भार्सेमा भैंसी : ७० वटा भैंसी, बर्सेनि २५ वटा लैना मात्रै
बुटवल– गुल्मीको सत्यवती गाउँपालिका भार्से लुम्बिनी अञ्चलकै अग्लो लेक मानिन्छ । यही लेकमा तीन जना युवाले भैंसी पालेर मनग्य आम्दानी गरेका छन् ।
भार्से लामडाँडाका युवाहरू कुमबहादुर राना, नन्दुप्रसाद बुढाथोकी र निर्मल बुढाथोकीले तीन वर्षअघिदेखि भैंसी पालनमा लागेका हुन् । विदेशबाट फर्केर यो पेसामा लागेका उनीहरूको गोठमा अहिले ७२ वटा भंैसी छन् ।
तीनजना मिलेर उनीहरुले २० लाखको लगानीमा तारकोटे जातका भैंसी पाल्न सुरु गरेका हुन् । भैंसी फर्ममा बर्सेनि २५ वटासम्म दुहुना हुन्छन् । यतिबेला ७ वटा भैंसी दुहुना छन् ।
‘थोरैमा पनि एक महिनामा दूध बेच्दा ४० हजार आम्दानी हुन्छ’, तीनमध्येका एक कुम्भबहादुर राना बताउँछन् ।
त्यति मात्रै होइन राँगा र थाराको मासुबाट सुकुटी बनाउने गरेका छन् । उक्त सुकुटी प्रतिकिलो २ हजार रुपियाँका दरले बिक्री हुने राना बताउँछन् ।
मानिसहरू सहरकेन्द्रित भएका बेला तीन युवाले गाउँमै भंैसी पालेर आम्दानी गरी अरूलाई समेत प्रेरणा दिने काम गरेको उक्त वडाका वडाध्यक्ष सन्तकुमार थापाले बताए ।
‘पिता–पुर्खाहरूले जङ्गलमा ५ सयभन्दा बढी भैंसी पाल्ने गरेको थलो हो भार्से’, थापाले सुनाए, ‘अहिले त मधेस र सहरतिर बसाइँ सर्ने बढेकाले हिजो पचास साठीवटा भैंसी पाल्नेहरूको गोठ अहिले रित्तो छ । यी युवाले उत्पादन गरेको दूधले गाउँलाई नै धानेको छ । यस कार्यबाट खुशी लागेको छ ।’ भैंसी पालन सुरु गर्नु अघि कुमबहादुर र नन्दप्रसाद कतारमा रोजगारी गर्थे भने निर्मल मलेसियामा काम गर्थे ।
बसाइँ सराइले गाउँ रित्तिँदै
वडाध्यक्ष थापाका अनुसार दोस्रो विश्व युद्धताका भार्सेली युवा धेरैजसो मलायको लाहुरे भए । पछि भारतीय सेनामा जानेहरू पनि प्रशस्तै भए । अनि भार्से लाहुरेहरूको गाउँ बन्यो र जिल्लाकै सबैभन्दा धनी गाउँमा परिणत भयो । तर त्यही धनको आडमा पुख्र्याैली गाउँ छाड्नेहरू पनि बढ्दै गए । ‘करिब ७० प्रतिशतले मधेसमा जमिन किनेका छन् । भार्सेको झण्डै दुईतिहाई जमिन अहिले बाँझै छ’ वडाध्यक्ष थापाले सुनाए ।
थापा २०४७ सालमा भार्से गाविसको उपाध्यक्ष भएर काम गर्दा भार्सेमा ५ सय २० घरधुरी थिए । उनले भने, ‘बसाइँ सराइ नगरेको भए अहिले त्यसको तेब्बर घरधुरी सङ्ख्या हुनुपथ्र्यो । तर अहिले ३ सय २९ घरधुरी मात्रै छन् ।’
उनका अनुसार २०५२/०५४ सालतिर हङ्कङको आईडी खुलेपछि ठूलो सङ्ख्याका भार्सेलीहरू त्यतै लागे । त्यसका अलवा बेलायतमा पनि धेरै पुगे । सिङ्गापुरलगायत अरू मुलुकमा पनि बसेका छन् ।
एउटै टोलका ५ जना प्रतिनिधि सभामा
खानी मजदुरपछि लाहुरेहरूको गाउँका रूपमा चिनिएका भार्सेबासीले पछिल्लो समय आफ्नो परिचय बदले । भार्से राजनीतिक रूपमा पनि गुल्मीका अन्य गाउँभन्दा अगाडि छ । यो गाउँबाट हालसम्म ५ जना प्रतिनिधिसभा सदस्य भइसकेका छन् । एउटै परिवारका तीन भाइ मन्त्री बनेका छन् । २०४६ सालअघिसम्म गिरिप्रसाद रक्षामन्त्री भए ।
त्यस अवधिसम्म उनका भाइ भीमबहादुर बुढाथोकी र उनका छोरा श्रीप्रसाद बुढाथोकी पनि मन्त्री भए । २०४८ सालमा आएर भार्सेकै झकबहादुर पुन प्रतिनिधि सभामा काँग्रेसबाट निर्वाचित भए । २०७० सालको निर्वाचनमा त्यसै गाउँका डाक्टर कृष्णप्रसाद छन्त्याल काँग्रेसबाटै निर्वाचित थिए ।
यसरी भयो भार्सेमा मगरको मात्रै राज
पूर्वडीआईजी निरज पुनका अनुसार लुम्बिनी अञ्चलमै सबैभन्दा अग्लो लेक थाप्ले समुद्री सतहदेखि ८ हजार ४ सय ४६ फिट उचाइमा रहेको छ । त्यसको काखमा अवस्थित भार्से चार हजार ६ सय फिट उचाइमा छ । चारैतिर टाकुरा र बीचमा भास्सिएको समथल जमिन भएका कारण भार्से भन्न थालिएको हो । तामा र फलाम खानीको उत्खनन् गर्ने थलो भएका कारण भार्सेमा मगर समुदायले बस्ती बसाल्न सुरु गरेका थिए ।
जहाँ एक घर पनि रैथाने ब्राह्मण र क्षत्री समुदाय छैन । सीमित मात्रमा विश्वकर्मा र दर्जीहरूको बसोबास छ । भार्से जनजाति लोकसंस्कृतिको पनि मूल थलो मानिन्छ । त्यहाँ प्रशस्त तामा र फलाम खानी थिए । मगरहरूले अन्यत्र रहेका पुख्र्यौली घर छाडेर भार्सेमै बसोबास गर्न थाले । ऊर्वरभूमि, सुन्दर पाखापखेरी भएका कारण जोहाङबासीले पनि भार्सेलाई पटक पटक कब्जा गर्ने गरेका थिए ।
किवी खेतीले हराभरा भार्से
लाहुेरे, राजनीति र भैंसीपालनले चर्चा पाएको भार्सेमा अहिले केही किसानहरू किवी खेतीमा लागेका छन् । त्रिवेणी कृषक समूह, अर्गुल कृषक समूह, ठूलापोखरा कृषक समूह र त्रिगा कृषक समूह गठन गरी २०६४ सालदेखि सुरु गरिएको किवी खेतीलाई अहिले सत्यवती गाउँपालिकाले व्यावसायीकरण गर्न थालेको हो ।
‘भार्सेलाई किवी खेती र व्यावसायिक तरकारी खेतीबाट माथि उठाउन गाउँपालिका लागेको छ’, उक्त गाउँपालिका प्रमुख पारिश्वर ढकालले बताए । काठमाडौँ लगायतका ठूला सहरमा प्रतिकिलो ७ सय रुपैयाँमा बिक्री हुने वडाध्यक्ष थापाले बताए ।
‘अरू समूहमा फल्न सुरु भएको छैन, ठूलापोखरा समूहले यस वर्षदेखि आम्दानी लिन सुरु गरेको छ’, थापाले भने, ‘यस वर्ष त्यस समूहले ४० हजार जतिको किवी बिक्री गर्न सफल भएको छ ।’ भार्सेकै धनबहादुर पुनले विश्वकै सबैभन्दा महँगो वनस्पति मानिने अगरुट खेती पनि गर्दै आएका छन् । उनले जङ्गलभरी अगरुट लगाएका छन् ।