सम्झने छन् साराले पुराना प्रेमका कथा...
जम्माजम्मी एकपटक भेट । तर, सम्झना अनेक छन्, गीति कथाजस्तो ।
प्रसङ्ग हो, स्वरसम्राट नारायण गोपालका गीत गुन्जिएको मेरो जीवन यात्राको ।
ताल, सुर, राग, लय खजमजिएको मेरो जीवनका अनेक यात्रा, मोड र कुइनेटोमा शब्द, सङ्गीत र स्वरको बेजोड सङ्गम भएका नारायण गोपालका कालजयी गीत सुनिए । अतिशयोक्तिपूर्ण लाग्न सक्छ यो संश्लेषण, सत्य फेरि पनि यही हो ।
गुलाफको फूललाई जे नाम दिए पनि त्यसको सौन्दर्यमा कुनै फरक नपरेझैं नारायण गोपालका अजम्बरी गीत जसले, जहाँ र जसरी सम्झे पनि ती गीतका ओजमा कुनै फरक पर्दैन नै । त्यसैले नारायण गोपालका गीत गडेका आफ्नो यात्रा सम्झना सुनाउँदै छु: सत्यम्, शिवम्, सुन्दरम् !
...
अशोक सिलवालले बाटाभरि ज्ञानु राणासँगको वार्तालाप विवरण पुलकित हुँदै सुनाइ रह्यो ।
‘मिस नेपाल’ आयोजक संस्था हिडेन ट्रेजरले केही वर्षयता अर्को पनि एउटा कार्यक्रम गर्छ, अविरल यात्रा शीर्षकमा । अविरल यात्रा, नेपाली गीत सङ्गीतमा कम्तीमा पाँच दशक समर्पित कुनै एक स्रष्टामा केन्द्रित हुने साङ्गीतिक कार्यक्रम हो ।
अविरल यात्राको पहिलो र दोस्रो शृङ्खला क्रमशः गीतकार यादव खरेल र सङ्गीतकार दीपक जङ्गममा समर्पित थियो भने तेस्रो शृङ्खलाका लागि गायिका ज्ञानु राणा स्रष्टा छानिएकी रहिछन् । यादव खरेल र दीपक जङ्गमको जस्तै ज्ञानु राणाको जीवनगाथा तयार पार्ने जिम्मा अशोककै रहेछ ।
अशोक बहुप्रतिभाशाली छ, ऊ पत्रकार हो, लेखक हो र पर्यटक पथप्रदर्शक पनि । गत साउनमा कैलाश मानसरोवर कोरामा गएको थियो, फर्के लगत्तै उसले गायिका राणासँग सघन वार्ता गरेको रहेछ ।
कुपन्डोलबाट हामी सहिद शुक्रराज जोशी शास्त्रीको शालिकलाई दायाँ पार्दै अघि बढ्यौँ । पुल्चोक इन्जिनियरिङ क्याम्पस कटेपछि पाटनढोका नपुग्दै समुराइ रेस्टुराँमा छि-यौँ ।
पस्नासाथै सुखद अनुभूति भयो, एउटा सङ्गीत स्रष्टाको कुरा गर्दै गएका थियौँ हामी, रेस्टुराँको भित्तामा पाँच जना सङ्गीत स्रष्टाको तस्बिर सजाइएको रहेछ !
गीतकार रत्नशमशेर थापा, गायकहरू फत्तेमान राजभण्डारी, शिवशङ्कर मानन्धर, दीप श्रेष्ठ र नारायण गोपाल गुरुबाचार्यका तस्बिर लेमिनेसन गरेर झुण्ड्याएका । नारायण गोपालको तस्बिर चैं काउन्टर नजिकै ।
अशोक र मैले रेस्टुराँ मालिक नेपाली गीत सङ्गीतका पारखी रहेछन् भन्ने लख काट्यौँ ।
मेरो अर्का साथी छन्, दुर्गामान सिंह डङ्गोल । ब्रह्मटोलका ज्यापुका छोरा दुर्गामान कृषि अनुसन्धान परिषद् (नार्क)मा काम गर्छन् । म ताहाचलकी ज्यापु आमाको घरमा डेरा बस्दादेखिको साथी । कुनै तेस्रो साथीसँग परिचय गराउनु पर्दा म भन्थेँ पनि, दुर्गामानजी ब्रह्म टोलका ज्यापु, म ज्यापुको घरमा बस्ने ब्राह्मण !’
दशकौंदेखिको तिनै साथी मलाई भेट्न रातोपाटी कार्यालयमा आए । हामी खाजा खान त्यही समुराई रेस्टुराँमा गयौँ । अर्को सुखद संयोग, रेस्टुराँ मालिक त दुर्गामानको टोलिया दाइ रहेछन् !
नाम राजेन्द्रमान श्रेष्ठ रहेछ । नेपाली गीत सङ्गीतका साँच्चै पारखी । कुनै बेला आफै पनि गाउन बजाउन हौसिन्थ्ये रे । स्रष्टाप्रतिको उनको श्रद्धा सम्मानले मलाई पनि झक्झक्यायो ।
नारायण गोपाल, नेपाली गीत सङ्गीत क्षेत्रका मेरा रोज्जा स्रष्टा । उनलाई मैले भेटेको ४२ वर्ष र उनी बितेको २७ वर्ष भयो । तर, ‘नम्बरी सुनलाई कसी लगाउनु पर्दैन’ ठानेर नारायण गोपालबारे मैले कहिल्यै, कहीँकतै, केही लेखेको छैन, लेखिनँ । केवल आफ्नो हृदयमा स्नेहसाथ सजाएको छु । तर, मेरो मनमा मात्र रहेको उनीप्रतिको स्नेह सम्मान कसले देख्छ र !? सत्यम् !
मेरा लागि ‘घाँसी’ बने राजेन्द्रमान श्रेष्ठ । त्यसैले नेपाली गीत सङ्गीत क्षेत्रका अद्वितीय स्रष्टा नारायण गोपालप्रति अठ्ठाइसौं स्मृति दिवसमा उनकै गीतमा थोरै फेरबदल गरेर शब्द सुमन समर्पण गर्दैछु:
यति चोखो यति मीठो दिउँला तिमीलाई माया
सम्झने छन् साराले पुराना प्रेमका कथा...
...
कात्तिकको एउटा बिहान । मिर्मिरेमै काका (कृष्ण सिम्खडा) र म पातलो हुस्सु चिर्दै नयाँबजारबाट क्षेत्रपाटी, असन, रत्नपार्क भएर बसपार्क पुग्यौँ । जानु थियो, धादिङ सदरमुकाम पारिपट्टिको गाउँ साङकोसमा, ठुल्दिदीसँग भाइटीका लगाउन ।
सुनौलोबजारबाट धादिङबेसी सरिसकेको थियो सदरमुकाम । प्रमुख जिल्ला अधिकारी बाबुराम पौडेलको विशेष सक्रियतामा जनसहभागिताले मलेखुबाट धादिङबेसीसम्म भर्खर सडकको प्रारूप खनिएको थियो । गाडी चल्दैन थियो ।
त्यसैले आदमघाटसम्मको टिकट काटेर पोखरा जाने बसमा चढ्यौँ हामी । निर्धारित समयमा छुटेन बस । हामीले गुनासो गर्यौं । दुई सिटअगाडिको एक यात्रुले हामीतिर फर्केर हाँस्दै भने, ‘यो बस अझै आधा घण्टा छुट्दैन हजुर !’
बिहानै कालो चस्मा लगाएका थिए, मेरै उमेरका ती बोलक्कड यात्रीले । बसमा कसैले केही कुरा गर्यो भने उनी तत्कालै प्रतिक्रिया जनाइ हाल्थे ।
हामी आदमघाटमा ओर्लियौँ, उनी पनि ।
उनले सोधे, ‘कहाँ जाने हो तपाईंहरू ?’
‘साङकोस, अनि तपाईं नि ?’
‘ए, बाटोमा सँगै हुने भइएछ, म साँखुको बसाहा जाने’, उनले भने ।
हामीले औपचारिक परिचय ग-यौं । कृष्ण रिमाल रहेछ उनको नाम । मैले ठट्टा गर्दै भने, ‘तपाईं त काकाको मित पो हुनुहुँदो रहेछ !’
वाक्पटु उनले भनिहाले ‘तपाईंको नाम कृष्ण भएको भए मित लगाउन नि हुन्थ्यो, काकासँग त के मित लगाइ भयो र !’
काठमाडौँमा अमात्य जिङ्क ब्लकमा काम गर्दा रहेछन् उनी ।
हामीले आदमघाटमा केही खाएर मात्रै बाटो लागौं भन्यौँ । उनले मानेनन् र हामीलाई पनि खान दिएनन् । भने, ‘हाइवेमा खानेकुरा राम्रो हुँदैन, हिँड्नुस् माथि आमडाँडामा गज्जबको चीज खान पाइन्छ ।’
नभन्दै, आमडाँडामा हामीले गज्जबकै चीज खान पायौँ । लटक्क परेको दही, मग्मगी बास्ना आएको घ्युकुमारी केरा र ढिकीमा कुटेको चिउरा । स्वादिष्ट परिकार खाइरहेको बेला त्योभन्दा पनि मीठो गीत सुन्न पाइयो ।
सानो पसलमा झुन्डिएको सानै रेडियोमा भूपी शेरचनको शब्द, नारायण गोपालको स्वरमा घन्किरहेको थियो:
‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुट्टामा
बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टामा...’
कृष्ण रिमालको सल्लाह नमानेको भए न त्यति मीठो परिकार खान पाइन्थ्यो, न त मिठासपूर्ण यो गीत सुन्ने संयोग नै जुर्थ्यो ! क्याबात कृष्ण रिमाल !
रेडियो उद्घोषकले गीत तिहारको सन्दर्भसँग जोडेका थिए । दिदीको प्रतीक्षा गरिरहेको भाइले गाएको अर्थमा । हाम्रो स्थिति भने अलि भिन्न थियो । गोवर्धन पूजाको त्यो दिन, भाइ र भदा कतिबेला आइपुग्लान् भनेर ठुल्दिदी हाम्रो बाटो हेरेर बसेकी थिइन् होला ।
आमडाँडाको चर्को उकालो चड्दा, पुरानो सदरमुकाम सुनौला बजारको फेरो मार्दा र साँखुको ओरालो आधाआधी झर्दासम्म कृष्ण रिमाल सँगै भए ।
‘काठमाडौँमा भेट्नु पर्छ है जिबेनजी हामी’, छुट्टिँदा कृष्ण रिमालले बडो आत्मीयतापूर्वक भने । ‘अवश्य कृष्णजी,अवश्य’, मैले समर्थन जनाएँ ।
धादिङबेसी हुँदै थोपल खोला तरेर गोधुली साँझमा त हामी पनि साङकोस पुग्यौँ । ठुल्दिदी खुशीले गद्गद्, भट्ट भिनाजु पनि प्रशन्न ।
भाइटीका लगाएर हामी काठमाडौँ नै फर्क्यौं, दार्खा घरमा गएनौं । साङकोसबाट दार्खा गएको अर्को प्रसङ्ग छ, त्यसलाई अगाडि जोड्ने छु ।
काठमाडौँमा कृष्णजीसँग मेरो बाक्लै भेटघाट हुन थाल्यो । उनले अमात्य जिङ्क ब्लक छोडे । जिङ्क ब्लक बनाउने आफ्नै अफिस खोले बागबजारमा । फराकिलो थियो उनको कारखाना कोठा । मेरो साइकल थियो, त्यसैले दशैँमा घर जाने बेला साइकल त्यहीँ राखेँ ।
तर, दशैँपछि कृष्णजी फर्केनन् । तिहार बित्यो, उनी फर्केनन् । म पटक पटक बागबजारस्थित उनको अफिस पुग्थेँ,ताल्चा लगाइराखेको देखेर फर्कन्थेँ ।
तीन महिनापछि घरबेटीले कोठाको ताल्चा फुटाएर अरूलाई नै भाडामा दिएछन् । मैले साइकल माग्दा तीन महिनाको भाडा तिर्न भनियो, जुन साइकलको मूल्यभन्दा बढी नै हुन्थ्यो । मैले साइकल माया मारिदिएँ ।
कृष्णजीको कुनै अत्तोपत्तो थिएन । त्यतिबेला अहिलेजस्तो टेलिफोन मोबाइलको सुविधा थिएन । खोज्न धादिङसम्म जाने कुरा पनि भएन ।
पृथ्वी गोलो छ, कहीँ न कहीँ भेट हुन्छ भनिन्छ नि, त्यस्तै भयो । २०४० सालमा हामी दार्खाबाट सिमरा बसाइँ स-यौँ । कृष्णजी पनि त्यहीँ बसाइँ सरिसकेका रहेछन् । हाम्रो भेट भयो ।
केही मिनेटको दूरीमा हाम्रो घर थियो । कृष्णजीका पिता, मेरा ससुरालीका एकजना ससुरा बाका मितसमेत हुनुहुँदो रहेछ । कृष्णजीसँगको मित्रता साह्रै घनिष्ट भयो । कृष्णजी हाम्रो परिवारको सदस्य सरह भए । म धेरैजसो काठमाडौँ नै बस्थेँ, सिमरा पुगेको बेला कृष्णजी प्राय: मसँग नै हुन्थे ।
त्यति असल मान्छे एकपल्ट नराम्ररी बिरामी भए । जितपुरको मेडिकलले दिएको औषधिले छोएन । वीरगन्जमा जँचाउने कुरा भयो, मैले मानिनँ । अब काठमाडौँ नै जानुपर्छ उपचार गर्न भनेँ । नाइट बसमा आफ्नै काखमा सुताएर ल्याएँ ।
रोग पत्ता लाग्यो, टीबी भएको रहेछ । कृष्णजीको सफल उपचार भयो । तर, त्यो सरुवा रोग सङ्क्रमण हुनबाट म बँचिनछु ! मेरो छातीमा बल्झेछ क्षयदार किटाणु । केही छैन, उपचारपछि मलाई पनि काँडा झिकेजस्तै भइहाल्यो ।
सुखको मात्र साथी के साथी, मूल्य तिरिएको मित्रताकै हुन्छ महत्ता । शिवम् !
...
यात्रा नै त हो जिन्दगी, हामी अर्को यात्रामा थियौँ । साङकोसमा ठुल्दिदी कहाँ बास बसेका थियौँ, मेरा मित्र गोपाल गुरागाईं र म । गोपालजी अहिले उज्यालो नेटवर्कको अध्यक्ष छन् ।
ठुल्दिदीको घरबाट बिहान सखारै बाटो लाग्यौँ, मेरो जन्मभूमि दार्खाका लागि । दार्खा पुग्न दिनभरि हिँड्नु पर्थ्यो, अहिलेको जस्तो सडक सुविधा थिएन ।
पचघरे पुगेर चिया खाँदै थियौँ । रेडियो नेपालबाट बिहान ७ बजेको समाचार आयो । वीर अस्पतालमा उपचाररत ५१ वर्षे नारायण गोपालको अघिल्लो रात (२०४७ मङ्सिर १९ गते राति ९ बजे) निधन भएछ, उफ् ! नेपाली साङ्गीतिक आकाशका ध्रुवतारा देहिक रुपमा अस्ताएछ !!
मैले झल्झली सम्झिएँ, महाकवि लक्ष्मीप्रसाद देवकोटाको रचना र नारायण गोपालको स्वरको गीत:
‘ईश्वर तैंले रचेर फेरि कसरी बिगारिस्
सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस्...’
गोपालजी र म खिन्न मनसहित बाटो लाग्यौँ । पचघरे र सेउले बजारबीचको भन्ज्याङको देउरालीमा नारायण गोपालको नाममा पातीको मुन्टा चुडेर चढायौँ । त्यतिखेर रेडियो नेपालबाट पनि नारायण गोपालकै गीत प्रसारण भइरहेको पो थियो कि ?:
‘दुइटा फूल द्यौरालीमा साथै राख्यौँ जस्तो लाग्छ
कतै टाढा जाँदाखेरि सँगै हिँड्यौँ जस्तो लाग्छ...’
सल्लाघारीको बीचैबीच छ, सेउलेबजारदेखि केरुन्जासम्मको बाटो । हामी नारायण गोपालको बारेमा कुरा गर्दै थियौँ, सल्ला विरह सुसाइरहेको थियो ।
केरुन्जा डाँडा पुग्यौँ हामी । त्यहाँबाट उत्तरतिर गणेश हिमाल फेदको दार्खा गाउँ तरत्त देखिन्छ । मैले गोपालजीलाई हाम्रो गन्तव्य त्यही हो भनेर देखाएँ ।
‘तिम्रै सुन्दर हरियालीमा
तिम्रै शीतल वक्षस्थलमा
यो कविको शैशवकाल बित्यो
हाँस्यो खेल्यो, वन कुञ्ज घुम्यो
मेरो प्यारो ओखलढुङ्गा ।’
युगकवि सिद्धिचरण श्रेष्ठले आफ्नो जन्मस्थल ओखलढुङ्गाको महिमागान लेखेजस्तो म दार्खाको लेख्न सक्तिन थिएँ । माटोको माया ओतप्रोत त्यो कवितालाई नारायण गोपालले मथिङ्गल नै हल्लाउने गरी गीत बनाएर गाएझैं म दार्खाको गीत गाउन पनि असमर्थ थिएँ । त्यसैले टाढाबाटै किन नहोस्, मेरो प्यारो दार्खालाई प्रणाम गरेँ ।
केरुन्जा डाँडाबाट दार्खा देखिए पनि बाटो लामो थियो । बाटो काट्ने क्रममा महाभारतदेखि हिमालयसम्म फैलिएको एक मात्र जिल्ला धादिङको विशेषताहरू, मैले जे जानेबुझेको थिएँ, बताएँ ।
बाटोबाट सल्यानकोट देखिँदा, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’मा समेत उल्लेख भएको कोटकी भगवती त्रिपुरासुन्दरीको महिमागान र न्वागी जात्रामा हुने रौनक सुनाएँ ।
राजा महेन्द्रले २०१७ सालमा सैन्यबलमा संसदीय व्यवस्था अपदस्त गर्दा बनाएको एउटा निहुँ, मेरै घर, परिवार र गाउँसमेत प्रभावित भएको ‘पश्चिम १ नम्बर काण्ड’को बेलिबिस्तार पनि लगाएँ ।
गोपालजीबाट मैले भूमिगतकालीन नेकपा मालेको अन्तरङ्ग कहानीहरू सुन्न पाएँ । केही महिनाअघि मात्र ‘पार्टी प्रवक्ता’को रूपमा प्रकट भएका मदन भण्डारी भर्खर भर्खरै मालेको महासचिव भनी चिनिएका थिए ।
मदन भण्डारी र विद्या पाण्डेको विवाह प्रसङ्ग पनि गोपालजीबाट सुनेँ । त्यतिबेला विद्या–मदनको विवाहबारे जानकार थोरै मान्छेमध्ये एक रहेछन् उनी ।
गोपालजी भोजपुरको । विद्या पनि भोजपुरकी । पढाइको सिलसिलामा दुवै विराटनगरमै । ताप्लेजुङबाट मोरङ बसाइँ सरेका मदन भूमिगत रूपमा विराटनगरमा नै सक्रिय । उनीसँग पनि हिमचिम रहेछ गोपालजीको । त्यहीबेला विद्या–मदनको जनवादी शैलीमा विवाह भएको रहेछ ।
पछि, मदन भण्डारी माले र माक्सवादी मिलेर बनेको नेकपा एमालेको पनि महासचिव बने । नेपाली काँग्रेसका अध्यक्ष एवम् अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई काठमाडौँ–१ को चुनावमा हराएर तहल्का मच्चाए । उनी २०५० जेठ ३ गते चितवनको दासढुङ्गानेर त्रिशुलीमा खसेको जीप दुर्घटनामा मारिए ।
त्यसयता नेपालको राजनीतिमा धेरै ‘त्रिशुली’ बगे । माओवादी जनयुध्द र संयुक्त जनान्दोलनको बलमा २०६५ साल जेठ १५ गते गणतन्त्र नेपाल घोषणा भयो । मदनकी जीवन सङ्गिनी विद्या दोश्रो राष्ट्रपति बनिन् र अहिले दोश्रो कार्यकालमा छिन् ।
अँ, त्यो साँझ हामी लखतरान हुँदै दार्खा पुग्यौँ । त्यतिबेला कृष्ण काकाको स्वामित्वमा रहेको मेरो जन्म घरमा बस्यौँ ।
गोपालजीलाई हाम्रो गाउँघर मन प-यो । हामी ३,४ दिन त्यहीँ बसेर नेपाल वातावरण पत्रकार समूहका लागि केही ‘स्टोरी’ तयार पा-यौँ । थपमा, गोपालजीले एक रोचक पात्र, मेरो भानिजबा टङ्कप्रसाद ढकालमाथि लेखेको ‘स्टोरी’पछि प्रतिपक्ष साप्ताहिकमा छापियो ।
हाम्रा पुर्खाले घरनजिकै एउटा ठूलो पखेरो नुन छरेर गौचरण बनाएका रहेछन्, जसलाई हामी बाँझो बारी भन्थ्यौँ । बाँझो बारीलाई पहिरोले दाह्रेको थियो । हामीले त्यो ठाउँमा वृक्षरोपण गर्न गाउँका गन्यमान्य पन्चसिंह वाइबा र मेरो माइलाबा हरि सिम्खडालाई उक्सायौँ ।
पन्चसिंह मेरो बुबाको अनन्य मित्र, त्यसैले म ठूलोबा भन्थ्यें । पटक पटक प्रधानपन्च भए पनि प्रजातान्त्रिक आन्दोलनमा लागेका थिए उनी ।
बीपी कोइराला २०३३ पुस १६ मा ‘राष्ट्रिय एकता र मेलमिलाप नीति’ लिएर भारत प्रवासबाट स्वदेश फर्किएका थिए । तर, राजाको सक्रिय नेतृत्वको पन्चायती सरकारले बीपीविरुद्ध मृत्युदण्डसमेत हुनसक्ने ८ वटा मुद्दा लगायो । त्यसैमध्ये एक मुद्दा पन्चसिंह वाइबासँग सम्बन्धित थियो । तर, बीपीले मुद्दा जितेकाले उनलाई पनि हाइसन्चो भएको थियो । २०४६ सालको जनआन्दोलनबाट प्रजातन्त्र पुनर्स्थापना भएपछि गाउँमा पन्चसिंह ठूलोबाको प्रतिष्ठा झनै बढेको थियो । मेरो माइलाबा पनि उन्नत सोचका समाजसेवी ।
नभन्दै, पन्चसिंह ठूलोबा र माइलाबाको अगुवाइमा त्यसै साल बाँझो बारीमा वृक्षरोपण भएछ । ‘मेरो प्यारो दार्खा’को पहिरोले दाह्रेको एउटा बन्जर भूभाग अहिले ‘...सुन्दर हरियालीमा...’ परिणत भएको छ । अहा सुन्दरम् !
मनखत के मात्र भने, गोपालजी र म त्यो यात्रामा रहेकाले महान् स्रष्टा नारायण गोपालको पार्थिव शरीरमा हामीले एक एक थुँगा फूलसम्म चढाउन पाएनौँ ।
ए, मलाई ‘शुभकामना सधैभरि लाइ’ दिने मेरा रोज्जा गायक ! दार्खाको त्यो हरियाली सबै सबै तिमीलाई है !!
...
प्रख्यात हास्यव्यङ्ग्य कवि शैलेन्द्र सिम्खडा, नाताले काका भए पनि मेरो समवयी र समकक्षीसमेत । दस कक्षामा पढ्दा, एक दिन हामी राष्ट्रिय नाचघर गयौँ, सुप्रसिद्ध गायक नारायण गोपालको अटोग्राफ लिन । उनी नेपाल सांस्कृतिक संस्थानका महाप्रवन्धक थिए ।
हामीले महाप्रवन्धकको कार्यकक्षमा प्रवेश अनुमति पायौँ ।
‘किन आ’को ?’ पावरवाला बाक्लो चस्मा लगाएका र बाक्लै ओठ भएका नारायण गोपालले सोधे ।
हामीले नमस्कार गर्दै कम्पित स्वरमा तर एकै सासमा भन्यौँ, ‘तपाईंका गीत साह्रै मन पर्छ, त्यसैले अटोग्राफ लिन आएको ।’
हामीलाई फुच्चे नै देखेर हो कि ? उनी नियालेर हेर्दै थिए, मैले अटोबुक टेबलमा तेर्साइदिएँ ।
‘टिमेरुनि मेरो गीट सुन्छ ?’ खाँटी नेवार लवजमा सोधे । नेपाली गीत एकदमै सहीशुद्ध गाउने नारायण गोपालको नेपाली बोलीचालीमा भने उच्चारण शुद्ध रहेनछ !
‘सुन्छौँ नि, हामी त फ्यानै हौँ ।’
दुई सिम्खडा ठिटा खडा नै थियौँ, उनले टेबलमाथिको होल्डरबाट दुईमध्ये एउटा कलम झिके र खरर्र लेखे:
‘शुभकामना सधैभरी लाइ’
अनि दस्तखत गरे:
नारायण गोपाल
र, मिति लेखे:
२०३३/११/५
हामीले लामो सास फे-यौँ, हाम्रो आकाङ्क्षा सहजै पूरा भएको थियो । आभार प्रकट गर्दै फर्कियौँ हामी ।
नारायण गोपालले डेढ सयभन्दा बढी गीत गाएका छन् । सबै उस्तै उत्कृष्ट । मान्छे मान्छेको जीवनमा अनुवाद हुने अजम्बरी गीतहरू । त्यसैले त हो, नारायण गोपाललाई जनस्तरबाट ‘स्वरसम्राट’ उपाधि दिइएको पनि ।
र, आज तिनै महान् स्रष्टा नारायण गोपालको अठ्ठाइसौं स्मृति दिवस । मेरो श्रद्धासम्झना सधैँभरिलाई !
किन पनि भने, उनकै स्वरको यो गीत मैले कम्तीमै हजारबार सुनेको छु:
‘यो सम्झने मन छ, म बिर्सुं कसोरी ?...’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकासमा राजनीति नगरौँ : गृहमन्त्री लेखक
-
लोकरिझ्याँईको राजनीति गलत हो : मन्त्री गुरुङ
-
शान्ति सम्झौताका १८ वर्ष : कानुन संशोधन भएसँगै पलाएको आशा
-
पुथा उत्तरगंगा–२ मा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध भएको औपचारिक घोषणा
-
विमानस्थल परिसरबाट २०८४ मङ्सिरभित्र हवाई इन्धन डिपो स्थानान्तरण गरिने
-
चार महिनामा भारततर्फ १२ अर्ब ७२ करोड रुपैयाँको बिजुली निर्यात