शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुर र भैरहवा ईपीएलको प्लेअफमा

बुधबार, २६ मङ्सिर २०७५, १८ : ५८
बुधबार, २६ मङ्सिर २०७५

साविकको उपविजेता भैरहवा ग्लाडीयटर्स तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी ट्वान्टी क्रिकेटको प्ले अफमा पुगेको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार साविकको विजेता विराटनगर वारियर्सलाई ४ विकेटले पराजित गर्दै शरद भेषावकरको भैरहवा लगातार तेस्रो जितसहित प्ले अफमा पुगेको हो ।  

पारस खड्काको कप्तानीमा रहेको विराटनगरले दिएको ९२ रनको सामान्य लक्ष्य भैरहवाले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।  भैरहवाका लागि रायन टेन डोसकाटेले २० रन बनाए । यस्तै कप्तान शरद भेषावकरले १६ रन जोड्दा रबी इन्दर सिंहले १२ रन बनाए । प्रदीप ऐरी १० रनमा आउट हुँदा रोहित पौडेल ७ रनमा अविजित रहे । विराटनगरका भान डेर मिर्वीले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १८ ओभर ४ बलमा अलआउट हुँदै ९१ रन बनाएको थियो । विराटनगरका लागि भान डेर मेर्वीले २५ रन जोड्दा करण केसीले १८ रन जोडे । यस्तै सुमित महर्जनले १५ रन जोड्दा हरि बहादुर चौहानले अविजित १३ रन बनाए ।

विराटनगरलाई सस्तैमा समेट्न भैरहवाका लागि मोहमद नाभिदले उत्कृष्ट बलिङ गरे । नाभिदले ४ ओभर बलिङ गर्दै १४ रन खर्चेर ४ विकेट लिए । यस्तै कृष्ण कार्की र अविनाश बोहोराले २÷२ विकेट लिए । विराटनगरविरुद्धको जितसंगै भैरहवाले ३ खेलबाट ६ अंक जोड्यो । दुई खेलमा ४ अंक जोडेको विराटनगर तेस्रो स्थानमा छ । विराटनगरको पनि प्ले अफ पुग्ने सम्भावना कायम रहेको छ ।

यस्तै आज नै भएको अर्को खेलमा ललितपुर प्याट्रीयट्स पनि प्ले अफमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा काठमाडौं किङ्स इलाभेनलाई १० विकेटले पराजित गर्दै ललितपुर एक खेल अगावै प्ले अफमा स्थान बनाएको हो ।

त्रिवि मैदानमा काठमाडौंले दिएको ११० रनको सामान्य लक्ष्य ललितपुरले १० ओभर ३ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो । ललितपुरको जितमा भारतीय ब्याट्सम्यान गौरव तोमार र जय किशन कोल्शावालाले पहिलो विकेटका लागि ११५ रनको शतकीय साझेदारी गरे । तोमारले ८० रनको अविजित अर्धशतकीय इनिङस खेल्दा कोल्शावालाले अविजित २७ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ काठमाडौंले १९ ओभर ५ बलमा अलआउट हुँदै १०९ रन बनाएको थियो । काठमाडौंका लागि कप्तान केभिन ओ ब्रोएनले सर्वाधिक ४२ रन जोडे । कप्तान सोमपाल कामी घाइते हुँदै टिमबाहिर रहेपछि केभिनले कप्तानी गरेको हो ।

यस्तै सिधान्त लोहनीले २१ रन जोड्दा संसाद शेखले १० रन बनाए । ललितपुरका पवन सर्राफले ३ तथा राशिद खान र योगेन्द्र सिंह कार्कीले २÷२ विकेट लिए । जितसंगै ललितपुरले ४ खेलबाट ६ अंक जोडेको छ । पहिलो हार ब्यहोरेको काठमाडौंले दुई खेलबाट २ अंक जोडेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप