'हाम्रोमा पढाउनेदेखि जाँच्ने तरिका दुवै बेठीक भयो'
केदारभक्त माथेमा नेपालको शिक्षा क्षेत्रमा परिचित नाम हो । नेपालको सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालयको उपकुलपति रहेर उनले गरेको काम अहिले पनि स्मरण गरिन्छ । उक्त पदमा रहँदा झेल्नुपरेको राजनीतिक दबाबका कारण उनले छोटो समयमै उक्त पद परित्याग गरे । यही कारणले उनले विश्वविद्यालयको उच्च पदमा रहेर सुरु गरेका धेरै सुधारका कामहरू पूरा भएनन् ।
वि.स. २०५३ देखि २०६० बीच उनको कूटनीतिक समयाअवधि रह्यो । यो अवधि उनले जापान, दक्षिण कोरिया, अस्ट्रेलिया र न्युजिल्यान्डमा देशको प्रतिनिधित्व गर्दै राजदूत पद सम्हाले ।
उनको गहिरो प्रेम रहेको शिक्षा क्षेत्रमा भने उनको निरन्तर चासो रहिरह्यो । यो क्षेत्रमा उनको प्रत्यक्ष अप्रत्यक्ष रूपमा योगदान रहरिहेको छ । पछिल्लो समय डा. गोविन्द केसीले देशको समग्र चिकित्सा क्षेत्रको सुधारको माग राख्दै गरेका विभिन्न चरणका अनसनको मागहरू सम्बोधन गर्न उनैको नेतृत्वमा एक उच्च स्तरीय समिति बनेको थियो । उनको समितिले तयार पारेको रिपोर्ट अहिले चिकित्सक शिक्षा सुधारको आधार भएको छ ।
हामीसँगको भेटको सुरुमै उत्साही देखिएका माथेमाले रिटायर्ड भएपछि पनि आफूले ‘सुख’ नपाएको ‘गुनासो’ गरे । यो उमेरमा पनि नियमित अध्ययन, भेटघाट र बहसमा संलग्न माथेमाले हामीलाई एक विदेशी विज्ञसँगको भेटपछि समय दिएका थिए ।
प्रस्तुत छ, उनै माथेमासँग विद्यार्थी दिवसको अवसर पारेर विद्यार्थी हुनुको अर्थ, नेपालको शिक्षाको अवस्था, विद्यार्थी आन्दोलन आदिको सेरेफेरोमा रहेर रातोपाटीका लागि श्रवण उप्रेतीले गरेको संवादको पहिलो भाग ।
कुरा तपाईं आफै विद्यार्थी हुँदाको समयबाट सुरु गरौं ।
मेरो आफ्नो स्कुलको कुरा गर्दा मैले पूरा समय स्कुल पढ्न पाइनँ । हामी सहिद परिवारको भएको कारणले बाहिर (भारत प्रवास) थियौं । मेरो बाल्यकाल भारतको कालिपोङमा बित्यो । हामी वि.स. २०१० सालतिर मात्रै नेपाल फर्किएका हौं । यहाँ म एक्कै पटक आठ कक्षामा भर्ना भएँ ।
मैले स्कुलमा राम्रोसँग पढेको भनेको आठ, नौ र दश मात्रै हो । एक वर्ष जति कालिम्पोङमा पढेको थिएँ । सानो कक्षामा मात्र पढेकोले खासमा त्यति सम्झना पनि छैन ।
आठ, नौ र दश कक्षा विश्वनिकेतनमा पढेको हुँ । एउटै उमेरका भएकाले मसँगै मेरो भाइ र मेरो काका एक्कै पटक भर्ना भएको थियौं ।
विद्यार्थीको हिसाबमा म ज्ञानी विद्यार्थी थिएँ । आईए, बीएसम्म मैले धेरै मिहिनेत पनि गरेँ, एमएपछि चाहिँ अलि त्यस्तो भएन ।
आईएमा पढ्दाखेरी यहाँबाट हिँडेरै त्रिचन्द्र कलेज जान्थे । त्यो बेला बस वा अरू सवारी साधन चढ्ने भन्ने नै थिएन । हिँडेर जान्थेँ । घर फर्केपछि प्रत्यक दिन पढाएको कुरा जम्मै नोट बनाएर राख्थेँ । एक दिनको पनि क्लास छुटाउदिथेँ । कति पटक साथीहरूलाई वरिपरि राखेर म पढाउँथेँ पनि । कतिकति बेला म आईएका पुठ्यपस्तक भ्याएर दाइको बीएको पाठ्यपुस्तक पढ्थेँ । विद्यार्थीको रूपमा म मिहिनेती नै थिएँ ।
आर्ट पढेको भन्नुभयो, मेजर चाहिँ कुन थियो ?
पोलिटिकल साइन्स, नेपाली र अङ्ग्रेजी थियो । मास्टर्स चाहिँ अङ्ग्रेजी साहित्यमा गरेँ ।
मास्टर्स पनि त्रिचन्द्रमै भएको हो ?
म शुद्ध नेपालकै उत्पादन हो । मास्टर्स चाहिँ त्रिभुवन विश्वविद्यालयमा गरेँ । राजनीतिक शास्त्रमा गर्ने भन्ने लागिरहेको थियो । त्यसको कारण चाहिँ त्यसमा सबैभन्दा उच्च अङ्क मेरै आएको थियो । के गरौँ गरौँ भन्ने भइरहेको थियो, साथीभाइहरूको हाहामा लागेर अङ्ग्रेजी साहित्य पढेँ । अहिले सम्झिँदा राजनीतिक शास्त्र लिएको भए कस्तो हुन्थ्यो होला जस्तो लाग्छ ।
उसो भए अङ्ग्रेजी साहित्य लिएको पछुतो छ भन्न खोज्नुभएको हो ?
होइन, झन् अङ्ग्रजी साहित्य पढेर मेरा धेरै ढोकाहरू खुले । किनकि अङ्ग्रेजी साहित्यमा धेरै कुराहरू पढ्नुपथ्र्यो । फेरि त्यसले गर्दा अर्थशास्त्र, दर्शनशास्त्र, पोलिटिकल साइन्स आदि धेरै विषयका ढोकाहरू खुल्यो । कलेजको पढाइ भनेको के हो र ? त्यसपछिको पढाइ पो मुख्य हो त, पढाइ त कहिल्यै सकिँदैन ।
मैले यो प्रश्न सोध्नेवाला नै थिएँ । हामीकहाँ अधिकांशमा स्कुल, कलेजजस्ता औपचारिक शैक्षिक संस्थामा रहँदा मात्र आफूलाई विद्यार्थी ठान्ने, त्यसपछि पुस्तक छुँदा पनि नछुने चलन छ । यो कत्तिको सही हो ?
वास्तवमा औपचारिक शैक्षिक संस्थाहरूको अध्ययन भनेको त तयारी मात्र हो । हुन त यसले सर्टिफिकेट दिन्छ । ‘तिम्रो तयारी पुग्यो है’ मात्रै भनेको हो । कुन समयमा कुन क्षेत्रमा काम गर्नु पर्ला बाँकी त आफैले सिक्दै जाने, पढ्दै जाने हो ।
महात्मा गान्धीले भनेका छन् नि ‘कसरी बाँच्नु रे भन्दाखेरी भोलि मरिहाल्छु कि जसरी बाच्ने । पढ्दाखेरी चाहिँ कसरी पढ्नु रे भने कहिले पनि मर्दैन भने पढ्नु रे ।’
यस सम्बन्धमा मेरो एउटा अनुभव पनि छ । एक पटक किताब किनेर आइरहेको थिएँ, एक जना मलाई चिन्ने ठिटाले भेटेर के भन्यो भने, “ओहो सरले अहिलेको उमेरमा पनि पढ्नु हुन्छ है ?” पढ्छु बाबु भनेर अघि बढेको थिएँ । के झोक चल्यो, फर्किएर उसलाई पुनः बोलाएँ र “ए बाबु यता आऊ त, के काम गर्छौ” भनेर सोधें ।
“सर म आर आरमा लेक्चरर छु”, भन्यो । त्यसपछि मैले भने, “हेर्नुस् पढ्ने मान्छेले मेरो उमेरमा पनि पढ्छ, नपढ्नेले तपाईंको उमेरमा पनि पढ्दैन” । अनि फटाफट अघि हिँडे ।
मेरो भनाइ चाहिँ के भने पढ्न, सिक्न त जीवन भर सकिँदैन । यसैले विद्यार्थी जीवन खालि तयारी मात्र हो, जसले तपाईंलाई बृहद अध्ययनका लागि तयार गर्छ ।
यसमा रोजगारीको तयारी पर्छ कि पर्दैन ?
हो, तपाईंले भन्नुभएको पनि ठीक हो । रोजगारीका लागि तयारी गर्छ तर त्यतिले मात्र त पुग्दैन नि । जीवन भनेको त रोजगारी मात्र त होइन । परिवार, साथी, सन्तान, जीविकोपार्जन, रुचिहरू अरू धेरै कुरा छन् जीवनमा । खासमा शिक्षाले यी सबैको तयारी गर्नुपर्छ ।
शिक्षाको रोजगारसँग किन जोडे भने आजकल शिक्षाको व्यावसायिक पक्षबारेमा बढी चर्चा हुने गर्छ । संविधानमै पनि शिक्षासम्बन्धमा राज्यको दायित्वको एक ठाउँमा वैज्ञानिक शब्द छ, बाँकी सबै रोजगारी अर्थ आउने उद्देश्य उल्लेख छ । शिक्षाको व्यावसायिकता मात्र जोड सही हो ? कतै यसैले गर्दा त उच्च शिक्षामा कमर्स र विज्ञानजस्ता रोजगार केन्द्रित संकायमा विद्यार्थीको भीड देखिएको होइन ? मानविकी संकायमा प्रत्येक वर्ष विद्यार्थीको सङ्ख्या घटिरहेको छ । कति मानविकी विषयमा विद्यार्थी नपाएर बन्द नै गरिएका छन् ?
शिक्षाको एउटा ज्ञानको पक्ष छ, अर्को सीपको पक्ष हुन्छ । ‘भोकेसनल’ शिक्षामा अलिअलि ज्ञान धेरै सीप हुन्छ । तर शिक्षामा सीपबाहेक ज्ञान पनि हुन्छ ।
आजकल तपाईंले औँल्याउनुभएको जस्तै संसारभरी नै ‘भोकेसनलाइजेसन अफ हाइअर एजुकेसन’ भन्ने विषयको चर्चा हुने गरेको छ । मान्छे उच्च शिक्षालाई पूरै ‘भोकेसनलाइजेसन’ गर्न थाल्यो । खालि सीपमा मात्र जोड दिएको छ । म त यसको ठूलो आलोचक हुँ ।
डाक्टर नै छ भने पनि उसको काम त चिरफार मात्रै त होइन नि ? उसले बिरामीलाई चिन्नु प¥यो । बिरामीको मनोविज्ञान पनि बुझ्नु प¥यो । त्यो त फेरि मानविकी क्षेत्र हो ।
भनेपछि बजारले हाम्रा शैक्षिक संस्थाका विषयहरूको अकार दिन थाले ?
हो, बजारको आवश्यकता पनि ख्याल गर्नु पर्ला । तर त्यो मात्रै दिएर त पुग्दैन । शिक्षा भनेको आफूलाई चिन्नु हो । आफ्नो पृष्ठभूमि चिन्नु हो । देश र विश्व परिस्थिति बुझ्नु प¥यो । एक टर्किस कविले भनेका छन् नि यदि तिमीले आफूलाई चिन्नु भएन भने त्यो शिक्षाको के काम भनेर । सीपमूलक शिक्षा लिनेहरूको कक्षामा पनि यस्ता विषय राखेर यो अवस्थाको सम्बोधन गर्न सकिन्छ ।
पछिल्लो समय पश्चिमतिर शिक्षाको ‘इमोसनल’ पक्षलाई जोड दिनुपर्छ भनेर ‘इमोसन इन्टिलिजेन्स’को बारेमा बहस भइरहेको छ, तपाईंले त्यसैलाई इङ्कित गर्न खोज्नुभएको हो ?
हो, ठ्याक्कै त्यही हो । तपाईं जति नै पढे लेखेको भए पनि त्यसलाई ‘कम्युनिकेट’ गर्न सक्नु भएन भने तपाईंको ज्ञान प्रभावकारी हुँदैन ।
तपाईंले अघि डक्टरको कुरा गर्नुभएको थियो । धेरै बिरामीको अनुभवमा नाम चलेको डाक्टर भए पनि जँचाउन जाँदा झर्कोफर्को गरे भने आफ्नो रोग राम्ररी पहिचान गर्न सक्दैन कि भन्ने अविश्वास भाव पैदा भएको तर राम्ररी बोलेमा रोग आधा कम भएको भान हुने गरेको बताएका छन् । यो इमोसन इन्टिलिजेन्ससँग जोडिएको छ ?
हो, गौतम बुद्धले ‘कुनै ज्ञान पनि करुणाविना पूरा हुँदैन’ भनेका छन् । पछिल्लो समय आएको ‘इमोसन इन्टिलिजेन्स’ले यही कुरा नै भन्न खोजेको हो । तपार्इंसँग अथाहा ज्ञान होला तर बिरामीसँग कुरा गर्दा सुरुमै रुखो हुनुभयो भने तत्कालै उसको मनमा तपार्इंप्रति अविश्वास भाव पैदा गरिदिनुहुन्छ । सीपमा मात्र जोड दिँदाको परिणती यही हो । अब यहीँ नेर मनोविज्ञानको ज्ञान काम लाग्छ भनेको हो ।
ज्ञानको ‘स्पेसलाइजेसन’ भनेको माथि गएर मात्र गर्नुपर्ने हो । तल त बृहत् क्षेत्रको ज्ञान दिनुपर्छ ।
मैले त केहीअघि शिक्षामन्त्रीसँगको भेटमा यही कुरालाई जोड दिएर भनेको थिएँ । ११, १२ मै विज्ञान पढ्ने, कानुन पढ्ने, व्यवस्थापन पढ्ने भन्ने छुट्ट्याइदिनु ठीक होइन । मेरो विचारमा यो बेला त सबैले जनरल विषयहरू नै पढ्नुपर्छ । सबैलाई उही विषय भएको पाठ्यक्रम राम्रो हुन्छ । त्यसको आधारमा पछि बीएमा गएर स्पेसलाइजेसन गर्दा ठीक हो ।
हाम्रो स्पेसलाइजेन धेरै चाँडो सुरु भयो ।
फेरि ११, १२ पढ्ने बेलाको उमेर धेरै अलमलको उमेर पनि त हुन्छ, त्यो बेलाको छनौट त्यति परिपक्व नभएर धेरै पछि पछुताइरहेका पनि हुन्छन् नि ?
हो त । तर त्यति मात्र होइन । भोलि एक जना इन्जिनियर भयो रे । तर उसलाई गाउँमा गएर त्यहाँको स्थानीयहरूसँग राम्ररी संवाद गर्न सकेन भने त्यो त राम्रो भएन नि ।
यही रिङरोड नै हेर्नुस् न, यसको डिजाइन गर्दा गाडीलाई मात्र ख्याल गरेको तर मान्छेलाई ख्याल नगरेको देखिन्छ । त्यही भएर यो कति जटिल छ । विकास भनेको मान्छेको सेवाका लागि भनेर नबुझ्दाको परिणति हो यो ।
कति ठाउँमा बाटोमा फुटपाथै छैन । मैले पहिले पनि भनेको छु, देशको लोकतन्त्र कति फराकिलो छ भन्ने त्यो देशको फुटपाथबाट थाहा हुन्छ ।
भनेपछि मानविकी विषयहरू पनि कम महत्वपूर्ण होइन रहेछन् ?
होइन नि । त्यही भएर पछिल्लो समय डाक्टरहरूको कोर्समा पनि कविताहरू पढ्नुपर्ने, विज्ञानका विद्यार्थीहरूलाई पनि लिटरेचरका विषयहरू राखेका छौं । त्यो पढेपछि एक विद्यार्थी मानवीय संवेदनाहरूसँग बढी परिचित हुन्छ ।
अमेरिकाको कत्ति विश्वविद्यालयमा ‘ह्युमानिटिज इन मेडिसिन’ भनेर पढाइन्छ । उतातिर शिक्षाको उद्देश्य ‘राउन्डेड पर्सनालिटी’ बनाउने हुनुपर्छ भन्छन् । त्यो भनेको व्यक्ति एक पक्षमा मात्र राम्रो भएर हुँदैन भनेको हो । उसको समग्र पक्ष राम्रो हुनुपर्छ ।
उच्च शिक्षामा म विशेष गरेर अमेरिकाको शिक्षाको ‘इन्टरडिसिप्लिनेरी शैली’को प्रशंसक हुँ । त्यहाँ जुनसुकै विषयका विद्यार्थीहरूले पनि इतिहास, मनोविज्ञान, खगोल, राजनीति, अर्थतन्त्र, साहित्यको सामान्य ज्ञान लिनुपर्छ । हाम्रोमा त्यो हुँदैन ।
अब कुनै विद्यार्थीसँग कुरा गर्यो भने ऊ ‘सर म त एकाउन्टिङको विद्यार्थी हुँ, त्यो त मलाई थाहा भएन’ भन्छ ।
फेरि यी प्राविधिक र व्यवस्थापन विषयका धेरै काम अबको २०, ३० वर्षमा मानिसले भन्दा एआईं (आर्टिफिसियल इन्टिलिजेन्स- मानवले झैं आफ्नो गल्तीबाट सिक्दै परिष्कार हुने उच्च क्षमताका कम्प्युटर)ले राम्ररी गर्न थाल्ने भएकाले ती क्षेत्रमा रोजगारी अत्यन्त कम हुने अध्ययनहरूले देखाइरहेका छन् । रमाइलो कुरा एआईहरू जति नै कुसल भए पनि सेवाजन्य क्षेत्रमा भने मानिसहरूले मेसिनलाई विश्वास नगर्ने भन्ने अर्कोथरी अनुसन्धानका रिपोर्टहरू आइरहेको छ । यसले भविष्यमा मानविकी विषय चाहिँ प्रमुख रोजगारीको विषय हुने देखिन्छ ?
हो, तपाईंले भन्नुभएको समयावधिमा एआईले अहिलेका ७० प्रतिशत रोजगारीमा मानिसहरूलाई विस्थापित गर्छन् भनिएको छ र तीमध्ये अधिकांश यिनै प्राविधिक, व्यवस्थापन विषयमा हुनेछन् । अब एकाउन्टिङमै हेर्नुस् न केही समयमै यो मानिसले भन्दा राम्ररी गर्न सक्छन् ।
यसको मतलब हामी भविष्यमुखी भइरहेका रहेनछौं । हामीमा उल्टो बाटो गइरहेका छौं ?
हामीमा मात्र होइन यो पश्चिमी समाजमै पनि देखिइरहेको छ । यो शिक्षा पूरै आजको बजारमुखी हुँदाको परिणाम हो । अब मानविकी विषय पढेर तपाईंले जागिर नै नपाउला भन्ने हुन्छ ।
मानविकी विषयमा विद्यार्थीहरूको सङ्ख्या घटिरहेकै छ । तर यसको समाधान पनि छ । तपाईं जुनसुकै सङ्काय पढ्नुस्, त्यसमा मानविकी विषयहरू छनौट गर्नैपर्ने पार्न सक्नु हुन्छ । अमेरिकी उच्च शिक्षालयमा त्यही छ । जति माथि गयो त्यो ‘स्पेसिलाइजेसन’ हुँदै जान्छ तर ‘फाउन्डेसन’मा भने फराकिलो लिबरल शिक्षा दिइन्छ ।
खासमा म त्रिविको उपकुलपति हुँदा यो कुरा नेपालमै पनि लागू गर्नुपर्छ भनेर कुरा उठाएको हुँ । मैले त स्नातक तहमै अहिले भइरहेको जस्तो ‘रिजिड स्पेसिलाइजेसन’ नगरौं भनेको हो । त्यो तह त बीउ रोप्ने तह हो । मुख्य स्पेसिलाइजेसन त स्नातकोत्तरमा मात्र हुनुपर्छ । म तीन वर्ष मात्र रहें त्यहाँ ।
मेरो योजना चाहिँ के थियो भने आईए तह चाहिँ पूर्ण रूपमा जनरल शिक्षा बनाउने । सबैलाई उही खालको विषय पढाउने । स्नातक सङ्काय मोडालिटीमा भए पनि थोरै विषय अनिवार्य गरेर सकेसम्म धेरै विकल्प दिने भन्ने थियो । अनि साँचो स्पेसिलाइजेन चाहिँ मास्टरमा मात्रै गराउने मेरो सोच थियो ।
यसो गर्दा के कुरामा राम्रो हुन्छ र ?
यसमा म अमेरिकी उच्च शिक्षाकै केही कुरा गरेर बताउँछु । त्यहाँ स्नातकलाई ‘फोर इयर अफ सेल्फ डिस्कभरी’ भन्छन् । त्यही भएर मेरा केही आफन्तसँग भेट हुँदा अमेरिकामा मेरा छोराछोरी यो पढिरहेका छन् भनेको भेटँे भने म उनीहरूले यही पढ्छ भनेर कर नगर्नुस है भन्छु । त्यहाँ गएपछि उसले यस्तो देख्छ कि बायोलोजी पढ्न गएको मान्छे थिएटर पढेर आइरहेको हुन्छ, फिजिक्स पढ्न गएको मान्छे फ्यासन पढेर आइरहेको हुन्छ ।
त्यो चार वर्षमा एक विद्यार्थीहले आफ्नो साँचो चाख र सम्भावनाको पहिचान गर्छ । दक्षिण एसियामा चाहिँ कुनैमा पनि त्यो छैन । नेपालमा मैले प्रयास गर्न खोजेथेँ भएन ।
तपाईंले अघि आफ्नो तीन वर्षे विश्वविद्यालयको उपकुलपतिमा हुँदा प्रयास गरेको भन्नुभयो, त्यति उच्च पदमा रहेर पनि लागू गर्न केले रोक्यो ?
त्यहाँका प्रायः साथीहरूले धेरै विषय राख्यो भने त कोर्स नै सक्न सकिँदैन भने । अब संसारभरी सक्न सक्ने यहाँ चाहिँ नसक्ने । यहाँ चाहिँ त्यस्तो अद्भूत के छ, मैले अहिलेसम्म बुझेको छैन ।
त्योबेला मेरो कुरा बुझ्ने एउटै मान्छे भनेको प्रा.डा. श्रीधर लोहनी थिए । उनी मेरा क्लास मेट पनि हुन् । यो विषयमा सारै विज्ञ मानिस पनि हुन् उनी । त्यो बेला म उपकुलपति थिएँ, ऊ डीन थिए ।
अब म त्यतातिर लाने योजना बनाउँदै थिए, तीन वर्षमा निस्कनुपर्यो । यही भएर सकिएन ।
विदेशतिरका कक्षाकोठाको पनि अनुभव छ तपाईंसँग । त्यहाँ र यहाँको विद्यार्थीमा के फरक पाउनुभयो ?
खास्सै केही फरक छैन । विद्यार्थीलाई कस्तो बनाउने भन्ने त तपाईं कस्तो संस्कार दिनुहुन्छ भन्ने कुराले निर्धारण गर्छ । अब यताको विद्यार्थी सम्पन्न राष्ट्रमा पढ्न जाँदा राम्रै गरिरहेका हुन्छन् ।
यसैले विद्यार्थीले राम्रो नराम्रो गर्ने भनेको शैक्षिक संस्थाहरूको संस्कारमा भर पर्ने रहेछ भन्ने देखाउँछ । म त हाम्रा विद्यार्थीहरूलाई रगडान पुगेन भन्छु ।
अहिले त कति विषयमा स्नातक तहमा र केही विषयमा मास्टरमै पनि भर्ना गरेर एक्कै पटक जाँच दिन मात्रै गए पनि हुने खालको संस्कार छ । यो संस्कृति कसरी विकास भयो ?
यो निक्कै विकराल कुरा हो । अब स्कुलमा पाठ्यक्रमलाई सिफारिस गरिएका पाठ्यपुस्तकबाट पूरा गरिन्छ । त्यो आफैमा खतरा हो । तर कलेजमा झन् बिग्रिएर जाँचमा महत्वपूर्ण पक्ष मात्र समेटिएको गेस पेपरमा खुम्चिएको छ । अब यसबाट कति धेरै ज्ञान फिल्टर होला सोच्नुस् त । यसले शैक्षिक गुणस्तरमा कति विकराल असर पार्ला, सोच्दा नि डर लाग्छ ।
म पोखरा जाँदा पृथ्वीनारायण क्याम्पसको छेउको जम्मै पसल नै ढाक्ने गरी गेस पेपर्सहरू राखिएको देखेँ । मैले फोटो नै खिचेर ल्याएको थिएँ । म त्यसको घोर विरोधी हुँ ।
यस्तो हुनुको कारण छ । एउटा कुरा त विद्यार्थीहरूलाई रगडान पुगेन । उता स्कटल्यान्डमा म पढ्दा एक सेमेस्टर सकिँदा मलाई ‘ओहो बाँचे बाबा’ लागेको थियो । टर्म पेपर भनेको छ, कहिले सेमिनारमा जानुपर्नेछ । प्रत्येक दिनको मूल्याङ्कन भइरहेको हुन्थ्यो ।
अर्को कुरा गेस पेपर भन्ने कुरा कसरी हाबी भयो भने एक जना विज्ञले ज्ञानलाई विभिन्न तहमा बाँडेका छन् । सबैभन्दा तल्लो र तुच्छ तहको पढाइ भनेको पढेको कुरा सम्झना गर्ने खालको अध्ययन हो । त्यसमाथि चाहिँ विश्लेषण गर्ने खालको ज्ञान हो । त्योभन्दा माथिको शिक्षा भनेको अरूको कृतिसमेत समालोचना गर्न सक्ने शिक्षा हो ।
अहिले हाम्रो ध्यान चाहिँ सबैभन्दा तुच्छ खालको छ । हामीहरूको जोड सम्झेको कुरा पुनर्लेखन गर्ने भएकाले गेस पेपर मात्र पढे पनि पास हुने अवस्था आएको हो । यो कुरा विश्वविद्यालयमा लागू हुन्छ भने स्कुल तहमा पनि यही छ । यसबाट पार पाउने हो भने शिक्षाको माथिल्लो तहमा जानुपर्छ ।
आइरल्यान्डको एक सात कक्षाको स्कुलमा आएको प्रश्नपत्र हेरेथेँ । त्यहाँ प्रश्न थियो, तिमीलाई मन परेको कविताहरूमध्ये तिम्रो अनुभव मिल्ने कविताको नाम भन र त्यसको के कुरा तिम्रो अनुभवसँग मिल्यो लेख भनेर सोधेको थियो । अब यो प्रश्नको उत्तर कुन गेस पेपरमा पाउनुहुन्छ ? अब यसमा उसको आफ्नै अनुभवमा केन्द्रित हुनुपर्छ । यस्तो खालको शिक्षामा जोड दिनुपर्छ ।
यसको अर्थ हाम्रो परीक्षा प्रणालीमै गलत छ भन्न खोज्नुभएको हो ?
हो, शिक्षा क्षेत्रबारे एउटा भनाइ के छ भने ‘हामी के र कसरी पढाउँछ भन्ने कुरा हामी कसरी जाँच्छौं भन्ने कुरामा निर्भर गर्छ’ । हाम्रो जाँच लिने तरिकामै कमजोरी छ । एउटा विद्यार्थीको सम्पूर्ण मुल्याङ्कन अन्तिमको परीक्षाबाट लिने, अब त्यो पनि ‘तपाईंले केके घोक्नुभएको छ लेख्नु’ भने जसरी आउने गरेको छ ।
अब बीचबीचका परीक्षा लिने, त्यसको अङ्क पनि सम्पूर्ण अङ्कभारमा गणना हुने, समय समयमा सेमिनार लिने, कक्षाका गृहकार्यहरूको पनि अङ्कभार हुने गर्नुपर्छ ।
विद्यार्थीले पनि शिक्षककै क्षमतामा चुनौती दिने हिसाबले आफूलाई विकास गर्नुपर्छ । मेरो विदेशी र नेपाली विद्यार्थीहरूसँग दुवैसँग अनुभव छ, विदेशीहरू कत्ति प्रश्न गर्छन् तर नेपाली विद्यार्थीहरूलाई पढाइसकेपछि तपाईंहरूको के प्रश्न छ भन्यो भने एउटा पनि प्रश्न हुँदैन ।
हाम्रो जाँचदेखि पढाउने तरिका दुवै बेठीक भयो ।
हामीकहाँ प्रश्न गर्ने विद्यार्थीलाई नजान्ने वा कक्षा विथोल्न खोज्ने मनसाय भएको रूपमा चित्रित गरिन्छन् । यसले गर्दा विद्यार्थीहरू प्रश्न गर्नै हतोत्साही हुने हुन् कि ?
तपाईंले भन्नुभएको कुरा ठीक हो । यसमा अझ अर्को कुरा पनि छ । हामीमा के छ भने शिक्षकहरूलाई सबै कुरा थाहा छ, कक्षामा बसेका विद्यार्थी शून्य दिमागसहित बसेको हुन्छ भन्ने खालको मानसिकता छ । बैङ्किङ प्रणाली भनिने यसमा विद्यार्थीको दिमाग खालि हुन्छ, त्यसमा शिक्षकले घररर भरिदिने हो भन्ने बुझाइ हुन्छ ।
तर यथार्थ कहाँ त्यस्तो हुन्छ र ? कुनै विद्यार्थी पनि खालि हुँदैन । अब तपार्इंको हुर्काइले हरेक चीजप्रति तपाईंको एक खालको धारणा निर्माण गरिदिएको हुन्छ । कक्षा कोठामा शिक्षकले कुनै ‘परस्पेक्टिभ’ राख्दा तपाईंले पनि त्यसप्रति ‘परस्पेक्टिभ’ राख्नुभयो भने कक्षा बल्ल ‘भाइब्रेन्ट’ हुन्छ । हाम्रो कक्षामा त्यो हुँदैन । यो हाम्रो शिक्षाको सबैभन्दा ठूलो कमजोरी हो ।
यस्तो हुनुमा बढी कमजोरी कसको ? सरकार, नीतिनिर्माता, विद्यालय, विश्वविद्यालय, शिक्षक, विद्यार्थी ?
यसमा गल्ती विश्वविद्यालयको हो, व्यवस्थाको हो । अब यसमा विद्यार्थीको त के गल्ती भन्नु ? तर पनि विद्यार्थीले शिक्षकलाई ‘इन्टेलेक्चुअली पुस’ गर्न सक्छ । त्यो गर्यो भने कक्षा पनि रमाइलो पनि हुन्छ ।
मलाई चाहिँ कक्षा भनेको कस्तो हुनुपर्छ भन्ने लाग्छ भने कक्षामा लेक्चर भयो, डिबेट भयो, हुँदाहुँदा यस्तो भयो कि कक्षाको समावाधि नै सक्कियो । अब कक्षापछि चिया खान गएको ठाउँमा पनि कक्षाको डिबेटको बारेमा पुनः चर्चा भयो ‘माथेमा सरले यस्तो भन्नु हुन्थ्यो त्यो त मिलेन नि’ । अर्कोले त्यसको विपक्षमा धारणा राख्यो । त्यहाँ पनि बहस लम्बिएपछि बसमा पनि छचल्किओस् बहस । घरमा आउँदा राति खाना खान बस्दा पनि आफ्ना परिवारसँग ‘आज क्लासमा माथेमा सरले त यस्तो भन्नु भयो भाइ’ भनोस् । त्यसो भयो भने मात्र ज्ञान छचल्किन्छ ।
उतातिर त्यस्तो हुन्छ, यहाँ त्यस्तो भएन, खालि जाँच मात्र हेरियो ।
तर सानैदेखि एक खालको संस्कारमा हुर्किएको विद्यार्थीमा विश्वविद्यालय गएपछि एक्कासि यो प्रश्न गर्ने चेत आउँछ भन्ने हुँदैन होला नि । हाम्रो संस्कारै आफूभन्दा ठूलालाई प्रश्न नगर्नु भन्ने छ नि त्यसले असर पारेको छ कि छैन ?
हो, त्यो सही हो । हाम्रो संस्कारमा पनि केही परिवर्तन हुनुपर्छ । अघि मैले भनेको स्कटल्यान्डमा पढ्दा कुनै कुरा शिक्षकलाई सोध्दा उनीहरू निर्धक्क भएर मलाई थाहा छैन भन्थे । शिक्षक हुँदैमा उसलाई सबै कुरा थाहा हुनुपर्छ भन्ने हुँदैन । उसले यसको ठेक्का लिएको हँुदैन । शिक्षक भनेको खासमा कक्षामा विद्यार्थीहरूको गाइड मात्र हो । त्यसैले प्रश्नहरूलाई निरुत्साहित गरिनु हुँदैन । यसले सबैको हित गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविलगायत विरुद्ध ४२७ पृष्ठ लामो अभियोगपत्र दायरदेखि सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र असन्तुष्टिसम्म
-
फाल्गुनन्द गोल्डकप : झापा–११ माथि मच्छिन्द्रको फराकिलो जित
-
नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबिच सेयर प्रत्याभूति सम्झौता
-
लक्ष्मी सनराइज बैंक र आईएफसीबिच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्ने बारे साझेदारी
-
ताली बजाएर र भाषण गरेर मात्रै क्रिकेटको विकास हुँदैन : अध्यक्ष चन्द
-
मन्त्रालयको बजेट नगरपालिकाको भन्दा पनि कम हुँदा काम गर्न सकिएन : खेलकुद मन्त्री