शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी चौकी बनाउन सांसद श्रेष्ठले दिए ४० लाखको जग्गा

मङ्गलबार, २५ मङ्सिर २०७५, १९ : ३४
मङ्गलबार, २५ मङ्सिर २०७५

दमौली । तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सांसद कृष्णकुमार श्रेष्ठले प्रहरी चौकी बनाउन दुई कट्ठा जग्गा उपलब्ध गराएका छन् । 

बारा जीतपुर सिमरा उपमहानगरपालिका–४ औराहामा प्रहरी चौकी निर्माणका लागि सांसद श्रेष्ठ र उनका व्यावसायिक साझेदार इच्छा वाग्लेले करीब रु ४० लाख पर्ने दुई कट्ठा जग्गा उपलब्ध गराएका हुन् । सांसद श्रेष्ठ जीतपुर सिमरा उपमहानगरका उद्योगीसमेत हुन् । 

हालसम्म अस्थायी प्रहरी पोष्ट मात्र रहेको उक्त स्थानमा प्रहरी चौकीका लागि आवश्यक पर्ने जग्गा उपलब्ध नहुँदा प्रहरी चौकी भवन बन्ने अवस्था नभएको र सो चौकी अन्यत्र सर्न लागेको भन्दै स्थानीयवासीले सांसद श्रेष्ठसमक्ष जग्गा उपलब्ध गराई दिन अनुरोध गरेका थिए । 

उक्त स्थानमा २०६८ सालमा नै अस्थायी प्रहरी पोष्ट स्थापना भए पनि जग्गाको अभावमा प्रहरी चौकीको भवन निर्माण हुन सकेको थिएन । स्थानीय बासिन्दाको अनुरोधपछि आफूले आफ्नो नाममा रहेको जग्गामध्येबाट दुई कट्ठा जग्गा प्रहरी चौकीलाई उपलब्ध गराएको सांसद श्रेष्ठले बताए । 

जग्गाको स्वामित्व हस्तान्तरणको आवश्यक कागजी र कानूनी प्रक्रिया भने एक महीनाभित्रमा सम्पन्न हुने सांसद उनले जानकारी दिए । आज स्थानीय बासिन्दा, प्रहरी कार्यालयका प्रतिनिधिसहित सम्बन्धित जग्गामा पुगी सांसद श्रेष्ठले प्रहरी चौकी भवनको निर्माणका लागि पनि आफूले रकम उपलब्ध गराउन तत्काल पहल गर्ने प्रतिबद्धता जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप