विज्ञापनमा देखाइएको समृद्धि व्यवहारमा देखाऊ सरकार !
दीपक रोका
सामाजिक सुरक्षा कार्यक्रमलाई सरकारले तल्लो गुणस्तरको वस्तुको जस्तो भड्काउपूर्ण विज्ञापन गर्यो । काठमाडौँका पोलपोल त देशभरका पत्रपत्रिका र सञ्चार माध्यममार्फत करोडौं रूपैयाँ खर्चेर कार्यक्रम सार्वजनिक गरियो । सडकदेखि पत्रपत्रिकाका सारै महँगा ज्याकेट कभरमा समृद्धि देख्न पाइयो । गर्नेलाई भन्दा देख्नेलाई लाज भनेजस्तो भयो छ ।
विज्ञापन र प्रधानमन्त्रीकै बोलीका कारण सामाजिक सुरक्षा कार्यक्रमको विशेषताभन्दा शैलीको खण्डनमा मानिसहरूले समय फालिरहेका छन् । वास्तवमा यस्तो अनावश्यक तडकभडक किन भनी सबैले प्रश्न उठाइरहेका छन् । अझ भनौँ देशको पैसा अनाहकमा खर्च गरेको देख्दा जोकोही नेपालीले सरकारको उछितो काडेका छन् । यस प्रकारका खर्चिला विज्ञापनले कुन चाहिँ नेपालीलाई खुसी पारेको होला ? कुन चाहिँ जागरुक नेपालीले यस्तो शैलीकोे सराहना गरेहोला ? सडकमा मानिसहरू सरकारलाई यस्ता अनावश्यक सल्लाह चाहिँ कसले दिन्छ भनिरहेका छन् ।
गणतान्त्रिक व्यावस्था नेताका भाषणले मात्रै आएको हैन, जनताको रगतले सम्भव भएको हो । हाम्रा नेताहरूले गुणगान गाइरहेको आजको गणतन्त्र ल्याउनका लागि निःशस्त्र वा सशस्त्र लढाइँ लडेर सहादत पाएका प्रायः सहिद परिवारहरू जहाँको तहीँ छन् । माओवादी जनयुद्धमा होमिएकाहरू ज्यान गुमाएकाहरूले समुचित न्याय, आर्थिक लाभ पाउन सकेका छैनन् । सोही जनयुद्धमा अयोग्य भनी विल्ला भिराइएका लडाकुहरू आज आत्मदाहको चेतावनी दिँदै हिँडिरहेका छन् । गरिबीको प्रतिशतमा कमी आएको छैन । देशका धेरै भूभागमा अहिले पनि न्यूनतम पूर्वाधारहरू पुग्न सकेका छैनन् । यस्तो दुर्दशापूर्ण अवस्थामा सरकार चाहिँ प्रधानमन्त्रीका बढेमानका तस्बिरहरू सडक, गल्ली, पत्रपत्रिकाको ज्याकेज विज्ञापन र अन्य सञ्चार माध्यममा बाँडेर भएको ढिकुटी सक्ने दाउमा देखिन्छ । फजुल खर्चेर राजनीतिक रूपमा आफूलाई असल सावित गर्न उद्यत छ ।
सरकारलाई के कुरा ज्ञात हुनु जरुरी छ भने नेपालीहरू अहिले सचेत छन् । छयालीस सालपछि काँग्रेसले कम्युनिस्ट शासन आए बुढापाकालाई मार्छ भनेर अफवा फैलाएर समेत भोटको राजनीति गर्न सफल भएको थियो । हिजो यस्तो अवस्था पनि थियो, नेताले कालोलाई रातो भने पनि जनताले विश्वास गर्थे । आज त्यही तहमा सरकार उत्रेर जनतालाई प्रभावमा पार्छु भन्नु दिवा स्वप्नबाहेक केही हैन ।
अहिल नेपाली समाज धेरै अगाडि बढिसकेको छ । सरकारले योजना बनाएका पचास प्रतिशत पनि काम गरेर देखाएमा बिजुलीका पोलमा हैन प्रधानमन्त्रीज्यूलाई मनमा राख्ने थिए । पैसा तिरीकन कुनै विज्ञापन दिनुपर्ने पनि थिएन । ती सबै कुराहरू स्वतः प्रत्येक पत्रिकाको पहिलो पूरा पृष्ठमा निःशुल्क समाचारका रूपमा आउँथे । धनी वर्गले पत्रिका वा मिडियामार्फत विस्तृत अध्ययन गर्थे भने गरिब जनताले व्यवहारमा नै अनुभूति गर्थे । सबैलाई थाहा भइहाल्थ्यो । यहाँ त स्वस्थानी व्रत कथामा पार्वतीले शिव पाउन पूजा गरेझै समृद्ध नेपालका लागि प्रधानमन्त्रीको फोटाहरू बाँडिएका छन् । मानौँ कि यो एक महँगो पूजा हो पछि यसको ब्याज स्वरूप फल पाइन्छ ।
दुई तिहाई सरकारको उपहार नेताहरूले ऐस आरम गर्ने महल पाए, पजेरो पाए, सांसद, मन्त्री पद पाए, कसै कसैले त राम्रै कमाए । बन्दुक र शक्तिको भरमा लेखिने आधुनिक इतिहासका पानामा फोटो थपे । अवसरको धेरैले दुरुपयोग गरे । यति भनिसक्दा अब सामान्य नेपालीले के पाए ? केही त अवश्य पाए । महँगी पाए, भ्रष्टाचार भएको हेर्न पाए, बेरोजगारी पाए, बेथिति पाए, गरिबी पाए, असुरक्षा पाए, विभिन्न प्रकृतिका हिंसा पाए, अन्याय पाए, युवाहरू विदेशिने प्रयाप्त अवसर पाए । अझ विशेष त प्रधानमन्त्रीज्यूलाई पत्रिकामार्फत घरघरमा र पोलपोलमा पाए । सौभग्य नै त हो । इतिहासमा कहिल्यै नभएको चीज त पाए कमसेकम । त्यसैले नपाएकै भन्नु गलत हो ।
यो विज्ञापन प्रकाशनबाट सरकार कसका लागि काम गर्दैछ भन्ने अन्योल छाएको छ । लोकतन्त्रमा समर्थन, विरोध, नारा, जुलुस भइरहन्छन् । कतिपय राम्रा कुराहरूको पनि आलोचनात्म समर्थन वा विरोध नै गर्ने परम्परा संसदीय व्यवस्थामा छ । विपक्षीहरूका विभिन्न स्टन्ट हन्ुछन् । तथापि सरकारले जनतालाई रिझाउन सके विरोधको कुनै तुक हुँदैन । सरकार जिम्मेवार ढङ्गले अगाडि बढेमा जनताले अवश्य साथ दिन्छन् । दल हेरेर बस्दैनन् । त्यसका लागि सरकारको स्वार्थ देश निर्माणको पक्षमा हुनुपर्यो । जनजीविका उकास्नतर्फ हुनुपर्यो । राष्ट्र हितमा हुनुपर्यो । देशको गरिबी निवारण, बेरोजगार अन्त्य, भ्रष्टाचार निवारणमा हुनुपर्यो । अनि सरकारको स्वार्थ देशलाई अहिलेको पछौटे अवस्थाबाट वैतर्णी गर्ने हुनुपर्यो । कङ्क्रिट रूपमा नै हुनुपर्यो । आदर्शमा वा घोषणा, भाषणमा, पत्रिकाका कभर पेज र काठमाडौँका बिजुलीका पोलमा मात्र हैन ।
यसै सन्दर्भमा पूर्वराजाले बेलाबेलामा देशको बारेमा चिन्ता लिनु स्वाभाविक हो । उनी पनि यही देशको नागरिक हुन् । उनलाई पनि बोल्ने अधिकार छ । किनकि देशमा दुई तीहाई बहुमतको तानाशाही प्रजातन्त्रिक गणतन्त्र छ । नेताहरूको भलाइका लागि भए पनि संसदीय व्यवस्था छ । धनीको गरिखाने माध्यमका रूपमा खोक्रो तर मानवलाई कहिल्यै अधिकार दिन नसक्ने मानवअधिकार छ । उत्कृष्ट तथापि कार्यान्वयन गर्नु नपर्ने एक थान जनताको रगतले ल्याएको संविधान छ । तर तीनै जनता जहाँको तहीँ छन् । २०४६ पछिका कुनै पनि सरकारले जनताको मन जित्ने काम गर्न सकेका छैनन् । जुन सरकार आए पनि उस्तै । हाल आएर दुई तिहाई सहितको सरकारले केही गर्लाकीभन्दा त जनताको पसिनामा आफ्नो प्रचार केन्द्रित पारेको छ । फोटाहरू प्रदर्शनी गरेर समृद्धिको भाषण ठोक्दै जनतालाई थाङ्नामा सुताइरहेका छ ।
तर अब जनता चुपब लागेर बस्न सक्दैनन् । त्यसैले होसियार गणतान्त्रिक सरकार ! इतिहासमा जनता तिमीहरूप्रति बफादार भए भन्दैमा चिरकालसम्म दास बन्दैनन् । अन्धभक्त बन्न सक्दैनन् । उनीहरूलाई मालिक बनाउने सपना बाँड्नेहरू हो, कम्तीमा नोकरकोसम्म जीविकोपार्जनको बाटो त सिर्जना गरिदेऊ । गास, बास, कपास मात्र पुग्ने भए पनि रोजगारी सिर्जना गर्ने आँट गर । अनि देशको सम्पत्ति खर्च गर्दा झन होसियार बन । देशको सम्पत्ति तिम्रो बपौती हैन । विचार पुर्याएर उत्पादनमूलक काममा खर्च गर । सडकमा वा सञ्चार माध्याममा भन्दा गरिबको दैलोमा समृद्धि ल्याउनु । पत्रिका पढ्ने वर्ग त खान पुग्नेभित्रै पर्छन् । तर जसलाई माथि उठाउन विज्ञापनमार्फत योजना ल्याइएको हो उनीहरूसम्म न पत्रिका पुग्छ न उनीहरू पढ्न सक्षम नै छन् । त्यसैले विज्ञापनमा देखाइएको समृद्धि व्यवहारमा उतार । जनता सरकारप्रति नतमस्तक हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हामी भारत कि चीन भनेर लडिरहेका छौँ’
-
घाइते भएका कारण नेपाल प्रिमियर लिगबाट बाहिरिए दक्षिण अफ्रिकी बलर डे लान्ज
-
प्रचण्डले चीन भ्रमण गर्दा चाइना कार्ड नहुने, ओलीले गर्दा हुने ?
-
कर्णाली डेभपलमेन्ट बैंक ‘समस्याउन्मुख’, वित्तीय कारोबार गर्न रोक
-
चन्द्रागिरि नगरपालिकाद्वारा युवालाई ‘डिजिटल’ तालिम
-
रोनाल्डो चम्किँदा अल नासरको जित