शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिंहदरबारको सांसद पुस्तकालय : ९ महिनामा जम्मा २१ सांसद पुस्तकालय छिरे, पत्रिकामा वार्षिक १० लाख ८० हजार खर्च

शुक्रबार, २१ मङ्सिर २०७५, १३ : ३५
शुक्रबार, २१ मङ्सिर २०७५

काठमाडौँ । सङ्घीय संसदको पुस्तकालयमा सांसदहरू न्यून मात्रमा जाने गरेका छन् । संसद सक्रिय भएको ९ महिनाअघिदेखि हालसम्म रुकुम पश्चिमका सांसद ठगेन्द्रप्रकाश पुरी सबैभन्दा धेरै पटक सङ्घीय संसद सचिवालयको पुस्तकालयमा गएका छन् । गएको भदौै १५ गते पहिलो पटक पुस्तकालय पुगेका उनी मङ्सिर २० सम्म गरेर ९ पटक पुगेको पुस्तकालयको अभिलेखमा उल्लेख छ । यस्तै बाग्लुङ १ का सांसद  सूर्यप्रसाद पाठक ४ पटक, सिन्धुपाल्चोक २ का सांसद अग्निप्रसाद सापकोटा ४ पटक पुस्तकालय गएको अभिलेखमा रहेको उनीहरूको हस्ताक्षरबाट देखिन्छ । मन्त्री बन्नुअघि वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत २०७४ फागुन २९, ३० र चैत २ गते ३ पटक पुस्ताकलय गएका थिए । 

९ महिनाको अवधिमा २१ सांसद पुस्तकालय छिरेका छन् । सङ्घीय संसद सचिवालयको सूचना तथा अभिलेख व्यवस्थापन शाखामा रहेको ‘माननीयज्यूहरूको पुस्तकालय भ्रमण पुस्तिका विवरण’मा सांसदहरूले उपस्थिति जनाएको आधारमा यो आँकडा लिइएको हो । पुस्तकालयको सो अभिलेख हेर्दा दलका ठूला नेताहरू पुस्तकालय प्रवेश गरेका छैनन् ।  

पुस्तकालय शाखाका अनुसार पुस्तकालयमा राजनीति, समाजशास्त्र, अर्थशास्त्र, कानुन, साहित्य, इतिहास, भूगोल, जीवनी, धर्मसम्बन्धी करिब २० हजार किताब छन् । 

सो शाखाले २००८ सालदेखि सो पुस्तकालय सञ्चालनमा आएको जानकारी दिँदै कुन–कुन समयमा को सांसदले कुन किताब लगे र कहिले फिर्ता गरे भन्ने आँकडा नभएको जानकारी दिएको छ । अहिले १ महिनाका लागि २ वटा किताब लान पाउने व्यवस्था रहेको र सांसदहरूले समयमै फिर्ता दिने गरेको पुस्तकालय अधिकृत कमलादेवी शर्माले उल्लेख गरेकी छिन् । तर सांसदहरूले के कस्ता पुस्तक अध्ययनका लागि लगेको बारे उनले जानकारी दिइनन् । 

किताबलाई वार्षिक ८ लाख, पत्रिकालाई १० लाख 
सङ्घीय संसद सचिवालको सो पुस्तकालयका लागि यो वर्ष किताब किन्नका लागि ८ लाख रुपैयाँ खर्च भइरहेको छ । यस्तै पत्रपत्रिकाको लागि कार्यालय सञ्चालन खर्चमार्फत मासिक ९० हजार खर्च लाग्ने पुस्ताकालय अधिकृत शर्माले बताएकी छिन् । पत्रिकाका लागि वार्षिक १० लाख ८० हजार खर्च लाग्ने गरेको छ । 

पुस्तकालयमा पुस्तकालय अधिकृत १ जना, नायव सुब्बा २ जना, नायब सुब्बा आधा समय काम गर्ने गरी २ जना, पुस्तकालय सहायक १ र कार्यालय सहयोगी १ जना रहेका छन् । शाखाले पुस्तकालयका सम्पूर्ण सामग्रीहरूलाई कम्प्युटराइज्ड गरी सचिवालयको वेबसाइटमार्फत हेर्ने व्यवस्था मिलाउने, कम्प्युटरको सङ्ख्या थप गर्ने, संसदीय सङ्ग्राहालयको स्थापना गर्ने र पुस्तकालयलाई अत्याधुनिक बनाउने योजना बनाएको शर्माले उल्लेख गरेकी छिन् । 

सूचना दिन कञ्जुस्याइँ
पुस्तकालयमा सांसदहरूले अध्ययन गर्ने पुस्तकको विषयमा जानकारी माग्न खोज्दा संसद सचिवालयको पुस्तकालय शाखाले असहयोग गर्यो । शाखाले सूचनाको हक प्रयोग गरेर निवेदन लेखे मात्र सूचना दिन सक्ने बताएपछि गएको भदौ २९ गते दर्ता गरेको निवेदनको  जानकारी २ महिनापछि मात्र दिइयो । मागिएका सूचनामध्ये कतिपयको जानकारी नै नदिएको र कतिपयको गोलमटोल तरिकाले उत्तर मात्र दिइयो । हामीले खोजेको २०७४ को फागुन २२ गतेदेखि को–को सांसदले पुस्तकालयबाट कुन–कुन पुस्तक लगेर अध्ययन गरे, कुन कुन समयमा फिर्ता गरे भन्ने जानकारी पुस्तकालय शाखाले दिएन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप