सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

‘म मरेपछि राज्यको कुनै सम्मान चाहिँदैन’

मङ्गलबार, २५ मङ्सिर २०७५, ०९ : २५
मङ्गलबार, २५ मङ्सिर २०७५

पहिलो नेपाली चलचित्र ‘आमा’की अभिनेत्री हुन् भुवन चन्द । त्यसैले पनि उनलाई नेपाली चलचित्र क्षेत्रमा प्रथम नायिका भनेर सम्बोधन गरिन्छ । २०२१ मा निर्माण भएको ‘आमा’ पछि उनी लगातार चलचित्र क्षेत्रमा क्रियाशील रहँदै आएकी छन् ।

करिब दुई दर्जनभन्दा बढी चलचित्र अभिनय गरेकी उनको कलायात्रा भने २०१० बाट सुरु भएको हो । स्टेज आर्टिसको रूपमा कलायात्रा थालेकी उनले थुप्रै नाटक, ४ दर्जन माथिका टेलिशृङ्खलासमेत अभिनय गरेकी छन् । ५४ वर्षको चलचित्र यात्रामा उनी अहिले निर्माताको रूपमा परिचय बनाउने तरखरमा छिन् ‘साइनो’ मार्फत ।

‘साइनो’ उनले निर्माण गर्न लागेको पहिलो चलचित्र हो । चलचित्रको अहिले सुटिङ भइरहेको छ ।  रमेश थापाले निर्देशन गरिहेको प्रेम कथामा आधारित चलचित्र ‘साइनो’बाट निर्माणमा होमिएकी अभिनेत्री भुवनसँग यसैको पेरिफेरीमा रहेर गरिएको कुराकानी उनकै शब्दमा ।

यो जुरेको संयोग हो

फिल्म बनाउने मेरो कहिल्यै सोच थिएन । त्यसैले पनि अन्तरवार्ता दिँदा चलचित्र बनाउँदिनँ भनेर भन्ने गरेकी थिएँ । घर निर्माणका लागि पनि साइत पर्छ भन्छन् नि, त्यस्तै साइत चलचित्र निर्माणका लागि पनि आउनुपर्दाे रहेछ । अहिले चलचित्र निर्माणका लागि मेरो साइत आयो ।

केही पहिले मैले दाजुभाइ तथा दिदीबहिनीसँग मिलेर एउटा संस्था खोलेकी थिएँ । त्यसको नाम आस्था आर्ट एकेडेमी थियो । कलासम्बन्धी सबै काम गर्ने यसको उद्देश्य छ । उद्देश्यअनुसार चलचित्र किन निर्माण नगर्ने त भनेर सबैको सोच आयो । 

सोच त आयो, निर्माण लागि पैसा पनि चाहिन्थ्यो । पैसा कसले हाल्ने । सबै साथीहरू मुखामुख गर्न थाले । पैसा मैले हाल्ने भएपछि निर्माणको सोच अगाडि बढ्यो ।

पहिले चलचित्र निर्माणको योजना, उद्देश्य, सोच केही थिएन । यो जुरेको संयोग हो ।

काम गर्ने शैली फेरियो

अहिले छायाङ्कन चलिरहेको मेरो निर्माण रहेको चलचित्र । करिब आधा जति छायाङ्कन सकिन लागिसक्यो । अहिलेसम्म कलाकारलगायत सबै पक्षबाट राम्रो साथ र सहयोग मिलेको छ । मेरो चलचित्रमार्फत नयाँ हिरो रोय दीप श्रेष्ठ उद्योगमा भित्रिँदैछन् ।

हिरोइन मेरिना मगर छानिएकी छन् । हिरोको डेब्यु भए पनि मेरिनाले भने यस अगाडि ३, ४ वटा चलचित्र दिइसकेकी छन् । अहिलेसम्म भएको चलचित्रको काम चित्त बुझ्दो छ । बसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, शिखा तामाङ र अहिलेका नीता ढुङ्गाना, मिरुना मगर,  राजा राजेन्द्र पोखरेल, धमेन्द्र आचार्य, विशाल पहाडी लगायतका  सबै प्रकारका कलाकार यसमा अटाएका छन् । 

कलाकार नयाँ पुराना भए पनि काम गर्ने शैली भने पहिले र अहिलेमा आकाश जमिनले फेरिएको छ । पहिले अभिनयमा होस् या प्रािविधिक रूपमा प्रतिस्पर्धा भन्ने छँदै थिएन । चलचित्र नै कम बन्थ्यो । अहिलेको जस्तो कोभन्दा को कम भन्ने होडबाजी पनि थिएन । त्यति बेला चलचित्र कथामा आधारित रहेर निर्माण हुन्थ्यो । गर्न सक्ने र देखाउन सक्ने अभिनय क्षमता हामी देखाउँथ्यौ । अहिले चलचित्रमा कथा नै हुँदैन । अहिले कलाकारले अभिनय होइन, पर्फर्मेन्स गर्छन् ।

जिउडाल देखाउने, डान्स गर्दा अङ्ग प्रदर्शन गर्ने चलन पनि अहिले चलेको छ । कलाकार आफूलाई ग्ल्यामर देखाएर अगाडि बढाउन चाहन्छन् ।

निर्माता हँुदा धेरै पीडा रहेछ

कलाकारका रूपमा चलचित्र अभिनय गर्नु र निर्माता हुनुमा आकाश जमिन फरक रहेछ । यो मैले अहिले आएर बुझ्दैछु । लोकेसनमा गएर अभिनय गर्यो । डबिङमा बस्यो । प्रचारप्रसारमा कहिले काहीँ हिँड्यो । कलाकारको भूमिका सकियो । निर्माता हँुदा भने धेरै पीडा रहेछ ।

निर्माताले एटुजेट हेर्नुपर्छ । यस हिसाबले धेरै गाह्रो रहेछ निर्माण । तर मैले भने सजिलो महशुस गरिरहेकी छु । किनभने सबै कलाकारदेखि प्राविधिक सबैले सपोर्ट गरिरहेका छन् । पैसा खर्च गरे पनि काम लगाउन गाह्रो छ भन्ने गरिन्छ चलचित्र क्षेत्रमा । म सिनियर भएको नाताले होला । सबैले सम्मान दिँदै दिएको जिम्मेवारी पूरा गरिरहेका छन् । 

अहिले त्यो अवस्था छैन

आर्थिक रूपमा मात्र होइन । अहिले प्राविधिक रूपमा पनि चलचित्र क्षेत्रले धेरै फड्को मारेको छ । चलचित्रको लगानी करोडौँ पुगिसक्यो ।

प्राविधिको फड्को त छँदै छ । सँगै यसका टेक्निसियनमा पनि विस्तार भएका छन् । अहिले ऊभन्दा ऊ राम्रो, ऊ भन्दा ऊ राम्रो टेक्निसियन पाउन सकिन्छ ।

कामअनुसार छान्ने सुविधा छ । टेक्नोलोजी यस्तोसम्म छ कि अहिले गरेको काम अहिले नै हेर्न मिल्छ । पैसा भए हिरोदेखि लाइटम्यानसम्म छानेर लिन पाइन्छ ।

पहिले सीमित कलाकार थिए । राम्रो बनाउँभन्दा पनि कलाकार र प्राविधिकका कारण गाह्रो हुन्थ्यो । अहिले त्यो अवस्था छैन ।

नभए अर्काे वर्ष हुन्छ

धेरैको मुखबाट एउटै शब्द सुनेकी छु । चलचित्र बनाउनभन्दा चलाउन गाह्रो छ । म चलचित्र बिस्तारै बनाउँछु र बिस्तारै चलाउँछु । हडबडाएर काम गर्दिन । हतारो पनि केही छैन । सकेसम्म चलचित्र धेरै राम्रो बनाउने कोसिमा लागेकी छु ।

म पुरानो मानिस हुँ । मैले बनाएको चलचित्रप्रति दर्शकको धेरै अपेक्षा रहन्छ । चलचित्रको कथामा मिहिनेत गरेकी छु । ग्ल्यामरको नाममा पचाउन नसक्ने खालको कुनै दृश्य रहँदैन । सबै मसला त छ । यो क्षेत्रमा मेरो जे नाम छ, त्यसलाई  चलचित्रले ओझेल पार्न दिन्न । हेरौँ सोच के हुन्छ । 

दर्शक र मेकरको चलचित्र प्रति हेर्ने दृष्टिकोणमा भिन्न देखिएको छ । किनभने चल्छ भनेको चलचित्र दर्शकले रुचाएका छैनन् । चल्दैन भनेका चलचित्रले व्यावसाय गरेका छन् ।

मेरो चलचित्र घोषणापछि केही साथी निर्देशकले भनेका थिए । ‘दिदी तपाईंले चलचित्र त बनाउँदै हुनुहुन्छ । तर चलाउन असाध्यै गाह्रो छ’ । मैले त्यतिबेला भाइहरूको सहयोग चाहिन्छ भनेँ । रिलिजको मामलामा म कुनै हतार गर्दिनँ । रिलिज यो वर्ष नभए अर्काे वर्ष हुन्छ । के फरक पर्ला र ?

मुखमा बुजो लाग्यो

प्रचारप्रसार पनि प्लानिङमा गर्ने सोच छ । गीतहरू पहिला बाहिर ल्याउछु । त्यसपछि रिलिजको मिति फाइनल हुन्छ । अनि अन्य प्रचार सामग्री टे«ेलर र टिजर ।

वितरण भाइहरू धेरैले सहयोग भनेर वचन दिनु भएको छ । हामी एक, डेढ वर्ष चलचित्रको कथामा बसेका छौँ । सङ्गीतकारले गीत गर्दैगर्दा दिदी यतिको गीत मैले अहिलेसम्म गरेको छैन भनेका थिए । यी त उदारण हुन् । हरेक पक्षमा हामीले समय लगाएर काम गरेका छौँ ।

होमवर्कको समयमा धेरै लाग्दा कतिपयले भुवन दिदीले ‘साइनो’ बनाउने भनेको गफै मात्र हो भनेरसमेत मलाई उडाए । जब घोषणा भयो तब सबैको मुखमा बुजो लाग्यो ।

नआए पीर छैन

अहिले मेरो भुइँमा खुट्टै छैन । किनभने मिडियाको साथ धेरै पाएकी छु । मेरो चलचित्र घोषणा कार्यक्रममा जति मिडिया थिए । त्यति मैले कहिल्यै कुनै कार्यक्रममा देखेको पनि थिइनँ । त्यो मिडियाको मप्रति देखाएको सम्मान हो ।

दिदी यहाँ धेरै कार्यक्रम आयोजना हुने गरेका छन् । यति धेरै मानिस कहिल्यै आएका थिएनन् । कति कार्यक्रममा मानिस नभएर बोलाउनुपर्छ । तपाईंको कार्यक्रममा त धेरै मानिस आए कार्यक्रम स्थलको भाइले भनेका थिए । मिडिया उपस्थित भएर मलाई सम्मान दिएको मैले ती भाइलाई जवाफ दिएकी थिएँ । मेरो चलचित्र राम्रो बन्छ, बन्दैन । त्यो पछिको कुरा हो तर मिडियाको साथबाट भने रहन्छ । यो मेरो विश्वास हो ।

चलचित्रका लागि अहिलेसम्म १ करोड २० लाख लागत लाग्ने  अनुमान गरिएको छ । सकिँदासम्म बढ्न पनि सक्छ । राम्रो कामका लागि म तयार पनि छु । धेरै बजेट लागे पनि मलाई डर र त्रास छैन ।

लगानी फिर्ता आए पनि नआए पनि केही छैन । आउला भन्ने विश्वास त छ । नआए पनि चित्त बुझाउँछु । मैले चलचित्रमा लागनी गरेको यो पहिलो पटक हो । फेरि अर्काे बनाउँला । श्रीमान्को पनि सपोर्ट रहेको छ । सकेसम्म लगानी उठ्नुपर्छ भन्ने हो । नआए पनि पीर छैन । 

पहिले जवानी थियो

सँगैका साथी सर्कलले चलचित्र घोषणा गर्दा अचम्म मानेका थिए । निर्माणमा हात हाली भनेर केहीले बधाई दिए, कोहीले केही भन्न सकेनन् । चलचित्रमा मेरो अभिनय भएको नभएको अहिले चासोको विषय बनेको छ । यसमा म पनि अभिनय गरिरहेकी छु ।

हिरोकी आमाको भूमिकामा जम्मा ४ सिन छन् । म खेल्दिनँ भन्ने नै थियो । निर्देशक लगायत टिमको अगाडि मेरो जोड चलेन ।

अभिनय हिसाबले पहिले र अहिलेमा खासै फरक देखिनँ र छैन पनि । फरक यति मात्र हो । पहिले ममा जवानी थियो, अहिले छैन । पाएको भूमिका न्याए गरेकी छु ।

सम्मानको काम छैन
पुराना कलाकारलाई सरकारले सम्मान गर्दै वरिष्ठताको आधारमा ‘परिचय पत्र’ दिन थालेको छ । त्यसमा मलाई हाँसो उठेको छ । हामीले त्यो परिचयपत्रका कारणले कहीँबाट केही सुविधा पाउने पनि होइनौँ । परिचयपत्रबाट पुलिसले समेत चिन्दैन । सुविधा नभएको परिचयपत्र केका लागि ? सरकालाई मेरो प्रश्न हो यो ।

अर्काे कुरो, पहिलो चरणमा १३ जनाले परिचय पत्र पाएका थिए । अर्काे वर्ष ४० जनाले पाए । यसले त्यो सम्मानको भ्यालु पनि भएन भन्ने मेरो ठम्याइ हो । सम्मान त दिँदै जाने तर राज्यले अन्य सुविधा केही नदिने । सम्मान दिएपछि राज्यले न्यूनतम भए पनि भत्ता वा केही सुविधा दिनु पर्यो ।

हुन त राज्यले कलाकारलाई मृत्यपछि अन्त्येष्टिमा, त्यो पनि खबर गरियो भने, राजकीय सम्मान दिने गरेको छ । मेरो विचारमा त्यो केही कामको छैन । जसका लागि दिइएको सम्मान हो, उसले देख्न नपाउने । त्यो सम्मानको महत्त्व के भयो र ?  मेरो विचारमा सम्मान भनेको जिउँदै दिए बेस । म मरेपछि राज्यको कुनै सम्मान चाहिँदैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप