शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उत्कृष्ट नगरभित्रको अँध्यारो कथा

शुक्रबार, २१ मङ्सिर २०७५, १० : ४६
शुक्रबार, २१ मङ्सिर २०७५

बुटवल– बुटवल उपमहानगरपालिका–१२ स्थित ज्यामिरेका ५५ वर्षीय तुलबहादुर रोकालाई वडा कार्यालय पुग्न नै तीन घण्टा लाग्छ । छोरीलाई पढाउनका लागि अर्को गाउँपालिका लैजानुपर्छ । त्यो पनि पैदल २ घण्टा लाग्छ ।

बस्तीमा बिजुली छैन । बिरामी हुँदा खुवाउँने सिटामोल पनि पाइँदैन । उपमहानगरपालिकाभित्रैको यो दुर्गम बस्तीबारे उपमहानगरपालिका र प्रदेश सरकार बेखबर जस्तै बनेको छ ।

ज्यामिरे बस्तीकी  धनीसरा ग्राहाले आफूहरूको समस्या उपमहानगरपालिका र प्रदेश सरकार कसैले पनि चासो नदिएको गुनासो गरिन् । 

प्रदेश ५ का मुख्यमन्त्री कार्यालय बुटवलबाट १५ किलोमटिर दूरीमा पर्छ ज्यामिरे बस्ती ।  पाल्पा जिल्लाको सीमाक्षेत्रमा रहेको जुन बस्तीमा पुग्न राजमार्गबाट जङ्गलको बाटो हुँदै ४ किलोमिटर उकालो चढ्नुपर्ने हुन्छ ।  

वरिपरि जङ्गल र खोल्साले घेरिएको यो बस्तीमा करिब एक दर्जन जति घर छन् । त्यो बस्तीको सुरक्षा र स्थानान्तरणका बारेमा ध्यान कसैको पुगेको छैन ।

रोचक त के छ भने बुटबल उपमहानगरपालिका ५ पटकसम्म देशकै उकृष्ट नगरपालिका घोषित भएको छ । तर यही उपनगरपालिकाभित्रका ज्यामिरेबासीलाई एक किलो नुन किन्न पनि घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ ।

स्थानीय नन्दवीर गाहाले  नगरपालिकालाई बस्ती सार्नका लागि पटक पटक आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो गरे । ज्यामिरेबासीले बस्ती सार्नुपर्ने र त्यसो गर्न नसके मोटरबाटो बनाइदिनुपर्ने माग अगाडि सारेका छन् ।

देशकै उत्कृष्ट नगरपालिकाका बासिन्दा भएर पनि राज्यको हरेक सेवाबाट वञ्चित हुनुपरेको  गुनासो  उनीहरूको छ । 

अधिकारीकर्मी तथा पूर्वसांसद  विनोद पहाडीले स्थानीय र प्रदेश सरकारले नगरभित्रैका नागरिकलाई अँध्यारोमा राखिरहेको आरोप लगाए । 

यहाँका स्थानीयको आधारभूत पूर्वधार पनि नगरपालिकाले कहिल्यै ध्यान दिएन् । सधैँ बत्तिमुनिको अँध्यारो बस्ती बन्नपुग्यो ज्यामिरे ।

ज्यामिरेका कतिपय बासिन्दाले नगरपालिकाको कार्यालयसमेत देखेका छैनन् । नागरिकताको सिफारिस लिनदेखि हरेक काम गर्न ज्यामिरेका बासिन्दालाई अप्ठ्यारो छ ।

‘नगरपालिका जाँदा दिन बित्छ, गएर काम पनि हुँदैन्न धनीसरा गाहाले भनिन्– ‘हामी त नगरपालिकाका बासिन्दा जस्तो पनि भएनौँ ।’ 

२०४४ सालमा पाल्पा कोलडाडाबाट बसाइसरी ज्यामिरे आएको बताउँदै ज्यमिरे टोल विकास समितिका अध्यक्षसमेत रहेका नन्दवीर गाहाले भने– ‘हामी त नगरपालिकाको बासिन्दा हौँ जस्तो पनि लाग्दैन ।’ नगरपालिकामा अहिले पनि बाटो दिनुस्’ अन्य सेवा विद्यालय पनि नजिक स्थापना गरिदियोस् ।

मर्कामा विद्यार्थी 

ज्यामिरेका विद्यार्थीहरू दैनिक २ घन्टा हिँडेर विद्यालय जान बाध्य भएका छन् । गाउँसम्म मोटरबाटो नबनेकाले वर्षौंदेखि बुटवल नगरपालिकाभित्र रहेर पनि गाउँका विद्यार्थीहरू घण्टौं पैदल हिँडेर विद्यालय जान बाध्य भएका हुन् ।

पैदल हिँडेर विद्यालय जानुपरेपछि यहाँका विद्यार्थी ७, ८ वर्षको उमेरसम्म विद्यालय जाँदैनन् । अहिले यो गाउँबाट ७ जना विद्यार्थी सपाल्पाको तिनाउ गाउँपालिकास्थित वनकट्टामा रहेको श्री दुर्गाभवानी उच्च माविमा अध्ययनरत छन् । 

बुटवल नगरपालिकामा रहेर पनि नजिकै विद्यालय नहुँदा अन्यत्रै गएर अध्ययन गर्नुपरेको विद्यार्थीहरूले बताएका छन् । 

जङ्गलको बाटो हुँदै टाढाको विद्यालय जानुपर्दा निकै समस्या भएको विद्यार्थी विना गाहा मगरको गुनासो छ । 

भर्खर कक्षा १२ पास गरेर माथिल्लो तहमा अध्ययन गर्ने गाहा त्यहाँका साना भाइ–बहिनीहरूलाई विद्यालयसम्म ल्याउने लैजाने अभिभावकसमेत बनेकी छन् ।  त्यहाँका बासिन्दा अहिले बाख्रापालन र भुइँकटहर खेती गर्दै आएका छन् । धेरैको मुख्य पेसा पशुपालन नै रहेको छ ।

बालाबलिकाको शिक्षा पहिलो प्राथमिकता : नगर प्रमुख सुवेदी 

बुटवल उपमहापालिका नगरप्रमुख शिवराज सुवेदीले जङ्गलमा दैनिक दुई घण्टा हिँडेर पढ्न जाने बालबालिकाहरूको सुरक्षा र वैकल्पिक व्यवस्थालाई आफूहरूले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । 
उनले बालबालिकाको माग र चाहना बमोजिम तत्कालै उचित व्यवस्था गर्नेतर्फ आफूले पहल सुरु गर्ने प्रतिबद्धता जनाएका छन् ।

स्थानीयहरूले बस्तीसम्म पुग्ने बाटो बनाइदिन, गाउँमै अक्षर चिन्न सक्ने गरी बालकक्षाको व्यवस्था मिलाइदिन, विद्युतको व्यवस्था मिलाउन तथा पानीको मुहान संरक्षण र सिंचाइको व्यवस्था  माग आएकोले आफूहरू गम्भीर रहेको सुवेदीको भनाइ छ । 

प्रदेश सरकारका प्रवक्ता भन्छन् : थाहा छैन 

प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वधार विकास बैजनाथ चौधरीले ज्यामिरे बस्तीका बारेमा थाहा नभएको  रातोपाटीलाई बताए । 

यद्यपि उनले यसबारे बुझेर स्थानीयको समस्या समाधान गर्न पहल गर्ने बताए । ‘प्रदेश ५ सरकारले विकट बस्तीलाई व्यवस्थित गर्नको लागि जनता आवास कार्यक्रम अगाडि सारेको छ । ठाक्कै केही काम यो ज्यामीरेको विषयमा भएको छ कि छैन थाहा भएन । हाम्रो डिभिजन कार्यालयमा म बुभ्mछु ।’ उनले भने । 

यदि नभएको भए यस्ता बस्तीहरूलाई व्यवस्थित गर्ने पहलमा प्रदेश सरकार लाग्ने उनले बताए । 

ज्यामिरेको सम्भावान पनि छ  

प्रदेशको राजधानीको  १५ मिलोमिटर दूरीका ज्यामिरेमा  सम्भावन पनि रहेको पूर्वसांसद विनोद पहाडी बताउँछन् ।

उनी भन्छन्, ‘कृषि उद्यम र पशुपालनको प्रचुर सम्भावना रहेको छ । पर्यटनको पनि निकै सम्भावना रहेको छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप