बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरियोग्राफीबाट पनि लाखौँ कमाउन सकिन्छ

शुक्रबार, १४ मङ्सिर २०७५, ११ : ३१
शुक्रबार, १४ मङ्सिर २०७५

पर्सनालिटी डेभपलमेन्ट, क्षमता अभिवृद्धि अहिले हरेक मानिसको चाहना हुन्छ । यी दुवैका लागि कोरियोग्राफीको भूमिका महत्त्वपूर्ण हुन्छ । सीधै भन्नुपर्दा कोरियोग्राफी मानिसको व्यक्तित्वसँग जोडिएको पेसा हो । यसले मानिसलाई उच्च व्यक्तित्वसहित जिउन सिकाउँछ । त्यसैले हरेक मानिसका लागि कोरियोग्राफी आवश्यक रहेको बताउँछन् उनी ।

उनी विगत एक दशकभन्दा बढी समयदेखि कोरियोग्राफीमा आफूलाई क्रियाशील राख्दै आएका छन् । बालबालिकादेखि विवाहित महिलासम्मको व्यक्तित्व विकास र क्षमता अभिवृद्धिमा उनको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ ।

उनी अर्थात् आश्विनी झा । पछिल्लो समय नेपालमा सौन्दर्य प्रतियोगिताको बाढी नै आएको छ । वार्षिक १०० भन्दा बढी सङ्ख्यामा विभिन्न नामका सौन्दर्य प्रतियोगिता आयोजना हुने गरेका छन् । तीमध्ये ४० देखि ५० प्रतियोगितामा उनले कोरियोग्राफरको भूमिका निर्वाह गर्दै आएका छन् । 

मोडियो मोडलिङतिर पाइला

कोरियोग्राफी उनको सानैदेखि इच्छाएको पेसा भने थिएन । सानोमा उनलाई डाक्टर बन्ने रहर थियो । समुदायमा भएको डाक्टरको सान र मानबाट उनी यो पेसाप्रति आकर्षित थिए । 

साइन्स पढेर डाक्टर बन्ने लक्ष्यसहित उनी सन् २००२ मा सर्लाहीको कबलासी नगरपालिकाबाट काठमाडौँ छिरे । 

काठमाडौँ आएपछि उनले धेरै साथीहरुको सङ्गत गरे । तीमध्ये केही अभिनयतिर रुचि भएका थिए । साथीहरुको सङ्गतले उनको पनि अभिनयतिर चाख जाग्यो । अभिनेता बन्ने उद्देश्यले उनले मोडलिङ सुरु गरे । 

सन् २००३ बाट अनौपचारिक मोडलिङ सुरु गरेका उनले सन् २००५ मा सूर्यकला ग्रुपबाट औपचारिक मोडलिङ सुरु गरे । त्यतिबेला आयोजना हुने सानातिना मोडलिङ प्रतियोगितामा भाग लिँदै गर्दा उनले २००५ को ‘सुपर मोडल कन्टेस्ट’मा प्रतियोगीका रूपमा भित्रिने अवसर पाए ।

होटल याक एन्ड यतिमा आयोजना भएको यो प्रतियोगिताबाट उनको हातमा ‘मोस्ट ट्यालेन्टेड’ उपाधि पर्यो । यस अगाडि उनले भारतको कसिकोसले हायातमा आयोजना गरेको एक फेसन सोमा ‘फेस अफ द इयर’ जितेका थिए । मिस इन्डियाको समेत सहभागिता रहेको कार्यक्रमले उनमा मोडलिङप्रति झन् उत्साह बढायो ।

डक्टर बन्ने सपना कुल्चिए

त्यतिबेला नेपालमा सौन्दर्य प्रतियोगिता धेरै थिएन । त्यसमा पनि पुरुषहरूको पाउन मुस्किल थियो । मोडलिङ र प्रतियोगिताबाट पाएको उपाधिले भने उनमा मोडलिङ र अभिनयमा अगाडि बढ्ने आत्मविश्वास पलायो ।

उनले पाएको ‘मोस्ट ट्यालेन्ट’ उपाधि अभिनय विधाबाटै थियो । यसले आफूमा अभिनयको प्रतिभा पनि रहेको उनले थाहा पाए । ‘अभिनयको भूतले पूरै मन भरिएपछि डक्टर बन्ने सपना कुल्चिँदै यसैमा होमिएँ’, उनले भने ।

अनि म कोरियोग्राफर

त्यो समयमा भारतमा अभिनेता जोन अब्राहम, अर्जुन रामपाल, सोनु सुद जस्ता हिरो मोडलिङबाट भित्रिएका थिए । मोडलिङमा लागेर  हिरो बन्न सकिने र पैसा पनि राम्रो आम्दानी हुने निष्कर्षले उनले आफूलाई अभिनय र मोडलिङ क्रियाशील बनाए ।

मोडलिङ र अभिनयमा आफूलाई निखार्न उनी सन् २००७ मा दिल्ली पुगे । दिल्लीमा उनको भेट कशिस घोषसँग भयो । बलिउडमा जति पनि अभिनेता, अभिनेत्री, मिस इन्डियादेखि टेलिसिरियलका स्टार छन्, ती सबैको पहिलो खुड्किलो घोष नै हुन् । 

उनले पनि घोषबाट ट्रेनिङ लिए । सिक्दै जाँदा घोषकै सहायक भएर काम गर्न थाले । बलिउडको कोरियोग्राफी बुझ्दै र काम थिए उनी । सन् २००८ मा उनी फुर्सदमा थिए । नेपालमा ‘मिस टिन काठमाडौँ’ आयोजना हुने खबर उनको कानमा पर्यो । आयोजकले कोरियोग्राफरको रूपमा उनलाई नेपाल बोलायो । यो कार्यक्रम सकिएपछि उनी फेरि भारत फर्किए ।

त्यसपछि भारत फर्किन पाइन

सन् २०११ मा उनी ‘मिस इन्डिया’, ‘मिस इन्डिया अर्थ’ सोमा सहभागी भए । आफै आयोजक भएर ‘इन्डियन सुपर मोडल’ र ‘नेपाल सुपर मोडल’ कार्यक्रम चलाए । यो कार्यक्रमले उनलाई भारतभर चिनायो ।
प्रतियोगिताले उनका लागि विभिन्न बाटा पनि खुल्दै गए । फेरि उनले भारतमै ‘मिस्टर एन्ड मिस इन्डिया एटिच्युट’, ‘फेस अफ इन्डिया’ नामक सौदर्य प्रतियोगिता गरे । सन् २०१४ मा उनी एक सौन्दर्य प्रतियोगिताका लागि फेरि नेपाल फर्किए ।

त्यसपछि उनी भारत फर्किन पाएका छैनन् । किनभने उनले नेपालमा आयोजना हुने विभिन्न सौन्दर्य प्रतियोगितामा लगातार  कोरियोग्राफरको जिम्मेवारीले फुर्सद पाएनन् ।

प्रतियोगिता बौद्धिकता नाप्ने कसी भयो

गीत, फेसन र सौन्दर्य प्रतियोगिता गरेर तीन प्रकारका कोरियोग्राफी नेपालमा चलेका छन् । उनी सौन्दर्य प्रतियोगिताको कोरियोग्राफर हुन् । ‘सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी भनेको प्रतियोगी डिस्प्लेस गर्नु हो,’ उनले भने, ‘अहिले प्रतियोगिता सौन्दर्यताभन्दा पनि  बौद्धिकता नाप्न गरिन्छ ।

‘शारीरिक सुन्दरताबाट सुरु भएको सौन्दर्य प्रतियोगिता अहिले आएर बौद्धिकता नाप्ने कसी भएको छ’, यो उनले बुझाइ हो । सौन्दर्य प्रतियोगिता अमेरिकाबाट सुरु भएको थियो । विश्वको सबैभन्दा पुरानो सौन्दर्य प्रतियोगिता ‘मिस यूएसए’ हो । त्यसपछिको चर्चित ‘मिस युनिभर्सल’ मानिन्छ ।

यी दुवै प्रतियोगितामा पछिल्लो समय शारीरिक सौन्दर्यताले भन्दा बौद्धिक सौन्दर्यताले प्रथामिकता पाउन थालेको उनी बताउँछन् । यस कारण प्रतियोगीलाई उनी कसरी बोल्ने, कसरी राम्रो देखिने लगायतका व्यक्तित्व विकासका विषयमा ज्ञान दिन्छन् ।

वार्षिक १० लाख आम्दानी

गीत, सङ्गीत र फेसनको बजार विश्वव्यापी भएकाले यसको कोरियोग्राफीको अवस्था पनि राम्रो छ । सौन्दर्य प्रतियोगिता अझै व्यवसायी बन्न नसकेको धेरैको धारणा पाइन्छ । यो कोरियोग्राफी अहिले पनि गाह्रो विषय हो । यसमा काम पाउन र पहिचान पाउन सजिलो नभएको उनी बताउँछन् । उनले पनि यसमा नाम बनाउन ठुलै मिहिनेत गरेका थिए ।

नयाँ फेसका मोडलको व्यक्तित्व विकासमा कोरियोग्राफरको महत्त्वपूर्ण भूमिका रहने भएकाले पछिल्लो समय यो प्रथामिकतामा पर्न थालेको छ । सोही कारण पनि उनलाई अहिले नाम, दाम र कामको अभाव छैन ।

सुरुवाती चरणमा कोरियोग्राफी, यसको लेबल र चरण बुझाउन निकै मिहिनेत गरेका थिए उनले । त्यसका प्रतिफल उनी अहिले वार्षिक ४०, ५० सङ्ख्याका सौन्दर्य प्रतियोगीको कोरियोग्राफी गर्छन् । यस हिसाबले उनको आम्दानी राम्रो छ । भन्छन् ‘वार्षिक १० लाखभन्दा माथि हुन्छ ।’ 

चुनौती प्रशस्तै  
हरेक सौन्दर्य प्रतियोगितामा उनले नयाँ थिम दिनुपर्छ । यस हिसाबले  उनका चुनौती पनि धेरै छन् । हरेकमा नयाँ दिन नसके पब्लिकले पुरानो भनिदिन्छन् । विश्व मञ्चमा के चलेको छ, के नयाँ भित्रियो, के आउँदैछ, हरेक समय उनले आफूलाई अपडेट राख्नुपर्ने हुन्छ । ‘प्रतियोगितामा प्रतियोगीले नयाँ अपडेट भएको छ भन्नुभन्दा पहिलै आफू अपडेट हुनुपर्ने हुन्छ,’ उनले थपे, ‘हरेक समय विश्वबजारलाई नियाल्नुपर्छ ।’
अहिले नेपालमा विभिन्न वर्ग, उमेरका लागि सौन्दर्य प्रतियोगिता  भइरहेका छन् । उनी सम्पूर्ण वर्ग, उमेर समूहका रोजाइका कोरियोग्रार हुन् । यसको कारण उनले गर्ने कोरियोग्राफी उमेर अनुसार फरक हुनु स्वाभाविक पनि हो ।

आफैसँग प्रतिस्पर्धा किन
अहिले हरेक ठाउँमा प्रतिस्पर्धा छ । उनी आफ्नो नाम र ब्रान्ड भएपछि आफैसँग प्रतिस्पर्धा गर्नुपर्ने बताउँछन् । हिजोभन्दा आज र  आजभन्दा भोलि उनले केही राम्रो गर्नुपर्ने हुन्छ । नत्र आजका प्रतियोगिताका आयोजकले उनलाई पछि निरन्तरता नदिन सक्छन् । यस विषयमा उनी सजक छन् । त्यसैले उनी हरेक कुरामा आफूलाई बढी भन्दा बढी ‘अपडेट’ राख्छन् । उनी अहिले आफ्नो पहिलो प्रतिद्वन्द्वी आफैलाई देख्छन् । ‘हिजोभन्दा आज राम्रो गर्नु छ । आजभन्दा भोलि राम्रो गर्नु छ’, उनले सुनाए । उनी कहिलेकाहीँ अरूबाट सिकेर पनि नयाँ दिने कोसिस गर्छन् । 

सेतु बन्ने इच्छा छ 
उनीसँग केही अन्तर्राष्ट्रिय कार्यक्रमहरु गरेको अनुभव छ । त्यसैले नेपाली मोडल, भारतीय मोडल, नेपाली र भारतीय सौन्दर्य प्रतियोगिताका विजेतलाई लिएर एक कार्यक्रम गर्ने उनको उद्देश्य छ । जुन प्रशंसा ‘मिस युनिभर्स’, ‘मिस वल्र्ड’बाट पाइन्छ । सोही स्तरको चर्चा आफू आयोजक भएको प्रतियोगिताबाट प्रतियोगीलाई दिलाउने उनको उद्देश्य छ । सानैदेखि ती लेबलका ट्रेनिङहरू दिन सकियो भने अन्तर्राष्ट्रिय जगतमा समेत नेपालका प्रतियोगीले सफल हुन सक्छन् भन्ने उनको बुझाइ रहेको छ । उनी अन्तर्राष्ट्रिय प्लेटर्फममा नेपाली प्रतियोगीहरुको दर्बिलो उपस्थिति गराउन सेतु बन्न चाहन्छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप