शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

'फोरम नेपालसँग एकीकरण हुन सक्दैन'

बुधबार, २६ मङ्सिर २०७५, १३ : १३
बुधबार, २६ मङ्सिर २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संयोजक फेरिएपछि पार्टीभित्र अन्तरिक विवाद चुलिएको छ । विवादका कारण बैठक नै बस्न सकिरहेको छैन । पार्टीभित्र प्रष्ट रूपमा दुइटा गुट देखिएको छ । तर पनि सङ्घीय समाजवादी फोरमले राजपासँग एकीकरणका लागि वार्ता समिति गठन गरेको छ । तर राजपा आफै अलमलमा छ । राजपाभित्र देखिएका विवाद, फोरमसँग एकीकरण प्रक्रिया लगायतका विषयमा  केन्द्रीत रहेर राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवसँग रातोपाटी टीभीका लागि राेहित दाहालले लिएको अन्तरवार्ताको सम्पादित अंशः

अध्यक्षमण्डलबाट महन्थ ठाकुरलाई हटाएपछि राजपा नेपाल बिरामी परेजस्तो देखिन्छ, किन त्यस्तो ?
–महन्थ ठाकुरलाई अध्यक्षमण्डलको संयोजकबाट हटाएको भन्नु सर्वथा गलत कुरा हो । महन्थ ठाकुर अहिले पनि श्रद्धेय नेता हुनुहुन्छ । छवटा दल मिलाएर राजपा नेपाल गठन गर्दा छवटै दलका अध्यक्षहरूलाई राखेर अध्यक्षमण्डल बनाउने र दुई–दुई महिनामा संयोजक फेरिने चक्रीय प्रणाली सुरु गरेका थियौँ । महन्थ ठाकुर सम्मानित र अनुभवी व्यक्तित्व भएका कारण हामी उहाँलाई संयोजकमा निरन्तरता दिइरह्यौँ । पार्टी महाधिवेशनको तयारीमा जुटिसकेको छ । महाधिवेशनमा गएको हुनाले पार्टीले निर्धारण गरेको नीति लागू गराउन आफ्नै अध्यक्षतामा बसाउनुभएको बैठकमा संयोजक फेर्ने काम उहाँले गर्नुभयो । विधानलाई लागू गराउने काम गरेका हौँ । माथिबाट विधानलाई कार्यान्वयन गराउँदा तलसम्म त्यसको प्रभाव पर्छ भनेर नै माथि त्यो निर्णय गर्यौं । तर संयोजकबाट हटाएको जुन प्रचार भयो, त्यो गलत हो ।

विधानमा त अध्यक्षमण्डलको सर्वसम्मतिबाट कुनै निर्णय गर्ने कुरा उल्लेख छ तर तपाईंहरूले बहुमतबाट निर्णय गरेर उहाँलाई किन हटाउनुभयो ?
–यो निर्णय भएको होइन, संविधानमा उल्लेख भएको कुरालाई लागू गराइएको मात्र हो । कुनै नयाँ विषयको बारेमा निर्णय गर्नुपर्दा सहमतीय आधारमा गर्ने हो तर यो विधानमा भएको व्यवस्थालाई एउटा अन्डरस्ट्यान्डिङको आधारमा हामीले त्यसलाई रोकेका थियौँ त्यसलाई चालु गराउँदा नयाँ निर्णय गर्ने आवश्यकता पर्दैन नि । त्यो प्रक्रिया सुरु गरिदिएको मात्र हो । अल्पमत वा बहुमतको आधारमा कसैलाई हटाएको कसैलाई राखेको कुरा हुँदै होइन । विधानलाई लागू गराइएको मात्र हो ।

विधान लागू गराउँदा सर्वसम्मतिमा किन गर्नुभएन त्यहाँ बहुमतले किन भयो त ?
–अल्पमत, बहुमत भएकै हो । त्यो सर्वसम्मतीले भएको मात्र हो । विधान लागू गराउने प्रक्रिया सुरु गरेको मात्र हो । महन्थजीले नै भन्नुभयो कि वैशाखमा महाधिवेशन छ । समय छोटो छ, सबैले समय पाउने गरी अब एक–एक महिनाको चक्रीय प्रणाली लागू गरौं ।’ त्यही कुरामा फरक परेर मत बाझिएको हो । महाधिवेशनको समय नजिक आइसकेका हुनाले अब विधान संशोधन गर्नेतिर नलागौँ, जे छ त्यसैलाई लागू गरौँ भन्दा अलि फरक जस्तो देखिएको मात्र हो । 

