शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

श्रृङ्खला खतिवडाले हेड टु हेड च्यालेन्ज हारेपछि भनिन्, ‘नआत्तिनुहोला, अझै पनि १७ सिट खाली छन्’

आइतबार, १६ मङ्सिर २०७५, १३ : ३२
आइतबार, १६ मङ्सिर २०७५

चीनको सान्या नगरमा मिस वर्ल्ड प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेकी नेपाली प्रतियोगी श्रृङ्खला खतिवडा हेड टु हेड च्यालेन्जमा सिंगापुरसँग पराजय भएकी छिन् ।

हेड टु हेड च्यालेन्जमा विजयी भएसँगै सिंगापुरकी प्रतियोगी शीर्ष ३० मा पुगेकी छिन् ।

यससँगै, श्रृङ्खलालाई शीर्ष ३० मा पुर्याउने नेपालीको चाहना अपूरो भएको छ । श्रृङ्खलाले आफू नेपालीले अपेक्षा गरे अनुरुप खरो उत्रिन नसकेकोमा माफी मागेकी छिन् । आइतबार बिहान एक भिडियो पोष्ट गर्दै उनले भनेकी छिन्, ‘ बिहान युट्युबमा भिडियो हेरेपछि कस्तो गल्ती गरेँ भनेर थाहा पाएँ । अझ धेरै राम्रो गर्न सक्थें । सरी नेपाल ।’

‘हेड टु हेड च्यालेन्ज पनि जितेर टप ३० मा पुगुँ भन्ने मन थियो । नआत्तिनुहोला, अझै पनि ३० वटा मध्ये १७ वटा सिट खाली नै छन् । त्यसकारण यो अन्त्य होइन । सरी भन्न चाहन्छु, राम्रो गर्न सक्थें अझै,’ उनले थपिन् ।

आफ्नो प्रोजेक्टबारे साढे एक मिनेटमा जानकारी दिनुसक्नुपर्ने भएकाले समयसीमाले धोका दिने हो कि भन्ने डर लागेको उनले बताइन् । उनले भनिन्, ‘ मैले एकदमै धेरै अभ्यास गरेको थिएँ । सायदै धेरै नै अभ्यास पो गरेँ कि बीचमा बोल्दा बोल्दै एक दुई लाइन भन्न छुटेको रहेछ र सायद त्यो एक आपसमा मेल खाएन । मैले बोलेका कुराहरु त्यति कनेक्टेड पनि भएन ।’

उक्त जीतका लागि सिंगापुर नै लायक भएको बताउँदै ‘युट्युबमा नेपालले जित्नुपर्दथ्यो सिंगापुरले किन जित्यो ?’ भनेर नलेख्नका लागि उनले आग्रह गरेकी छिन् । ‘ उनी पनि मेरो राम्रो साथी हुन् । म उनको लागि एकदम खुसी छु,’ उनले भनिन् ।

हेड टु हेडको शीर्ष २० मा पुर्याइएकोमा आफू नेपालीप्रति निकै आभारी भएको बताउँदै उनले अझै पनि शीर्ष ३० मा पुग्ने आशा भएको बताइन् ।  

नेपालीले गरेको यत्रो मायालाई कसरी तिर्ने होला भनेर पनि आफूले सोच्ने गरेको उनले बताइन् । ‘नेपाल आएर धेरै कामहरु गर्न मन छ,’ उनले भनिन् ।  

आफूलाई कहिले पनि सार्वजनिक व्यक्ति हुने लालच नभएको बताउँदै आएकी श्रृङ्खलाले सार्वजनिक व्यक्ति भएपछि आवाज बलियो हुन्छ, त्यो कसैको लागि प्रयोग गर्न सक्छु भन्ने कुराले मात्र मिस नेपाल र मिस वर्ल्डप्रति आकर्षित भएको बताइन् । उनी भन्छिन्, ‘एक व्यक्तिले संसार परिवर्तन गर्न सक्छ भन्ने कुरामा म हृदयदेखि नै विश्वास गर्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप