उत्कृष्ट नगरभित्रको अँध्यारो कथा
बुटवल– बुटवल उपमहानगरपालिका–१२ स्थित ज्यामिरेका ५५ वर्षीय तुलबहादुर रोकालाई वडा कार्यालय पुग्न नै तीन घण्टा लाग्छ । छोरीलाई पढाउनका लागि अर्को गाउँपालिका लैजानुपर्छ । त्यो पनि पैदल २ घण्टा लाग्छ ।
बस्तीमा बिजुली छैन । बिरामी हुँदा खुवाउँने सिटामोल पनि पाइँदैन । उपमहानगरपालिकाभित्रैको यो दुर्गम बस्तीबारे उपमहानगरपालिका र प्रदेश सरकार बेखबर जस्तै बनेको छ ।
ज्यामिरे बस्तीकी धनीसरा ग्राहाले आफूहरूको समस्या उपमहानगरपालिका र प्रदेश सरकार कसैले पनि चासो नदिएको गुनासो गरिन् ।
प्रदेश ५ का मुख्यमन्त्री कार्यालय बुटवलबाट १५ किलोमटिर दूरीमा पर्छ ज्यामिरे बस्ती । पाल्पा जिल्लाको सीमाक्षेत्रमा रहेको जुन बस्तीमा पुग्न राजमार्गबाट जङ्गलको बाटो हुँदै ४ किलोमिटर उकालो चढ्नुपर्ने हुन्छ ।
वरिपरि जङ्गल र खोल्साले घेरिएको यो बस्तीमा करिब एक दर्जन जति घर छन् । त्यो बस्तीको सुरक्षा र स्थानान्तरणका बारेमा ध्यान कसैको पुगेको छैन ।
रोचक त के छ भने बुटबल उपमहानगरपालिका ५ पटकसम्म देशकै उकृष्ट नगरपालिका घोषित भएको छ । तर यही उपनगरपालिकाभित्रका ज्यामिरेबासीलाई एक किलो नुन किन्न पनि घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ ।
स्थानीय नन्दवीर गाहाले नगरपालिकालाई बस्ती सार्नका लागि पटक पटक आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो गरे । ज्यामिरेबासीले बस्ती सार्नुपर्ने र त्यसो गर्न नसके मोटरबाटो बनाइदिनुपर्ने माग अगाडि सारेका छन् ।
देशकै उत्कृष्ट नगरपालिकाका बासिन्दा भएर पनि राज्यको हरेक सेवाबाट वञ्चित हुनुपरेको गुनासो उनीहरूको छ ।
अधिकारीकर्मी तथा पूर्वसांसद विनोद पहाडीले स्थानीय र प्रदेश सरकारले नगरभित्रैका नागरिकलाई अँध्यारोमा राखिरहेको आरोप लगाए ।
यहाँका स्थानीयको आधारभूत पूर्वधार पनि नगरपालिकाले कहिल्यै ध्यान दिएन् । सधैँ बत्तिमुनिको अँध्यारो बस्ती बन्नपुग्यो ज्यामिरे ।
ज्यामिरेका कतिपय बासिन्दाले नगरपालिकाको कार्यालयसमेत देखेका छैनन् । नागरिकताको सिफारिस लिनदेखि हरेक काम गर्न ज्यामिरेका बासिन्दालाई अप्ठ्यारो छ ।
‘नगरपालिका जाँदा दिन बित्छ, गएर काम पनि हुँदैन्न धनीसरा गाहाले भनिन्– ‘हामी त नगरपालिकाका बासिन्दा जस्तो पनि भएनौँ ।’
२०४४ सालमा पाल्पा कोलडाडाबाट बसाइसरी ज्यामिरे आएको बताउँदै ज्यमिरे टोल विकास समितिका अध्यक्षसमेत रहेका नन्दवीर गाहाले भने– ‘हामी त नगरपालिकाको बासिन्दा हौँ जस्तो पनि लाग्दैन ।’ नगरपालिकामा अहिले पनि बाटो दिनुस्’ अन्य सेवा विद्यालय पनि नजिक स्थापना गरिदियोस् ।
मर्कामा विद्यार्थी
ज्यामिरेका विद्यार्थीहरू दैनिक २ घन्टा हिँडेर विद्यालय जान बाध्य भएका छन् । गाउँसम्म मोटरबाटो नबनेकाले वर्षौंदेखि बुटवल नगरपालिकाभित्र रहेर पनि गाउँका विद्यार्थीहरू घण्टौं पैदल हिँडेर विद्यालय जान बाध्य भएका हुन् ।
पैदल हिँडेर विद्यालय जानुपरेपछि यहाँका विद्यार्थी ७, ८ वर्षको उमेरसम्म विद्यालय जाँदैनन् । अहिले यो गाउँबाट ७ जना विद्यार्थी सपाल्पाको तिनाउ गाउँपालिकास्थित वनकट्टामा रहेको श्री दुर्गाभवानी उच्च माविमा अध्ययनरत छन् ।
बुटवल नगरपालिकामा रहेर पनि नजिकै विद्यालय नहुँदा अन्यत्रै गएर अध्ययन गर्नुपरेको विद्यार्थीहरूले बताएका छन् ।
जङ्गलको बाटो हुँदै टाढाको विद्यालय जानुपर्दा निकै समस्या भएको विद्यार्थी विना गाहा मगरको गुनासो छ ।
भर्खर कक्षा १२ पास गरेर माथिल्लो तहमा अध्ययन गर्ने गाहा त्यहाँका साना भाइ–बहिनीहरूलाई विद्यालयसम्म ल्याउने लैजाने अभिभावकसमेत बनेकी छन् । त्यहाँका बासिन्दा अहिले बाख्रापालन र भुइँकटहर खेती गर्दै आएका छन् । धेरैको मुख्य पेसा पशुपालन नै रहेको छ ।
बालाबलिकाको शिक्षा पहिलो प्राथमिकता : नगर प्रमुख सुवेदी
बुटवल उपमहापालिका नगरप्रमुख शिवराज सुवेदीले जङ्गलमा दैनिक दुई घण्टा हिँडेर पढ्न जाने बालबालिकाहरूको सुरक्षा र वैकल्पिक व्यवस्थालाई आफूहरूले पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।
उनले बालबालिकाको माग र चाहना बमोजिम तत्कालै उचित व्यवस्था गर्नेतर्फ आफूले पहल सुरु गर्ने प्रतिबद्धता जनाएका छन् ।
स्थानीयहरूले बस्तीसम्म पुग्ने बाटो बनाइदिन, गाउँमै अक्षर चिन्न सक्ने गरी बालकक्षाको व्यवस्था मिलाइदिन, विद्युतको व्यवस्था मिलाउन तथा पानीको मुहान संरक्षण र सिंचाइको व्यवस्था माग आएकोले आफूहरू गम्भीर रहेको सुवेदीको भनाइ छ ।
प्रदेश सरकारका प्रवक्ता भन्छन् : थाहा छैन
प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वधार विकास बैजनाथ चौधरीले ज्यामिरे बस्तीका बारेमा थाहा नभएको रातोपाटीलाई बताए ।
यद्यपि उनले यसबारे बुझेर स्थानीयको समस्या समाधान गर्न पहल गर्ने बताए । ‘प्रदेश ५ सरकारले विकट बस्तीलाई व्यवस्थित गर्नको लागि जनता आवास कार्यक्रम अगाडि सारेको छ । ठाक्कै केही काम यो ज्यामीरेको विषयमा भएको छ कि छैन थाहा भएन । हाम्रो डिभिजन कार्यालयमा म बुभ्mछु ।’ उनले भने ।
यदि नभएको भए यस्ता बस्तीहरूलाई व्यवस्थित गर्ने पहलमा प्रदेश सरकार लाग्ने उनले बताए ।
ज्यामिरेको सम्भावान पनि छ
प्रदेशको राजधानीको १५ मिलोमिटर दूरीका ज्यामिरेमा सम्भावन पनि रहेको पूर्वसांसद विनोद पहाडी बताउँछन् ।
उनी भन्छन्, ‘कृषि उद्यम र पशुपालनको प्रचुर सम्भावना रहेको छ । पर्यटनको पनि निकै सम्भावना रहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु
-
अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलरको भाउ बढ्यो, कसको कति ?
-
च्याम्पियन्स लिग : इन्टरको शीर्षता कायमै, बार्सिलोनाले उछिन्न सक्ने
-
च्याम्पियन्स लिगमा आर्सनलको अघिल्लो यात्रा सहज
-
फेयेनुर्डले अंक खोस्दा पेप ग्वार्डिवलाको म्यान्सिटीलाई कष्ट
-
लेवान्डोस्की चम्किएपछि बार्सिलोनाले उठायो घरेलु मैदानको फाइदा