टिप्पणीः माओवादी केन्द्रले फर्काउला त गुमेको शाख ?
पहिलो र दोस्रो चरणको स्थानीयतहको निर्वाचनको परिणामले माओवादी केन्द्र तेस्रो बन्न पुग्यो । स्थानीय तहको निर्वाचनमा बेहोरेको हारको समीक्षा गर्न केन्द्रले साउन २ गतेदेखि बैठक नै बोलायो ।
साउन ७ गतेसम्म भएको समीक्षा गरेको बैठकले हार्नुको कारण बाह्याभन्दा आन्तरिक भएको निष्कर्ष निकाल्यो र अब जनसङ्गठन बनाउनेतर्फ केन्द्रित हुने प्रचण्डले बताएका छन् ।
के निर्वाचनमा माओवादीको यो पहिलो हार हो त ? के योभन्दा पहिला माओवादीले हार ब्यहोरेको होइन ? हो दोस्रो संविधान सभाको निर्वाचनमा तेस्रो बनेको माओवादीले यो चार वर्षमा सुध्रन के–के प्रयास गर्यो ? त्यसको परिणाम के–के आए । यो विषयमा बैठकमा कसैले कुरा उठाएन । उठाउनै चाहेनन् ।
माओवादीले हार्नुका कारणहरूमा पार्टी विभाजन, कार्यदिशाको समस्या, विचारको समस्या, भद्दा कमिटीहरू, आफ्ना मुद्दाहरू जनतासामु पुर्याउन नसक्नु आदि उल्लेख गरेको छ ।
माओवादी हारको कारण सबैभन्दा पहिला कार्यदिशाको समस्या हो । माओले भनेका छन् ‘विचार सही अथवा गलत हुनुले सबै कुराको छिनोफानो गर्छ । विचार सही छ भने नभएका कुराहरू पनि प्राप्त हुन थाल्छन् तर विचार सही भएन भने भएका कुराहरू पनि गम्दै जान्छन् ।’
माओको विचारलाई वाद मानेर दीर्घकालीन जनयुद्धमा होमिएका र दश वर्षमा शान्ति प्रक्रियामा आएका माओवादीहरूले कति पढे र बुझे होलान् ? कति आत्मसाथ गरे होलान् । यही नेतृत्वले जनयुद्ध सुरु गर्दा मान्छे, स्रोत, साधन कति थियो, सबैलाई थाह भएकै हो । तर जब सेना, सत्ता, गाउँसहित सहरमा पसेपछि प्राप्त उपलब्धि किन गुम्दै गए ? प्रश्न यहीँनिर छ ।
माओवादीले सुरुमा त अब हामीले भनेको सबै हुन्छ । हाम्रो यो जित नै अन्तिम सत्य हो भन्ने अहङ्कारमा डुबे । उनीहरुले क्रान्ति र प्रतिक्रान्ति सँगसँगै हिँडिरहेको हुन्छ भन्ने कुरा पढेका त थिए तर सहर पसेपछि बिर्सिएका कारण पनि उसको हारको कारण हो ।
माओवादीमा नयाँ वर्गको जन्म
माओवादी सहर पसेसँगै उसमा जन्मेको उपभोक्तावाद नै अहिलेको समस्याको चुरो हो । माओवादीमा सामूहिकताको अन्त्यसँगै आन्दोलनमा विचलन देखिएको हो । माओवादी हिजो विचारमा ठीक थियो । उसले चालेका हरेक कदमहरू जनपक्षीय हुन्थे । उसले जनताका लागि नै त्याग बलिदानीको इतिहास बनाएको हो ।
सामूहिकतामा विश्वास जनतामा पनि जागेको थियो । जनताको जीवन स्तर र माओवादीको जीवनस्तरमा भिन्नता थिएन । जनताले माओवादीमा आफ्नो जीवनको प्रतिछायाँ देखेको थियो । तर उपभोक्तावादमा फसेपछि माओवादी नै पुँजीवादका प्रचारक जस्ता बने । जनता जहीँका त्यहीँ छन् । माओवादी नेता र टाठाबाठा कार्यकर्ता पुँजीवादका प्रचारक बनिसकेका थिए । आन्दोलन र विचारमा स्खलनको शृङ्खला यहीँबाट सुरु भएको हो ।
सुरुमा यो स्खलनको शृङ्खला थोरै थियो । नेतृत्वले चाहेको भए रोक्न सक्थ्यो तर उपभोक्तावादमा सिङ्गो माओवादी नेतृत्व नै फस्यो । उसले आफूमाथि औँला नउठाउन् भनेर आफू वरिपरिका र दोस्रो तहका सबै नेताहरूलाई पुँजीवादका प्रचारक बनेकोमा प्रोत्साहन नै दिए ।
यहीँबाट सिङ्गो देशमा नै समानता ल्याउन हिँडेका तल्ला तहका कार्यकर्तामा हीनताबोध हुन थाल्यो । आफू नेतृत्व र टाठाबाठाबाट अन्याय अत्याचारमा परेको महसुस गर्न थाले । यसको ज्वलन्त उदाहरण पेरिसडाँडामा समीक्षा बैठक चलिरहँदा भुइँतलामा नक्कली खुट्टा हालेकी जनयुद्धकी घाइते कमला तामाङ थिइन् । उनी भन्दै थिइन मसँग न सम्पत्ति छ न त सिङ्गो शरीर नै तर यो पार्टीमा लागेर घाइते हँुदा पनि माओवादीले हेर्दैन ।’
सर्वहारा वर्गको राजनीति गर्ने माओवादी नेताहरू अहिले पनि दैनिक हजाराँै र लाखौँ खर्च गर्छन् । तर युद्धका घाइतेहरू कोही आत्महत्या गर्न बाध्य छन् भने कोही आफ्नै जीवनलाई धिक्कार्न ।
हिजो जनयुद्ध लडेका सग्ला माओवादीहरू खाडीमुलुकमा छन् । उनले हिजो गरेको त्याग तपस्या र बलिदानको जगमा सीमित माओवादी नेताहरू र उनका आफ्न्तको हालिमुहाली छ । बाँकी रहेको गुण्डा र अवसरवादीहरूले पार्टीमा कब्जा जमाएका छन् । माओवादी नहारेर कसले हार्छ ।
माओवादीले यदि विचार सही लिने हो भने पार्टीभित्र जन्मेको नयाँ वर्गमाथि कारवाही हुनु नै अहिलेको पहिलो आवश्यकता हो । भ्रष्टाचार र मोजमस्ती गरेर हिँडेको जनता र कार्यकर्ताले हेरेका छन् ।
माओवादीलाई भोट दिनुभनेको गारोसाह्रो पर्दा हेर्लान् भनेर हो । तर माओवादीका स्थानीय तहदेखि केन्द्रसम्मका नेताहरूले कति जनताको र कार्यकर्ताको काम गरे ? कमिसन आउँछ भनेर पछिल्लो समयमा काँग्रेस र एमालेको साथ बढी गरेका छन् । साथ काङ्ग्रेस एमालेको गर्ने भोट दिएन जनतालाई भन्ने ?
सङ्गठनभन्दा व्यक्ति हावी
माओवादीमा सङ्गनठभन्दा व्यक्ति हावी हुनु अहिलेको अर्को रोग हो । कुनै पनि पार्टी सङ्गठनमा सामूहिक निर्णयमा चल्छ । तर माओवादी पार्टी तलदेखि माथिसम्म एक जना व्यक्तिको चाहनामा चल्छ । त्यसले पार्टी र सङ्गठनमा व्यक्तिवाद हावी हुन्छ । त्यही भइको छ माओवादीमा ।
माओवादीको केन्द्रमा यो प्रवृत्ति सबैभन्दा बढी छ । जबसम्म नेतृत्वमा सामूहिकताको मूल्यबोध हुँदैन तबसम्म पेरिस डाँडामा जति समीक्षा गरे पनि केही हुने छैन । पार्टीलाई जबसम्म गल्ती गर्नेहरूको चङ्गुलबाट बाहिर ल्याउने हिम्मत कसैले गर्दैन तबसम्म यस्ता समीक्षा बस्दैमा केही हुँदैन ।
केहि माओवादीकै नेताहरुको शब्दमा भन्दा धनवाद र डनवादको कब्जामा रहेको माओवादी पार्टीलाई पुनः एक पटक जनता र कार्यकर्ताको माझमा पुर्याउन सक्नु नै अहिले नेतृत्वको चुनौती हो । यो चुनौती पार गर्न सकेमा माओवादी पुनः जीवन पाउला होइन भने समीक्षाले केही हँुदैन ।
पार्टी सामूहिक नेतृत्वमा चल्ने पद्धति बनाउनुपर्छ । जिल्ला जिल्लामा एक दुई जना जिल्लाका नेतृत्वहरूले गरेका मनोमानीका निर्णय कार्यकर्ताहरूले मान्न बाध्य भएका थुप्रै उदाहरण छन् । तिमीसँग पैसा छैन, टिकट पाउँदैनौ भन्ने नेताहरू त कति छन् कति । पार्टीले तिनीहरूमाथि कारवाही गर्ने हिम्मत राख्छ कि राख्दैन । चुरो कुरो यही हो ।
आर्थिक पारदर्शिताको कमी
आर्थिक पारदर्शिताको सही पालन गर्ने हो भने पार्टीभित्रका समस्या धेरै हल भएर जान्छन् । तर त्यो हँुदैन । हरेक नेताहरूको जीवनस्तर कुनै कम्पनीका मालिकभन्दा कम छैन । तर उनीहरूको आयस्रोत के हो ? अहिलेसम्म जनता र कार्यकर्ताहरूलाई थाह छैन ? जताका लागि गरिने राजनीति जनतालाई किन लुकाउनु, आफ्नो वर्गलाई लुकाउनुपर्ने त्यस्तो के छ ?
नेता जनताका लागि हुन् भने नेताको हरेक क्रियाकलाप र जीवन पद्धति जनताले थाह पाउनुपर्छ । जनता पनि धेरै सचेत छन् । जनता पनि आफ्ना नेताहरूको जीवन ठीकठाक नै चाहन्छन् । नेपालीले होचि मिन्हका जसरी गणतन्त्र घोषणा गर्दा मञ्चमा टायरका चप्ल लगायर जानुपर्छ भनेका छैनन् । तर यस्तो जीवन बाँच्ने स्रोत के हो ? त्यो त जान्न चाहनु गलत होइन । माओवादीहरू त्यस्तो गर्न चाहँदैनन् ।
आफूले उठाएका मूल मुद्दा त्याग्नु
जनयुद्धका समयमा माओवादीले जनपक्षीय मुद्दाहरू धेरै उठाएका थिए । ती मुद्दाहरू समाजको तल्लो वर्गलाई लक्षित गरेका थिए । शिक्षा, स्वास्थ्य, जमिन, रोजगार आदि । अझ भनाँै सामाजिक मुद्दाहरू छोड्नु नै माओवादी हारको कारण हो । अहिले माओवादी नेताहरूका छोराछोरी कस्ता स्कुल, कलेजमा पढ्छन्, सबैलाई थाह छ । उनीहरूको उपचार कस्ता अस्पतालमा हुन्छ थाह छ । हिजो गाउँगाउँमा रक्सी खाने र जुवा खेल्नेलाई कारबाही गर्ने माओवादी अहिले सबैभन्दा जुवाडे भएका छन् । जडिया भएका छन् । यो सबै जनतालाई थाह छ । त्यसका सजाय माओवादीले पाएको हो ।
हिजो आफ्नो गाँस काटेर माओवादीलाई खुवाउँदा आतङ्ककारीको बिल्ला भिर्न तयार जनताले अहिले त भोट हाल्न पनि चाहेनन् । यसका कारण पत्ता लगाएर मात्र पुग्दैन समाधान पनि गर्न सक्नुपर्छ ।
कार्यकर्ताको व्यवस्थापन गर्न नसक्नु
धनी अति धनी हुने र गरिब अति गरिब हुने व्यवस्थाविरुद्ध माओवादी लडेको हो । तर अहिले भने कार्यकर्ताहरूले सबैभन्दा बढी खेपेको पीडा पनि यही हो ।
कार्यकर्ताको व्यवस्थापन सही तरिकाले गर्न सकेको भए माओवादी यति कमजोर हुनु पर्दैन थियो । युद्धकालमा त्यतिका पूर्णकालीन कार्यकर्ताको व्यवस्थापन गर्न सक्ने माओवादीले शान्ति प्रक्रियामा चासो नै दिएन । कमाउनेले खाए । धनी भए नसक्ने इमानदार कार्यकर्ता खाडी भासिए ।
नेपालमा भएका कैयाँै कार्यकर्ताहरू सानोतिनो व्यसायमा र नोकरीमा बाँचेका छन् । तिनै आफ्नै व्यवसाय पेशामा बाँचेकाहरूका नेता हिजोका माओवादी विरोधी र ल्यारक्यालमार्काहरू छन् । अनि तिनीहरूलाई नेता मानेर कसरी जनतालाई भोट माग्छन् कार्यकर्ता ? यो सोचनीय विषय हो । अहिले पनि समय छ, पार्टी माओवादकरण गर्ने कि खुस्चोभीकरण । जिम्मा नेतृत्वलाई छ । समयमा नै सोचून् ।