साँखुका यी नमुना वडाध्यक्ष : सुविधाको मोटरसाइकल बहिष्कार, ५ वर्षको तलब विकास र छात्रवृत्तिमा खर्च
काठमाडौँ । झन्डै डेढ वर्षअघि स्थानीय तहको निर्वाचन भएपछि गाउँगाउँमा सिंहदरबार पुग्यो । गाउँपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्षलगायतका जनप्रतिनिधिहरू अधिकारसहित गाउँ ठाउँको सिंहदरबार प्रमुख बने ।
पछिल्लो समय देशका केही स्थानका वडाध्यक्षले गरेका बदमासीमा किस्सा समाचारमा नआएका पनि होइनन् । तर केही वडाध्यक्षले भने आफ्नो कार्यक्षेत्रको विकासका लागि दत्तचित्त भएर काम पनि गरिरहेका छन् ।
काठमाडौँको उत्तरपूर्वी प्राचीन सहर साँखु पहिले ३ वटा गाविसमा समेटिएको थियो । प्राचीन नाम शङ्खरापुरबाट नगरपालिका बनेपछि यो पुरानो नेवार बस्ती अहिले दुईवटा वडामा समेटिएको छ ।
राप्रपाका स्थानीय कार्यकर्ता राधाकृष्ण श्रेष्ठ झन्डै १५ महिनाअघि शङ्खरापुर नगरपालिकाको वडा नम्बर ७ को वडाध्यक्षमा निर्वाचित भएपछि उनले नगरपालिकाले दिएको सुविधाको सरकारी मोटरसाइकल बहिष्कार मात्र गरेनन्, आफ्नो वडामा रहेको नाई ओला अतिक्रमण गर्ने रामेछापको लिखु गाउँपालिका अध्यक्षसँग मुकाविला पनि गरे । युवा वडाध्यक्ष श्रेष्ठ साँखुको प्राचीन सांस्कृतिक सम्पदाको संरक्षण र सो क्षेत्रको विकासका लागि आफ्नै तलबसमेत विकासका काममा लगाइरहेका छन् ।
ऐतिहासिक कलश पोखरी संरक्षण
काठमाडौंबाट साँखु पुग्नेबित्तिकै बजार प्रवेश गर्ने एउटा ढोका आउँछ । त्यस ढोकाको दुवैतर्फ पोखरी रहेको छ, जसलाई कलश पोखरी भनिन्छ । ढोकामा कलशको घडा राखिएको जस्तै साँखु बजारको ढोकामा रहेको कलश पोखरीको संरक्षण हुन सकेको थिएन । आफू निर्वाचित भएर आँउने बित्तिकै पोखरीको सरसफाइमा जुटेको वडाध्यक्ष श्रेष्ठले बताए ।
‘निर्वाचनअघि जनताले केही गर्छ भनेर विश्वास गरेर मत दिएका थिए । हामी पनि त्यहीअनुसार आएका हौँ । हामीले जनतासामु जुन प्रतिबद्धता जनाएका थियौं, त्यहीअनुसार नै हामीले काम सुरुवात गरेका छौँ’, उनले भने– ‘जनप्रतिनिधिको रूपमा पाइला टेक्ने बित्तिकै हामीले ऐतिहासिक कलस पोखरी सरसफाइको काम सुरु गर्यौँ । ३३ सय वर्षअघि शङ्खदेव राजाले दाहिने शङ्खको अकारमा शङ्खरापुरलाई बनाउँदाखेरी एकदम व्यवस्थित सहरका रूपमा विकास गरेका थिए । त्यो बेलाको ७ गाउँ मिलेर हजार घरको बस्तीलाई दाहिने शङ्खको आकारमा व्यवस्थित सहर बनाएका थिए । घर घरमा राजकुलोबाट पानी पठाउँनेदेखि लिएर, ठाउँ ठाउँमा पाटी, आठवटा ढोकाहरू, आठ गणेश मन्दिर, विभिन्न सत्तल राखेर बनाएको थियो । त्यसमध्ये कलश पोखरी पनि एक थियो । सांस्कृतिक रूपमा बुहारी भित्र्याउने गेटको कलशका रूपमा पोखरीको अर्थ छ ।’ ३ वर्षभित्र कलश पोखरी निर्माणको काम सक्ने लक्ष्य लिइएको छ ।’
दयनीय अवस्थामा रहेको पोखरीलाई पुनरुत्थान गर्ने उद्देश्यसहित दुई तीन सय वडाबासी सहभागी भएर पोखरीको सफाइ गरेको उनले बताए । १ करोड ७५ लाखको बजेटमा कलश पोखरीलाई वडाकै गौरबका रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
उनले भने– ‘जनसहभागिता जुटाएर काम गरिरहेका छौँ । जोसँग जे दिन सक्ने अवस्था छ, त्यहीअनुसार काम गरिरहेका छौँ । पैसा हुनेहरूसँग पैसा मागेर, कोही श्रम गर्न सक्छ भने श्रम गराएर, कसैले आफ्नो सीप, ज्ञान दिन सक्छन् भने त्यो लिएर काम गरिरहेका छौँ । कलश पोखरीकै सन्दर्भमा पनि हामीले यहाँको आर्किटेक इन्जिनियर सुरेश श्रेष्ठसँग निःशुल्क रूपमा डिजाइनको काम लियौँ ।’
पोखरी निर्माणका लागि साँखुको पिलल्स लाइफ केयर अस्पतालले १ लाख, राजदाश श्रेष्ठले १ लाख र उनी आफैले २ लाख ३ हजार राखे । कसैले ५० हजार कसैले २५ हजार राखेर कोष बनाइएको छ । अन्य विकासका काममा पनि यही मोडेल प्रयोग गर्ने उनले बताए ।
यस्तै वडामा रहेको खानेपानीको समस्यालाई बजेट नआई पनि सबै वडाबासी सहभागी भएर सातै दिनमा भक्तपुरेको छार्लिङको वनबाट खानेपानी ल्याएर १२ वटा धारा चलाइरहेको वडाध्यक्ष श्रेष्ठले सुनाए ।
यस्तै नगरपालिकाको बजार क्षेत्र रहेको वडा नं. ६ र ७ साँखु बजारभित्र दुई वडा मिलेर ३ सय भन्दा बढी सडक बत्ति राखे । ८ ठाउँमा निःशुल्क वाइफाई पनि राखिएको थियो तर इन्टरनेट राम्रो नचलेपछि त्यो प्रभावकारी हुन सकेन ।
सरकारी मोटरसाइकल र इन्धन सुविधा बहिष्कार
निर्वाचित भएर आइसकेपछि नगरपालिकाले सबै वडाध्यक्षलाई मोटरसाइकल सुविधा दिएको थियो । वडा नं. ६ र ७ का राप्रपाबाट निर्वाचित भएका दुईजना वडाध्यक्षले सो सुविधा बहिष्कार गरेको उनले बताए ।
उनले भने– ‘जनप्रतिनिधि हुनुको उद्देश्य नै जनताको सर्वोत्कृष्ट सेवा गर्नु हो । सोहीअनुसार हामीले पनि काम गरिरहेका छौँ । नगरपालिकाबाट हामीलाई मोटरसाइकल सुविधा दिएको थियो हामीले लिएनौँ । हामीलाई सेवा सुविधा हैन जनतालाई सुविधा दिऊँ भनेर हामी काम गरिरहेका छौँ । जनताले तिरेको करले नगरपालिकालाई भार पार्नु हुँदैन भनेर हामी वडा नं. ६ र ७ का वडाध्यक्षले मोटरसाइकल, इन्धन र मर्मतसम्भार खर्च सबै बहिष्कार गर्यौँ ।’ उनले फजुल खर्च हुनेगरी आफूले नगरपालिकाबाट कुनै सुविधा नलिने बताए ।
पाँच वर्षको तलब विकासको काममा
वडाध्यक्ष श्रेष्ठले आफ्नो ५ वर्षको सबै तलब विकासको काम र छात्रवृत्तिका लागि खर्च गर्ने बताए । ‘वडाका साना योजनामा बजेट पुगिरहेको हुँदैन, त्यसमा पनि हामीले आफ्नो तलबको रकम पनि खर्च गरिरहेका छौँ ।’ उनले भने ।
उनले आफ्नो १ वर्षको तलब कलश पोखरी निर्माणका लागि दिएका छन् । यस्तै खानेपानी योजनाका लागि उनले २५ हजार दिएको बताए । यस्तै भाग्योदय क्याम्पस साँखुमा अध्ययन गर्ने एक विद्यार्थीका लागि उनको तलबबाट छात्रवृत्तिका रूपमा रकम दिने निर्णय गरेका छन् ।
ज्येष्ठ नागरिकलाई घरघरमै गएर सामाजिक सुरक्षा भत्ता
जनप्रतिनिधिका रूपमा निर्वाचित भएर आएपछि घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरणको काम रहेको श्रेष्ठले बताए । उनले भने– ‘हाम्रो ५ वर्षीय कार्यकालमा घरघरमै पुगेर वृद्धभत्ता उपलब्ध गराउँछौँ, बैङ्क सिस्टम हुँदा पनि यसलाई निरन्तरता दिने उद्देश्य हामीले बनाएका छौँ ।’
खेलकुदको विकासका लागि फुटबल मैदान मर्मत गरेको र त्यसलाई निरन्तरता दिने उनको उद्देश्य छ ।
नाई खोला संरक्षणका लागि लिखु गाउँपालिका अध्यक्षसँग लडाइँ
जग्गा व्यवसायीसमेत रहेका रामेछाप लिखु गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काले साँखुमा काठमाडौं उपत्यका विकास प्राधिकरणबाट सबै प्रक्रिया पूरा गरेर जग्गा प्लानिङ गरेका थिए । उनको जग्गा साँखुको नाई खोला वारिपारि दुवै तर्फ १७ रोपनी थियो । प्लानिङ गर्दा उनले खोलालाई ह्युम पाइपभित्र हालेर खोलामाथि पनि जग्गा निकालेका थिए । पछि जग्गा बेच्न उनी वडा कार्यालयमा आए । कागजपत्र सबै ठीक थियो । वडाले सिफारिस पनि गर्यो तर स्थानीयले खोलालाई ह्युम पाइपले छोपेर बाटो लगेपछि दोस्रो पटक वडाध्यक्ष श्रेष्ठले जग्गाको सिफारिस रोकिदिए । उनले भने– ‘खोलालाई खुल्ला नगरेसम्म सिफारिस गर्दिनँ भनेँ । पछि उनी मसिनौँसम्म सिफारिसका लागि आएनन्, पछि मालपोत कार्यालयमा बुझ्दा उनले बिनासिफारिस जग्गा पास गरेको पाइयो । अधिवक्ता शिवप्रसाद श्रेष्ठसहित उपत्यका विकास प्राधिकरण गएर बुझ्दा प्रक्रिया पूरा गरेको रहेछ । त्यसपछि उनले यो विषय नगरपालिकामा लगे । नगरपालिको बोर्डबाट ३ दिनको समय दिँदा पनि उनले अटेर गरे । पछि उनकै संयोजकत्वमा मुचुल्का उठाएर २ वठा डोजर प्रयोग गरी नाई खोलाबाट ह्युम पाइप हटाएर नदीलाई पहिलेकै अवस्थामा फर्काएको उनले बताए ।
जग्गा सिफारिस नगरेपछि गाउँपालिका अध्यक्ष खड्काले फोनबाट धम्की दिएको उनले बताए । उनले भने– ‘सार्वजनिक जग्गा अतिक्रमण गरेको टुलुटुलु हेरेर बस्न सकिँदैन । तपाईं पनि जनप्रतिनिधि हो, तपार्इंले पनि यस्तो काम गर्न सुहाउँदैन भनेर मैले त्यतिबेला नै भने । उनले खोलाको मात्रै ४ रोपनी जग्गा हत्याउन खोजेका थिए । उनको झन्डै २० करोडको सम्पत्ति रहेको थियो । २ महिनापछि उनले क्षमायाचना गरे ।’
नाई खोलाको अस्तित्व समाप्त पार्न लागेको बेला चुनौतीपूर्णरूपमा काम गरेर खोला खुला गराएको उनले बताए ।
भाग्योदय क्याम्पस : बुहारीलाई निःशुल्क शिक्षा, निःशुल्क पाठ्युस्तक
नगरपालिकामा कुरा राखेर सामुदायिक क्याम्पसको रूपमा रहेको साँखुको भाग्योदय क्याम्पसमा यस वर्षदेखि निःशुल्क बुहारी शिक्षा सुरु गरिएको छ । यस वर्ष ३५ बुहारीहरू क्याम्पसमा भर्ना भएका छन् । यसरी भर्ना भएका अधिकांश बुहारीहरू बीएड तहमा अध्ययन गरिरहेका छन् । अघिल्ला वर्षहरूमा आठ दस विद्यार्थी मात्र भर्ना हुन्थे । आर्थिक रूपमा धरासायी रहेको क्याम्पसलाई पनि माथि उठाउनु रहेको र नगरपालिकाभित्रका विवाहित महिलालाई उच्च शिक्षा दिन यस्तो कार्यक्रम सुरु गरेको उनले बताए । यसका लागि नगरपालिका यो वर्ष ५ लाख बजेट विनियोजन गरेको थियो । उनी आफै पनि क्याम्पसको सञ्चालक समितिको कोषाध्यक्ष छन् ।
क्याम्पसको नीति पनि सुधार गरेको उनले बताए । क्याम्पसमा विभिन्न खेल प्रतियोगिता गर्ने, सांस्कृतिक कार्यक्रम गरेर आर्थिक कोष निर्माण गर्ने, पूर्वविद्यार्थीहरूलाई सहभागी गराएर आर्थिक सहयोग जुटाउनेलगायत क्याम्पसले नयाँ नीति लिएको उनले बताए । यस्तै अध्ययनरत सबै विद्यार्थीका लागि निःशुल्क पाठ्यपुस्तक वितरण गर्ने र उनीहरूले अध्ययन सकेपछि फिर्ता गर्नुपर्ने नीति पनि लिइएको छ ।
यो योजनामा जनप्रतिनिधिहरूको पनि सहभागिता रहेको छ । यसका लागि साँखुमा क्रियाशील सहकारी संस्थाले कसैले ५ सेट, कसैले ८ सेट किताब खरिदका लागि सहयोग गरेका छन् । यो अभियानमा केहीले व्यक्तिगत रूपमा पनि सहयोग गरेका छन् । उनी आफैले पनि एकजना विद्यार्थीका लागि भर्नाबापत लाग्ने रकम आफ्नो तलबबाट छात्रवृत्तिका रूपमा दिएका छन् । वार्षिक १७ हजार १ सय क्याम्पसको वार्षिक शुल्क रहेको छ । उनले ५ वर्ष आफ्नो कार्यकालमा आउने सबै तलब भत्ता यसरी नै सामाजिक काममा लगाउने बताए ।
सबै तलब सामाजिक काममा खर्च गरेपछि उनको दैनिक खर्च कसरी चल्छ त ?
उनले आफ्नो भाइ र श्रीमतीले व्यवसाय गरेको बताए । उनले भने– ‘श्रीमतीको ब्युटी पार्लर र ट्रेनिङ सेन्टर छ, भाइ सहकारीमा काम गर्छन् । अन्य व्यवसाय पनि भाइले हेर्नेगरेका छन् । पहिला म आफै राइस मिल चलाउँथेँ । अहिले हेर्न पाएको छैन ।’
शङ्खरापुर नगरपालिकामा नगरप्रमुखको ३५ हजार, उपप्रमुखको ३० हजार, वडाध्यक्षका लागि २० हजार र वडा सदस्यलाई ६ हजार रूपैयाँ तलब तोकिएको छ ।
दूध प्रशोधन गर्ने महिला सहरकारी
शङ्खरापुर वडा नंं १ देखि ९ सम्मका महिलाहरूका लागि आर्थिक उपार्जनका लागि महिला सहकारी स्थापना गर्न लागेको उनले बताए । उनले भने– ‘४ सयभन्दा बढी सदस्यले सेयर लिएका छन् । ५ हजारदेखि १ लाखसम्म सेयर लिन पाउँनेगरी डेढ करोडको उद्योग सञ्चालन गर्न लागेका छौँ ।’
यो नितान्त महिला सहकारी हुने उनले बताए । ग्रामीण क्षेत्रमा गाईभैंसी पालनलाई टेवा पुर्याउने लक्ष्य राखिएको छ । किसानलाई ऋण, प्राविधिक सहयोग उपलब्ध गराउने लक्ष्य लिइएको छ । प्रस्तावित नाम शङ्खरापुर डेरी उद्योग राखिएको छ । यसले स्थानीय स्तरमा उत्पादन भएको दूधलाई प्याकिङ गरी बजार विस्तारको काम गर्नका लागि भारतबाट मेसिन खरिद गर्ने प्रक्रिया समेत सुरु गरेको छ ।
परम्परागत जात्रा तथा सम्पदा संरक्षण
साँखुको एउटा चिनारीका रूपमा रहेको ३३ वर्ष पुरानो बज्रयोगिनी जात्रालाई व्यवस्थित ढङ्गले सञ्चालन गर्ने, जात्रालाई राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा प्रचार गर्ने उनले बताए ।
७२ सालको भूकम्पले साँखुका धेरै सम्पदामा पनि क्षति पुग्यो । नारायण मन्दिर पुरातत्व विभागले निर्माण सकेको छ । दुवाहिटी टोलको कृष्ण मन्दिर बन्ने क्रममा रहेको छ । यो वर्षको बजेटबाट जयबली पाटी बन्ने क्रममा रहेको छ । कलशपोखरीसँगै रहेको पाटी पनि पुरातत्त्व विभागको सहयोगमा निर्माण गरिन लागेको उनले बताए । महानगरीय प्रहरी प्रभाग साँखु अगाडि २० वर्षअघिदेखि ढुङ्गेधार उत्खनन् गरेर त्यसको संरक्षणमा लागेको उनी बताउँछन् ।
यस्तै; प्राचीनकालदेखि सञ्चालनमा रहेको राजकुलो सरसफाइको काम सुरु गर्नुका साथै गुजुमुज्ज बस्तीमा आगलागीको जोखिमबाट बचाउन ‘फायर हाइड्रेन्ट’ नयाँ काम सुरु गर्न लागेको उनले सुनाए । तलेजु भवानी खानेपानी आयोजना र कलश पोखरीबाट पानी जानेगरी सहरको गल्ली गल्लीमा फायर हाइड्रेन्ट जोडन लागिएको उनले बताए । साँखुमा सञ्चालित प्रगति परियोसजनासँग मिलेर तत्काल २ ठाउँमा राख्ने र पछि विस्तार गरेर १० ठाउँमा राखिने उनले बताए । यस्तै कृषि सडक ग्राभेलिङ लगायतका काम पनि भइरहेको छ ।
श्रेष्ठ भन्छन्, ‘वडाध्यक्षको भूमिकामा काम गर्न कठिन नै छ । लामो समयपछि जननिर्वाचित भएर आएको, जनताका अपेक्षा धेरै हुन्छन्, बजेट कम हुन्छ । तैपनि हामीसँग भएका सीमित स्रोत साधान प्रयोग गरेर बढी बढी उपलब्धि हुने गरेर हामीले काम गरिरहेका छौँ ।’
उनको वडाका लागि वडास्तरीय ५० लाख र नगरस्तरीय ४ करोड बजेट छ । वडाका ५ जना पदाधिकारीको निर्णयबाट ५० लाख खर्च गर्न सकिन्छ भने नगरस्तरीय बजेट प्रयोजनका लागि वडाध्यक्ष र नगरपालिकाको मेयर, उपमेयरसहितको बोर्ड बैठकले निर्णय गर्छ । छिट्टै २५ लाख लागतमा वडा कार्यालय पनि निर्माण गर्न लागेको उनले बताए ।
वडा कार्यालयमा धेरैजसो भूकम्पपीडितका समस्या आउने गर्छ । वडा कार्यालयले पुनर्निर्माण प्राधिकरणसँग समन्वय गरेर ४०, ५० जनालाई पहिलो किस्ताको रकम उपलब्ध गराइदिएको उनले बताए ।
उनले भने– ‘जनतालाई नियम कानुन लगाउनेभन्दा पनि उनीहरूको काम हामीले गरिदिए उनीहरूले हामीलाई साथ दिन्छन् । जनताका बढीभन्दा बढी समस्या गुनासाहरूलाई ध्यानमा दिएर समाधान गर्नु हाम्रो कर्तव्य हो । सम्पदा बस्ती बनाउन त भनियो तर हामीले आफ्नै प्राविधिक राख्न सकेका छैनौँ । प्राधिकरणले दिने भनेको ३ लाख मात्र हो, उनीहरूलाई निःशुल्क नक्सा पास गरिदिने, अन्य सहयोग गरेर सम्पदा बस्तीलाई प्रोत्साहन गर्न सके पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्थ्यो भनेर हामीले कुरा राख्छौँ तर काम हुन सकेको छैन । हाम्रो तर्फबाट सक्ने काम गरिरहेका छौँ ।’
राप्रपाका नेता तथा तत्कालीन भूमिसुधार मन्त्री जोगमेहर श्रेष्ठको जन्मस्थानसमेत रहेको साँखुमा उनको राजनीतिक विरासतसमेत जोगाउन सफल रहेका राधाकृष्ण श्रेष्ठले अबको ४ वर्ष पूरै समय साँखुको ऐतिहासिक सम्पदाको संरक्षण, वडाको विकास र जनताको सेवामा निःस्वार्थ भएर खटिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेवान्डोस्की चम्किएपछि घरेलु मैदानको फाइदा उठायो बार्सिलोनाले
-
च्याम्पियन्स लिगमा एटलेटिको मड्रिडको गोल वर्षा
-
गाउँ रित्तिने चिन्ताले झन् केश पाक्दै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म