शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिमराबासीको रोदन : जगदम्बाको प्रदूषणले बाँच्नै गाह्रो भयो

शुक्रबार, २१ मङ्सिर २०७५, १३ : ११
शुक्रबार, २१ मङ्सिर २०७५

उद्योग वा कलकारखानालाई विकासको सूचकका रूपमा हेरिन्छ । उद्योग र कलकारखानाको विकाससँगै देशको विकास र आर्थिक समृद्धि हुन्छ । 

तर विकासले विनाशको मात्रा बढी गरायो वा दिगो विकासको अवधारणा र सामाजिक न्याय र उत्तरदायित्व निर्वाह गर्न सकेन भने त्यसले समस्या भने पक्कै ल्याउँछ । 

बाराको सिमरा र वीरगन्जको पर्सा क्षेत्रमा फलामे छड तथा सिमेन्टका धेरै उद्योग छन् । ती उद्योगहरूमध्ये सिमराको जगदम्बा स्टिल सबैभन्दा ठूलो उद्योग हो । 

मुख्यतः थोत्रा फलाम अर्थात् कवाडी पगालेर फलामे छड बनाउने जगदम्बा स्टिलको कारण यतिबेला सिमराबासी ठूलो स्वास्थ्य समस्याको जोखिममा छन् ।

केही समयअघि रातोपाटी टिम जगदम्बाको फ्याक्ट्रीसम्म नै पुग्यो । थोत्रा फलाम पगालेर कसरी फलामे छड बन्छ भनेर बुझ्नका लागि हामी कवाडी बोकेको एउटा ट्रकमा सहचालक (खलासी) बनेर भित्र पस्यौँ । कवाडी कसरी पगालिन्छ देखि कसरी बन्छ फलामे छड भनेर गोप्य क्यामेराबाट सम्पूर्ण दृश्य लियौँ ।

उद्योगभित्रको दृश्य लिइसकेपछि हामी उद्योगको अगाडि रहेका केही घरमा पुग्यौँ । आफूहरू पत्रकार भएको जानकारी गराएपछि उनीहरूले सुरु गरे आफ्नो व्यथा । 

जगदम्बाको प्रदूषणका कारण आउने पुस्तालाई जोगाउनै गाह्रो भयो 

मोहनबहादुर कार्की जगदम्बाको फ्याक्ट्री नजिकै मोबाइल पसल चलाएर बस्छन् । स्थानीय बासिन्दा मोहनका अनुसार जगदम्बाको प्रदूषणको कारण सिमराबासीको स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेको छ । कारखाना वरिपरि रहेको बस्तीका स्थानीयमध्ये दमको रोग नभएको व्यक्ति पाउनै मुस्किल हुने उनी बताउँछन् ।

मोहन भन्छन्, ‘जगदम्बाको प्रदू्रषण यति धेरै छ कि हामीले लुगा धोएरबाहिर सुकायौँ भने भोलिपल्ट त्यो लुगा कालो भइसकेको हुन्छ । कारखानाबाट निस्कने कालो धूलो र धुवाँको कारण न त यस वरिपरि रूखबिरुवा उम्रन सक्छ, न त सागसब्जी नै खान हुने हुन्छ । अवस्था त यतिसम्म भइसकेको छ कि बच्चा जन्मनेबित्तिकै आईसीयूमा राख्नुपर्ने भएको छ ।

मोहनका छोरा २ वर्षका भए । तर २ वर्ष अगाडि जब बच्चा जन्मियो, सुरुमै बच्चालाई एनआईसीयूमा राख्नुपर्यो । करिब ६ महिना मोहन लगातार अस्पतालमै बसे । बच्चालाई सुरुमै स्वासप्रस्वासमा समस्या देखियो । जन्मनेबित्तिकै बच्चालाई दम देखियो । यसले एकातिर बच्चाको स्वास्थ्यमा गम्भीर असर गर्यो भने अर्कोतिर उपचारका लागि ठूलो धनराशिको खर्च गर्नुपर्यो । डाक्टरले बच्चाको स्वासप्रस्वासमा समस्या रहेको भन्दै प्रदूषण मुख्य कारक रहेको बताए ।

जगदम्बाको प्रदूषणले बस्नै नसक्ने भयो : सुदीप ढकाल, स्थानीय

सुदीप ढकालको घर जगदम्बा स्टिल उद्योगको ठीक अगाडि छ । पेसाले ज्योतिषीय परामर्श दिन्छन् उनी । सुरुमा जगदम्बा स्टिल उद्योग आफ्नो घरको अगाडि आउँदा ज्यादै खुसी थिए उनी । २ दशक अगाडि जगदम्बा स्टिल त्यहाँ स्थापना हुँदा उद्योगको आकार सानो थियो र त्यसले कुनै प्रदूषण पनि गराएको थिएन । 

आफ्नै घर अगाडि उद्योग आएपछि रोजगारी र बजारीकरणको ठूलो सपना देखेका थिए उनले । 

तर जब जगदम्बाले आफ्नो उत्पादन क्षमता बढाउँदै गयो र कवाडी पगालेर फलामे डन्डी बनाउन थाल्यो, त्यसपछि भने सिमराबासीको निद हराम हुन थाल्यो । 

देशलाई आवश्यक झन्डै ५० प्रतिशत फलामे डन्डीको आपूर्ति गर्ने दाबी गरिरहेको यस उद्योगको प्रदूषण यति बढी छ कि माक्स नलगाई एक समय पनि बस्न सकिँदैन ।

मोहन जस्तै सुदीपको पनि त्यही समस्या छ, लुगा धोएर सुकायो भने पूरै कालो बनिदिन्छ । घरमा रङ लगायो भने दुई साता पनि टिक्न पाउँदैन । जगदम्बाको प्रदूषण यति धेरै छ कि रातको समयमा बाहिर आधाघण्टा बस्यो भने मान्छे पूरै कालो बनाइदिन्छ । 

जगदम्बाको प्रदूषण बाहिर देखिने प्रदूषण मात्रै छैन । जब जब कवाडी पगाल्न थालिन्छ, त्यसपछि सिमराको आकाश पूरै कालो हुन्छ । कार्बनका कारण स्वास फेर्नसमेत गाह्रो हुन्छ । बालबच्चामा रुघाखोकी र निमोनियाको समस्या पटक पटक आइरहन्छ ।

प्रदूषण नियन्त्रणमा जगदम्बा जिम्मेवार भएन

त्यसो त जगदम्बाको प्रदूषणका कारण स्थिति भयावह बनेपछि करिब २ वर्ष अगाडि सिमराका स्थानीयबासीले सडक नै अवरुद्ध गरेर आन्दोलन समेत गरे । करिब १६ दिन जगदम्बा स्टिलको अगाडि बसेर धर्ना नै दिए । तर त्यो धर्नालाई प्रहरीले बल प्रयोग गरेर धपायो । यहीबीचमा जगदम्बाले प्रदूषण नियन्त्रण युनिट बनाउने भनेर स्थानीयबासीसँग सम्झौता पनि गर्यो । प्रदूषण नियन्त्रण युनिट बनाएपछि प्रदूषण पूर्णतः नियन्त्रण हुने जगदम्बाले दाबी गरेको थियो । 

तर जसरी जगदम्बाले प्रदूषण नियन्त्रण युनिट बनाउने र त्यो सञ्चालनमा आएपछि प्रदूषण पूर्णतः रोकिने प्रतिबद्धता जनाएको थियो, परिस्थितिमा खासै सुधार आएन । स्थानीयबासीसँग सम्झौता गरेको करिब १ वर्षमा जगदम्बाले प्रदूषण नियन्त्रण युनिट पनि बनायो । तर यो युनिट चलाउँदा अत्यधिक विद्युत्को खपत हुने भएपछि जगदम्बाले कहिलेकाहीँ दिनको समयमा मात्रै यो प्रयोगमा ल्यायो । तर जब रातको समय हुन्छ र सिमराबासी सुत्न थाल्छन्, त्यसपछि भने प्रदूषण नियन्त्रण युनिट बन्द हुन्छ र आकाशभरी फैलन्छ कालो धुवाँ । 

रातमा बढ्छ प्रदूषण

सुदीपका अनुसार जगदम्बाले दिनको समयमा भन्दा रातको समयमा कैयौँ गुणा बढी प्रदूषण गराउने गरेको छ । दिनको समयमा कवाडी पगाल्दा प्रदूषण नियन्त्रण युनिट चलाउने हुँदा कम प्रदूषण हुने भए पनि रातको समयमा जब सिमराबासी निदाउँछन्, तब सुरु हुन्छ जगदम्बाको धन्दा । दिनमा धेरैले देख्ने र रातको समयमा खासै वास्ता नहुने हुँदा रातको समयमा प्रदूषणको मात्रा धेरै बढी भएको सुदीप बताउँछन् ।

कहिलेकाहीँ राति उठेर सुदीपले फोटो र भिडियोसमेत लिने गरेका छन् । तर फोटो खिच्नेबाहेक सुदीपसँग अर्को कुनै विकल्प र उपाय छैन । उनी भन्छन्, ‘चुपचाप सहनुको विकल्प छैन । तर यसरी बाँच्न सकिएला जस्तो लाग्दैन ।’

जब स्थानीय नेता र गुण्डा मिलिदिन्छन्...

मोहन र सुदीपका अनुसार सिमराबासीले पटक पटक जगदम्बासँग प्रदूषण नियन्त्रणका लागि छलफल गरेका छन् । कतिपटक आन्दोलनको तयारी पनि गरेका छन् । राजनीतक दलका स्थानीय कार्याकर्ता, स्थानीय जनप्रतिनिधि र युवाको समूहले नै सिमराबासीको आन्दोलनलाई मत्थर पारेको धेरैको गुनासो छ । कैयौँ पटक आन्दोलन जब उचाइमा पुग्छ, तब स्थानीय नेता तथा जनप्रतिनिधिहरू जगदम्बासँग ‘डिल’ गर्न पुग्छन् । राजनीतिक दल र तिनका नेतालाई चन्दा र भत्ता भए पुगिहाल्छ । जनप्रतिनिधिलाई पनि दाना र पानीको व्यवस्था गरिदिने गरेका उनीहरू पनि सिमराबासीको दुःखमा चुपचाप रहेका छन् । 

सुदीपका अनुसार सिमराकै केही गुन्डालाई पनि जगदम्बाले पालेर राखेको छ । जब त्यहाँ आन्दोलन सुरु हुन्छ, त्यो आन्दोलन भड्काउन ती युवाहरूलाई प्रयोग गरिन्छ । कुनै काम नगरी जगदम्बाबाट तलब खाने युवाहरूको समूह पनि सिमरामा धेरै रहेको सुदीप बताउँछन् । 

अब अति भयो, फ्याक्ट्री बन्द गराउने आन्दोलन गर्छौ : सिमराबासी

मोहन र सुदीपको मात्रै होइन, सिमराबासीको साझा समस्या हो यो । यद्यपि क्यामेरा वा मिडियामा बोल्न डर मान्छन् सिमराबासी । कतिपयका परिवारलाई जगदम्बाले जागिर दिएको छ भने कतिपयलाई स्थानीय युवाहरूको डर छ । 

जगदम्बाकै उद्योग अगाडि घर भएका श्रेष्ठ थरका एक स्थानीय भन्छन्, ‘स्थिति त यति भयावह छ कि अब बाँच्नै नसकिने भइसकियो । तर यस्ता कुरा गर्न पनि डर छ । सबैले साथ दिएर आन्दोलन गरे प्रदूषण नियन्त्रण गर्न सकिन्थ्यो ।

सिमराका स्थानीयका अनुसार जगदम्बाबाट निस्किएको प्रदूषणका कारण सिमराबासीले गम्भीर स्वास्थ्य समस्याको सामना गर्नु परिरहेको छ । बालबालिका र वृद्धवृद्धालाई जोगाउनै मुस्किल परिरहेको छ । आँखा र स्वासप्रस्वासको समस्या सामान्य समस्या भइसके । तर जगदम्बाले प्रदूषण नियन्त्रणका लागि कुनै पहल नै गरेको छैन । अब पुसबाट नयाँ ढङ्गको आन्दोलन गर्ने र त्यो आन्दोलनले फ्याक्ट्री बन्दसमेत गराउन सक्ने चेतावानी सिमराबासीको छ । 
 

कवाडी कथाको शृङ्खला

कवाडी फलामबाट बनेको छडले बलियो होला घर ?

ल्याब टेष्ट गर्दा कवाडीबाट बन्ने छड धेरैजसो ‘फेल’

कवाडी छड ‘देशको मेरुदण्ड’ ?: के फरक छ प्राइम ब्लेड र कवाडीबाट बन्ने छडमा ?

गुणस्तरहीन छड प्रमाणित भएपछि जगदम्बाले तिर्‍यो लाखौँको क्षतिपूर्ति

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप