बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

१६ वर्षकै उमेरमा एचआईभी संक्रमित काफ्लेको २९ वर्षे अनुभव

‘एड्स लागेपछि जिन्दगीको सही अर्थ बुझेको छु’
शनिबार, १५ मङ्सिर २०७५, ११ : २०
शनिबार, १५ मङ्सिर २०७५

काठमाडौँ – राजीव काफ्ले उमेरले ४५ भए तर उनलाई १६/१७ वर्षकै उमेरमा डाक्टरले ३ देखि ५ वर्ष बाँच्ने भनेर समय तोकिदिएका थिए ।

 कारण चाहिँ त्यसबेला गाँजेको ‘भयानक’ बिरामी एचआईभी नै थियो । तर आज तिनै व्यक्ति एसियन नेटवर्क एनपुड संस्थाका प्रोजेक्ट कोर्डिनेटर छन् । 

उनको बसाइ नेपालमा भन्दा धेरै विदेशमा हुन्छ । भाषामा नेपालीभन्दा अङ्ग्रेजी बोल्न बढी सजिलो मान्छन् । 

ललितपुरको झम्सिखेलमा २०३० सालमा जन्मेका राजीव सम्पन्न परिवारका एक मात्र छोरा हुन् । आमा शिक्षिका, बाबु सरकारी जागिरे थिए । उनको बाल्यकाल राम्रोसँग बित्यो, कुनै अभाव भएन । 
एक्लो छोरा भएकाले नाम चलेकै विद्यालयमा अध्ययन गर्ने अवसर प्राप्त गरे । छोराको इच्छा, हरचाना पूरा गर्न काफ्ले परिवारले कुनै कसर बाँकी राखेन ।   

राम्रो विद्यालयमा अध्ययन गर्दै थिए । उनलाई नेपालीभन्दा अङ्ग्रेजी सजिलो लाग्थ्यो । शिक्षकले पनि राजीवलाई ‘नेपालीमा मिहिनेत गर’ भन्थे । नभन्दै एसएलसीमा प्रथम श्रेणीको प्राप्ताङ्क आए पनि नेपाली विषयमा भने एक नम्बरले फेल भए । २७ अङ्क आए पास हुने परीक्षामा त्यो समयमा राजीवले २६ मात्र ल्याए र फेल भए । 

सँगै अध्ययन गर्ने साथी कलेज पढ्न जान थाले । शतप्रतिशत विद्यार्थी उत्तीर्ण हुने विद्यालयमा नेपाली विषयमा फेल हुँदा राजीवलाई तनाव भयो । त्यसपछि उनीसँग प्रशस्तै समय थियो ।

 १६ वर्ष पुगेका उनको सङ्गत फेल भएका र कुलतमा लागेका किशोरहरूसँग हुन थाल्यो । विद्यालयका साथीहरू उच्च अध्ययनतर्फ लागे र आफ्ना सहपाठीहरुसँग राजीवसँगको सङ्गत पनि टुट्यो । 

बोलीचालीको भाषामा ट्यापे भनेर बदनाम राजीवका ती ‘बिग्रेका’ साथीहरूले ‘खोकी लाग्दा खानेजस्तै औषधि’ खानेगर्थे । उनीहरुले राजीवलाई पनि ‘रमाइलो हुन्छ’ भन्दै खुवाउन थाले । त्यस्तो ‘औषधी’ विस्तारै ४ देखि ५ बिर्काे खान थालेपछि अर्कै आनन्द भयो । परीक्षामा फेल भएको तनावको दुनियाँबाट उनलाई अर्कै ‘आनन्दमयी दुनियाँ’, जहाँ तनाव र कसैको घोचपेच नै छैन, मा पुगेको महसुस हुन थाल्यो । 
त्यो समयमो १५ देखि २० रूपैयाँमा ५ जनालाई खान पुग्ने खोकी लाग्दा खाने औषधिजस्तो लागू पदार्थ पाइन्थ्यो । 

सम्पन्न परिवारको सन्तान भएकाले राजीवलाई पैसाको समस्या भएन । दैनिक १५÷२० रूपैयाँ निकाल्न कुनै गाह्रो थिएन । त्यस्तो ‘आनन्दको दुनिया’ मा पुर्याइदिने ‘औषधी’ खाने क्रम बढ्दै गयो । उनलाई त्यस्तो ‘औषधी’ सेवन गर्दा जिन्दगीलाई खुबै रमाइलो ठाने । 

वि.सं. २०४६ सालमा प्रजातन्त्र आयो । नयाँ सरकार बन्नेबित्तिकै ‘देशमा आमूल परिवर्तन गर्र्छाैं’ भन्न थाले । धेरै योजनामध्ये सरकारले लागूपदार्थमुक्त समाज बनाउने लक्ष्य पनि लियो । सो समयमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । त्यो समयमा राजीवलगायत साथीहरूले खाने गरेको लागूपदार्थ  नियन्त्रण गरियो ।

खाने औषधि प्रतिबन्धित भएपछि राजीवलगायत त्यस्ता औषधीका दुव्र्यसनीहरुले लागूपदार्थ सेवन गर्ने धेरैले विकल्प खोज्न थाले । खाने औषधीको विकल्पमा सिरिन्जमार्फत दिइने लागूपदार्थ (टिडिजेसिक) रोज्न थाले । १२० एमएलको खाने औषधीभन्दा सिरिन्जबाट दिइने २ एमएलको लागूपदार्थ धन्दा गर्नेहरूका लागि पनि निकै सजिलो भयो । मुखले खाने लागूपदार्थबाट कुनै पनि सङ्क्रमण भएको थिएन । 

ओरली बन्देज भएपछि औषधि पसलबाट सिरिन्जबाट दिइने ड्रग्सको प्रयोग गर्न थाले । ड्रग्सलाई पनि सरकारले बन्देज गरेपछि राजीव र उनका साथीहरू झनै समस्यामा परे । 

कुलतमा लागेका राजीव ड्रग्सबिना बाँच्न नसक्ने भइसकेका थिए । अर्थात् उनलाई लागू औषधको दुव्र्यसनले पूरै गाँजिसकेको थियो । त्यसको सेवनबिना उनी बाँच्नै नसक्ने अवस्थामा पुगिसकेका थिए ।

कतिसम्म भने, उनी र उनका साथीहरू ड्रग्स खोज्नका लागि वीरगन्जपारि भारतीय सीमासम्म जान्थे । लागूपदार्थ प्रयोग गर्ने सबैले सिरिन्जबाट दिइने लागूपदार्थ व्यापक प्रयोग गर्न थाले ।

सन् १९०४ देखि १९०७ को बीचमा एचआईभी÷एड्सको रक्तपरीक्षण अभियान सुरु भयो । त्यही अभियानमा राजीवले आफ्नो रगत परीक्षण गरे । 

त्यो समयसम्म उनले एसएलसीका परीक्षा दिइरहेका थिए । ड्रग्सको लत बसेकाले उनलाई पढाइको कुनै मतलब भएन । नसामा फसेपछि उनलाई अध्ययनभन्दा पनि लागू पदार्थमै धेरै ध्यान गयो । उनी बताउँछन्, ‘ड्रग्स नखाने मान्छेका लागि नराम्रो भए पनि खानेका लागि त्यो निकै रमाइलो हुन्थ्यो ।’ 

३ देखि ५ वर्षसम्म मात्रै बाँच्छस् भने  
सन् १९८८ मा नेपालमा पहिलो पटक एचआईभी सङ्क्रमण बम्बैबाट आएकी एक महिलामा भेटिएको थियो । यसपछि सरकारले एचआईभी सङ्क्रमणबारे नयाँ नीति ल्यायो । लागूपदार्थमुक्त समाज बनाउनेतर्फ सरकार लाग्यो । मुखबाट खाने लागूपदार्थ नियन्त्रण गर्यो । 

यसबाट कुनै सङ्क्रमण भेटिएको थिएन । एचआईभी परीक्षणका क्रममा सिरिन्जबाट लागूपदार्थ लिने ७० प्रतिशत व्यक्तिमा सङ्क्रमण देखिएको थियो । 

सन् १९९७ तिर राजीवलाई हल्का ज्वरो आयो र स्वास्थ्य परीक्षणका लागि टेकु अस्पतालमा गए । त्यसको ३ दिनपछि उनको स्वास्थ्य रिपोर्ट आयो । रिपोर्टमा एचआईभी पोजेटिभ देखियो । त्यो समयमा अहिलेको जस्तो निःशुल्क औषधिको कार्यक्र पनि लागू भएको थिएन् भने जनचेतनामूलक कार्यक्रम पनि थिएन् । चिकित्सकले उनलाई ’३ देखि ५ वर्षसम्म बाँच्छौ, त्योभन्दा धेरै बाँच्दैनौ’ भनेर मिति नै तोकिदिए र रिपोर्ट हातमा थमाइदिए ।  

राजीवले आफूलाई त्यसबेला अत्यन्तै खतरनाक र उपचार नै हुन नसक्ने भनी मानिएको ‘एचआईभी’ को संक्रमण भएको कुरा कसैलाई पनि भन्न सकेनन् ।

 रिपोर्ट धेरै दिनसम्म आफैसँग लुकाएर राखे । आफूलाई भएको यस्तो कुरा परिवारलाई भन्नुपर्छ भन्ने राजीवलाई लागेको थियो, तर भन्नसक्ने आँट नै भएन । 

एक दिन उनले आफ्नी आमालाई ‘बौद्ध बस्ने निमा नाम गरेको साथीलाई एचआईभी भएको’ सुनाए । आमाले निमालाई राम्रोसँग चिनेकी थिइन् । आमाले यो कुरालाई सामान्य रुप लिइन् । परिवारको भाव बुझेपछि राजीवले ‘आफू पनि एचआईभी सङ्क्रमित भएको’ बताए । 

आफ्ना छोराको संगत, पृष्ठभूमि राम्ररी बुझेका उनकी आमाले उनको कुरालाई खासै नराम्रो सोचनन् । राजीवले विस्तारै परिवारको साथ पाउँदै गए । कम्तीमा ३ र धेरैमा ५ वर्षसम्म बाँच्ने समय नै तोकेपछि उनको जीवनप्रतिको खासै योजनाहरु भएनन् । एक मनले ‘मर्ने नै भएपछि खाएरै मर्ने हो’ भन्नेतिर लागे भने अर्काे मनले ‘होइन बढी नै बाँचिन्छ कि’ भन्ने आशा पनि लाग्यो । 

त्यसपछि पनि ड्रग्स खाने–छोड्ने, खाने–छोड्ने क्रम चलिरह्यो । एक मात्र छोरा, त्यसमा पनि एचआईभी सङ्क्रमित भएपछि उनका परिवारले चाहिँ धेरै तनाव खप्नुपर्यो । 

नफर्कियोस् भन्ने परिवारको चाहाना थियो
अध्ययनको सिलसिलामा उनी डेनमार्क गए । एक वर्ष अध्ययनका लागि गएका राजीवको परिवारलाई ‘उनी नेपाल नफर्किउन्’ भन्ने चाहेको थियो । डेनमार्क जाँदा राजीवका ४, ५ जना नेपाली साथी थिए तर उनी त्यहाँ बस्न सकेनन् र एक वर्षको अध्ययन सकेर नेपाल फर्के । 

राजीवसँगैका धेरै सङ्क्रमित साथीहरूको मृत्यु भयो । उनीहरूले आफ्नो समस्या परिवारलाई जानकारी गराएका थिएनन् । उनी भन्छन्, ‘रोग जुनसुकै होस्, गोप्य राखियो भने भयावह रूप लिन्छ ।’  
त्यतिबेला विस्तारै सङ्क्रमितको सङ्ख्या बढ्दै गयो । एचआईभी एड्स सङ्क्रमितहरूका हकअधिकारसम्बन्धी कार्यक्रमहरू सञ्चालनमा आउन थालेका थिए । उनले यस्तै कार्यक्रमा भाग लिन मलेसिया जाने मौका पाए । 

त्यस कार्यक्रममा उनले एचआईभी बारेमा धेरै जान्ने मौका पाए । सङ्क्रमितले खाने औषधि पनि निस्किन लागेको जानकारी पाए । त्यहाँबाट उनमा बाँच्ने आशा जाग्यो । ‘बाँच्न सकिने रै’छ’ भन्ने थाहा पाएपछि उनले ड्रग्स पनि छाडे ।

डिसेम्बर १, २००० को विश्व एड्स दिवसको अवसरमा उनले सार्वजनिक रुपमा ’म आफू एचआईभी सङ्क्रमित हुँ’ भन्ने आँट गरे ।  विस्तारै विस्तारै मिडियाले उनलाई चासो दिन थाले, उनका कुराहरु सार्वजनिक रुपमा आउन थाले । 

उनी भन्छन्, “एचआईभी सङ्क्रमितप्रतिको भेदभाव हटाउन नेपाली मिडियाले ठूलो भूमिका खेलको छ ।” 

‘सङ्क्रमितका हक अधिकारको बारेमा सञ्चारमाध्यमले राम्रै गरी प्राथमिकता दिएकाले भेदभावमा कमी आएको’ उनको भनाइ छ ।

 हेक्का रहोस्, कुनै जमानामा एचआईभीको नाम लिन पनि ठूलै अपराध गरेको जस्तो ठानिने समाजमा अहिले  एचआईभी सङ्क्रमितहरूले खुलेर आफ्ना बारेमा कुरा गर्ने गरेका छन् ।

सरकारको गलत नीतिले गर्दा म सङ्क्रमित भएँ 

राजीवको तर्क छ, ‘सरकारको गलत नीतिले गर्दा पनि नागरिक एचआईभी सङ्क्रमणको शिकार बन्नुपरेको अवस्था छ ।’ उनलाई अहिले आफू सङ्क्रमित भएको बारेमा कुनै पनि गुनासो छैन ।
 

अझ एड्ससम्बन्धी कार्यक्रममा नेपालका धेरै ठाउँ पुगेका छन् भने लागूपदार्थसम्बन्धी काम गर्ने संस्था एसियन नेटवर्क एनपुड प्रोजेक्ट कोअर्डिनेटरका रूपमा काम गरिरहेका छन् । 

उनी अहिले सम्झन्छन्, ‘रोग नलागेको भए प्लस टु पास गर्थें, सामान्य जागिर खाएर जीवन बिताउँथेँ होला तर एड्स लागेपछि धेरै मौका पाएको र जिन्दगीको सही अर्थ बुझेको छु ।’ 
नियमित औषधि सेवनकै कारणले राजीवको सङ्क्रमणको भाइरस शून्यमा झरेको छ । 

अहिले उनी असुरक्षित यौनसम्पर्क गर्दा पनि नसर्ने स्तरमा पुगेका छन् । उनी भन्छन्, ‘त्यसरी अुरक्षित यौन सम्पर्क राख्नु हुन्छ भन्न खोजेको होइन । नियमित औषधि सेवनले मेरो शरीरमा एचआईभी भाइरस शून्य लेबलमा पुगेको छ । मैले सामान्य मानिससरह जीवन निर्वाह गरेको छु ।’ 

अहिले ४५ वर्ष पुगेका राजीवलाई अझै ३०/४० वर्ष मज्जाले बाँच्ने आशा छ । तर औषधि खान छोड्यो भने भाइरस पुनः बढ्नसक्छ । त्यसैले नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ । 

पहिले पहिले दैनिक ३/४ पटक औषधि खानुपर्ने हुन्थ्यो, अहिले २४ घण्टामा एक चक्की औषधि खाए पुग्छ । 

सिटामोल अझैसम्म सबै ठाउँमा पुर्याउन नसकेको अवस्थामा सरकारले एचआईभी सङ्क्रमितलाई निःशुल्क औषधि उपलब्ध गराएको कुरालाई उनी ‘ठूलो उपलब्धि’ ठान्छन् । उनले एचआईभी सङ्क्रमितहरूको महासङ्घको प्रमुख भएर सन् २००५ देखि २०१० सम्म काम गरे । 

परिवारमा पनि राम्रो छ 
उनको परिवारमा श्रीमती, एक एकजना छोरा र छोरी छन् । श्रीमती पनि सङ्क्रमित हुन् । भरतपुर अस्पतालमा एक बिरामी व्यक्तिले छाडेकी शिशुलाई उनले छोरी बनाए । 

ती व्यक्ति पनि भरतपुर अस्पतालमा उपचार गर्दा एचआईभी भएको थाहा पाएपछि शिशुलाई अस्पतालमा छाडेका थिए । तिनै शिशुलाई राजीवले छोरी बनाएका छन् । अहिले उनकी छोरी ६ वर्षकी भइन् । उनै छोरी राजीवका लागि ठूलो खुशी बनेकी छन् । 

उनकी छोरीले जन्मदेखि नै औषधि खाँदै आइरहेकी छिन् । राजीवले २२ जना अन्य बालबालिकाका पनि हेरचाह गरेका छन् । उनीहरू अहिले विद्यालय र कलेज तहमा अध्ययन गर्दैछन् । 

  एचआईभी/एड्स क्यान्सरभन्दा सामान्य बन्दै  
अहिले राजिवलाई एचआईभी÷एड्स सामान्य लाग्न थालेको छ । पहिचान भएपछि सरकारले निःशुल्क औषधि दिने विभिन्न जनचेतनाका कार्यक्रमहरू पनि संचालन गरिरहेको हुदाँ यो रोग उनलाई क्यान्सर भन्दा पनि सामान्य लाग्न थालेको छ । उनले गएको ३÷४ वर्षमा क्यान्सर रोगबाट नजिकका ४ जना गुमाइसकेका छन् । जो क्यान्सर लागेपछि ६ महिना भन्दा बाँच्न सकेनन् । 

मान्छे गुमाउँदाको पीडासँगै क्यान्सरले सबै पैसा सकाएर मृत्यू हुनेका आफन्तको बास सडकमा हुने गरेका दुःखदायी घटनाहरुलाई उनले नजिकबाट नियालेका छन् । 

अझै पनि जटिल रोगका बिरामीले महङ्गो मूल्यमा औषधि खानुपर्ने बाध्यता भइरहदा सरकारले एचआईभी सङ्क्रमितलाई निःशुल्क औषधि वितरण गर्नु धेरै राम्रो र सह्राहनीय कार्य रहेको राजीव बताउँछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप