शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपतिको गाडी खरिद प्रकरणबारे सरकारले मुख खोल्यो

बिहीबार, ०६ मङ्सिर २०७५, १६ : ५४
बिहीबार, ०६ मङ्सिर २०७५

काठमाडौ– राष्ट्रपतिलाई १८ करोडको गाडी खरिद गर्ने तयारी भइरहेको समाचार सार्वजनिक भएपछि सरकारले यसबारे मुख खोलेको छ । 

सरकारका प्रवक्ता समेत रहेका सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत राष्ट्रपतिको गाडी खरिद प्रकरणबारे सरकारको धारणा सार्वजनिक गरेका हुन् । 

आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले नकारात्मक प्रचार भएको भन्दै सम्मानित संथालाई बद्नाम गर्न खोजेर लोकतन्त्रलाई नै कमजोर बनाउने खेल भएको बताए ।

उनले गाडी खरिद प्रकरणबारे सञ्चारमाध्यममा आएका लेख, सम्पादकीय र समाचारप्रति सरकारको ध्यानाकर्षण भएको भन्दै गाडी खरिद गर्ने निर्णय मुलुक संघीय संरचनामा गएसँगै गरिएको दावी गरे ।

उनले प्रश्न गर्दै भने, ‘के ति निकायलाई गाडी चाहिँदैन ? माथिल्लो पदमा रहेकालाई सवारी सुरक्षा चाहिँदैन ?’ 

गाडी खरिद गर्ने निर्णय सरकारको भएको र यसमा राष्ट्रपतिको कुनै हात नहरेको भन्दै सरकारले बाहिर आएका समाचारहरुको खण्डन समेत गरेको छ । ‘उहाँहरुले यस्तो चाहियो र उस्तो चाहियो भनेर मागेको होइन, सरकारले नै व्यवस्था गर्न खोजेको हो’ पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले स्पष्टिकरण दिए । 

कुनै देशका राष्ट्र प्रमुख नेपाल आउँदा उनीहरुले नै गाडी लिएर आउनुपर्ने अवस्था रहेको भन्दै उनले त्यो अवस्था अन्त्यका लागि पनि गाडी खरिद प्रक्रिया जायज रहेको दावी गरे । 

मन्त्री बास्कोटाले भने, ‘१८ करोडमा एउटामात्र गाडी किन्न लागेको होइन । राष्ट्रपतिलाई एउटा बुलेट प्रुफ गाडी किन्न लागेको हो । १८ करोडमा त आधा दर्जन गाडी किन्न खोजेका हौं । यो अघिल्लो सरकारकै निर्णय हो ।’

सम्मानित संस्थालाई बद्नाम गर्न खोजेकोमा सरकारले खेद समेत व्यक्त गरेको छ ।  

पत्रकार सम्मेलनमा राष्ट्रपतिले राष्ट्रपति कार्यालयसँगै रहेको प्रहरी एकेडेमी सार्न दबाब नदिएको पनि मन्त्री बास्कोटाले दावी गरे ।

‘राष्ट्रपति बाहिर जाँदा वा आउदा २÷३ घण्टा जाम हुन्छ । त्यहाँ हेलिप्याड बनाउँदा जनतालाई सजिलो हुन्छ । शहरको व्यस्त मार्गमा प्रहरीको तालिम त्यति उपयुक्त हुँदैन’ उनले भने । 

यस्तै उपराष्ट्रपति कार्यालय समाजकल्याण परिषद्को भवनमा सार्ने र समाजकल्याण परिषद्को कार्यालय ललितपुरको बालकल्याण समितिको भवनमा सार्ने सरकारको निर्णय जायज रहेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप