केन्द्रीय संस्करण
विश्व

गतहप्ता केही फ्ल्यास प्वाईन्टहरुमा घटेका घटनाहरुले विश्व व्यवस्था परिवर्तन गर्ने संकेत

person explore access_timeमंसिर २७, २०७५ chat_bubble_outline0

घटना १ 
ब्रेक्जिट अहिले पनि बहसमा छ । संयुक्त अधिराज्य बे्रक्जिट अन्तर्गत कसरी युरोपेली युनियनबाट बाहिरिने भनेर एउटा सुत्र पनि तय भएको छ । त्यही सुत्रबारे युरोपेली युनियनको वैठक बसेर बहस भइरँहदा हठात स्पेनले एउटा अडान राख्यो ।  उसले जिब्राल्टर बेलायतले उसलाई दिनुपर्छ भन्ने अडान राखेको छ । सबैलाई थाहा भएको कुरा हो, जिब्राल्टर ठूलो चोकिङ प्वइन्ट हो । त्यो चोकिङ प्वइन्टमाथि अधिपत्यको लागि स्पेनको अडान आएको हो । 

युरोपेली युनियन, पश्चिम युरोपका राष्ट्रहरु र बेलायतको धेरै कुरा मिल्छ तर त्यति हुदाँहुदै पनि आफू रणनीतिक रुपमा हावी हुने यस्ता चोकिङ प्वइन्टको आधिपत्य आफूमा रहनुपर्छ भनेर हरेक देश कसरी सजग हुँदा रहेछन् भनेर एउटा यो महत्वपूर्ण उदाहरण हो । 

रणनैतिक रुपमा आफ्नो क्षमता बृद्धि गर्न, आफ्नो बार्गेनिङ पावर अभिबृद्धि गर्न, अरुमाथि हावी हुन र अन्तर्राष्ट्रिय राजनीतिमा आफ्ना सर्तहरु मनाउनको लागि यस्ता बिन्दूहरु अत्यन्तै महत्वपूर्ण हुन्छन् । त्यस्तै बिन्दूमध्ये एउटा जिब्राल्टर हो । त्यसमाथि शासन स्थापना गर्नको लागि स्पेनले आफ्नो सरोकार व्यक्त गरेको हो । यद्यपि, यो कुरा अघि बढेन । बेलायतले मानेन तथापि ब्रेक्जिटको सम्झांैता अन्त्य नभएकोले यस थप छलफल हुनसक्छ ।  

घटना २  
अर्को प्रसंगमा अर्जेन्टिनाको राजधानी व्युनस आयर्समा भएको ठूला अर्थतन्त्र  भएका राष्ट्रहरुको जी–२० को सम्मेलनको । त्यो बैठकमा साउदी अरबको तर्फबाट युवराज सलमान स्वयम् सहभागी भएका थिए । त्यहाँ उनी निक्कै अलग–थलग भए । पश्चिमा देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखले उनलाई खासै रेस्पोन्स गरेनन् । त्यत्रो बीस जना भेला भएको ठाउँमा धेरै उनीबाट तर्किएर हिँडे । कतिले हात समेत मिलाएनन् । 

त्यस्तो स्थितिमा पुटिनले भने धाएर गएर हात मिलाए । मोदीले पनि उनीसँग हार्दिकता प्रस्तुत गरे । त्यहाँबाट फिर्ता हुने वित्तिक्कै साउदी अरबका तेल मन्त्रीले ओपेकले तेलको मूल्य बढाउनको लागि दवाव दिइरहेको छ भने । उनी युवराजसँगै जी–२० सम्मेलनमा गएका थिए ।

यसअघिको प्रस्तुतिमा मोहम्मद बीन सलमान रुस गएको र भारतका गर्भनर साउदी अरबको भ्रमण गरेर तेलको कारोबार भारु र साउदी रियालमै गर्छौं भनेको कुरा भने । यी दुई घटनापछि साउदी अरबका युवराजका दशाहरु सुरु भएको देखिन्छ । त्यसै अन्तर्गत यो खशोग्गीको प्रकरण पनि आएको हुनसक्छ । 

त्यहाँ युवराजको तख्ता पलटको स्थिति पनि देखिन्छ । रुससँग साउदी अरबको सहज सम्बन्ध अगाडि बढ्नु भनेको अन्तर्राष्ट्रिय राजनीतिमा परिवर्तनको संकेत पनि हो ।  यी दुई एक ठाँउमा हुने वित्तिक्कै इरानको राजाको पालामा जस्तै स्थिति दोहोरिन सक्छ । इरान र साउदी अरब एक ठाउँ भयो भने खाडीको राजनीति मात्र होइन, विश्व राजनीतिक व्यवस्था, तेलको राजनीति, उर्जाको राजनीतिनै बदलिन्छ । 

त्यो व्यवस्था परिवर्तन हुन्छ भनेर इजरायल चनाखो भएको देखिन्छ । त्यसैले उसका नेताहरु ऐतिहासिक रुपमा यूएई र ओमनको भ्रमण गरेको छ । इजरायलको प्रधानमन्त्री र मन्त्री ओमन र यूएईजस्तो अरबी मुलुकहरुको भ्रमणमा जानु भनेको सानोतिनो घटना होइन । 

भावी दिनमा साउदी अरबका युवराजको तख्ता पलट हुने हो या साउदी अरब, रुस, भारत र इरान एक ठाँउमा आएर विश्व राजनीतिक व्यवस्था परिवर्तन हुने हो ? त्योचाहीँ भविष्यले देखाउला । तर यो क्याइमेक्सतर्फ स्थिति अघि बढिरहेको छ । 

घटना ३ 
तेलको मूल्यको तापले यदि सबैभन्दा बढी ‘हिट’ गरिरहेको छ भने त्यी फ्रान्सका राष्ट्रपति म्याक्रो हुन् । त्यहाँ भएको विशाल विरोध तेलमा बढाइएको करबाट नै सुरु भएको हो । रोचक कुरा के छ भने उनको देशमा तब समस्या आएको छ, जब उनले अमेरिका, रुस र चीनलाई समेत टक्कर दिने खालको युरोपेली सेनाको कुरा उठाएका छन् । 

घटना ४ 
भारतको सन्दर्भमा पनि मोदीको उदयबाट अमेरिका पूर्ण सन्तुष्ट छैन । यही कारण चुनाव नजिक आइरहँदा मोदीविरुद्ध मिडियामा ‘कू’ हुने हो कि सामाजिक अराजकताजस्ता घटना बेहोर्नुपर्छ भन्ने अनुमान पहिलेदेखि थियो । लफडा मुद्रा युद्धमा देखियो । भारतको हिन्दी भाषी राज्यहरुमा भएका पछिल्ला निर्वाचनको परिणाम मोदीको पक्षमा आएन । मुद्रा द्वन्द्वले मोदीलाई कमजोर बनाउन काम गरेको देखियो ।

उनीहरुको चालबाट सन् २०१९ को आमचुनावबाट भारतमा कमजोर खालको नेता सत्तामा ल्याउने अभ्यास भएको देखिन्छ । यसो गरे अघि मैले भनेको विश्व राजनीतिक व्यवस्थाको परिवर्तनलाई रोक्ने उनीहरुको उदेश्य देखिन्छ । 

घटना ५ 
यही कडीमा जोडिन्छ, श्रीलंका । दक्षिण एसियामा रहेको यो राष्ट्र पनि हामीहरुको झण्डै झण्डै छिमेकी राष्ट्र हो । त्यहाँको संसदले पहिलेकै प्रधानमन्त्रीमाथि विश्वास व्यक्त गर्यो । यसले संसद र राष्ट्रपतिको द्वन्द्व सुरु गरायो । यो कहाँसम्म पुग्छ भन्न सकिदैंन ।

संसदको प्रधानमन्त्री एउटा छ, राष्ट्रपतिको प्रधानमन्त्री अर्को छ । रनिलविक्रमासिंघे संसदका प्रधानमन्त्री अनि महिन्द्रा राजापाक्ष राष्ट्रपतिका प्रधानमन्त्री छन् । प्रधानमन्त्री त फेरि संसदले छान्ने व्यवस्था छ । त्यहाँ एकदमै अन्योलको अवस्था छ । भारत र चीनकेन्द्रीत राजनीतिकै कारण श्रीलंकाले दुःख पाइरहेको हो । 

घटना ६  
नेपालमा पनि यो बीच केही घटनाहरु भए जसमध्ये एउटा उल्लेखनीय घटना भनेको सुशुप्त इसाईकरणसँग सम्बन्धित एकसभा यहाँ भयो ।  त्यसमा भारतको सत्तापक्षको पनि सहभागिता छ भन्ने पार्नको लागि त्यहाँ कुनै पनि अस्तित्व नभएको र लगभग सत्तामा खेलो हराएको एक कनिष्ट नेता ल्याएर उभाइएको थियो । त्यस्तै अर्का उलेख्नीय नेतामा एक पूराना प्रधानमन्त्रीलाई पनि ल्याइयो । उनको पनि हाल भारतको जनमतमा कुनै पनि अस्तित्व छैन । 

त्यसले नेपालका वर्तमान प्रधानमन्त्रीलाई पनि मिडिया ‘कू’ देखि समाजिक ‘कू’सम्म गर्ने यथेष्ट वातावरण प्रदान गरिदियो । यो सबैको तार पनि आगामी भारतको चुनावसँग कहिँ न कहिँ  जोडिन्छ । 

घटना ७ 
हामीहरुको अर्को छिमेकी चीनसँग जोडिएको एक घटना पनि उल्लेखनीय छ । ‘ह्वावे’ भन्ने त्यहाँको एक ठूलो मोबाइल निर्माता कम्पनीको सीएफओलाई इरानमाथि हामीहरुले लगाएको प्रतिबन्ध उल्लंघन गरेर व्यापारिक सम्बन्ध गाँसेका भनेर क्यानडामा पक्रियो । 

इरान कति महत्वपूर्ण छ भनेर यसले पनि देखाउँछ । एक व्यापारिक कम्पनीलाई इरानसँग सम्बन्ध गाँसेको भनेर यति ठूलो कम्पनीको उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरिएको छ । त्यो पनि कुन अवस्थामा भने ९० दिनको लागि आफूहरुबीच चलिरहेको व्यापारिक युद्ध स्थगन गरेका छौं भनेर चीनका राष्ट्रपति र अमेरिकाका राष्ट्रपति सहमत भएको भोलिपल्ट । 

इरानको व्यापारसँग सम्बन्धित भएबाट यो कुरा अघि आएको छ । यसले इरान अझै कत्ति महत्वपूर्ण रहेछ देखायो । अब इरान र रसियासँगको सुमधुर सम्बन्ध भएका कारण मोदीले के भोगिरहेका छन् भनेर त जगजाहेर छ । 

विश्वका प्रमुख चोकिङ पोइन्ट र फ्लास पोइन्टमा भएका यी घटनाको दुरगामी असर हुनेनै छ ।


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.