बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीको जनमत उल्टियो, पछिल्लो निर्वाचन परिणामले देखायो काँग्रेसलाई बलियो

बुधबार, २६ मङ्सिर २०७५, १४ : २०
बुधबार, २६ मङ्सिर २०७५

एजेन्सी । भारतमा अर्को वर्ष हुने लोकसभा निर्वाचनको मिति घोषणा हुन अझै तीन महिना बाँकी छ । 

पछिल्लो एक वर्षमा ५ ठूला राज्य गुजरात, कर्नाटक, मध्यप्रदेश, राजस्थान र छत्तीसगढमा विधानसभा चुनाव भयो । यी निर्वाचनमा भाजपालाई प्राप्त सिटको ट्रेन्ड हेर्दा सन् २०१९ को लोकसभा चुनावमा भारतका मुख्य १६ राज्यमा उसले ४२२ सिटमध्ये १५५ देखि १६५ सङ्ख्यामा मात्रै सिट जित्न सक्ने देखिन्छ अर्थात उसलाई १२० सिटको नोक्सानी हुनसक्छ । त्यस्तै काँग्रेस यी राज्यमा गठबन्धन गरेर १४५ देखि १५० सिट जित्न सक्छ । 

विगत हेर्ने हो भने माथि उल्लेखित ५ राज्य भाजपा र काँग्रेसमध्ये एकले शासन गर्दै आइरहेका छन् । यहाँ पछिल्लो ३० वर्षमा यिनै दुई दलबीच सीधा प्रतिस्पर्धा हुँदै आएको छ । 

यी ५ राज्यमा ११९ लोकसभा सिट छन् । सन् २०१४ को लोकसभा चुनावमा भाजपाको यी राज्यहरूबाट १०५ सिट पाएको थियो । जबकि काँग्रेसको ११ सिट मात्र पाएको थियो । 

यी नतिजाहरूले देखाएको ट्रेन्ड अनुरूप नै सन् २०१९ मा पनि मत आउने हो भने भाजपाले यी ५ राज्यमा ५४ सिट प्राप्त गर्नेछ अर्थात् उसलाई अघिल्लो निर्वाचनको भन्दा लगभग ५१ सिट नोक्सानी हुन सक्छ । काँग्रेसको हालको टे«ेन्डबाट यी राज्यहरूमा उसले ६० सिट प्राप्त गर्न सक्छ । उसलाई भने ५० सिट फाइदा हुन सक्छ । 

यी ५ राज्यहरूमा रहेको मतपरिणामको ट्रेन्डमार्फत भारतका बाँकी ठूला ११ राज्यहरूको पनि आँकलन गरियो । त्यहाँ सन् २०१४ मा भाजपाले नेतृत्व गरेको गठबन्धन एनडीएले २९५ सिटहरू प्राप्त गरेको थियो । यिनमा २६६ सिट त भाजपा एक्लैको थियो । गठबन्धनका अन्य दलले कुल २९ सांसद पाएका थिए ।  

तीन राज्यमा ६५ लोकसभा सिट 
मध्यप्रदेश, राजस्थान र छत्तीसगढमा ६५ लोकसभा सिट छन् । सन् २०१४ मा भाजपाले यहाँ ६२ र काँग्रेसले मात्र ३ सिटमा जित हासिल गरेको थियो । काँग्रेसले राजस्थान, गुजरातमा खातासम्म खोल्न सकेको थिएन । भाजपाले ती राज्यमा ‘क्लिनस्विप’ गरेको थियो । यदि मतदाताहरू हाल रहेकै मुडमा रहेमा सन् २०१९ मा भाजपा ती ६२ सिटमध्य २७ सिट मात्रै जित्न सक्छ । उता काँग्रेसको भने सिट ३ बाट बढेर ३७ हुनेछ । 
१. मध्यप्रदेश 
विधानसभा सिट : २३०
लोकसभा सिट : २९

२. राजस्थान
विधानसभा : २००
लोकसभा सिट : २५

३. छत्तीसगढ
विधानसभा सिट : ९०
लोकसभा सिट : ११

भावि दिनमा के हुन सक्छ ?
लोकसभा चुनावको लडाइँ मोदीविरुद्ध राहुल बनाउने कोसिस हुने सम्भावना बढेको छ ।  

