शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बर्दिबासमा अवैध रुपमा निजी विद्यालय सञ्चालन

मङ्गलबार, ११ मङ्सिर २०७५, १९ : ४९
मङ्गलबार, ११ मङ्सिर २०७५

बर्दिबास– बर्दिबास नगरपालिका क्षेत्रभित्र सञ्चालित ३७ वटा संस्थागत विद्यालय मध्ये १५ वटा विद्यालयले अवैध रुपमा कक्षा सञ्चालन गरेको रहस्य बाहिर आएको छ । निजी विद्यालयले कुनैपनि वैधानिक प्रक्रिया पूरा नगरी खुलेआम कक्षा सञ्चालन गरेको भेटिएको छ । बर्दिबास नगरपालिका वडा नं १४ मा रहेको  बर्दिबास सिद्धार्थ पब्लिक इङ्गिलस बोर्डिङ स्कुलले कक्षा १ देखि ८ कक्षा सम्म अनुमति लिएपनि ९ कक्षा अवैध रुपमा सञ्चालन गरेको छ ।

बर्दिबास सिद्धार्थ पब्लिक इङ्गिलस बोर्डिङ जस्तै वडा नं ४ मा रहेको माइस्थान पब्लिक एकेडेमी स्कुलले १ देखि २ कक्षा सञ्चालन गर्ने अनुमति लिएपनि अवैध रुपमा ५ कक्षा सम्म सञ्चालन गरिरहेको छ । त्यसैगरी  वडा नं १२ को नोबेल एकेडेमी विजलपूराको १ देखी ६ कक्षा सम्म सञ्चालनको अनुमति भएपनि अवैध रुपमा ७ कक्षा सञ्चालन गरिरहेको  पाइएको छ र वडा नं १२ मै रहेको विजलपूरा पब्लिक एकेडेमी ले १ देखि ३ कक्षा सम्म सञ्चालनको अनुमति पाएपनि अवैध रुपमा ८ कक्षा सम्म सञ्चालन गरिरहेको पाइएको छ ।

यसरी सञ्चालनमा आएका अवैध विद्यालयले अभिभावकको ढाड सेकिने गरी मनपरी महंगो शुल्क उठाएपनि गुणस्तरीय शिक्षा दिन नसकेकाले विद्यार्थीको भविष्यनै अन्योलमा पर्न सक्ने एक विद्यार्थीका अभिभावकले बताए । यसरी सञ्चानमा रहेका निजी विद्यालयले विद्यार्थीलाई दिने दैनिक गृहकार्यमा विद्यार्थीले गलत गृहकार्य गरेपनि सहिको चिह्न दिनेगरेको भेटिएको छ ।

यस विषयमा विद्यार्थीको अभिभावकले विद्यालयमा उजुरी गर्दा सम्बन्धीत विद्यालयका प्रध्यानाध्यापकले शिक्षकले गरेको भुललाई सुधार गर्दै लैजाने आश्वासन दिएपनि भूल सुधारमा कुनै चासो नदेखाएको भेटिएको छ । 

अवैध कक्षा सञ्चालनका विषयमा बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले यस वर्षको शैक्षिक सत्र सुरु हुनु अगाडि सबै विद्यालयहरुसँग छलफल गरी अवैध कक्षा सञ्चालन बन्द गर्न  निर्देशन दिएको र सोहीअनुसार केही विद्यालयले कक्षा सञ्चालन बन्द गरेको बताए ।  

अटेर गरी कक्षा सञ्चालन गरेकालाई चाँडैनै कारबाहीको दायरामा ल्याइने उनको भनाई छ  । विशेषगरी तल्लो कक्षाको अनुमति लिएर माथिल्लो कक्षा सञ्चालन गर्दै आएका निजी विद्यालयहरु बर्दिबास नगरपालिकाको ग्रामिण क्षेत्रभित्र रहेको पाइएको छ । 

बर्दिवासमा कक्षा १० सम्मको कक्षा सञ्चालन गर्नेबाहेक स–साना कक्षा सञ्चालन गर्ने विद्यालय अधिकांश मापदण्ड विपरित चलेका छन् । अनुमति नलिई अवैध रुपमा सञ्चालन हुँदै आएका बोर्डिङ स्कुललाई बन्द गराउन र त्यस्ता विद्यालयलाई मापदण्डमा ल्याउन  नगर शिक्षा शाखाले काम थाल्ने बताइएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप