बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘घाट वैद्य’ : बाँच्ने आशा मारेकाहरुको अन्तिम आशा

बुधबार, १९ मङ्सिर २०७५, १३ : १३
बुधबार, १९ मङ्सिर २०७५

काठमाडौँ । पशुपति आर्यघाटको ‘ब्रह्मनाल’ नजिकै छ ‘पशुपतिनाथ आर्यघाट सेवा केन्द्र’ । घाट र सेवा केन्द्रको दूरी करिब ७ मिटर होला । सेवा केन्द्रबाट आफन्त गुमाएकाहरूको पीडा र रोधन छर्लङ्गै देख्न र सुन्न सकिन्छ । 

२४सै घण्टा व्यस्त रहने आर्यघाटमा केवल शव अन्त्येष्टिका लागि मात्रै लैजान्छन् भन्ने धेरैलाई लाग्न सक्छ । तर आर्यघाटको डिलैमा रहेको सेवा केन्द्रमा उपचारका लागि धेरैलाई लगिन्छ भन्ने कमैलाई थाहा हुनसक्छ । आफन्तहरूका लागि यो ठाउँ आशाको अन्तिम केन्द्र हो ।

जब हामी सेवा केन्द्रमा पुग्यौँ, त्यहाँ बिरामीलाई औषधि खुवाउने, हेरचाह गर्ने काम भइरहेको थियो । एक जना वृद्धा आर्यघाटतिरै फर्केको ढोका नजिकैको बेडमा थिइन् । उनकी छोरी र बुहारी त्यहीँ थिए । आमाको अवस्थाबारे सुनेपछि छोरी निजगढदेखि अत्तालिँदै आइपुगेकी रहेछिन् । 

उमेरले ८१औँ वसन्त पार गरेकी दोलखाकी गङ्गामाया श्रेष्ठलाई शनिबार दिउँसोको १ बजे आर्यघाटको सेवा केन्द्रमा पुर्याएको रहेछ । ‘सास रहुन्जेल आस रहन्छ’ भनेजस्तै गङ्गामायाको उपचारका लागि छोराछोरीले धेरै अस्पतालको चक्कर लगाएपछि अन्तिममा आर्यघाटको उपचार केन्द्र ल्याएका रहेछन् । 

पाठेघरको क्यान्सर भएकी गङ्गामायाको उमेरले गर्दा किमो थेरापी गर्न नमिल्ने भयो । उपचारको विकल्पमा आयुर्वेद मात्र थियो । 

अस्पतालको धेरै डोजको औषधि उमेरको कारणले दिन नमिल्ने भएपछि उनलाई औषधिभन्दा आयुर्वेदक प्रयोग गर्नु भनिएको रहेछ । एक महिनासम्म उपचार गरेपछि उनको स्वास्थ्यमा क्रमिक सुधार पनि देखियो । हिँड्ने, खाने बस्ने सबै सामान्य बन्दै गएको थियो । 

तर गत शनिबार एक्कासि उनको स्वास्थ्य बिग्रियो । गङ्गामाया अचेत भइन् । आमालाई आर्यघाटमा उपचार गर्न लाँदा दशाग्रह कटिन्छ कि भनेर उनका सन्तानले अस्पतालभन्दा आर्यघाटको सेवा केन्द्र रोजेका रहेछन् ।   

‘आर्यघाटको सेवा केन्द्रमा ल्याउँदा दशाग्रह पनि कटिने र आयुर्वेद उपचार हुने भएको हुँदा आमालाई आर्यघाटको सेवा केन्द्रमा ल्याएका हौँ,’ छोरा बाबुराम श्रेष्ठले बताए । अहिले उनको स्वास्थ्य अवस्था राम्रो हुँदै गएको श्रेष्ठको भनाइ थियो । 

गङ्गामायाका छोरा बाबुरामले यसअघि घाटको सेवा केन्द्रबाट धेरै मान्छे निको भएर गएको देखेका रहेछन्, त्यही विश्वास लिएर आफ्नी आमालाई पनि ल्याएका थिए ।   

यसरी गङ्गामाया मात्रै होइनन् धेरै जनाले आर्यघाटको यो सेवा केन्द्रबाट सेवा लिइसकेका छन् । उपचार गराउँदा–गराउँदा केही सीप नलागेपछि अन्तिम आशाका रूपमा यो सेवा केन्द्रमा ल्याइने गरिएको छ ।

२० हजारभन्दा बढीको उपचार 

पशुपति आर्यघाट सेवा केन्द्र स्थापना भएको २३ वर्ष भयो । अहिलेसम्म २० हजारभन्दा बढीले सेवा लिइसकेको ‘घाट वैद्य’ भनेर चिनिने सञ्चालक सुवर्ण वैैद्य बताउँछन् । 

वि.सं २०५२ सालमा स्थापना भएको यस केन्द्रमा आएकामध्ये अहिलेसम्म ३३ प्रतिशत उपचारबाट निको भएर फर्केको ‘घाट वैद्य’ दाबी गर्छन् । काठमाडौँैमा डेरामा बस्नेहरूले भने आफ्नो मान्छे बाँच्ने आशा मारिसकेपछि बिरामी राख्ने ठाउँ नहुँदा यही सेवा केन्द्रमा ल्याउने गरेका छन् र मुत्युपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरेर फर्कछन् । आर्यघाटको सेवा केन्द्रमा ल्याएपछि ‘घाट वैद्य’ले आयुर्वेदिक उपचार गर्ने गरेका छन् । ७९ वर्षका वैद्यले यो सेवा केन्द्र सञ्चालन गर्नुभन्दा पहिला उनका बुबा भरत वैद्यले राणाकलामा दरबारको सेवा गरेका थिए । 

वैद्यका ६ जना दाजुभाइ भए पनि बुबाले अन्तिम समयमा उनलाई नै वैद्यको काम गर्नु भनेपछि यही सेवामा लागेको बताउँछन् । 

एक पटक झाडापखाला लागेको मान्छे अचेत हुँदा मरेकै सम्झेर जिउँदै जलाएको देखेपछि उनले सेवा केन्द्रको आवश्यकता महसुस गरे र केन्द्रबाट सेवा दिन थाले ।

उनी त्यहाँ आएको बिरामीको रोगअनुसारको आयुर्वेदिक औषधिले उपचार गर्ने गर्छन् । यति मात्रै होइन, पशुपति क्षेत्रमा आएका कोही बिरामी भए, बाँदर, कुकुरले टोकेजस्ता अवस्थामा सेवा केन्द्रबाट निःशुल्क उपचार गराइन्छ ।  

३३ प्रतिशत निको हुन्छन्, क्यान्सर र किड्नीका बिरामी बढ्न थाले

अस्पतालमा उपचार गरेर करोडौँ सकेपछि पनि निको नभएका धेरै बिरामीहरू यहाँ आएपछि निको हुने गरेको ‘घाट वैद्य’को दाबी छ ।  

आएकामध्ये ३३ प्रतिशत घर फर्कने गरेको घाट वैद्य बताउँछन् । ‘घाट वैद्य’का अनुसार हर महिना ५ देखि ८ जनासम्म घर फर्कने गरेका छन् । 

पछिल्लो समय क्यान्सरको बिरामी बढ्दै जानुमा उनी धेरै चिन्तित छन् । खानपान र जीवनशैलीमा परिवर्तन हुनु, रसायन मिसिएका खानेकुरामा ध्यान नदिँदा क्यान्सर बढ्दै गएको उनको अनुमान छ ।  नागरिकले आफ्नो स्वास्थ्यप्रति सचेत रहनुपर्ने उनको भनाइ छ । 

विरासतको चिन्ता

उनी आफ्नो वास्तविक नामभन्दा पनि ‘घाट वैद्य’को रूपमा बढी चिनिन्छन् ।  अहिलेसम्म ३५ बेड स्थापना गरिसकेका छन् । त्यहाँ आउने सबै बिरामीलाई सेवाको रूपमा उपचार, खाने, बस्नेलगातयका सबै निःशुल्क गर्दै आएको ‘घाट वैद्य’ बताउँछन् । 

बाँच्ने आशा मारिसकेर झिनो आशा लिएर आएकाहरू नयाँ जीवन पाउँदा खुशीको कुनै पनि सीमा नहुने उनी बताउँछन् । 

आफ्नो इच्छाले सहयोग गरे मात्र नत्र बिरामी त्यहाँ बसुन्जेल खाने बस्ने, औषधि उपचार कुनै पनि कुराको पैसा नलिएको ‘घाट वैद्य’को भनाइ छ । 

यसरी निःस्वार्थ लामो समयसम्म सेवा गरिरहँदा सरकारले आफ्नो योगदानको कदर गर्नुपर्ने ‘घाट वैद्य’ बताउँछन् । 

मासिक २ सयबाट सेवा सुरु गरेका ‘घाट वैद्य’लाई अहिले पशुपति विकास कोषले मासिक ८ हजार दिने गरेको छ । 

सेवा केन्द्र २४ घण्टा नै खुल्ला रहन्छ भने उनलाई २ जना नर्स र अन्य स्वयम् सेवकहरूले साथ दिँदै आइरहेका छन् । 

समाज सेवा नै गर्नुपर्छ भन्ने मनोसाय भएका ‘घाट वैद्य’ ३ पटक वडाध्यक्ष पनि भए । उनले तिलगङ्गामा विद्यालय पनि सञ्चालन गरिरहेका छन् । पशुपति क्याम्पस पनि उनैको नेतृत्वमा स्थापना भएको थियो ।

तर, यतिबेला आफूपछि सेवा केन्द्रको जिम्मा कसले लिने भन्ने विषयमा उनी चिन्तित छन् । उनको आशा छ, सरकारले यसको संरक्षण गरोस्, यो सेवा निरन्तर चलोस् । आफ्ना भावी सन्ततीले पनि आफ्नो सेवालाई निरन्तरता दिऊन् भन्ने उनी चाहन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप