शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बालक अपहरण गर्ने तीन जना पक्राउ

बुधबार, २६ मङ्सिर २०७५, ०८ : २७
बुधबार, २६ मङ्सिर २०७५

भद्रपुर —  सात वर्षीय बालकलाई अपहरण गरी रकम मागेको आरोपमा झापाको गौरीगञ्जबाट मङ्गलबार प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा गौरीगञ्ज–६ का बद्री यादव, गौरीगञ्ज–४ का श्रीप्रसाद मल्हा र उनकी श्रीमती अञ्जु मुखिया रहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले बताए ।

भारत बिहारको सुपौल जिल्ला किसनपुराका मोहम्मद सदामका छोरा सात वर्षीय मैफुज आलमलाई अपहरण गरी दमकको एक होटलमा राखेको अवस्थामा प्रहरीले फेला पारेको हो । 

अपहरणकारीले अपहरणपछि बालकको परिवारसँग रु १५ लाख फिरौती मागेका थिए । रकम तिर्न नसकेपछि आलमको परिवारले भारतीय प्रहरीको सहयोगमा इलाका प्रहरी कार्यालय गौरीगञ्जलाई खबर गरेका थियो ।

इलाका प्रहरी कार्यालय गौरीगञ्जको पहलमा नेपाल प्रहरीको टोलीले आलमलाई दमकको एउटा होटलबाट उद्धार गरी परिवारको जिम्मा लगाएको हो ।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखी अनुसन्धान थालिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप