मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

भारतीय हस्तक्षेपको विरोध नै वाम एकताको आधार

बुधबार, ११ साउन २०७४, १५ : ४८
बुधबार, ११ साउन २०७४

नेकपा माओवादी केन्द्रको स्थानीय तहको चुनाव समीक्षा बैठक सम्पन्न भएको छ । बैठकले चुनावमा पार्टीको पराजयलाई गम्भीर रूपमा लिएको विश्लेषण ग¥यो । पराजय निश्चय पनि अनपेक्षित रहेको छ । परन्तु यो मत परिणाम अपेक्षित पनि हो । यसो भनिरहँदा माओवादी केन्द्रका नेतृत्व तहका कमरेडहरूलाई नराम्रो लाग्न सक्दछ, तर पनि यो तीतो यथार्थ हो । 


माओवादी अब युद्धकालको माओवादी रहेको छैन । युद्धकालको माओवादी देशभक्त माओवादीहरूको शक्ति थियो । स्पष्ट रूपले वर्गशत्रु किटान गरेको अवस्था थियो । निश्चित कार्यनीति र स्पष्ट रणनीति थियो । त्यसबेला आम जनताको आशाको केन्द्रबिन्दु माओवादी नै थियो । माओवादी नेताहरू जनताका आशाका केन्द्र थिए ।

यी सबैको विपरीत आजको अवस्था विद्यमान छ । माओवादी केन्द्रका नेताहरू युद्धकालका आफ्नै सहयोद्धाहरूबाट चर्काे आलोचनाका पात्र बनिरहेका छन्  एकातिर भने अर्कातिर युद्धकालमा वर्गशत्रु घोषित देशीय प्रतिक्रियावाद र विदेशी विस्तारवादी प्रतिक्रियावादको स्वार्थ सिद्ध गर्ने अभियानमा लागेका देखिन्छन् । नेताहरूको भित्री सोचाइ यस्तो नहुनुपर्ने हो । तर बाहिरबाट स्पष्ट रूपमा देखिने यही हो । माओवादी केन्द्रका नेताहरूले देशभक्ति कुरा गर्नेहरूलाई ‘मण्डले राष्ट्रवादी’, ‘महेन्द्रकालीन राष्ट्रवादी’, ‘उग्रराष्ट्रवादी’ र ‘चरम राष्ट्रवादी’जस्ता शब्दहरूले अपमानित गर्ने काम गरिरहेका छन् । राष्ट्रवाद राष्ट्रवाद नै हो ।

राष्ट्रवादलाई कुनै पनि विशेषणको आवश्यकता पर्दैन । राष्ट्रवादलाई कुनै पनि शब्दले अपमान गर्नुको स्पष्ट अर्थ हुन्छ हामी विदेशीको लागि केही बोलिरहेका छौं । देशको हितमा कुनै कुरा बोलिन्छ भने त्यो राष्ट्रवाद हो । त्यसलाई कुनै विशेषणले होच्याएर बोल्नु नितान्त गलत काम हो । त्यो विदेशीको गुलामीलाई स्वीकार गर्ने घृणित चिन्तनको उपज हो भन्ने सकिन्छ । 


नेपालको वर्तमान अवस्था अत्यन्तै तरल बनिरहेको छ । यो अवस्थामा देशलाई स्थिर शासन प्रणालीको आवश्यकता छ । स्थिर शासन प्रणालीका लागि राजनीतिक स्थिरता आवश्यक हुन्छ । राजनीतिक स्थिरताका लागि देशमा क्रियाशील राजनीतिक दलहरूबीच राष्ट्रिय स्वाभिमानको साझा एजेण्डा बन्नु पर्दछ । हाम्रो देशको भूपरिवेष्ठित अवस्था र दुई छिमेकी देशहरूबीचको आपसी द्वन्दको अवस्थाले हामीलाई थप संयमित र संवेदनशील बनाएको अवस्था छ । यस्तो अवस्थामा पनि हाम्रा राजनीतिक नेताहरूले साझा दृष्टिकोण बनाउन सकिरहेका छैनन् । जता साझा दृष्टिकोण बन्नुपर्ने हो यता मेलमिलापको वातावरण देखिंदैन भने जता साझा दृष्टिकोण बन्ने कुनै सम्भावना नै छैन त्यतातिर मेलमिलाप भइरहेको अवस्था छ । राजनीतिक ध्रुवीकरणको यस्तो आश्चर्यजनक अवस्थाले सबैलाई चकित तुल्याउनु स्वाभाविक हो । 


नेपालमा कसको नेतृत्वमा कसको सरकार बन्नुपर्छ भन्ने विषय दिल्लीमा बढी गम्भीरतापूर्वक छलफल भइरहेको पाइन्छ । दिल्लीले एकपछि अर्को गरी आफ्ना दूतहरूलाई नेपालमा पठाएर विभिन्न राजनीतिक दलहरूका ढोका–ढोकामा भारतको झन्डा फहराउँदै ‘डिक्टेट’ गर्न पठाएका दृश्यहरू आमनेपाली जनताले टुलुटुलु हेरिरहनुपरेको छ । यी दृश्यहरू नेपाली जनताका लागि जति बाध्यकारी छन्, त्यत्तिकै पीडादायी र लज्जाजनक पनि छन् ।

परन्तु राजनीतिक दलका नेताहरूका लागि यस्तो गतिविधि दैनिकी बनिरहेको छ । अहिले नेपालका असली बुद्धिजीवी र राजनीतिक विश्लेषकहरू नेपालमा भारत कमजोर बन्दै गइरहेको विश्लेषण पनि गर्दैछन् । निभ्ने बेलाको बत्ती जस्तै भारतले आफ्नो गुम्दै गइरहेको शाख बचाउन अन्तिम प्रयासमा लागेको देखिन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने विषयले अहिले विशेष चर्चा पाएको छ । मोदी नेपाल आउँदैमा नेपालको समस्या समाधान हुने छैन ।

बरु मोदीकै कारणबाट नेपालले थप संकट झेल्नुपर्ने अवस्था आउन सक्दछ । उत्तरतिरको छिमेकी देश चीनले नेपालको आर्थिक सुदृढीकरणका लागि र भविष्यमा दैनिक उपभोग्य सामग्रीहरूको अभाव हुन नदिने व्यवस्थाका लागि विशेष सहयोगको भूमिकामा आपूmलाई प्रस्तुत गरिरहेका बेला भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमण सुखद बन्ने छैन । एकातिर चीन र भारतको सीमा विवाद चर्किरहेको छ भने अर्काेतिर नेपालको संकट समाधानका लागि चीनले आपूmलाई तत्परता देखाइरहेको अवस्था छ । यस्तो अवस्थाबीच भारतीय नेपाल भ्रमणले नेपाललाई कस्तो असर पु¥याउला ? अनुमान गर्न सकिन्छ  ।


माओवादी नेतृत्वले स्थानीय चुनावी पराजयलाई आफ्नो पार्टीभित्रको गुटबन्दीलाई कारण ठहर गरेर बैठकको निष्कर्ष सार्वजनिक गरेको छ । पार्टीभित्र गुटबन्दी हुनु सामान्य कुरा हो । तर पार्टी विभाजन नै हुने गरी भएका गुटबन्दीहरू निश्चय पनि सुखद होइनन् । पार्टी विभाजनलाई आधार पुग्ने गरी गुटबन्दी हुनुमा पार्टीको नीति नै मुख्य कारण हुन्छ । युद्धबाट आएको पार्टीले युद्धका सबै एजेण्डाहरूलाई छोडेपछि त्यो पार्टीमा असन्तुष्टि जाहेर हुनु स्वाभाविक हो । युद्धकालका एजेण्डाहरू गलत थिए भन्न पनि नसक्ने र एजेण्डाहरूलाई निरन्तरता दिन पनि नसक्ने भएपछि त्यस्तो दोधारको अवस्थामा पार्टी एकढिक्का हुने कल्पना गर्न सकिंदैन । 


माओवादी पार्टीले प्राप्त गर्नुपर्ने चुनावी परिणाम नेकपा एमालेले प्राप्त गरेको छ । यस्तो हुनुमा एमाले नेतृत्वले देशभक्ति आन्दोलनमा देखाएको सक्रियताले भूमिका खेलेको छ भन्ने बुझ्न कठिन छैन । यसका साथै माओवादी केन्द्रमा देखिएको भारतपरस्त चिन्तनले पनि यसलाई प्रभावित तुल्याएको हो । नेपालको देशभक्ति चिन्तनले भारतका लागि भारतविरोधी चिन्तनका रूपमा आरोप खेप्दै आएको छ ।

यही आरोपको त्रासमा नेपालका वामपन्थी नेताहरू जहिल्यै पनि परिरहेका देखिन्छन् । जबसम्म यो रोगबाट नेपालका नेताहरू मुक्त हुँदैन, तबसम्म नेपाल स्वाधीन बन्न सक्ने छैन र आर्थिक समृद्धि पनि यो देशको लागि सम्भव हुने छैन । त्यसैले नेपालका वामपन्थी पार्टीको आवरणमा राजनीति गरिरहेका दलका नेताहरूले कमसेकम राष्ट्रिय स्वाधीनताको सवाललाई साझा एजेण्डा बनाएर वाम इमान्दारिता प्रदर्शन गर्न आवश्यक छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निमकान्त पाण्डे
निमकान्त पाण्डे
लेखकबाट थप