सन् २०१४ मा मोदी प्रधानमन्त्री बनेपछि पहिलो पटक काँग्रेसले सीधा लडाइँमा भाजपालाई हराएको छ । अब पूरै लडाइँलाई राहुल विरुद्ध मोदी देखाउनमा काँग्रेसलाई बल प्राप्त हुनेछ । 

यी राज्यहरूमा ४० लोकसभा सिटहरूमा काँग्रेस अगाडि देखिइसकेको छ । यो आधारमा लोकसभा चुनावमा सहयोगीहरूलाई सङ्गठित गर्न सजिलो हुनेछ । यसले राहुलको स्वीकार्यता पनि बढ्नेछ । 
राहुलले अब मोदीविरुद्ध निर्माण भएको असन्तोषलाई देशभरी प्रयोग गर्ने कोसिस गर्नेछन् । 

२० राज्यका १९६ सिटमा काँग्रेस एक्लै लड्न सक्छ 
काँग्रेस गुजरात, पन्जाब, राजस्थान, मध्यप्रदेश, छत्तीसगढ, केरला, आसम, ओडिसा, दिल्लीसमेत देशका २० राज्यहरूमा एक्लै चुनाव लड्न सक्छ । यी राज्यहरूमा १९६ लोकसभा सिट छन् । तर उसले उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाल, जम्मु–कस्मिर, तमिलनाडु, आन्ध्र प्रदेश, तेलङ्गाना, हरियाणा, झारखण्ड, महाराष्ट्रमा गठबन्धन गर्न सक्छ । 

भाजपाको भावि रणनीति  

सन् २०१४ मा २३ दलको साथ चुनावमा उत्रेको भाजपासँग अहिले ११ दलले नाता तोडिसकेका छन् । पछिल्ला निर्वाचनमा हारपछि भाजपा अब हालका सहयोगीहरूलाई सँगै राख्न र नयाँ सहयोगी जोड्नका लागि नरम हुन सक्छ । 

भाजपा पछिल्लो चुनावको पराजयपछि आफ्ना कोर एजेन्डाहरूमा फर्कन सक्छ । यसमा राम मन्दिरको निर्माण, धारा–३७०, कमन सिभिल कोड जस्ता उसले पहिले उठाएका मुद्दाहरूलाई संसदको यही सत्रमा निर्णायक फैसला गर्नेबारेमा सोच्न सक्छ । 

यसका साथै उसले काँग्रेसका पुराना असफलताहरू प्रचारमा ल्याउने अतिरिक्त आफ्नो उपलब्धिहरूलाई अघि ल्याउने कोसिस गर्नेछ । यो पटकको निर्वाचनमा उसले लिएको काँग्रेसको आलोचना गर्ने कामले मात्र काम नगरेको देखियो । 

७५ सम्म चल्नेछ लोकसभा निर्वाचन

मोदी सरकारको कार्यकाल ३१ मेमा सकिनेछ । त्यो अघि १७औं लोकसभाको गठन भइसक्नु पर्नेछ । अब तीन महिनाभित्र चुनावको घोषणा हुन सक्छ । 

सामान्यतया भारतको लोकसभा निर्वाचन सम्पन्न हुन ७२ दिनदेखि ७५ दिन लाग्छ । सन् २०१४ मा मार्च ५ को आम चुनावको मिति घोषणा भएको थियो । त्यो बेला मार्च १४ मा पहिलो चरणको लागि सूचना जारी भएको थियो । आसाम र त्रिपुरामा मतदान भएको थियो । ३५ दिनमा ( अप्रिल ७ देखि मे १२ सम्म) ९ चरणको मतदान भएको थियो । अर्थात सरकारलाई चुनावभन्दा पहिले तयारी गर्नका लागि मात्र ३७ दिन प्राप्त भएको थियो । 

सन् २०१४ मा चुनाव परिणाम मे १६ मा आएको थियो । नरेन्द्र मोदीले मे २६ मा प्रधानमन्त्री पदको शपथ थिएका थिए । यसले गर्दा लगभग ७२ दिन अचार संहिता लागू भएको थियो । 

त्यसअघि सन् २००९ को लोकसभा निर्वाचनमा त मार्च २ मै चुनाव घोषणा भएको थियो । त्यसको ७५ दिनपछि मे १६ मा निर्वाचन परिणाम आएको थियो । पछिल्लो दुई लोकसभा चुनावहरूको प्रक्रियाको हिसाबमा हेर्ने हो भने मार्चको पहिलो हप्ता नै निर्वाचन आयोगले आगामी चुनावको मिति घोषणा गर्न सक्छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप