शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुन राशिका मानिस कुन क्षेत्रमा सफल हुन्छन्, थाहा पाइराख्नुस्

बिहीबार, ०६ मङ्सिर २०७५, ११ : १७
बिहीबार, ०६ मङ्सिर २०७५

मेष 
मेष राशि अन्तरिक्षमा ० डिग्रीदेखि ३० डिग्रीमा अवस्थित पहिलो राशि, जसको मालिक मङ्गल हो । मेष राशि हुने मानिसहरू मध्यम उचाइ, मजबुत मांसपेसी, तिखा आँखा तथा गहुँगोरो वर्णका हुन्छन् । स्वभावत मेष राशिका मानिसहरू सधैँ सक्रिय, महत्त्वकाङ्क्षी, साहासी तथा स्वतन्त्र, वैज्ञानिक विचारधाराको प्रतिनिधित्व गर्ने खालका हुन्छन् । मङ्गल ग्रहलाई राज्यमा फौजी तथा सेनापतिको दर्जा दिएको छ । मेष राशिका मानिसहरूमा सहास, पराक्रम तथा अत्यधिक ऊर्जा हुने हुनाले यिनीहरू सेना, प्रहरी, डाक्टर, पाइलट, फलामसम्बन्धी कामहरू, होटल रेस्टुरा तथा जमिन तथा माटोको व्यावसायमा सफल भएको पाइन्छ । नेतृत्व लिने क्षमता अत्यधिक हुने हुनाले स्वभावतः घमण्डी तथा कडा स्वाभावका हुन्छन् । कुनै पनि काम सुरु गरेपछि त्यसलाई फत्ते गर्नै पर्छ भन्ने मान्यता राख्ने स्वभावका कारण जीवनमा यिनीहरू सफल हुन्छन् । 

बृष

बृष राशि पृथ्वी तत्व भएको, स्थिर स्वभावको अन्तरिक्षमा ३० डिग्रीदेखि ६० डिग्रीको बीच अवस्थित दोस्रो राशि हो । बृष राशि हुने मानिसहरू घमण्डी तथा महत्त्वकाङ्क्षी, सामान्यतः मोटो शरीर तथा सुन्दर आँखा भएका हुन्छन् । बृष राशिको मालिक शुक्र भएकाले शुक्र सुन्दरता तथा प्रेमको प्रतीक पनि हो । राम्रो लाउन तथा मीठो खानका शौखिन भएकाले यिनीहरू खर्चालु स्वाभावका हुन्छन् । यिनीहरू अरूभन्दा सुन्दर, मायालु स्वभाव तथा कामुक हुन्छन् । राज्यमा शुक्रलाई मन्त्रीको पद प्राप्त भएकाले पर्यटन, कमर्स, वकालत, मन्त्री, प्रशासनिक तथा सरकारी क्षेत्रमा विशेष रुचि राख्ने खालमा हुन्छन् । गीत सङ्गीतमा विशेष रुचि हुने यिनीहरू चलचित्र क्षेत्रसँग सम्बन्धित कामहरू फिल्म, मोडलिङ, फेसन डिजाइनिङ, ग्ल्यामर्स जस्ता क्षेत्रमा प्रगति गर्ने तथा विलासी जीवन व्यातित गर्ने स्वभावका हुन्छन् ।

मिथुन

मिथुन राशि अन्तरिक्षमा ६० डिग्रीदेखि ९० डिग्रीको बीचमा अवस्थित, वायु तत्व प्रधान राशि हो  । मिथुन राशि हुने मानिस लामो तथा पातलो शरीर भएका र उनीहरूको शरीरमा स्पष्ट नशाहरू देख्न सकिन्छ । विशेषगरी गणित तथा विज्ञान विषयमा विशेष रुचि राख्छन् । बुधग्रह मूलतः वाणीसँग सम्बन्ध राख्छ । यो राशि हुने व्यक्तिहरू कुराकानी गर्दा मिलायर, शब्द चयन गरेर बोल्ने हुन्छन् । शब्दको उत्पत्ति अन्तरिक्षमा भएको मानिन्छ र शब्दलाई यात्रा गर्न वायुको आवश्यकता पर्छ । वायु तत्व राशि भएकाले शब्द जाल बुन्न, गहिरोगरी शब्द केलाउन अनि शब्दलाई खेलाउन यिनीहरू माहिर हुन्छन् । आफ्ना कुराहरू सजिलै सरल भाषामा अरूलाई बुझाउन सक्ने क्षमता यिनीहरूमा हुन्छ ।  बोल्नमा माहिर हुने हुनाले तार्किक माध्यमद्वारा विवाद सुल्झाउन तथा परिस्थितिलाई आफ्नो पक्षमा तत्काल पार्छन् । मिथुन राशिका मानिस सञ्चार जगतमा राम्रो नाम कमाउँछन् । त्यसैगरी इन्फर्मेसन टेक्नोलोजी, सफ्टवेयर डिजाइनिङ, स्टक एक्चन्ज, चार्टर एकाउन्टेन्ट, वाणिज्य, व्यापार, हास्यव्यङ्ग्य कलाकार, लेखक, साहित्यकार, राजदूत तथा  चलचित्र क्षेत्रमा सजिलै आफूलाई स्थापित गर्छन् ।

कर्कट 

अन्तरिक्षमा ९० डिग्रीदेखि १२० डिग्रीमा अवस्थित जल तत्व प्रधान कर्कट राशि, जसको मालिक चन्द्रमा मानिन्छ । चन्द्रमाको सम्बन्ध मनसँग हुन्छ र मनैबाट विचारहरू उत्पन्न हुन्छन् । जल तत्व प्रधान भएकाले यिनीहरूको मन तथा स्वभाव चञ्चल हुन्छ ।  तसर्थ विचार प्रधान पेसाहरू जस्तै कला, साहित्य, अभिनय, राजनीति, सल्लाहकार, वकालत आदि पेसा व्यावसायमा सफल हुन्छन् । जल तथा केमिकलसँग सम्बन्ध राख्ने हुनाले यिनीहरू मेडिकल लाइनमा पनि आफूलाई स्थापित गर्न सक्छन् । जल तत्व प्रधान भएकाले पानीसँग सम्बन्धित पेसा जस्तै जलसेना, हाइड्रो इन्जिनियर, पौडीबाज, तेल प्रशोधन, खेतीपाती, पशुपालन, कृषि, डेरी प्रोडक्सन तथा प्रशासनिक क्षेत्रमा यिनीहरूको कार्यकुशलता प्रशंसायोग्य मानिन्छ । 

सिंह 

अन्तरिक्षमा १२० डिग्रीदेखि १५० डिग्रीमा अवस्थित अग्नि तत्व प्रधान सिंह राशि, जसको मालिक सूर्य मानिन्छ । सूर्य भनेकै ऊर्जा तथा अग्निको स्रोत हो । सिंह राशि भएका मानिस अत्यन्तै कडा स्वाभाव तथा कडा बोलीका हुन्छन् । यो राशिका मानिसको प्रमुख गुण भनेको वैचारिक स्थिरता हो । अलि घमण्डी स्वभावका यिनीहरू अरूलाई तुरुन्त प्रभावमा पारेर काम लिन सक्छन् । यिनीहरू जब आफ्नो मार्ग लिन्छन् वा केही गर्न अठोट गर्छन् तब सम्पूर्ण शक्ति लगाएर पूरा गरेरै छाड्छन् । सूर्यलाई राज्यमा राजा तथा राजनीतिको प्रमुख पद प्राप्त भएकाले कुशल नेतामा हुनुपर्ने गुण यिनीहरूमा हुन्छ । प्रशासनिक कार्य, सेना, प्रहरी, गुप्तचर, सुरक्षा सङ्गठन, उद्योग, व्यवस्थापन, मेडिकल, राजनीति, प्यारामेडिकल क्षेत्र, रिसर्च अनि अध्यात्म, ज्योतिष जस्ता क्षेत्रमा सिंह राशि भएका व्याक्ति चर्चित हुन्छन् ।

कन्या

अन्तरिक्षमा १५० डिग्रीदेखि १८० डिग्रीमा अवस्थित पृथ्वी तत्व प्रधान कन्या राशि, जसको मालिक बुध मानिन्छ । बुधले बुद्धि, विवेक र तर्कलाई विशेषगरी प्रतिनिधित्व गर्छ । त्यसैले कन्या राशि भएका मानिस बुद्धि र तर्कको सहायताले मानिसलाई बसमा पार्छन् । यिनीहरू हरेका कार्य बुद्धि लगाएर चतुर्याइँपूर्वक सम्पन्न गर्छन् । व्यापार व्यावसाय, वाणिज्य, लेखन, कलासाहित्य तथा सबै खाले प्राविधिक पेसामा कन्या राशि भएका व्यक्तिहरूले आफूलाई स्थापित गरेको पाइन्छ । साथै यिनीहरू कम्युनिकेसन, अफिसर, वकिल, राजनीतिक सल्लाहकार, शिक्षक, प्राध्यापक आदि पेसा व्यावसायमा निकै जम्छन् । पृथ्वी तत्व भएकाले यिनीहरू गम्भीर स्वभावका, सहनशीलता, लज्जा गहनाकै रूपमा हेर्न पाइन्छ ।

तुला

अन्तरिक्षमा १८० डिग्रीदेखि २१० डिग्रीमा अवस्थित वायु तत्व प्रधान तुला राशि, जसको स्वामी शुक्र मानिन्छ । शुक्र राशि हुने मानिसहरू सामान्यत लामो शरीर, सफा स्किन, चौडा फेस, सुन्दर आँखा, मधुर मुस्कान, पातलो हात खुट्टा र अधिक उमेर हुँदा पनि कम उमेर जस्ता देखिने खालका हुन्छन् । स्वाभावत यिनीहरू सकारात्मक विचारधाराको प्रतिनिधित्व गर्ने आदर्शवादी हुन्छन् ।  कला, साहित्य तथा गीत सङ्गीत, मोडलिङ पेसा व्यावसायमा यिनीहरूको चासो हुन्छ । यिनीहरू विशेषत फिल्म, नृत्य, लेखन क्षेत्रमा विशेष दख्खल राख्छन् । म्यानेजर, कूटनीति, परराष्ट्र, राजनीति, राजदूत वा यस्तै कार्यमा आफूलाई अब्बल सावित गर्छन् । त्यसैगरी स्पेस इन्जिनियर, खगोलविज्ञान, जिनेटिक इन्जिनियर, कपडा, कागज, प्रेस तथा मिडिया जस्ता क्षेत्रमा आफ्नो अधिकार स्थापित गर्छन् ।

बृश्चिक

अन्तरिक्षमा २१० डिग्रीदेखि २४० डिग्रीमा अवस्थित जल तत्व भएको, स्थिर स्वभावको अत्यन्त महत्वपूर्ण राशि बृश्चिक, जसको स्वामी मङ्गल हो । स्वभावतः यिनीहरू महत्वकाङ्क्षी, व्यावहारिक, अस्थिर मानसिकता, उत्तेजना फैलाउन माहिर हुन्छन् । यसले शरीरको अङ्गमध्ये ज्ञानेन्द्रीयको प्रतिनिधित्व गर्छ । जल तत्व राशि भएको हुनाले पानीसँग सम्बन्धित कामहरू जस्तै माछापालन, हाँसपालन, जनसेना, हाइड्रो इन्जिनियर, पौडीबाज जस्त क्षेत्रमा विशेष दख्खल राख्दछन् । त्यस्तै कवि, दार्शनिक, लेखक, समालोचक, विचारक तथा गुप्तचर जस्ता क्षेत्रमा यिनीहरूले सफलता पाउँछन् । आयात, अनुसन्धान, केमिकल, रिसर्च, एक्सप्लोरिङ, जीवविज्ञान तथा समुद्रसँग सम्बन्धित कार्यहरूमा यिनीहरूले छिटो प्रगति गर्छन् ।

धनु

अन्तरिक्षमा २४० डिग्रीदेखि २७० डिग्रीमा अवस्थित अग्नि तत्व प्रधान धनु राशि, जसको स्वामी बृहस्पति हो । अग्नि राशि भएकाले  धनु राशिका मानिस कामप्रति भन्दा परिणामप्रति सचेत हुन्छन् । गोरो रङ, लामो शरीर, मिलेका दाँत, मधुर मुस्कान तथा मोटो शरीर भएका यिनीहरू सहासी, दार्शनिक, मानवतापूर्ण मनोवृत्ति, कठिन परिस्थितिमा पनि सही निर्णय लिन माहिर हुन्छन् । यिनीहरू अध्ययनशील, स्पष्ट वक्ता, धर्म कर्ममा आस्था राख्ने खालका हुन्छन् । प्रशासन, शिक्षण, मेडिकल, केमिकल्स, उद्योग, भूउपग्रह, पत्रकारिता, होटल म्यानेज्मेन्ट, भाषा अनुवादक, कम्प्युटर सफ्टवेयर, हार्डवेयर तथा राज्यमा मन्त्री जस्ता पदमा रही राम्रो काम गर्छन् ।

मकर 

अन्तरिक्षमा २७० डिग्रीदेखि ३०० डिग्रीमा अवस्थित पृथ्वी तत्व प्रधान मकर राशि, जसको मालिक शनि हो । यी राशिका मानिस बच्चा बेलामा कमजोर शरीर भए पनि युवा अवस्थामा उल्लेख्य सुधार भई बलवान हुन्छन् । लामो तथा स्वस्थ्य शरीर, ठूलो अनुहार, सहासी, दुःखसुख दुवै सहने खालका हुने यिनीहरू समय परिस्थितिअनुसार आफूलाई ढाल्न सक्ने हुन्छन् । लामो सङ्गतपछि मात्र कसैलाई विश्वास गर्छन् भने सामान्यतः इमानदार, हितैसी, विश्वासयोग्य भए पनि अलि बढी नै निरासावादी हुन्छन् । यो राशि भएका व्याक्तिहरू कुनै काम सुरुमा असफलता व्यहोरे पनि अन्ततोगत्वा मनले चिताएको गन्तव्यमा पुगेरै छोड्छन् । न्यायाधीश, इन्जिनियर, व्यावस्थापन, मार्केटिङ, बिमा, एकाउन्ट, बैङ्क तथा वित्तीय संस्था जस्ता क्षेत्रमा चाँडै सफलता प्राप्त गर्छन् । डाइरेक्टर, सञ्चालक, म्यानेजर, अध्यक्ष वा चिफ एक्ज्युकेटिभ अफिसर जस्ता पदमा यिनीहरू सबैभन्दा चाँडै पुग्छन् ।

कुम्भ

अन्तरिक्षमा ३०० डिग्रीदेखि ३३० डिग्रीमा अवस्थित वायु तत्व प्रधान, स्थिर स्वभावको कुम्भ राशि एक रहस्यमय राशि हो । यसलाई मानवतावादी राशि पनि भनिन्छ । कुम्भ राशि भएका मानिस मीठो बोेली भएका, अरूको भावना तत्काल बुझ्ने तथा सदैव सहयोगी भावनाका हुन्छन् । यिनीहरू सञ्चार, कम्प्युटर, विज्ञान तथा प्रविधि, रिसर्च, ज्योतिषि, प्राविधिक कार्यजस्ता क्षेत्रमा अत्यधिक सफल हुन्छन् । यिनीहरू कुनै पनि कार्य समाप्त गरेपछि मात्र विश्राम लिन्छन् । लेखन, साहित्य, कला, दर्शन, धर्म प्रचार, अन्तरिक्ष विज्ञान, भूउपग्रह, भौतिक विज्ञान, मिडिया तथा राजनीतिमा लागेर राम्रो सफलता प्राप्त गर्छन् ।

मिन 

अन्तरिक्षमा ३३० डिग्रीदेखि ३६० डिग्रीमा अवस्थित, जल तत्व प्रधान, दोहोरो स्वभावको अन्तिम राशि मिन, जसको स्वामी बृहस्पती हो । सामान्य तथा कम उचाइ मोटो शरीर भएका धार्मिक तथा दार्शनिक विचारका हुन्छन् । यिनीहरू अरूबाट तुरुन्त प्रभावित हुन्छन् । मिन राशि भएका व्याक्तिहरू थोरै मिहिनेतबाट अत्यधिक सफल हुने गर्छन् । जल राशि भएको कारणले यिनीहरू इन्जिनियर, दूध तथा दूग्धपदार्थ, जलसेना, गोताखोर, वैज्ञानिक शोधजस्ता क्षेत्रमा सफल मानिन्छन् । लेखन, साहित्य, कविता, दर्शन, कला तथा साहित्य, मनोरञ्जन, हास्य विधा, अध्ययन अध्यापन, योग ध्यान, अध्यात्म जस्ता क्षेत्रमा यिनीहरू अब्बल हुन्छन् । 

युवा ज्योतिषि डीपी भण्डारी    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप