बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ब्याडमिन्टन–आर्मीका तीन खेलाडी अन्तिम चारमा

बिहीबार, २९ कात्तिक २०७५, २१ : ०८
बिहीबार, २९ कात्तिक २०७५

काठमाडौँ । त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ, रुकेश महर्जन र नवीन श्रेष्ठ विजयी हुँदै आठौँ पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता–२०७५ को पुरुष एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा भएको प्रतियोगितामा सेनाका रत्नजित तामाङले पुलिसका नीरविक्रम देवकोटालाई २१–१७, २१–१८ ले पराजित गर्दै सेमिफाइनलम पुगेको हो । 

सेमिफाइलनमा तामाङले आफ्नै क्लबका रुकेश महर्जनको सामना गर्नेछन् । रुकेशले पुलिसका विष्णु कटुवाललाई २१–१६, २१–१९ ले पाखा लगाए । यस्तै सेनाका अर्का खेलाडी नवीन श्रेष्ठले भोजपुरका विकास श्रेष्ठलाई २१–१९, २१–११ ले पन्छाए ।

श्रेष्ठले फाइनल प्रवेशका लागि एपिएफका दिपेश धाँमीको सामना गर्नेछन् । दिपेशले सिल्क ग्रुपका प्रिन्स दाहाललाई २१–१६, २२–२० ले पराजित गरे । 

महिला एकलतर्फ नेपाली सेनाका दुई र एपिएफका दुई खेलाडीले अन्तिम चारको यात्रा तय गरे । आज भएको खेलमा सेनाका नङ्गशल देवी तामाङले बाँकेकी सम्झना शर्मालाई २१–१२, २१–८ ले पछाडि पार्दै सेमिफाइनलमा स्थान बनाउन सफल भइन् । तामाङले फाइनल प्रवेशका लागि एपिएफकी शोभा गौचनको सामना गर्नेछिन् । 

शोभाले सेनाकी अनुमाया राईलाई २१–१७, २१–१९ ले पन्छाइन् । यस्तै सेनाकी रशीला महर्जनले गत सातौँ संस्करणकी विजेता एपिएफकी जेशिका गुरुङसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छिन् । रशीलाले सेनाकै रञ्जना भट्टलाई २१–१४, २१–१३ तथा जेशिकाले सेनाकी अमिता गिरी माथि १९–२१, २१–१५ र २१–११ को जित निकाले । 

नेपाल खेलकूद महासङ्घअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन सङ्घको आयोजनामा भएको प्रतियोगिताको यु–१७ छात्रतर्फको खेलमा सिल्क ग्रुपका प्रिन्स दाहालले कैलालीका जेबी साउदलाई २१–७, २१–९ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको टिकट काट्न सफल भए । 

अन्तिम चारमा स्थान बनाउने क्रममा जेष्ट ब्याडमिन्टनका प्रियान्सु सिंह क्षेत्रीले दाङका हिमांशु कुँवरलाई २१–११, २१–१८, सेनाका दिवश शङ्करले कैलालीका अमृत चौधरीलाई १९–२१, २१–११, २१–१३ तथा जेष्टका पेम्बा शेर्पाले कञ्चनपुरका हिमाल चन्दलाई २१–११, २१–१३ ले पन्छाए । 

पुरुष युगलतर्फको खेलमा सेना र एपिएफले अग्रता लियो । एपिएफका दिपेश धाँमी र विजित थापा मगर तथा गौतम कठायत र सुनील जोशीको जोडी अन्तिम चारमा पुग्यो । धाँमी र मगरको जोडीले पुलिसका दीपक बोहरा र जीवन आचार्यको जोडीमाथि २१–१६, २१–१७ को जित निकाल्यो । 

गौतम र सुनीलको जोडी बाँकेका इरफान अन्सारी र रियाज अन्सारीको जोडीमाथि २१–१५, २१–१६ को जित निकाल्दै सेमिफाइनलमा स्थान बनाए । सेनाका रुकेश महर्जन र प्रफुल महर्जनको जोडी तथा रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडीले पनि सेमिफाइनलमा स्थान पक्का गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप