शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यी राजकुमारी किन सम्बन्धविच्छेद मागिरहेकी छिन् ? २१ वर्षअघि समाजसँग लडेर गरेकी थिइन् प्रेम विवाह

मङ्गलबार, २५ मङ्सिर २०७५, १० : ४६
मङ्गलबार, २५ मङ्सिर २०७५

भारतको जयपुरको पूर्व राजघरानाकी छोरी दिया कुमारी एकपटक पुनः आफ्नो नीजि जीवनका लागि चर्चामा छिन् । २१ वर्षअघि समाजसँग लडेर प्रेम विवाह गरेका कारण चर्चामा आएकी दियाले अब आफ्ना श्रीमान् नरेन्द्र सिंहसँग सम्बन्धविच्छेद मागेकी छिन् । दियाले गान्धीनगरस्थित फ्यामिली कोर्टमा सम्बन्धविच्छेदका लागि निवेदन दिएकी छिन् । अदालतले दिया कुमारीको याचिकामाथि चाँडै नै सुनुवाई गर्ने बताएको छ ।

दिया कुमारीको विवाह सन् १९९७ अगस्टमा भएको थियो । उनको विवाहसँगै विवाद पनि सुरु भएको थियो किनभने दुबै एउटै गोत्रका थिए ।  यसका लागि राजपुत समाजमा आक्रोश पनि देखियो । सहगोत्री विवाहविरुद्ध धेरैले आवाज उठाए । तरपनि उनी आफ्नो निर्णयमा अडिग रहिन् ।

दियाले आफ्नो लभस्टोरीबारे एक ब्लग नै लेखेकी थिइन् जसमा नरेन्द्र सिंहसँग आफ्नो अफेयरको सबै जानकारी सेयर गरेकी थिइन् । दियाले उक्त ब्लगमा नरेन्द्रलाई पहिलो पटक भेट्दा आफू १८ वर्ष भएको बताएकी छिन् ।

दियाले उक्त ब्लगमा लेखेकी छिन्

सन् १९८९ मा नरेन्द्र जब ग्रेजुएशनपछि चार्टर्ड एकाउन्टेन्टको तयारी गरिरहेका थिए तब त्यतिबेला उनले एसएमएस संग्रहालय ट्रस्टमा अकाउन्ट सेक्सनमा तालिम लिइरहेका थिए । त्यहाँ उनले तीन महिना काम गरे । यसै क्रममा मेरो उनीसँग महलमा पहिलो भेटघाट भयो । उनी केही कामले आएका थिए किनभने म पनि अकाउन्टमा मद्दत गरिरहेको थिएँ जसमा मलाई उनीसँग केही हिसाब हेर्नका लागि भनिएको थियो । हामीबीच कुराकानी भयो र मलाई उनीसँग कुरा गरेर निकै राम्रो लागेको थियो ।

नरेन्द्रको साधारण व्यक्तित्व र इमान्दारीता मलाई सबैभन्दा राम्रो लाग्यो । उनको केयरिङ स्वभावले पनि मलाई आकर्षित तुल्यायो जुन भारतीय पुरुषमा निकै कम देख्न पाइन्छ । तर यो पक्का थियो कि हामीबीचको प्रेम ‘लभ एट फर्स्ट साइट’ थिएन । उनको तालिमको तीन महिनापछि मात्र म उनलाई मन पराउँछु भन्ने महसुस भयो । मलाई उनीसँग भेटिराख्न मन लाग्थ्यो । उनी जब जयपुर आउँथे तब साथीहरुसँगै हाम्रो पनि भेट हुन्थ्यो । त्यति बेलासम्म हामी राम्रो साथी मात्र थियौं ।

त्यसपछि जब म आमाबुवासँग विदेशयात्रामा जानुपर्यो तब मलाई नरेन्द्रको यादले सताउन थाल्यो । त्यतिबेला राम्रोसँग थाहा भयो कि हामी साथी मात्रै होइनौं ।  

जब मैले आमालाई नरेन्द्रबारे बताएँ तब उनलाई गहिरो झट्का लाग्यो । म योबाट बाहिर निस्कियोस् भन्ने उनको चाहना थियो । त्यसपछि मैले नरेन्द्रलाई भेट्दा निकै सतर्क हुनुपर्दथ्यो । हामी धेरैजसो दिल्लीमा भेट्थ्यौं । जब नरेन्द्रका आमा–बुवालाई यसबारे थाहा भयो तब उनीहरुको हालत पनि मेरी आमाको जस्तै थियो । हाम्रो प्रेमबारे उनको परिवारमा ठूलै झगडा पनि भयो ।

हामीले आफ्नो परिवारभन्दा टाढा जाने निर्णय गर्यौं तर यो पनि सम्भव हुन सकेन । त्यसपछि हामीले अदालतमा विवाह गर्यौं । मैले यसबारे घरमा बताउँदा उहाँहरु निकै रिसाउनुभयो तर पछि विवाहका लागि सहमत हुनुभयो । त्यसपछि राजपूत समाजले हामी दुबैको एउटै गोत्र भएको भन्दै विरोध गरे  । यो विरोधमा उनका पिता भवानी सिंहलाई स्थायी अध्यक्ष पदबाट हटाइयो । यसका साथै राजपरिवारबाट सम्बन्ध नै समाप्त गरियो । त्यसपछि सन् १९९७ मा दुबैको दिल्लीमा विवाह भयो ।

दिया महाराजा भवानी सिंहकी एक्ली छोरी हुन् । उनले आफ्नो पढाई मोर्डन स्कूल नयाँ दिल्ली र महारानी गायत्री देवी गर्ल पब्लिक स्कूल जयपुरबाट गरिन् । उनी उच्च शिक्षाका लागि लण्डन गइन् । दिया कुमारीका दुई छोरा पद्मनाभ सिंह र लक्ष्यराज सिंह र छोरी गौरवी छिन् । दिया अहिले सवाई माधोपुरबाट बिजेपी सांसद छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप