बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बिल गेट्स, मुकेश अम्बानी र विनोद चौधरीहरू पनि किन छैनन् सुखी ?

बुधबार, १२ मङ्सिर २०७५, ०९ : २८
बुधबार, १२ मङ्सिर २०७५

मिहरान बर्दयान र उनका ‘अक्सफोर्ड युनिभर्सिटी’का केही साथीहरूले एउटा गणितीय तकनिक ‘वेसियन माडल’ले ब्रह्माण्डको भव्यता अर्थात् विशालता पत्ता लगाए । थाहा हुन आयो, यसको विस्तार कम्तीमा ९३ अर्ब प्रकाश वर्ष रहेको छ । 

विज्ञानका विद्यार्थीहरूलाई प्रकाश वर्षबारे थाहा भएकै कुरा हो ।

जब गणितमा अङ्कहरूको सङ्ख्या चलनचल्तीको सीमा पार गर्दै हाम्रो मस्तिष्कले नभ्याउने चरणमा प्रवेश गर्छ, विज्ञानले यसलाई सजिलो बनाउन प्रकाशको गतिबाट गणना गर्न थाल्छ । उदाहरण– प्रकाशले एक वर्षमा तय गर्ने दूरी एक प्रकाश वर्ष गनिन्छ । प्रकाश, जसको गति २९९,७९२ किमि प्रतिसेकेन्ड छ । यसले एक मिनेटमा तय गर्ने दूरी थाहा पाउन ६० ले २९९,७९२ लाई गुणन गर्दा प्राप्त हुन आउँछ । 

सूर्यबाट पृथ्वीसम्म प्रकाश आउन ८ मिनेट १९  सेकेन्डको समय लाग्छ । यस अर्थले हामीबाट सूर्य ८ मिनेट १९ सेकेन्ड प्रकाश समय टाढा छ । गणना गरी हेरौं, २९९,७९२×८×६०ं१९ . १४,९५,९६,२०८ किमि हुन आउँछ । सूर्यको पृथ्वीसँगको वास्तविक दूरी भने १४,९५,९७,८७० किमि रहेको छ । सूर्य मोटामोटी १५ करोड किमि टाढा छ, पृथ्वीबाट । तर, प्रकाशका लागि यो दूरी केही होइन, जम्मा आठ मिनेट १९ सेकेन्डमा यो दूरी तय गर्छ ।

हाम्रो आकाशगङ्गामा रहेको सूर्यपछि सबैभन्दा नजिकको तारा नै पृथ्वीबाट ४.२ प्रकाश वर्ष टाढा छ । यसको अर्थ, प्रोक्सिमा सेन्टुरी नामक त्यो ताराबाट प्रकाशले पृथ्वीसम्म आइपुग्न ४.२ वर्ष लाग्छ । यो कति किलोमिटर हुन आउँछ, गणना गर्ने जाँगर तपाईंसँग छ ? ४×३६५.१,४६०ं२ महिना. १,५२० दिन ×२४ घण्टा × ६० मिनेट × ६० सेकेन्ड ×२९९,७९२ किमि, ३,९३,७१,०८,३७,७६,००० किमि टाढा छ, प्रोक्सिमा सेन्टुरी तारा पृथ्वीबाट । 

म के भन्दिनँ भने तपाईंहरू संसारका सबै मानिसहरूलाई समृद्ध बनाउने अभियानमा लाग्नुस तर कम्तीमा आफ्ना कर्मचारी, नातेदार, वन्धुवान्धव, मित्रवर्ग, नजिकको छिमेकीलाई त खुशी बनाउन सकिन्छ । यदि मैले भनेअनुसार तपाईंहरू आफूलाई दुःखी पाउनुहुन्छ भने निश्चय नै तपाईंहरूसँग आफूलाई सुखी बनाउने ‘किमिया’को ज्ञान छैन । त्यो किमिया हो, ‘टु बी ह्याप्पी, मेक अदर्स ह्याप्पी’ ।

अब ब्रह्माण्ड कति ठूलो छ, अनुमान लगाउनुस ९३ अर्ब प्रकाश वर्ष । ९३ अर्ब किमिले नै दिमागको ‘फ्युज’ उडाइ दिन्छ, झन प्रकाश वर्ष, यो कल्पनातित हुन पुग्छ । तर कल्पनातित भए पनि तपाईंका लागि अगम्य, अनिवर्चनीय भए पनि त्यो निष्प्रयोजन हैन । अनेकौँ प्रकारका क्वार्कले भरिभराउ छ यो । 

अणुको खोज अब बितेका युगको कुरा भइसकेको छ । क्वार्क अणुभित्रको न्युक्लियस संरचना प्रोटन, न्युट्रन बन्ने कारक तत्व हुन् । हाम्रो वर्तमान भौतिकीले यी क्वार्कको सम्पूर्ण व्याख्या गर्ने सामथ्र्य राख्दैन ।  पृथ्वीमा हाम्रो जीवन यसको पायक पर्ने संरचनाले मात्रै सम्भव भएको होइन, त्यो अनन्तसम्मको विस्तारको पनि महत्त्वपूर्ण भूमिका छ । जसको प्रत्यक्ष प्रमाण अहिलेको हाम्रो विज्ञानसँग छैन अथवा वैज्ञानिकहरूले थाहा पाउन सकेका छैनन् । 

हाम्रो विज्ञानले कति चाहिँ स्पष्ट गरिसकेको छ भने पृथ्वीमा जीवन सम्भव भएको यसको समुचित वातावरणले त हो नै, १५ करोड किमि टाढा रहेको सूर्य अनि ३,८४,४०० किमि टाढा रहेको चन्द्रमाको पनि हाम्रो जीवनमा उत्ति नै भूमिका छ । यी दुईमध्ये कुनै एक नहुँदा पनि पृथ्वीमा जीवन समाप्त हुन्छ ।

सूर्यबाट जीवनरूपी प्रकाश मात्र प्राप्त हुन्न, अन्य अनेकौँ ‘रेडियसन’ पनि आउँछन् । प्रकाश पनि ‘रेडिएसन’ नै हो  । कतिपय हानिकारक ‘रेडिएसन’ ‘ओजोन लेयर’ले रोक्छ । सूर्यसँगै सम्पूर्ण ब्रह्माण्डबाट एक्सरे, गामा रे, अल्फा रे, बिटा रे लगायत पनि आउँछन् । पृथ्वी जीवनमैत्री बन्न के–के र कस्ता–कस्ता अन्य ऊर्जा ब्रह्मान्डबाट प्राप्त भएको छ, त्यो अझै अज्ञात कोटिमा हुन सक्छ । 

विज्ञान भन्छ, प्रत्येक वस्तुले चाहे त्यो सजीव होस् वा निर्जीव, सबैबाट ‘रेडिएसन’ उत्सर्जन हुन्छ । यसलाई हामीले आँखाबाट हेर्न सक्दैनौँ तर यसलाई हेर्ने प्रविधिको विकास भइसकेको छ । तपार्ईंलाई विज्ञानको अलिकति यात्रा गराएर म पृथ्वीमा हाम्रो जीवनकै परिधिमा आउँछु । 

प्रश्न उठ्छ, जब करोडौँ किमि टाढा रहेको सूर्य, लाखौँ किमि टाढा रहेको चन्द्रमाले हाम्रो जीवन प्रभावित गर्छ भने ‘इक्वाएटर डायमिटर’ १२,७५६ किमि ‘पोलार डायमिटर’  १२,७१४ किमि र ‘एभरेज डायमिटर’ १२,७४२ किमिभित्र बसोबास गर्ने हामीजस्तै अन्य मानिसको प्रभाव हामीमाथि पर्दैन र ? 

५१ करोड वर्ग किमि क्षेत्रफलमा अवस्थित पृथ्वीमा भूमिको क्षेत्रफल १४ करोड ९० लाख वर्ग किमि मात्रै छ, बाँकी ३६ करोड १० लाख वर्ग किमि जलमग्न छ । 

यो लेख लेख्दै गर्दा  पृथ्वीको जनसङ्ख्या सात अर्ब ४४ करोड ४१ लाख ६५ हजार दुई सय पुगेको छ । मध्यान्हको १२ बजेर ४१ मिनेट जाँदासम्म दुई लाख नौ हजार सात सय जना जन्मिसके । एक लाख ७९० जना मरिसके । अहिलेसम्म आजको जनसङ्ख्या वृद्धि एक लाख आठ हजार १० पुग्यो । अहिलेसम्म यो वर्षमा जन्मिनेको सङ्ख्या नौ करोड चार लाख भर्खरै नाघ्यो । यो वर्षभरिमा मर्नेको सङ्ख्या तीन करोड ७८ लाख ५७ हजार पाँच भइसक्यो । यसर्थ, यो चल्दै गरेको वर्षमा जनसङ्ख्या वृद्धि पाँच करोड २५ लाख ४३ हजार पुग्यो । यति लेख्दा लेख्दै १२–१३ मिनेटको अवधिमा जनसङ्ख्या दुई हजार वृद्धि भइसक्यो । 

एक सय ५० प्रतिमिनेटको हाराहारीमा वृद्धिदर भइरहेको जनसङ्ख्या एक दिनमा दुई लाख ४३ हजारले वृद्धि हुन्छ । एक वर्षमा यो सङ्ख्या आठ करोड ८६ लाख ९५ हजारको आँकडा छुन पुग्छ । प्रत्येक १२ वर्षमा जनसङ्ख्या वृद्धि एक अर्बकै हाराहारी हुन पुग्छ ।

सामान्यतया यो अनुपात यसरी बुझ्न सकिन्छ, पृथ्वीमा प्रतिमिनेट जन्मिनेहरूको सङ्ख्या २५० छ भने मर्नेको सङ्ख्या प्रतिमिनेट १०० को हाराहारीमा रहेको छ । प्रतिमिनेटको वृद्धि १५० जनाको दरले भइरहेको छ ।

विज्ञान भन्छ, प्रतिपल ब्रह्मान्डको विस्तार भइरहेको छ । यता पृथ्वीमा प्रतिमिनेट १५० का दरले जनसङ्ख्या वृद्धि भइरहेको छ । के यी दुवैमा आपसी कुनै ‘कनेक्सन’ छ ? काल्पनिक प्रश्न हो, यो । तर समग्रमा के प्रमाणित छ भने समस्त ब्रह्माण्डको हामीमा केही न केही प्रभाव पर्छ ।

अब प्रश्न उठ्छ, ब्रह्माण्डको हाम्रो जीवनमा प्रभाव पर्छ भने सोमालियाको भोको, नाङ्गो, पीडाले छट्पटाइरहेको बालकबाट उत्सर्जन भइरहेको ‘रेडिएसन’ले अमेरिकाको सुविधासम्पन्न बङ्गलामा बसोबास गर्ने बिल गेट्समाथि प्रभाव पार्दैन ? भारतीय सहर महाराष्ट्रको कुनै गाउँमा आर्थिक विपन्नताले आत्महत्या गर्ने सोच बनाइरहेको कपास किसानबाट निक्लेको वेदनारूपी ‘रेडिएसन’ मुम्बईको आलिशान महलमा बस्ने मुकेश अम्बानीसम्म पुग्दैन र ? हुम्लाको कुनै विकट गाउँमा ज्वरोले थिलथिल परेको वृद्धले सिटामोलसम्म नपाउँदा राज्यलगायत दैवलाई पनि धिक्कारी रहेको अवस्थाको ‘रेडिएसन’ काठमाडौंमा रहेका डलर अर्बपति विनोद चौधरीसम्म आउँदैनन् होला र ?

यदि ब्रह्माण्ड एक हो भने र विज्ञानको भनाइ बमोजिम कुनै पनि कुरा नष्ट हुँदैन भने यो ऋणात्मक ऊर्जाले अवश्य पनि कार्य गर्छ ।

म सुखी छु भने, म खुशी छु भने अरूलाई त्यसको अनुभूति गराउन सक्छु । तर म दुःखी भएको बेला मबाट निःसर्ग हुने दुःखको ‘रेडिएसन’ले अरूलाई पनि दुःखी बनाउँदैन र ?  के पनि स्वयम्सिद्ध छ भने सुखको, खुशीको ‘रेडिएसन’को तुलनामा दुःखको, वेदनाको ‘रेडिएसन’ बलियो र प्रभावी हुन्छ ।

यसो सुपरीवेक्षण गरौँ, हाम्रो यस पृथ्वीमा रहेका मानिस कमजोर, असहाय, विपन्न, दरिद्रताबाट दुःखी हुनु स्वाभाविक हो । तर सबै कुराले सम्पन्न, सबै ऐश्वर्यले भरिभराउ व्यक्तिहरू सुखी कहाँ छन्, उनीहरू पनि दुःखी नै छन् । कारण के होला ? कारण हो, संसारमा सुखीभन्दा दुःखी मानिसको सङ्ख्या बढी छ । उनीहरूबाट उत्सर्जित दुःखको ‘रेडिएसन’ले सबै कुराले सुखसुविधा उपलब्ध भएको मानिस पनि प्रभावित हुन्छ । यही कारणले हो, धनी मानिस पनि प्रकारान्तरमा सुखी नभई दुःखी नै देखिन्छ ।

संसारभरिकै धनाढ्य गेट्स, अम्बानी, चौधरीहरू सुन्नुस्, संसारभरीको धन थुपारेर पनि तपाईंहरू सुखी हुन सक्नुहुन्न । जबसम्म धरतीमा समृद्ध मानिसभन्दा विपन्न मानिसको सङ्ख्या बढी भइरहन्छ, तपाईंहरू पनि सुखी हुन सक्नुहुन्न ।

म के भन्दिनँ भने तपाईंहरू संसारका सबै मानिसहरूलाई समृद्ध बनाउने अभियानमा लाग्नुस तर कम्तीमा आफ्ना कर्मचारी, नातेदार, वन्धुवान्धव, मित्रवर्ग, नजिकको छिमेकीलाई त खुशी बनाउन सकिन्छ । यदि मैले भनेअनुसार तपाईंहरू आफूलाई दुःखी पाउनुहुन्छ भने निश्चय नै तपाईंहरूसँग आफूलाई सुखी बनाउने ‘किमिया’को ज्ञान छैन । त्यो किमिया हो, ‘टु बी ह्याप्पी, मेक अदर्स ह्याप्पी’ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानमित्र
ज्ञानमित्र

लेखक अध्यात्म र विज्ञानमा विशेष रुचि राख्छन् ।

लेखकबाट थप