केन्द्रीय संस्करण

उच्च रक्तचापबाट बच्ने उपाय

person explore access_timeकात्तिक २९, २०७५ chat_bubble_outline0
नरनाथ पाण्डे

रातोपाटी

 हामी सबैले सुन्दै आइरहेको एक विचारणीय रोग उच्च रक्तचाप पनि हो । यस रोगबाट धेरै व्यक्तिलाई पीडित रहेको अवस्था छ । अहिले संसारमा सर्ने रोगहरू जुन किटाणु वा परजीवीबाट सर्छन्, त्यस्ता रोग बिस्तारै कम हुँदै गइरहेको पाइन्छ । तर नसर्ने रोग जुन किटाणु वा विषाणुबाट हुँदैनन् र त्यस्ता रोग शरीरमा स्वतः उत्पन्न भई दीर्घकालीन रूपमा असर पुर्याउने गर्छन् र शरीरलाई दुःख दिने गर्छन् ती रोगका समस्या अहिलेको विकसित वा भनौं आधुनिक युगमा बढी मात्रामा देखापरिरहेका छन् । यी रोगमध्येकै एक रोग हो उच्च रक्तचाप । 

उच्च रक्तचाप
उच्च रक्तचाप मुटु तथा रक्तनलीसम्बन्धी दीर्घकालीन रोग हो । मुटु हाम्रो शरीरको असाध्यै महत्वपूर्ण अङ्ग हो । गर्भावस्थादेखि नै क्रियाशील भई मानिसको अस्तित्व रहुञ्जेलसम्म निरन्तर चलिरहन्छ । शरीरमा यसले निकै सक्रियताकासाथ काम गरिरहेको हुन्छ । 
मुटुको काम गर्ने क्रममा गडबडी भयो भने सारा प्रक्रिया अबरूद्ध भई मृत्युसमेत हुनसक्छ । त्यही महत्वपूर्ण अङ्ग मुटुमा लाग्ने वा मुटु र रक्तनलीहरूमा लाग्ने रोगहरू विभिन्न किसिम मध्येको एक हो उच्च रक्तचाप ।

वास्तवमा रक्तचाप भन्नाले रगतले रगतका नलीहरूमा दिने चाप हो । मुटुले रगत पम्प गरी शरीरका विभिन्न भागमा पु¥याउने क्रममा रगतका नलीहरूमा निरन्तर चाप दिइरहेको हुन्छ । त्यही चाप नै रक्तचाप हो । 

रक्तचाप कहिले बढी र कहिले कम भइरहन्छ । यो एकनासको रहँदैन । उच्च रक्तचाप भएमा उच्च रक्तचापले लामो समयसम्म मुटुमा र रक्तनलीमा धक्का दिइरहने भएकाले मुटुलाई नकरात्मक असर पुर्याई विभिन्न खालका स्वास्थ्य समस्या देखिन सक्छ । कहिलेकाहीँ मुटुमा स्ट्रोक गराई मृत्यु पनि हुनसक्छ । 

उच्च रक्तचापलाई ढिलो गरी मार्ने रोग ‘साइलेन्ट किल्लर’ पनि भनिन्छ । यो रोग लागेमा धेरैजसो व्यक्तिमा कुनै लक्षण देखापर्दैनन् तर शरीरमा निकै असर पुर्याइरहेको हुन्छ । कुनै पनि खतराका सङ्केत नदेखिई एक्कासि अकल्पनीय क्षति हुन सक्छ र मानिसको मृत्यु हुनसक्छ ।

    मुटुले रक्तनलीमा दिने रक्तचाप सामान्यतया दुई किसिमको हुन्छ । ती हुन् ः माथिल्लो वा सुरुको रक्तचाप ‘सिस्टोलिक ब्लड प्रेसर’  र अन्तिमको वा तल्लो रक्तचाप ‘डाइस्टोलिक ब्लड प्रेसर’ । यी दुवै किसिमका रक्तचाप सामान्य भएमा वा रक्तनलीमा रगतले दिने चाप सामान्य अवस्थामा रहेमा कुनै समस्या हुँदैन र जीवनयापन सामान्य अवस्थामै चलिरहेको हुन्छ । 

मानिसको सामान्य रक्तचाप पारो भएको यन्त्र स्फिग्नोम्यानोमिटरले मापन गर्दा १०० देखि १४० सम्म माथिल्लो र ६० देखि ९० सम्म तल्लो चाप हुन्छ भनेर विश्व स्वास्थ्य सङ्गठनले भनेको छ । तैपनि धेरैजसो आदर्श रक्तचाप चाहिँ १२० माथिल्लो र ८० तल्लो रक्तचाप नै हो । तर कहिलेकाहीँ विभिन्न खालका असामान्य परिस्थितिहरू आई रक्तचापमा गडबड हुनसक्छ । 

रक्तचाप गडबड हुनासाथ वा उच्च भइरहनासाथ रक्तनली, मुटु, मस्तिष्क, मिर्गौला र आँखा जस्ता अङ्गहरूमा बढी असर गराई अङ्ग खराब गराउन सक्छ । निम्न दुई किसिमले रक्तचापमा गडबडी हुन्छ । ती हुन् 

१. उच्च रक्तचाप  
रगतले रक्तनलीमा दिने चाप सामान्यभन्दा बढी मात्रामा भयो भने त्यस्तो अवस्थालाई उच्च रक्तचाप भनिन्छ । यस्तो बेलामा सुरुको सिस्टोलिक र अन्त्यको डाइस्टोलिक रक्तचाप दुवै प्रायः बढी नै हुन्छ । कहिलेकाहीँ कुनै एउटा मात्र पनि बढी भएको हुनसक्छ । 
सामान्यतया उच्च रक्तचाप हुँदा उमेर, खानपान र तौल अनुसार फरक फरक हुने भए पनि औसत व्यक्तिहरूमा १४० भन्दा माथि माथिल्लो चाप र ९० भन्दा माथि तलको चाप भएमा त्यसलाई उच्च रक्तचाप मानिन्छ । यही अवस्थालाई नै हामीले उच्च रक्तचाप भएको भनी निकै सतर्कता अपनाउनुपर्ने भन्ने गर्छौं ।

२. न्यून रक्तचाप 
    उच्च रक्तचापको ठीकविपरीत अर्थलाई न्यून रक्तचाप भनिन्छ । यदि सुरुको चाप सिस्टोलिक  १०० भन्दा कम र अन्त्यको चाप डाइस्टोलिक ६० भन्दा कम भएको अवस्था छ भने त्यसलाई न्यून रक्तचापको समस्या भनिन्छ । 
यो पनि समस्या नै हो तर उच्च रक्तचापको तुलनामा न्यून रक्तचापलाई धेरै महत्व दिइएको पाइँदैन । 

उच्च रक्तचाप किन हुन्छ 
वैज्ञानिकहरूले यस्तो भन्न नसकिने अवस्थालाई खास कारण थाहा नभएको ‘इडियोपेथिक’ भन्छन् । रक्तचाप उच्च हुनुलाई मोटर पम्पले फालेको पानीको प्रेसरसँग तुलना गर्न सकिन्छ । पानीको मात्रा जति छ त्यही अनुसारको पाइप जोडेर अन्यत्र लगेमा स्थितिमा केही नहुने तर पाइपको व्यास वा मोटाइ कम हुने र पानीको मात्रा वा प्रेसर उत्ति नै छ भने त अवश्य पनि पाइपमा झन् बढी दबाब हुन्छ । प्रेसर बढी भएमा अन्त्यमा पाइप नै फुट्न सक्ने वा मोटर पम्पमा क्षति पुग्ने अवस्था पनि आउनसक्छ । ठीक त्यसैगरी हामीले मुटुलाई मोटर पम्प र मुटुबाट शरीरभर फैलने रक्त नलीहरूलाई पाइप जस्तै मान्ने हो भने कारणवश मुटुको रगत फ्याँक्ने काम बढी तीव्रताका साथ हुनु वा रगतका नलीहरू कडा हुनु वा साँघुरो हुनु पर्ने अवस्था आउँछ । यही नै उच्च रक्तचापको कारण हो । यीबाहेक उच्च रक्तचाप हुने मुख्य कारणहरू यसप्रकार छन् ।

-    मुटु वा रक्तनलीसम्बन्धी विभिन्न खालका रोग लागेर,
-    रक्तनलीहरू कडा भएर वा रक्तनलीहरू साँघुरो हुने समस्या भएर,
-    रक्तनलीभित्र बोसो पदार्थ वा कोलेस्टेरोल भरिएर साँघुरो भएर,
-    रक्तसञ्चार प्रणालीले अनावश्यक विकार पदार्थहरू शरीरबाट फ्याँक्न नसकेर,
-    खानामा नुन, चिल्लो पदार्थ वा मसलादार खानाको बढी प्रयोग गरेर,
-    खानामा हरिया सागपात वा फलफूल नखाने बानी भएर,
-    चिल्लो, नुनिलो र मसालेदार खाना बढी खाने तर शारीरिक व्यायाम नगर्ने बानी भएर,
-    धूमपान तथा सुर्ती सेवन गरेर,
-    नियमित रूपमा बढी मात्रामा मद्यपान सेवन गरेर र चिया कफी बढी पिउने बानी भएर,
-    मोटोपन बढी भएर र उमेर ४० कट्न थालेपछि शारीरिक संरचनामै परिवर्तन आउने भएर,
-    निद्रा नपर्ने समस्या भएर वा निदाउन नपाएर,
-    मुटुसम्बन्धी रोगको समयमै उपचार नगरी जटिलतामा पुगेर,
-    हर्मोनसम्बन्धी गडबडका समस्याहरू भएर,
-    कुनै औषधीहरूको नियमित सेवन गरेर जस्तैः परिवार नियोजनको पिल्स् चक्की नियमित खाने, दुखाइ कम गर्ने औषधीहरू नियमित खाने, लागू औषधहरू खाने, मस्तिष्कसँग सम्बन्धित औषधीहरूको नियमित सेवन गर्ने आदि ।-    रगत क्यान्सर भएर,
-    फोक्सोको दीर्घकालीन रोग लागेर,
-    कहिलेकाहीँ दुर्घटनामा परेर चोट पटक लागेर,
-    मधुमेह रोग, निमोनिया र इन्फ्लुएन्जा रोग लागेर,
-    आत्महत्या गर्ने मनस्थिति भएर वा हत्या गर्ने सूचना पाएर,
-    मिर्गौला, कलेजो र रगतसँग सम्बन्धित अन्य रोगहरू लागेर,
-    रगतको कमी हुने रोग लागेर,
-    बढी चिन्ता वा तनावमा रहने र दैनिकी नै तनावयुक्त भएर,
-    ऐस आरामको जिन्दगी जिउने र शारीरिक व्यायाम नगरेर,
-    धुलो, धुवाँ, वातावरणीय प्रदूषण र बुढ्यौली लागेर, 
-    वंशाणुगत रूपमा रोग सरेर आदि ।

उच्च रक्तचापका लक्षण 
    उच्च रक्तचाप वास्तवमा लक्षणविहीन हुन्छ । जम्मा उच्च रक्तचापका बिरामीमध्ये ९० प्रतिशतमा यो रोग लागे पनि कुनै लक्षण नदेखिन सक्छन् भने १० प्रतिशतमा मात्र लक्षण देखापर्छन् । त्यसकारण उच्च रक्तचापमा लक्षण देखिनु निकै भाग्यमानी हुनु हो । किनकि लक्षण देखिएमा हामी तुरून्तै उपचारका लागि जान्छौं । नियमित रूपमा उपचारमा रहने, मुख बार्ने, नियमित जाँच गराउने मौका पाउँछौं ।

शरीरमा थप नोक्सानी नभई उपचार गरी दीर्घजीवी हुनसकिन्छ । तर कुनै पनि लक्षण नदेखिने हो भने मानिसले रोगले गरेको खराबीको बारेमा कुनै पत्तो पाउँदैन । फलस्वरूप नियमित स्वास्थ्य परीक्षण नगराउने, खानपानमा कुनै सुधार नगर्ने र कुनै पनि औषधीमूलो गर्न लाग्दैनन् ।  आफ्नो ज्यान नै जोखिममा पार्न सक्छन् । त्यसकारण उच्च रक्तचापमा लक्षणहरू देखापर्नुलाई राम्रो मानिन्छ । 
उच्च रक्तचाप भए नभएको त्यतिबेला मात्र थाहा हुन्छ, जतिबेला व्यक्ति कुनै पनि स्वास्थ्य संस्थामा गई ब्लड प्रेसर जँचाउँछ । उच्च रक्तचाप भएमा देखापर्ने मुख्य लक्षण तथा चिन्हहरू यस प्रकार छन् ।
-    टाउको दुख्ने, चिडचिडाहट हुने वा पसिना आउने, वाकवाकी लाग्ने,
-    चक्कर लाग्ने, तिरमिर देखिने,
-    चिन्ता पर्ने, मुटुको ढुकढुकी र नाडीको गति बढ्ने,
-    सास फेर्न कठिन महसुस् हुने र शरीरभारी हुने,
-    निद्रा नपर्ने,
-    नाकबाट रक्तश्राव हुने, बेहोश हुने,
-    उभिन र बस्न नसकी लड्ने,
-    हात खुट्टा वा अनुहारमा पक्षाघात हुनसक्ने आदि ।
    कहिलेकाहीँ उच्च रक्तचाप भएमा निकै खतरनाक जटिलताहरू पनि देखापर्न सक्छन् । यसको सुरूमै निदान गरी समयमै उपचार गर्न नसकिएमा बिरामीको अकस्मात मृत्यु पनि हुनसक्छ । उच्च रक्तचापका बिरामीमा हुनसक्ने ती जटिल अवस्थाहरू यस प्रकार छन् ।
-    कडा खालको छाती दुख्ने जसले गर्दा हर्ट अट्याक हुनसक्छ र बिरामीको तत्कालै मृत्यु पनि हुनसक्छ ।
-    मिर्गौला फेल भई मृत्यु हुनसक्छ ।
-    मस्तिष्कका ससाना रक्तनलीहरू फुटी मस्तिष्कमा रगत जम्न सक्छ ।
-    शरीरका अन्य भागहरूबाट पनि रक्तश्राव हुने, रगत जम्ने र गम्भीर समस्या देखापर्नसक्छ ।
-    कहिलेकाहीँ शरीरका कुनै अङ्गमा रक्तसञ्चालन हुन नसक्दा उक्त अङ्ग मर्छ र अङ्ग काटेर फाल्नुपर्ने हुनसक्छ ।
-    आँखामा असर गरी सदाका लागि अन्धो हुनसक्छ ।
-    श्रवणशक्ति नष्ट भई सदाका लागि बहिरो हुनसक्छ ।
-    पक्षाघात भई अपाङ्ग जीवन जिउनु पर्नसक्छ आदि ।

उच्च रक्तचापका निदान कसरी गर्ने ?
अधिकांश मुटुरोगका समस्या विश्वव्यापी रूपमा छन् । आधुनिक यान्त्रिकीकरणको युग र मानिसमा आएको गुणस्तरीय जीवनशैलीका कारण उच्च रक्तचाप जस्ता समस्याहरू आउने गरेका हुन् । समयसमयमा स्वास्थ्य परीक्षण नगर्ने हो भने जीवनको अन्त्य हुन सक्छ । उच्च रक्तचापका सम्भावित जोखिम पत्ता लगाउन निम्न परीक्षण गर्नुपर्छ ।
-    नियमित रूपमा ब्लड प्रेसरको जँचाउने ।
-    छातीको एक्स–रे गराउने ।
-     मुटुको एक्स रे (ईसीजी) गराउने ।
-    मुटुको चालसम्बन्धी अध्ययन गर्ने वा टी.एम.टी. परीक्षण गराउने ।
-    रगतमा सुगर, क्रियटिनिन, युरिया तथा कोलेस्टेरोल नियमित रूपमा परीक्षण गर्ने । 

उच्च रक्तचाप भएलेमा
उच्च रक्तचाप भएमा रोकथामका विधिहरू छन् । विदेशीहरूले मुटुसम्बन्धी कुनै पनि समस्या नआओस् र दीर्घजीवन जिउन सकियोस् भनी ४० कटेपछि वा नियमित स्वास्थ्य परीक्षण गर्छन् । समस्या आउनासाथ रोकथामका उपायहरू अपनाउन थाल्छन् । तर हामीमा त्यसस्तो सतर्कता छैन । यो बारेमा बुझ्ने व्यक्तिले समेत लापरवाही गरेको पाइन्छ । यसको उपचारका विधि निम्न छन् 
-    चिकित्सकको सल्लाहमा नियमित औषधी सेवन गर्ने । औषधी सेवन गर्नुअघि आफूलाई उच्च रक्तचाप भएको कारण पत्ता लगाउनुपर्छ । 
-     मिर्गौला, मुटु, प्याङ्क्रियाज, कलेजो, फोक्सो आदिमा आएको खराबीले पनि उच्च रक्तचाप हुन सक्छ । त्यसबारे पत्ता लगाई ती अङ्गहरूको उपचार वा शल्यक्रिया गर्नुपर्ने हुनसक्छ ।
-     मोटोपन, मधुमेह, कोलेस्टोरेलका कारण पनि उच्च रक्तचाप हुनसक्छ । यसलाई आवश्यक औषधी उपचार वा खाना बारेर र शारीरिक व्यायाम गरेर नियन्त्रण गर्न सकिन्छ ।

उच्च रक्तचापको समस्या रोकथाम 
उच्च रक्तचाप धनी, गरिब, मोटा, पातला, बच्चा, बुढाबुढी, महिला, पुरूष सबैमा हुन सक्ने सम्भावना भएकोले निम्न उपाय अपनाउनुपर्छ । 

-    नुन उच्च रक्तचापका लागि सबैभन्दा खतरा हुन्छ । खानामा नुनको मात्रा कम राख्ने बानी गर्नुपर्छ । नुन कम गरेमा ५० प्रतिशत यो रोग र अन्य रोगको पनि निवारण हुनसक्छ । हामीलाई एक दिनमा जम्मा ६ ग्रामभन्दा पनि कम नुन भए पुग्छ ।
-    चिल्लो कम भएको, सन्तुुलित आहारयुक्त खाना खाने र त्यसमा प्रशस्त सागपात तथा फलफूल हुनुपर्छ ।
-    शारीरिक अभ्यास नियमित रूपमा गर्ने बानी बसाल्नुपर्छ । हप्तामा साढे दुई घण्टा साइकल चलाएर वा छिटो हिँडेर अभ्यास गर्नसकिन्छ । कडा खालको शारीरिक अभ्यास उच्च रक्तचापका बिरामीको लागि सिफारिस गरिँदैन । चिसोबाट बँच्नुपर्छ, धेरै चिसो पानीमा दिनहुँ ननुहाउने, चिसो याममा मर्निङ वा इभिनिङ हिँडाइ समेत राम्रो मानिदैन ।
-    चुरोट, सुर्ती वा जाँडरक्सीको सेवन गर्नुहुँदैन । एक हप्तामा १४ युनिटभन्दा बढी रक्सी खानुहुँदैन ।
-     तौल सामान्य राख्नुपर्छ र बढी तौल भएमा घटाइहाल्नुपर्छ ।
-    चिया, कफी वा कोकाकोला बढी खानुहुँदैन । एक दिनमा ४ कपभन्दा बढी चिया कफी खाएमा उच्च रक्तचाप हुनुसक्छ ।
-     प्रयेक दिन कम्तीमा पनि ६ देखि ८ घण्टा निदाउनुपर्छ । मनमा कुनै चिन्ता नलिने र आफूलाई सधैँ सक्रिय राख्ने गर्नुपर्छ ।
-    कुनै पनि रोगको समयमै निदान गरी उचित उपचार गरिहाल्नुपर्छ ।
-    नियमितरूपमा चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गर्नुपर्छ तर औषधीले रोग निको भयो भनी बीचैमा औषधी छाड्नुहुँदैन ।
-    कतिपय औषधीका प्रतिअसरहरू पनि हुन्छन् । जस्तैः खोकी लाग्नु, टाउको दुख्नु, चक्कर लाग्नु, शरीरमा बिबिराहरू देखापर्नु, रूघा खोकी लागिरहनु, खुट्टा सुन्निनु, कब्जियत हुनु, बढी पिशाब लाग्नु, हातखुट्टा चिसो हुनु आदि । यस्ता असरहरू देखापरे पनि औषधी आफूखुशी छाड्नुहुँदैन । चिकित्सकले कुनै औषधी फेरबदल गर्ने वा डोज घटाउने बढाउने गरी उपचार गर्ने गर्छन् ।
    यसरीमाथि उल्लेखित रोकथामका उपायहरू अपनाउनाले उच्च रक्तचाप त नियन्त्रणमा आउँछ नै, अन्य खालका रोगहरूलाई पनि फाइदा पुग्छ । अतः उच्च रोकथामका उपायहरू अपनाउन बेलैमा होशियारी अपनाऔँ । स्वस्थ रहौं, सुखी बनौं । सबैमा शुभकामना । 

(लेखक नेपाल सरकारबाट निवृत्तिभरण प्राप्त जनस्वास्थ्य निरीक्षक हुन्)

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...