यो निर्णय गर्नलाई कुनै गोप्य ठाउँमा किन बस्नु पर्यो त । त्यहाँ बसेर निर्णयको ड्राफ तयार गर्नुभयो । पछि त्यसैलाई ल्याएर लेटरप्याडमाथि टाँसेर सार्वजनिक गर्नुभयो । बादमासी त देखिन्छ नि ?
–महन्थ ठाकुरले आफ्नै अध्यक्षतामा अध्यक्षमण्डलको बैठक बसाउनुभयो । त्यसैले यसलाई गोप्य भन्न मिल्दैन । यदि निर्णयमा कुनै बदमासी भएको भए उहाँले बैठक स्थगित गर्न सक्नुहुन्थ्यो । तर उहाँकै सहमतिमा निर्णयहरू भएका हुनाले यसलाई बदमाशी भन्न मिल्दैन । अर्को दिनको बैठकमा उहाँले आफै ममा कुनै प्रकारको असन्तुष्टि छैन । बजारमा आएका हल्ला सबै निराधार हुन् । त्यसमा कुनै सत्यता छैन भनी उहाँले आफै भन्नुभएको हो । यो केही होइन, हाम्रा विपक्षीहरूले अनावश्यक कुरा उचालेर खुशीयाली मनाएका मात्र हुन् । राजपा नेपाल एउटा जिवन्त लोकतान्त्रिक पार्टी हो । यसले अब चाँडै नै बैठक बसेर राष्ट्रिय राजनीतिक विषय र पार्टीको विषयमा चाँडो निर्णय लिइनेछ । लेटरप्याडको जहाँसम्म कुरा उठाउनु भो । त्यो केही होइन । लेटरप्याड कस्तो छ, त्यो महत्त्वपूर्ण कुरा होइन । महन्थ ठाकुरले त्यसमा हस्ताक्षर गरिसकेपछि त्यो सदर नै मानिन्छ ।

महेन्द्रराय यादवले महन्थ ठाकुरले गल्ती गर्नुभएको छ । उहाँले मनोमानी गरेर जथाभावी नियुक्ति गर्नुभएको छ, त्यही भएर हटाएको भन्नुभएको छ नि ?
–त्यो उहाँको व्यक्तिगत धारणा हो, पार्टीको आधिकारिक लाइन हो । एक्सनमा रिएक्सन दिनुभएको होला । साथीहरूको बुझाइमा केही फरक भएको होला तर अब सबै कुरा व्यवस्थापन भइसकेको छ । राजपा नेपाल एउटा मिसनका लागि बनेको पार्टी हो । यो पार्टीप्रति लाखौँ जनताको आशा, भरोसा र बलिदानी रहेको छ । त्यसैले कसले के बोल्यो भन्दा पनि राजपा नेपालले गरेको निर्णयलाई सबैले मान्छ कि मान्दैन त्यो महत्त्वपूर्ण कुरा हो । 

सरकारबाट समर्थन फिर्ता लिने अल्टिमेटमकै अन्तिम दिन राजपा नेपालमा संयोजक फेरियो, यो संयोग मात्र थियो कि त्यसो गर्नै खोजिएको हो ?
–सरकारबाट समर्थन फिर्ता लिने वा दिने विषयसँग संयोजक फेरिनुको कुनै सरोकार छैन । सरकारलाई दिएको समर्थनको विषयमा अर्को बैठक बसेर आवश्यक निर्णय राजपा नेपालले लिइनेछ । 

समर्थन फिर्ता लिने अल्टिमेटम सकिएकै दिन संयोजक फेरिनुको रहस्य तपाईंहरू सरकारमा जान लाग्नुभएको हो कि होइन ?
–होइन, यो विषय नै होइन । संयोजक फरिने विषयसँग यो विषयको कुनै सरोकार नै छैन । अध्यक्षले बैठकको अध्यक्षतमा मात्र गर्ने हो । कुनै निर्णयमा उहाँको रायको महत्त्व हुँदैन । सबैको राय नै मुख्य हुन्छ । सामूहिक निर्णयलाई सर्वसम्मति निर्णय मान्ने गरिन्छ । त्यसलै तपाईंले जे कुरा भन्नुभयो, त्योसँग संयोजक फेरिनुको कुनै सम्बन्ध छैन । संयोजकले आफै कुनै निर्णय गर्न सक्दैन । संयोजक फेरिँदैमा राजपा नेपालको नीति, उद्देश्य, राजनीतिक कार्यक्रममा कुनै फरक पार्दैन । यसले सरकारमा जाने नजाने विषयसँग कुनै सरोकार राख्दैन ।

राजपा नेपाल सरकारमा जान्छ कि जाँदैन ?
–राजपा नेपाल यथास्थितिमा सरकारमा जाँदैन  र, अहिले त्यसको सम्भावना पनि छैन ।

महाधिवेशनपछि पनि राजपा नेपाल सामूहिक नेतृत्वमा जान्छ त ?
–महाधिवेशनपछि एकल नेतृत्वमा जान्छ तर निर्णय सामूहिक हुन्छ । राजपा नेपाल एउटा वैकल्पिक शक्तिका रूपमा अगाडि बढेको छ त्यसैले हामी एउटा सङ्गठनात्मक सिद्धान्त तय गर्छौं र त्यसैका आधारमा आगाडि बढ्छौं । 
 

सङ्घीय समाजवादी फोरमले राजपासँग एकीकरण गर्न वार्ता समिति बनाएको छ, यसमा राजपाको के प्रतिकृया छ ?
–सबैभन्दा पहिले राजपाले एकता र सहकार्यलाई स्वागत गर्छ । हामीले यसअघि सातवटा घटक रहेको मधेसी मोर्चामध्ये छवटा घटक मिलेर राजपा नेपाल बनाएका हौँ । त्यसैले एकता पक्रियालाई नेतृत्व दिएको पार्टी राजपा नेपाल हो । फोरम नेपालले वार्ता समिति गठन गरेको कुरा स्वागतयोग्य हो तर यसमा एक दुईटा कुरा स्पष्ट हुनु आवश्यक छ । एकताप्रति इमानदारिता हुनुपर्यो । प्रचार प्रसारका लागि मात्र हुनुभएन । त्यसका साथै केही राजनीतिक सिद्धान्त र नीति स्पष्टताका साथ आउनु पर्यो । यी कुराहरू स्पष्ट भएपछि राजपा नेपाल जतिखेर पनि एकता प्रक्रियालाई स्वागत गर्छ । 

सुरुमा तपाईंहरूले फोरम नेपालसँग एकताका लागि जोडबल गर्नुभयो, उहाँहरूले मान्नुभएन । अहिले फोरम नेपालले एकताका लागि जोडबल गरिरहेको छ, त्यसलाई तपाईंहरूले मानिरहनु भएको छैन, होइन ?
–एकता गर्नका लागि पहिलो कुरा सिद्धान्त मिल्नु पर्यो । संविधानको बारेमा दृष्टिकोण मिल्नु पर्यो । जस्तै, यो संविधानलाई हामीले यथास्थितिमा मान्दैनौँ भनेका छौँ । संविधान दिवसलाई हामीले कालो दिवसका रूपमा मनायौं र यही कालो दिवसका बारेमा पार्टीमा ठूलो विवाद छ । अर्को कुरा सरकार हो । फोरम नेपाल सरकारमा छ, हामी सरकारमा छैनौँ । एकता प्रक्रियामा जानका लागि सरकार छाडेर आउनुपर्यो नि । अर्को कुरा उहाँले मधेसवाद हुँदै होइन भनी भन्नुभएको छ । मधेसवादको बारेमा स्पष्ट दृष्टिकोण आउनुपर्छ । यी तमाम विषय स्पष्ट रूपमा आयो भने राजपा नेपाल एकताका लागि तयार छ । 

एकताका लागि पहिलो शर्त सरकार छाड्नुपर्ने हो ?
–यसलाई शर्तका रूपमा नलिऊँ । एकता, सहकार्य बराबरमा हुन्छ । जबसम्म दृष्टिकोणमा एकता हुँदैन तबसम्म एकीकरण सम्भव छैन । त्यसैले राजपा र फोरमबीच पहिला दृष्टिकोण मिल्नु पर्यो । यद्यपि राजपा एकता र सहकार्यका लागि तयार छ । राजपाका लागि प्रिय कुरा हो । एकल सत्ता शासनलाई तोड्नका लागि पनि राजपा र फोरम मिल्न सक्यो भने धेरै राम्रो कुरा हो । 

अहिलेको संविधानलाई जस्ताको त्यस्तै मानेर राजपा सरकारमा सहभागी नहुने हो ?
–सरकारमा मात्र होइन, जबसम्म संविधान संशोधन हुँदैन तबसम्म यसलाई हामी स्वीकार गर्दैनौँ । यो संविधानको बारेमा राजपाको आफ्नै खालको बुझाइ छ । त्यसको सम्बोधन भएन भने त्यसलाई स्वीकार गरिँदैन । उपयुक्त समयमा उपयुक्त जवाफ दिन्छौं ।

सरकारमै गएर संविधान संशोधन गराउने कुरा हुनसक्छ नि ?
–यो सरकार आफै लर्खराउँदैछ । यो सरकारको आफै जग हल्लिइसकेको स्थिति छ । दुई तिहाइ सरकारका नेतृत्व गरेका दलका नेताहरूको अभिव्यक्ति सुन्दा जुन प्रकारका कुरा बाहिर आएका छन्, त्यसले सरकारलाई कमजोर बनाएको छ । सरकारको भनेको प्राविधिक विषय होइन । सरकारप्रति जनताको जुन जनमत तयार भइरहेको छ त्यसले त यो सरकार आफै सङ्कटबाट घेरिएको स्थिति छ । 
     
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप