शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नौ हजार विद्यार्थी दीक्षित हुँदै

बिहीबार, ०६ मङ्सिर २०७५, २१ : १०
बिहीबार, ०६ मङ्सिर २०७५

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ४४औं दीक्षान्त समारोहमा नौ हजार ४९२ विद्यार्थी दीक्षित हुने भएका छन् । गत वर्षभन्दा यो वर्ष दीक्षित हुने विद्यार्थीको सङ्ख्या एक हजार २२३ बढी हो । गत वर्ष आठ हजार २६९ विद्यार्थी दीक्षित भएको थिए । 

यस वर्ष दीक्षित हुनका लागि अनलाइन फारमबाट निवेदन माग गरेकाले सङ्ख्या बढेको त्रिवि परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए । 

‘पहिले दीक्षित हुने विद्यार्थी आफैँ आएर त्रिविमा फारम भर्नुपर्ने व्यवस्था थियो’, उनले भने, ‘यसपटकदेखि अनलाइन फारम भर्ने व्यवस्था गरेकाले दीक्षित हुने सङ्ख्या बढेको हो ।’

त्रिविले २०७४ जेठ १८ देखि २०७५ जेठ ३१ गतेसम्म त्रिविबाट उत्तीर्ण भएका विद्यार्थीलाई गत असोज ४ देखि कात्तिक ७ गतेसम्म दीक्षान्त समारोहमा भाग लिन विद्यार्थीको अनलाइन फारम भर्न माग गरेको थियो । 

सहनियन्त्रक अधिकारीले अनलाइनमार्फत जहाँबाट पनि फारम भर्न पाइने भएपछि विद्यार्थीको सहभागितासमेत बढेको बताए । 

यसैगरी दीक्षान्त समारोहमा भाग लिने अभिभावकको सङ्ख्यामा गत वर्षभन्दा वृद्धि भएको छ । गत वर्ष दुई हजार अभिभावकले दीक्षान्त समारोहमा सहभागिता भए पनि यसपटक त्यो सङ्ख्या छ हजार ३१३ पुगेको छ । 

दीक्षान्त समारोहमा सहभागी हुनका लागि आवश्यक ‘गाउन’ भने त्रिविमा आएर विद्यार्थीले लिनसक्ने उनले बताए । दीक्षान्त समारोहमा ७६ जना विद्यावारिधि गरेका दीक्षित हुनेछन् । 

यसैगरी स्नातकोत्तर र स्नातक तह उत्तीर्ण गरेका कृषि सङ्कायमा ९९, शिक्षामा ८९३, मानविकीमा दुई हजार ३८, इञ्जीनियरिङमा एक हजार २१०, वनमा २८, कानूनमा १५८, चिकित्सामा ९६४, व्यवस्थापनमा दुई हजार ९२० र विज्ञानमा एक हजार १८२ विद्यार्थी दीक्षित हुँदैछन् । 

आगामी पुस १६ गते हुने दीक्षान्त समारोहको तयारी भइरहेको उनले बताए । दीक्षान्त समारोहमा भाग लिनेका लागि विद्यावारिधिका लागि तीन हजार, स्नातकोत्तर तहका लागि दुई हजार ३०० र स्नातक तहका लागि दुई हजार शुल्क लाग्ने गरेको छ । 

समारोहलाई सफल बनाउनका लागि त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीको संयोजकत्वमा ४३ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । समारोहमा स्थान भने यकिन भइसकेको छैन । त्रिविले हरेक वर्ष दीक्षान्त समारोह गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप