बजाउला र ?’

पञ्चेबाजा अन्र्तगत सनाइ, ट्याम्को, झुर्मा, ढोलक, नरसिंह, कर्नल र विकुललगायतका बाजाहरु पर्दछन् । पहिले एउटा समूहमा १० जनाभन्दा बढी बाजा बजाउनेको संलग्नता हुने गरेको भपनि अहिले भने यो समूह समेत खुम्चिदै जान थालेको छ । 

जसले गर्दा जातिय पहिचान बोकेको कला–संस्कृतिको अस्तित्व नै संकटमा पर्न थालेको भन्दै उनीहरुले चिन्ता समेत ब्यक्त गरेका छन् । यस्ता परम्परागत बाजागाजालाई जगेर्ना गर्न स्थानिय सरकारले सहयोगी भूमिका खेलिदिनुपर्ने उनीहरुको माग छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप