शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सामाजिक सञ्जालमा ‘स्टाटस’ लेख्दा केन्द्रीय सदस्य चट्

मङ्गलबार, १८ मङ्सिर २०७५, ११ : ५६
मङ्गलबार, १८ मङ्सिर २०७५

संगठनले कारबाही गरेपछि धाक–धम्की दिनेको कमी थिएन । ललाइ–फकाइ गर्दै भेटौं न भन्ने दर्शना नेपालीहरूजस्ता त्यत्तिकै थिए । कुट्नका लागि बनाइएका योजना चुहिएपछि उनी बालबाल बचिन् ।

अचाक्ली भएपछि सामाजिक सञ्जाल फेसबुक ‘डिएक्टिभ’ गरेर उनी तीन दिन मोरङको विराटनगर बसिन् । स्थिति सामान्य बन्दै गएपछि विराटनगरबाट फर्किन् ।

‘फेसबुकमा साथी थियौं,’ सामाजिक अभियन्ता सावित्री सुवेदीले गुह्य कुरा खोलिन्, ‘संगठनले कारबाही गरेपछि सिर्जना त्रिपाठीले मलाई ब्लक गर्नुभयो ।’ 

त्यतिबेला वीरगन्जमा  एक जुनियर प्रहरी अधिकृत थिए । उनले समेत सुुवेदीलाई सहयोग गरे । ‘सामाजिक सञ्जालको स्टाटसलाई शीर्षक बनाएर वीरगञ्जमा समेत तपाईंलाई पिछा गरिएको छ’ ती प्रहरीले त्यतिवेला पठाएको एसएमएस देखाउँदै सुवेदीले थपिन्, ‘उहाँले तपाई वीरगन्ज नआउनुहोला । जोगिनुस् भनेर सचेत गराउनुभएको थियो ।'

सामाजिक सञ्जालमा स्टाटस लेखेपछि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का मनोनीत सदस्य सुवेदीलाई संगठनको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित गरियो ।

संगठनले प्रस्टीकरणसम्म सोधेन । संगठनले प्रेस विज्ञप्ति जारी गर्दै उनलाई निष्कासित गरेको थियो । प्रेस विज्ञप्ति जारी गरेपछि उनलाई संगठनमा फिर्ता ल्याउनुपर्छ भनेर जागृत रायमाझी, दीपेश पुन र राजेश्वरी श्रेष्ठहरू लागिपरे भने अर्को समूहले हुँदैन भनेर ‘लबिइङ’ गरे । 

के लेखिएको थियो स्टाटसमा ? 
काठमाडौंको कोटेश्वरमा सोमबार भेटिएकी सुवेदीले सुनाइन्, ‘प्रभालाई छाड्यो, सिर्जनालाई त्याग्यो, अर्काको अँगालोभरिको श्रीमतीलाई अँगाल्यो’ । यत्ति हो, लेखेको । प्रकाश दाहालले सिर्जना त्रिपाठीलाई गरेको हिंसासम्बन्धमा स्टाटस केन्द्रीय थियो ।’

अन्ततः विवाद निम्त्याएको स्टाटस सावित्री सुवेदीका लागि त्यत्तिकै महँगो साबित भयो । संवत् २०७२ साउन १३ गते अखिल क्रान्तिकारी केन्द्रीय सदस्यमा मनोनीत सुवेदी १८ दिनमै निष्कासित भइन् ।

अखिल क्रान्तिकारी मनोनीत केन्द्रीय अध्यक्ष नरेन्द्र न्यौपानेले हस्ताक्षर गरेको प्रेस विज्ञप्ति जारी भएपछि बाराबाट मनोनीत सदस्य सुवेदी पदमुक्त भइन् । 

‘अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य मनोनीत भए पनि म केन्द्रीय सदस्य हुँ भनेर भुलिसकेकी थिएँ,’ उनी हाँसिन्, ‘संगठन, पार्टीमा चाकरी, चाप्लुसी गर्नुपर्छ भन्ने मान्यता राख्दिनथें । हिजोआज पनि लागेको कुरा लेखिहाल्ने बानी छ । केन्द्रीय सदस्य भए पनि सही कुरा लेख्नुहुन्न भन्ने थाहा भएन ।’ 

‘पहुँच, पावर थिएन,’ उनले हाकाहाकी भनिन्, ‘मेरो बारेमा कसले बोलिदिने ।’ कारबाहीमा परे पनि उनलाई पश्चाताप लागेको छैन । बरु पार्टीको जिल्ला सचिवसम्म दियो भने नेकपामा फर्कनुस् भन्नेहरू बाक्लै छन् ।

संगठनले कारबाही गरेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ ले बोलाए । तर, उनी गइनन् । राजनीतिभन्दा सामाजिक अभियानमै रमाएकी उनी अखिल क्रान्तिकारी मनोनीत सदस्य हुनुअघि देखि नै सामाजिक अभियानमा लागेकी थिइन् । 

बलात्कारीलाई फाँसी दिनुपर्छ भन्दै आएकी उनने आफू कारबाहीमा परेपछि मितबा (नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उनी मितबा भन्छिन्) लाई पाँच लिखित प्रश्न गरेकी थिइन् । ‘हिजोआज पनि आक्कलझुक्कल मितबासँग भेटेकी छु,’ उनले जानकारी गराइन्, ‘स्थानीय तह निर्वाचनमा भोट दिनू भन्नुभएको थियो । म कम्युनिष्ट हुँ । उहाँले नभने पनि दिन्थें नै ।’

फेसबुकमा स्टाटस लेखेपछि मलाई पिट्न योजना बुन्ने वसन्ता भण्डारीसँग पनि उनको कहिलेकाहीं भेटघाट हुन्छ । केही समयअघि उनले भण्डारीलाई पीके क्याम्पसमा भेटेकी थिइन् । जहाँ उनलाई पिट्न एकताका योजना बनाइन्थ्यो ।

त्यतिमात्रै होइन, फेसबुकमा ‘ब्लक’ गरेकी सिर्जना त्रिपाठीले नै सावित्री सुवेदीलाई साथी बन्न ‘रिक्वेस्ट’ पठाएकी थिइन् । प्रकाश दाहालको निधनपछि त्रिपाठीले सुवेदीलाई फेसबुकमा साथी बन्न ‘रिक्वेस्ट’ पठाएकी हुन् । सुवेदीले ‘एसेप्ट’ गरिन् । उनीहरूबीच फेसबुकमा गफगाफ चलिरहन्छ । सिर्जनाले माया गरेर सावित्रीलाई बहिनी भनेर सम्बोधन गर्छिन् । 

कुराकानीको अन्तिममा उनले भनिन्, ‘सिर्जना त्रिपाठीलाई गरिएको हिंसाप्रति लक्षित गर्दै लेखिएको स्टाटसले प्रकाश दाहाल जीवित रहँदासम्म काठमाडौं आइन् । उहाँसँग डर लाग्थ्यो ।’

‘संगठनले कारबाही नगरेको भए मेयरसम्म हुन्थें,’ उनले भनिन्, ‘संगठनमा लाग्दा भोलि यो वा त्यो भूमिकामा पुगुँला भन्ने महत्वाकांक्षी सपना देखेकी थिइनँ । त्यसले विगतदेखि दुःखी छैन ।’ 

सामाजिक अभियन्ता सावित्री सुवेदीको जीवन : महिला हिंसाबारे ‘स्टाटस’ लेख्दा पार्टीबाट निष्कासित

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप