बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एक अभिनेत्री जो देव आनन्दका लागि जीवनभरी अविवाहित रहिन्, थाहा पाउनुस् उनीबारे रोचक तथ्य

मङ्गलबार, १८ मङ्सिर २०७५, १३ : २५
मङ्गलबार, १८ मङ्सिर २०७५

बलिउडका सदाबहार अभिनेता देव आनन्दको डिसेम्बर तीन तारिखमा मृत्यु भएको हो । संसारबाट बिदा भएको सात वर्ष बितिसक्दा पनि उनी सिनेमाप्रेमी दर्शको मनमा अझै राज गर्छन् । धर्मदेव आनन्द उर्फ देव आनन्दको पुण्यतिथीमा उनीसँग  सम्बन्धित यस्तो रोचक तथ्यबारे जानकारी लिऔं ।

भनिन्छ, जब देव मुम्बई छिरेका थिए तब उनको खल्तीमा ३० भारु मात्र थियो । त्यसपछि उनले आफ्नो मेहनत र कामप्रतिको निष्ठाले त्यो ३० भारुलाई लाखौं बनाए । देव आनन्दको जन्म २६ सेप्टेम्बर सन् १९२३ मा पंजाबको शकरगढ (अहिलेको पाकिस्तान) मा भएको थियो । उनलाई स्कूलमा डीडी भनेर बोलाइन्थ्यो ।

फिल्ममा पाइला राख्नुअघि र बीएको डिग्री प्राप्त गरेपछि उनले नेवीमा भर्ना हुन प्रयास गरेका थिए । तर असफल भएपछि उनका पिताले उनलाई आफ्नै अफिसको काममा लगाए । तर देव आनन्द २२ वर्षको उमेरमा मुम्बई आए । त्यहाँबाट उनको यात्रा यस्तो रह्यो कि त्यो एक उदाहरण बन्न सफल भयो । देव आनन्दको चर्चित फिल्म ‘काला पानी’ मा उनलाई कालो रङको कोट लगाउन रोक नै लगाइएको थियो । उनी कालो कोटमा अत्यधिक ह्यान्डसम देखिने र उनलाई देखेपछि महिलाले छतबाट हाम नफालून् भन्नका लागि यस्तो गरिएको बताइयो ।

करियर सुरु गरेको दुई वर्षपछि फिल्म ‘विद्या’ (सन् १९४८) को सुटिङको क्रममा उनको सुरैयासँग प्रेम बस्यो । फिल्मको गीत ‘किनारे किनारे चल जाएंगे’ मा दुबै एक डुङ्गामा सवार हुन्छन् र त्यो डुब्छ । हिरोले झैं देव आनन्दले सुरैयालाई बचाउँछन् र त्यति नै बेला उनले सुरैयासँग विवाह गर्ने निर्णय गर्छन् । त्यसपछि उनले फिल्मकै सेटमा तीन हजार भारुको औंठी दिएर प्रस्ताव पनि राखे तर सुरैयाकी हजुरआमा नातिनीको विवाह देव आनन्दसँग होस् भन्ने पक्षमा थिइनन् । स्थिती यस्तो आयो कि देव आनन्द र सुरैयाको बाटो अलग्गियो तर रोचक कुरा के भयो भने सुरैयाले अन्य कोहीसँग सम्बन्ध स्थापित गरिनन् र उनी जीवनभरी अविवाहित रहिन् ।

त्यसपछि देव आनन्दको जीवनमा कल्पना कार्तिक आइन् । गुरु दत्तको पहिलो फिल्म ‘बाजी’ मा देव आनन्द र कल्पना कार्तिकको जोडीलाई मानिसहरुले खुबै रुचाए । त्यसपछि दुबैले थुप्रै फिल्ममा अभिनय गरे जस्तै ‘आँधियाँ, ‘ट्रयाक्सी ड्राइभर’, ‘नौ दो ग्यारह’ । यति नै बेला दुबैबीच प्रेम बस्यो र फिल्म ‘ट्याक्सी ड्राइभर’ पछि उनीहरुले विवाह गरे ।  

फिल्म ज्वेल थिफमा उनले जुन क्याप लगाएका थिए त्यो कोपेनहेगनबाट मगाइएको थियो ।

सुबोध मुखर्जीको फिल्म ‘जंगली’ र नासिर हुसैनको फिल्म ‘तिसरी मंजिल’ का लागि पहिलो रोजाई देव आनन्द थिए तर निर्मातासँगको मतभेदका कारण उनले दुबै फिल्म अस्विकार गरे । शम्मी कपुरले मौका पाए र उनी बने ‘याहू स्टार’ । देव आनन्द एक यस्ता अभिनेता हुन् जसले अमिताभ बच्चनबाहेक हरेक ठूला कलाकारसँग काम गरे । अमिताभ बच्चन जुन ‘जंजीर’ फिल्मबाट स्टार बने, त्यो देव आनन्दका लागि प्रस्तावित थियो ।

सन् १९७५ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले जब संकटकालको घोषणा गरिन् तब देव आनन्दले फिल्म जगतका आफ्ना केही साथीसँग मिलेर त्यसको घोर विरोध गरेका थिए । जब संकटकाल हटाइयो र देशमा चुनावको घोषणा गरियो तब उनले आफ्ना प्रशंसकसहित जनता पार्टीका लागि चुनाव प्रचारमा भाग लिए । पछि उनले नेशनल पार्टी अफ इन्डिया नामको एक राजनीतिक दलको पनि स्थापना गरे तर केही समयपछि त्यो भंग गरिदिए । त्यसपछि उनी राजनीतिक रुपमा सक्रिय नभएपनि समय–समयमा विभिन्न राजनीतिक मसलामा आफ्नो कडा प्रतिक्रिया दिइरहन्थे ।

देव आनन्दको फिल्म ‘हरे राम हरे कृष्ण’ मा उनकी बहिनीको भूमिका निभाउनका लागि कुनै स्थापित नायिका तयार थिएनन् । थुप्रै नयाँ युवतीको स्क्रिन टेस्टपछि पनि उनले सोचेको जस्तो अनुहार पाइरहेका थिएनन् । त्यति नै बेला एकदिन उनी एक पार्टीमा जिनत अमानसँग भेटे । उनी मिस एशियाको उपाधि जितेकी थिइन् । कुराकानीकै क्रममा जिनतले देव आनन्दलाई ब्यागबाट चुरोट झिकेर दिइन् । उनको यस्तो व्यवहारले देव आनन्द निकै प्रभावित भए र उनले जिनतलाई आफ्नो फिल्मका लागि साइन गराए ।

सबैलाई थाहा छ कि मुहम्मद रफीले देवका लागि थुप्रै फिल्मका गीत गाएका थिए । तर देव आनन्दले पनि रफीका लागि गीत गाएको बारे धेरैलाई थाहा नहोला । यी दुईले सन् १९६६ मा बनेको फिल्म ‘प्यार मोहब्बत’ मा सँगै गीत गाएका थिए । देव आनन्दले ३१ जुलाईमा रफीको पुण्यतिथीमा आयोजित एक समारोहमा यसबारे जानकारी दिएका थिए । उनले भनेका थिए, ‘मैले कहिले पनि गीत गाइनँ तर रफीको गीत ‘प्यार मोहब्बतको सिजा ये जिन्दगी क्या जिन्दगी...’ मा जुन हुर्रे...हुर्रे छ, त्यो मेरै आवाज हो । मैले त्यतिमात्र गाएँ ।’

चारपटक फिल्मफेयर अवार्ड जितिसकेका देव आनन्दलाई भारतीय सिनेमामा उल्लेखनीय योगदान दिएको भन्दै सन् २००१ मा भारत सरकारले प्रतिष्ठित पद्म भुषण प्रदान गरियो । त्यसको अर्को वर्ष सिनेमाको सबैभन्दा ठूलो सम्मान दादा साहब फाल्के पुरस्कार प्रदान गरियो । सन् २०११ डिसेम्बर ३ तारिखमा देव आनन्दको लण्डनमा हृदयघातका कारण मृत्यु भयो । उनलाई मिडियामा एभरग्रीन स्टार भनिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप