शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको जीवन : अब कसैले अनुरोध गरे पनि प्रधानमन्त्री बन्दिनँ

शनिबार, २९ मङ्सिर २०७५, १२ : ११
शनिबार, २९ मङ्सिर २०७५

पंक्तिकार चन्दनिवास लोकन्थली भक्तपुर पुगेपछि पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द घरको आँगनमा ओर्ले । भेटघाटको अभीष्ट सुनाएपछि पूर्वप्रधानमन्त्री चन्दले भने, ‘म त अन्य काममा पो आउनुभएको होला भन्ठानेको थिएँ । मिडियाका लागि म नबोलौं ।’

अघिल्लो दिन टेलिफोन गरेर भेटघाटको अभीष्ट सुनाएपछि भोलि आउनुहोला भन्ने  अनुमति पाए पनि चन्दनिवास पुगेपछि उनले मिडियाका लागि नबोल्ने भन्दा पंक्तिकारले अनुरोध गर्नुको विकल्प थिएन । पंक्तिकारले १५ देखि २० मिनेटमात्रै समय लिने अनुरोध गरे । बोल्न नचाहँदा–नचाहँदै पनि पंक्तिकारको विनम्र अनुरोधपछि उनी बोल्न तयार भए । 

१५ देखि २० मिनेट समय मागे पनि २२ मिनेट कुराकानी भयो । छोटो समयमा प्रधानमन्त्रीको भूमिका पाएको पहिलो रात निद्रा नलागेको प्रसंगदेखि चार–चारपटक प्रधानमन्त्री भएका पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले जीवनशैलीबारे कुराकानी गरेका थिए । सोही कुराकानीको सम्पादित अंश :

मेरो खाना
सामान्यतया बिहान दाल, भात, तरकारी खाने गरेको छु । त्यही स्वादिलो लाग्छ । तर, यदाकदा खाइरहेकै खानेकुरा स्वादिलो लाग्दैन । मीठो बनाएर दिइए पनि मीठो लाग्दैन । बेलुका रोटी, तरकारी र झानेको मोही खाँदै आएको छु । एकताका फर्सीको तरकारी मन पर्दैनथ्यो । आरके मैनालीको किताब पढेपछि फर्सीको तरकारी मीठो मानेर खान थालेको छु । मैनालीको किताबमा उल्लेख छ, ‘तोरी भुटेर फर्सीको तरकारीमा हाल्यो भने मीठो हुन्छ ।’

घरबाहिरको खाना खानसाथ पेट गडबड हुन थालेपछि होटल तथा रेष्टुरेन्टको खाना खान छाडेको हुँ । कतिपय अवस्थामा पाँचतारे होटलमा खाएँ हुँला । त्यो पनि खानैपर्ने अवस्थामा मात्रै । 

मेरो पोसाक
विशेषतः दौरासुरुवाल र कोट लगाउँछु । यो पहिलेदेखिको बानी हो । खैरो रङको दौरासुरुवाल लगाउन मन पराउँछु । दौरासुरुवालसँगै भादगाउँले टोपी र ढाकाटोपी लगाउने गरेको छु । 

मेरो फिटनेस
शारीरिक अभ्यास गर्दै आएको छु । धेरै पहिलेदेखि योगालाई निरन्तरता दिएको छु । हिजोआज पनि १५–२० मिनेट मर्निङवाक निस्कन्छु । 

मेरो अध्ययन
हिजोआज लियो टोल्सटोयको पुनर्जीवनबारे किताब अध्ययन गर्दै छु । त्योसँगै लेखापढी चलिरहेको छ । साहित्यमा उपन्यास र कथा पढ्न जाँगर चल्थ्यो । हिजोआज जीवनी पढ्न जाँगर चल्छ । एक उपन्यास लेखिसकेको छु । त्यो ‘करेक्सन’ गर्दै छु । मेरा केही कविता अंग्रेजीमा छन् । त्यसको पनि ‘करेक्सन’ मा व्यस्त छु । मेरो घरको निजी पुस्तकालयमा एक हजारजति होलान् कि । किताब सुरक्षित राख्न नसक्नेमध्ये म पनि एक हुँ । 

मेरो घुमफिर
प्रधानमन्त्री हुँदा माल्दिभ्स र मलेसिया पुगेको थिएँ । तर, सभामुख हुँदा युरोप घुमेको हुँ । सभामुख हुँदा वर्षको दुईपटक विदेश पुगेकै हुन्थें । नेपालका सबै जिल्ला घुम्न, टेक्न, पुग्न पाएको छैन । 

मेरो फुर्सद
प्रधानमन्त्री हुँदाभन्दा हिजोआज व्यस्त छु । प्रकाशनार्थ किताबको तयारीमा जुटेको छु । भर्खरै आँखाको शल्यक्रिया गर्नुपर्यो । बिहान उठेर शारीरिक अभ्यास गर्दा दुई घन्टा बित्छ । बेलुका पनि त्यत्ति नै समय लाग्छ । बाँकी समयमा आफूलाई व्यस्त राख्ने प्रयास गरेको छु । 

मेरो खेलकुद
मैले फुटबल, क्रिकेट र व्याडमिन्टन खेलेको थिएँ । तीन खेलको आ–आफ्नै विशेषता रहेको छ ।

मेरो मोबाइल
मोबाइल बोके पनि धेरै कम प्रयोग गर्छु । आफंैले प्रयोग गरेको मोबाइलको ब्रान्डबारे अनभिज्ञ छु । मोबाइलमा कुराकानी गर्नुपरे अरूले मिलाइदिनुपर्छ । 

मेरो टीभी
टेलिभिजनमा प्राथमिकतासाथ  समाचार हेर्छु । टीभी हेर्ने समय पौने सातदेखि जुर्छ । 

मेरो चलचित्र
धेरै वर्षपहिले हेरेको चलचित्रको नाम सम्झना छैन । 

मेरो रोग
चिकित्सकको भनाइअनुसार, हड्डी खिइँदै गएको छ । ढाडमा पनि सामान्य समस्या देखिएको छ । घुँडाले दुःख दिन थालेको छ । त्यसबाहेक स्वस्थ छु । मानिस स्वस्थ रहन खानपानमा ध्यान दिनुपर्छ । आहार, विहारमा ध्यान दिन सके धेरै हदसम्म स्वस्थ रहन सकिन्छ । 

स्वास्थ्यमा ध्यान दिन खोज्नु मानवीय स्वभाव नै हो । मैले पनि प्रयास गरेको छु । त्यसैले वर्षमा एकपटक ‘होलबडी चेकअप’ गराउँदै आएको छु । 

मेरो भाषणशैली
मलाई कसैले ‘पिन्च’ गर्यो भने म भाषण राम्रो गर्छु । अन्य बेला म भाषण राम्रो गर्न जान्दिनँ । भाषण गर्दा थेगो प्रयोग गर्दिनँ । मैले कहिल्यै आक्रामक भाषण गरिनँ । कडा कुरालाई नरम शैलीमा भाषण गर्न जान्ने कुशल व्यक्ति भनेर राजनीतिक वृत्तमा परिचित छु । 

मेरो मापसे
मादक पदार्थ पिउँदिनँ । चुरोेटलाई मादक पदार्थ मानिन्छ कि मानिँदैन । चुरोट खान छाडेको पनि १५ वर्ष भइसकेको छ । 

मेरो संगीत
गीत–संगीत सुन्थें । हिजोआज कमै सुन्छु । मैले पनि गीत, गजल लेखेको छु । 

मेरो भूल
जान–अञ्जानमा गल्ती गर्नु मानवीय स्वभाव नै हो । मबाट पनि भए होलान् । म पनि कमजोरीसहितको मानिस हुँ । 

मेरो घर
म बस्दै आएको लोकन्थली भक्तपुरको घर संवत् २०४९–०५० सालमा बनाएको हुँ । बैतडीको केही जग्गा बेचेर घर बनाउँदा खर्च गरेको थिएँ । घर बनाउँदा वास्तुशास्त्र नदेखाए पनि शुभसाइत हेराइएको थियो । घर बनाउँदा कति खर्च लाग्यो जानकारी छैन । नबनाउँ सकिँदैन भने पनि परिवारको जोडबलमा घर बनाइएको थियो । दोस्रो तला निर्माण सम्पन्न भएपछि मात्रै घर हेर्न पुगेको थिएँ । 

मेरो राशी
मेरो राशी मेष हो । ग्रहदशा म आफैं पनि हेर्छु । मलाई भूतको दशा छ । तर पनि ग्रहशान्ति गराएको छैन । 

मेरो सौन्दर्यचेत
कपाल सुख्खा हुँदा कहिलेकाहीं ‘ब्राइट क्रिम’ लगाउँछु । अनुहारमा कहिल्यै क्रिम लगाइनँ । 

मेरो प्रेम
हाम्रो मागीबिहे हो । 

मेरो सपना 
मेरो मान्यता छ, ‘समाजमा भ्रातृभाव होस् । प्रेमभाव होस् । त्यही प्रेमभाव कायम राख्न सके मुलुक बन्दै जान्छ ।’

विकास भनेको विचारमा निर्भर हुन्छ । एक–अर्कामा द्वेष कायम रहे हामी कहीं पुग्दैनौ । शान्ति हुँदैन । त्यसैले भ्रातृभाव र प्रेमभाव जागृत गराउनुपर्छ । 

चार–चारपटक प्रधानमन्त्री भएँ । अब कसैले अनुरोध गरे पनि म प्रधानमन्त्री बन्दै बन्दिनँ । 

मेरो मृत्यु
मानिस जन्मेपछि मर्नुपर्छ । यो ध्रुवसत्य हो । मृत्युबारे सोचेकै छैन । ज्यादै पीडा भएपछि मानिस बेहोश हुन्छ । बेहोश भएपछि पीडा थाहा हुँदैन । मृत्युपछि मलामी आए नआए पनि शवलाई केही थाहा हुँदैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप