बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कागती पानीले तौल कम गर्दैन, थाहा पाउनुस् यसबारे वर्षौं पुराना भ्रम

शुक्रबार, २१ मङ्सिर २०७५, १० : २३
शुक्रबार, २१ मङ्सिर २०७५

धेरैलाई लाग्छ कि बिहान उठ्नेबित्तिकै र राती सुत्नुअघि मनतातो पानीमा कागती मिसाएर पिउँदा तौल घट्छ । कतिले त यस्तो हुने दाबी नै गर्छन् । तर सबैले सुझाउँदै आएका यस्ता टिप्स वास्तविक हुन् भनेर कसरी विश्वास गर्नु ? के साँच्चै नै कागती पानीले तौल घट्छ ?

यहाँ कागती पानीबारे वर्षौं पुरानो भ्रमबारे जानकारी दिइएको छ । 

१. कागती पानीले तौल घटाउँदैनः

हो, कागती स्वास्थ्यका लागि निकै फाइदाजनक छ । यसमा एक फाइबर हुन्छ जसलाई भनिन्छ, पेक्टिन । पेक्टिक फाइबरले तपाईंलाई तौल कम गर्न निकै सहयोग गर्छ । तर यहाँ समस्या के छ भने, कागतीमा पेक्टिक फाइबर निकै कम पाइन्छ र यति थोरै मात्राले तौल कम गर्न सहयोग गर्दैन । त्यसकारण पेक्टिक फाइबरयुक्त खानेकुरा खान चाहनुहुन्छ भने ओट्स, हरियो सिमी, दाल वा गेडागुडीलाई खानामा समावेश गर्नुहोस् ।

२. यसले शरिरलाई डिटक्सिफाइ गर्दैनः

डिटक्सिफाइको अर्थ हो शरिरको रगतलाई सफा गर्नु । त्यसकारण जतिधेरै पानी पिउनुहुन्छ तपाईंको शरिर त्यति नै धेरै सफा हुन्छ । त्यसकारण पानीमा कागती हाले पनि नहाले पनि त्यसले केही फरक पार्दैन । वास्तवमा, कागतीमा भिटामिन सीबाहेक अन्य कुनै तत्व हुँदैन जसले शरिरलाई डिटक्सिफाइका लागि सहयोग गरोस् । यदि केही अनुसन्धानकर्तालाई विश्वास गर्ने हो भने तपाईंले आफ्नो शरिरलाई डिटक्सिफाई गर्नै पर्दैन किनभने यो काम तपाईंको मृगौला र कलेजोले आफै गर्छ ।

३. कागती पानीले तपाईंको मेटाबोलिजमलाई बढाउँदैनः

मेटाबोलिजम भनेको तपाईंको शरिरभित्रको खानालाई पचाउने शक्ति हो । तर यसलाई पाचनक्रिया भन्न मिल्दैन तर तपाईंको शरिरले कति क्यालोरी बर्न गर्ने भन्ने कुरा मेटाबोलिजमले निर्धारण गर्छ । कागती पानीले मेटाबोलिजमलाई बढाउँछ कि बढाउँदैन भन्ने बारे अनुसन्धानकर्ता नै अलमलमा छन् । तर यदि तपाईंले गुगलमा कागती पानीबारे सर्च गर्नुहुन्छ भने यसले मेटाबोलिजमलाई बढाउने भन्दै विभिन्न जानकारी दिन्छ तर यसबारे कुनै पनि डाक्टरले पुष्टि गरेका छैनन् ।

४. कागती पानीले तपाईं जवान पनि बनाइराख्दैनः

समयलाई कसले रोक्न सक्छ र ? बुढेसकाल त सबैलाई लाग्छ ।  कागतीमा अत्यधिक एन्टिअक्सिडेन्ट पाइन्छ । एन्टिअक्सिडेन्टको काम भनेको छालालाई स्वस्थ राख्नु र त्यसमा कोल्याजेन बनाउनु हो । कोल्याजेनले छालामा पर्ने चाउरीपनालाई थोरै समयका लागि पर सार्छ । तर यस्ता विभिन्न खानेकुरा छन् जसमा कागतीमा भन्दा धेरै कोल्याजेन पाइन्छ । सबैको अनुहारमा चाउरी त पर्छ तर छालालाई स्वस्थ राख्न चाहनुहुन्छ भने कागतीमा भन्दा धेरै क्यालोजिन पाइने किवी, सुन्तला, र अम्बा खानुहोस् । यसमा अत्यधिक मात्रामा भिटामिन सी हुन्छ र यसले तपाईंको छालालाई थप स्वस्थ राख्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप