बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुधाकर दलेला फेरि किन आउँदैछन् नेपाल ?

शुक्रबार, २१ मङ्सिर २०७५, १४ : ४५
शुक्रबार, २१ मङ्सिर २०७५

काठमाडौं– नाकाबन्दीदेखि लिएर नेपालको राजनीतिकमा पटक–पटक प्रभाव पार्दै आएका भारतीय विदेश मन्त्रालयका नेपाल डेस्क प्रमुख एवम् संयुक्त सचिव सुधाकर दलेला नेपाल आउन लागेका छन् । 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपाली सेनाका लागि हतियार तथा गोलीगठ्ठाको खरिद तथा द्विपक्षीय रक्षा मामिलामा छलफल गर्न उनी नेपाल आउन लागेका हुन् । त्यसका लागि मंसिर २७ र २८ गते नेपाल भारत द्विपक्षीय परामर्श समूहको बस्न लागेको छ । सो बैठकमा भारतको तर्फबाट दलेलाले नेतृत्व गर्ने बताइएको छ  ।

विदेश मन्त्रालयको नेपाल डेस्क प्रमुख हुने भएकाले उनी पटक–पटक नेपाल आइरहन्छन् । २०७० सालमा नेपालमाथि भारतले लगाएको नाकाबन्दीको मुख्य योजनाकार मानिएका उनी नेपालका लागि ‘बदनाम’ पात्र मानिन्छन् । तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न दलेला निकै सक्रिय थिए । 

ओली नेतृत्वको सरकार ढलेपछि उनी पटक–पटक नेपाल आएका छन् । प्रतिनिधिसभाको चुनावपछि केपी शर्मा अ‍ोली प्रधानमन्त्री बन्न लाग्दा पनि उनी नेपाल आएका थिए । प्रतिनिधिसभाको चुनाव सम्पन्न भएपछि शेरबहादुर देउवा प्रधानमन्त्री थिए । त्यतिबेला उनले प्रधानमन्त्री पदबाट राजीनामा दिन आनाकानी गरेका थिए । त्यो बेला दलेला नेपालमै थिए । त्यसबेला वामगठबन्धनको तर्फबाट ओली प्रधानमन्त्री नबनुन् भनि निकै कसरत भएको थियो । त्यो कसरतको पछाडी दलेलाको हात रहेको जानकारहरु बताउँछन् । 

२०७४ पुस २१ गते उनी भारत फर्केका थिए । ओली प्रधानमन्त्री बन्ने निश्चित रहेको रिर्पोट उनले विदेश मन्त्रालयमा दिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केपी शर्मा ओलीलाई फोन गरेर बधाई दिएका थिए ।

बधाई मात्र दिएनन् उनले २०७४ माघ १८ गते विदेशमन्त्री सुष्मा स्वराजलाई नेपाल पठाएर प्रधानमन्त्री बन्नुपूर्व ओलीलाई बधाई दिएका थिए । त्यतिबेला मन्त्री स्वराजका साथमा दलेला पनि नेपाल आएका थिए ।  त्यसपछि नेपालले भूकम्प दिवस मनाइरहँदा उनी नेपाल आएका थिए । बैशाख १२ गते आएर उनी १४ गते भारत फर्केका थिए । त्यतिबेला पनि उनले नेपालमा प्रमुख दलका नेताहरुसँग भेटघाट गरेका थिए । 

यद्यपि, उनी जतिपटक नेपाल आएका छन् कुनै नकुनै कार्यक्रममा सहभागी हुने गरिनै आएका छन् । बैशाखमा नेपाल आउँदा उनी भारतीय ग्रामिण विकास तथा जल संशाधन मन्त्रालयका सचिव उपेन्द्रप्रताप सिंहको प्रमुख आतिथ्यतामा भएको एउटा कार्यक्रममा भाग लिन आएका थिए । 

नेपालमा हालै युनिभर्सल पिस फेडरेशनले नेपालमा आयोजना गरेको एशिया प्यासेफिक समिट–२०१८ सम्पन्न भएको छ । जसलाई भारत सरकारले रुचाएको थिएन । यिनै विषयहरुको चर्चा भइरहेको बेला दलेलाको आगमन नेपालमा हुँदैछ । 

यसपटक पनि दलेलाले नेपालमा विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्नुको साथै नेपालसँग हातहतियार खरिद तथा रक्षा मामलाको विषयमा पनि छलफल गर्ने बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप