शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तेक्वान्दो र कराँतेमा लफडै लफडा

मङ्गलबार, ०४ मङ्सिर २०७५, ११ : ०७
मङ्गलबार, ०४ मङ्सिर २०७५

काठमाडौं–नेपाली खेलकुदमा दुई सयको संख्यामा खेल संघ छन् । ती संघ कुनै राजनितिक पार्टीको भातृ संगठन भन्दा कम छैनन् ।

राजनितिक आस्थाकै आधारमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा नियुक्त हुने पदाधिकारीले खेल संघ दर्ता गर्ने र आफू निकट कार्यकर्ता राख्ने प्रबृत्ति राखेपमा दिन प्रतिदिन बढ्दो छ । जसको प्रत्यक्ष मारका खेलाडी परेका छन् ।

अन्तर्राष्ट्रिय प्रतियोगिता अन्तर्गत ब्यक्तिगत स्पर्धामा नेपाललाई सर्वाधिक पदक दिलाउने खेल तेक्वान्दो र कराँते अहिले पदाधिकारीको लडाईका कारण लफडामा फसेको छ । राखेपले तेक्वान्दो र कराँतेमा एउटै प्रबृत्तिका दुई वटा संघ दर्ता गरेका कारण विवाद चुलिएको हो ।

२०६६ सालमा एमाओवादीको नियुक्तिमा राखेपको सदस्य सचिव बनेका युवराज लामाले राष्ट्रिय तेक्वान्दो संघ नेपाल नाामक संघ राखेपमा दर्ता गरे । शिव कोइरालाको अध्यक्षतामा उक्त संघ खडा गरिएपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा खेलाडी सहभागिताको विषय विवादित बन्दै गयो ।

यसअघि २०४६ सालमा राखेपमा नेपाल तेक्वान्दो संघ गठन भइ अस्तित्वमा थियो । प्रकाश शमशेर राण अध्यक्ष रहेको नेपाल तेक्वान्दो संघले नै काम गरिरहेको थियो । संघकै सक्रियतामा नेपाललाई तेक्वान्दोले ऐतिहासिक सफलता दिलाएको थियो । एसियाड तेक्वान्दोमा मात्र नेपालले एक रजत सहित १३ कांस्य जितेको छ । तेक्वान्दो संघको भित्रको लडाईका कारण एसियाड खेलकुदको पछिल्ला तीन संस्करण नेपाल पदकविहिन बन्दै घर फर्किएको अवस्था छ ।

खेलकुदमा कराँतेको बेथा पनि उस्तै छ । नेपालमा कराँते महासंघमा पनि दुईवटा समिति छन् । पुरेन्द्र विक्रम लाखे अध्यक्ष रहेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त र दावा गुरुङ अध्यक्ष रहेको राष्ट्रिय मान्यता प्राप्त कराँते महासंघका कारण पछिल्लो आठ बर्षदेखि कराँते खेल विवादको भूमरीमा छ ।

दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई सर्वाधिक पदक दिलाउन सफल कराँते अन्तर्राष्ट्रिय नतिजाको हिसावले शून्य अवस्थामा पुगेको छ । दावाको अध्यक्षता रहेको महासंघलाई युवराज लामालेनै प्रवेश गराएका थिए ।

दुई वटा संघ अस्तित्वमा आएपछि पदाधिकारी, रेफ्री, प्रशिक्षक र खेललाडी पनि विभाजनको शिकार भएका छन् । ओलम्पिक, एसियाली, दक्षिण एसियाली खेलकुद र राष्ट्रिय प्रतियोगितामा खेलाडी छनोट कठिन बनेको छ । रिङ भित्र भन्दा रिङ बाहिरको लडाईले कराँते र तेक्वान्दो आक्रान्त बनेको छ ।

राखेपले अघिल्लो साता मात्र दुई वटा तेक्वान्दो संघालाई सातदिन भित्र मिलेर आउन पत्राचार गरेपछि संघ भित्रको झगडा झनै उत्कर्षमा पुगेको छ । राखेपले कराँते महासंघलाई पनि मिलेर जान निर्देशन दिएको सदस्य सचिव केशव बिष्टले बताए ।

‘नेपालगन्जमा आगामी माघमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता र आसन्न १३औं सागका लागि खेलाडी छनोट तथा सहभागिता विवादित नबनोस् भनेर हामीले संघलाई मिल्न सुझाव दिएका हौं । संघका पदाधिकारी आफै मिलेर आएनन् भने राखेपले कडा कदम चाल्नेछ,’ बिष्टले भने  ।

तर, तेक्वान्दो संघ राखेपको सुझावा मान्न तयार देखिएको छैन । संघका अध्यक्ष राणाले एउटा संघ भई रहेको अवस्थामा उस्तै खाले अर्को संघ खडा गरिएकोले राखेपले नयाँ संघ खारेज गर्नुपर्ने बताए ।

राष्ट्रिय तेक्वान्दो संघ नेपालले भने मिलेर जान आफुहरु सहमत भएको जनाएको छ । अध्यक्षका अध्यक्ष शिव कोइरालाले विवाद समाधानका लागि संघ तयार रहेको बताए । ‘संघलाई गाइड गर्ने काम राखेप, युव तथा खेलकुद मन्त्रालय र सरकारको हो । राखेपको निर्देशनकै आधारमा विवाद समाधान गर्न संघले पाँच सदस्यीय समिति पनि गठन गरेको छ,’ कोइरालाले भने ।

तेक्वान्दोको दुई वटा संघ अस्तित्वमा रहेकै कारण गत भदौंमा इन्डोनेसियामा भएको १८औं एसियाडमा खेलाडी छनोटको विषयमा विवाद चुलिएको थियो । एसियाडमा राणा पक्षका खेलाडीले भाग लिन पाएका थिए । कराँते खेलमा भने दुवै पक्षको भिडन्तबाट छनोट भएका खेलाडीलाई सहभागी गराइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप