किसान को हुन् ?
मैले मेरो पेसाको थालनी सन् १९८० को दशकमा गरेको हो । तपार्इंहरूलाई त्यसबेलाको अनुभव सुनाऊँ, त्यतिबेला हरेक राम्रा भनिएका पत्रिकाहरूमा मजदुर र कृषि संवाददाता हुन्थे । तर हिजो–आज समय फेरिएको छ । आज पत्रिकाहरूमा कृषि संवाददाता नै हुँदैनन् । यदि झुक्किएर भै पनि हाले भने उनीहरूले कृषि, किसान र त्यहाँ काम गर्ने कृषि मजदुरको समाचार बनाउन होइन कि कृषि मन्त्रीले के बोल्छन् भनेर त्यसलाई कभर गर्न खटिएका हुन्छन् ।
दुःखको कुरा भनौँ उनीहरू कहिलै आफ्नो वास्तविक कार्यक्षेत्रमा जाँदैनन् । उनीहरू कहिलै कृषि मण्डी जाँदैनन् । मन्त्रालयबाट आएको प्रेस विज्ञप्ति अथवा ठूला कर्पोरेट हाउसहरूबाट आएको विज्ञप्तिको समाचार लेखेर नै उनीहरूले जागिर धानिरहेका हुन्छन् । पत्रिकाहरूले पनि अरू समाचार छाप्नेभन्दा त्यही विज्ञप्तिको समाचार छापेर कृषि समाचार भनेर पत्रिकाका पाना भरिरहेका हुन्छन् ।
आज पत्रिकाहरूमा मजदुर, कृषि र रोजगार बिट हेर्ने पत्रकारहरू पाउनै गारो छ । त्यसो त उनीहरूको पत्रकारहरू बीच कुनै ‘डेजिग्नेसन’ नै छैन । अहिले कसैले पनि यी विषयलाई सामाचारपत्र, टेलिभिजन, रेडियोमा दिन चाहँदैनन् । तर विजनस, कर्पोरेट कभर गर्न भने हरेक पत्रिकाहरूमा ८ देखि १० जना पत्रकार खटिएका हुन्छन् । मुम्बई जस्तो ठाउँमा त कम्तीमा पनि एक दर्जन पत्रकारहरू विजनेसको विभिन्न शीर्षकमा खटिएका हुन्छन् । उनीहरूको काम नै ‘कर्पोरेट विजनस म्यान’, ‘कर्पोरेट विजनस हाउस’लाई कभर गर्नु हो ।
मेरो भनाइ के हो भने यदि हामीले कुनै पनि पत्रिका, टेलिभिजनमा मजदुर, कृषि र रोजगार बिट हेर्ने संवाददाता राख्दैनौँ भने हामीले देशको कुल जनसङ्ख्याको ७५ प्रतिशतको समाचार नै बनाइ रहेका छैनौँ । हामीले मजदुर, कृषि र रोजगार बिटमा संवाददाता नराख्नुको अर्थ हो हामीलाई उनीहरूमा समाचार नै देखिँदैन । त्यसैले हामीले उनीहरूको समाचार बनाउँदैनौँ । यही पत्रपत्रिका, टेलिभिजनको आधिकारिक धारणा हो ।
यसो भन्नुको सोझो अर्थ हो मलाई यो देशको ७५ प्रतिशत जनताप्रति कुनै स्वाद छैन । जब २–३ हजार मान्छे मर्छन् अनि समाचार लेखौँला नि । आज हाम्रो देशको पत्रकारिताको मूल चरित्र यही हो र यही भैरहेको छ । यहाँ ध्यान दिनुपर्ने एउटा कुरा के छ भने मैले उठाएका ती बिटहरूमा पत्रकारहरूले काम गर्न छोडेदेखि सम्बन्धित क्षेत्रमा हुनुपर्ने विशेषज्ञता पनि अन्त्य हुँदै गइरहेको छ ।
मलाई धेरैजसो पत्रकार साथीहरूले फोन गरिराख्नु हुन्छ । उहाँहरूले के भन्नु हुन्छ भने– मलाई एउटा ‘असाइमेन्ट’ दिएर कोलापुरको चप्पल कारखाना पठाइएको छ तपाईंले त्यसबारे केही बताइ दिनुस न । त्यसपछि मसँग उहाँहरू ४, ५ मिनट कुरा गर्नु हुन्छ अनि साँझ यसो हेर्दा त्यही रिपोर्ट टेलिभिजन र बिहानपख पत्रिकाहरूमा प्रकाशित भइरहेको हुन्छ । यो सही होइन ।
७५ प्रतिशत जनता यसबाट पीडित छन् । तर पाँच वर्ष यताको तथ्याङ्ले पत्रिकाको पहिलो पृष्ठमा ०.६७ प्रतिशत समाचार यस विषयमा छापिएको देखाउँछ । त्यसैगरी टेलिभिजनको प्राइम टाइममा ०.८२ प्रतिशत समाचार र स्टोरीहरू प्रसारित हुने गरेका छन् । सम्पादकहरूलाई थाहा हुनुपर्छ कि उनीहरूको पत्रिकाको पहिलो पृष्ठमा भारतको ग्रामीण क्षेत्रको समाचार जम्मा ०.६७ प्रतिशत मात्र अटाउने गरेको छ । सही तथ्याङ्क हो । यही वास्तविकता हो ।
मैले कुनै पत्रकार, सम्पादकलाई आरोप लगाएको होइन । यही हाम्रो वास्तविकता हो भनेर देखाएको मात्र हो । यदि कुनै पनि विषयमा त्यहाँको सम्पादक, पत्रकार अथवा म्यानेजमेन्टलाई रुचि र चासो नै छैन भने त्यो क्षेत्रबाट विशेषज्ञताको आशा गर्नु बेकार हुन जान्छ । तपाईंले काम नै नगर्दासम्म तपाईंमा त्यसको बृहद ज्ञान कसरी हुन्छ ? अहिले किसानहरूको कुनै पत्रिकाले स्टोरी गर्ने गरी कभर गरे भने कुनै स्पोर्टस्को कभर गरेझैँ नितान्त एउटा किसानलाई भगवानलाई गुहारेझैँ गर्न लगाएर फोटोसेसन गर्छन् र स्टोरी फाइल गर्छन् ।
यसले किसानहरूको समस्या, व्यथा, परिस्थिति र अवस्थितिका बारे केही बुझ्दैन, त्यस्ताले किसानको स्टोरी कभर गर्नु भनेको ‘स्टेज फोटोग्राफी’ गर्नुभन्दा केही फरक होइन । यस्तो फोटोग्राफी, स्टोरी कभर किसनाहरूको आत्मसम्मानको दृष्टिकोणमा निकै भद्दा मजाक हो । यस्तो गर्दैगर्दा एउटा पत्रकारले किसानको आत्मसम्मानमा ठुलो चोट पुर्याइरहेको हुन्छ । किसान कुनै वस्तु होइन, जसलाई एउटा पत्रकारले बारम्बार हेपी रहोस । जसले यी सबै गरिरहेका हुन्छन्, उनीहरूलाई यति पनि थाहा हुँदैन कि भारतमा किसानहरूको वास्तविक जनसङ्ख्या कति छ ।
अरूको त के कुरा भारतको नीति आयोगमा बसेका ठूला मान्छे अरविन्द पानागरियालाई समेत थाहा छैन कि भारतमा किसानहरूको सङ्ख्या कति छ । उनले र जगदीश भगवतीले लेखेको किताब ‘ह्वाई ग्रोथ म्याटर्स’मा उनीहरूले किसानहरूको आत्महत्या एउटा मजाक हो भने । किनभने भारतको कुल जनसङ्ख्याको कुल ५३ प्रतिशत किसानमा यो दरमा आत्महत्या हुनु भनेको आम र सामान्य कुरा हो । यति लेख्दै गर्दा उनीहरूले कि त भारतको राष्ट्रिय जनगणनाको तथ्याङ्क हेरेनन् कि उनीहरूलाई त्यसबारे ज्ञान नै छैन ।
त्यसपछि मैले उनीहरूलाई जबाफ दिँदै यो कुरा गलत हो भने । भारतमा ५३ प्रतिशत किसानहरू छन् भन्ने कुरा गलत हो । भारतमा कृषिको बृहद क्षेत्रमा ५३ प्रतिशत मानिसहरू जोडिएका त छन् तर उनीहरू सबै कृषक होइनन् । किनभने भारतको कृृषि क्षेत्रमा फरेस्ट्री, फिसरी, पशुपालन जस्ता कयौँ क्षेत्र यसभित्र आउँछ । त्यसैले यो सबै क्षेत्रमा भएको जनसङ्ख्यालाई हामीले कृषक भन्न मिल्दैन ।
यसलाई बुझाउन म दुईवटा उदाहरण दिन्छु । जस्तै भारतको बलिउड रोजगारीका लागि ठूलो उद्योग हो । तर बलिउडमा हुने सबै कलाकार होइनन् । ती सबै कलाकारमध्ये पनि सबै नायक होइनन् । त्यहाँ क्यामेरा, लाइट, अरेन्ज, डिस्टिब्युटर हुँदै चिया पकाउने पनि हुन्छ तर ती न कलाकार हुन न हिरो । त्यसैले कलाकार, र नायकको सङ्ख्या त्यो पूरै सिनेमा उद्योगमा निकै झिनो छ । त्यस्तै शिक्षा क्षेत्र पनि निकै ठूलो क्षेत्र हो । के त्यस क्षेत्रमा हुने सबै विद्यार्थी मात्र हुन् ? त्यो पूरै क्षेत्रमा विद्यार्थी त्यसको एउटा भाग मात्र हो । त्यस्तै त्यहाँ कर्मचारी, शिक्षक, अभिभावक, शिक्षाका लगानीकर्ता लगायत अरू पनि त्यस क्षेत्रका एउटा–एउटा भाग हुन् ।
त्यसैगरी कृषि क्षेत्रमा सक्रिय सबै किसान होइनन् । भनेपछि भारतमा किसानको हो त ? र उनीहरू कति प्रतिशत छन् ? किसानको ५३ अथवा १० प्रतिशत भएमा त्यसले के फरक पर्छ ? म यसबारे केही बोल्न चाहन्छु । किनभने भारतमा यस विषयमा निकै ठूलो भ्रम व्याप्त छ । यहाँ अर्को महत्वपूर्ण कुरा के हो भने भारतमा किसानहरूको सङ्ख्या ह्वात्तै घट्दैछ ।
यहाँ हामीले ध्यान दिनुपर्ने मुख्य दुई कुरा छ । मजदुरमा दुई तह हुन्छ । मुख्य मजदुर र सीमान्तकृत मजदुर । मुख्य मजदुर भनेको त्यही हो, जसले एउटै पेसामा अथवा एउटै क्षेत्रमा वर्षको कुल १८० दिन काम गर्छ । तर सीमान्तकृत मजदुर त्यो हो, जो आफ्नो क्षेत्रमा अथवा एउटै काममा वर्षको १८० दिन पनि टिक्न सक्दैन । उसले रोजगारीका विभिन्न विकल्पहरूको खोजी गरिरहन्छ ।
मैले १८० किन भनेको भने यदि हामीले एउटा सामान्य समयसिमा राखेनौँ भने हरेक कर्पोरेट हाउसको ठूलो मान्छे हप्ताको शनिबार र आइतबार नासिक गएर अलिकति माटो खेलाउँछ र म किसान हुँ भन्छ । हाम्रो जस्तो देशमा सरकारी अधिकारीहरूलाई कागजपत्र देखाएर अमिताभ बच्चन किसान हुन सक्छ भने एउटा कर्पोरेट हाउसको सीईओ किसान हुँ भन्न कुनै बेर लाग्दैन । तपार्इंहरूलाई थाहा छ नि अमिताभ बच्चनले उत्तर प्रदेशको बारबन्कीमा मेरो कृषि जमिन छ भनेर मैले महाराष्ट्रमा पनि कृषि जमिन किन्न पाउँछु भनेर प्रमाण पेश गरे ।
जुन देशमा अमिताभ बच्चनलले आफू किसान भएको प्रमाणपत्र देखाउन सक्छ, त्यहाँ वास्तविक किसान को हो भनेर त्यसको सही परिभाषा निर्माण गर्नुपर्ने हुन्छ । यो कुरा किसानहरूको हितमा छ भनेर मात्र होइन । मुख्य मजदुर र सीमान्तीकृत मजदुरको सङ्ख्या छुट्याउन पनि यो गर्नुपर्नेछ । एउटै क्षेत्रमा अथवा काममा १८० दिनभन्दा कम काम गर्नेलाई ‘मार्जिनल कल्टिबेटर’ र १८० भन्दा बढी काम गर्नेलाई ‘मेन कल्टिवेटर’ भन्नुपर्ने छ ।
म यो कुरा निकै सजिलो गरी भनिरहेको छु । किनभने मिडियाका साथीहरूले तथा आम मानिसले पनि यो कुरा स्पष्ट रूपमा बुझ्न जरुरी छ । १८० दिनलाई आधार मानेर हेर्ने हो भने भारतमा किसानको सङ्ख्या ८ प्रतिशतभन्दा पनि कम छ । सन् २०११ को जनगणनामा ९ करोड ८० लाख (९८ मिलियन) मान्छे सीमान्तकृत किसानको सूचीमा पर्छन्, जुन १० प्रतिशतभन्दा पनि कम हुन आउँछ ।
खेतमा काम गर्ने खेतिहर मजदुर, सीमान्तकृत मजदुरसहित सबै क्षेत्रमा रहेका किसानहरूलाई जोडेर हेर्ने हो भने पनि यो सङ्ख्या २४ प्रतिशतभन्दा थोरै हुन आउँछ । तर पानागरिया र जगदीश भगवती भने देशमा ५३ प्रतिशत किसान छन् भन्छन् । मैले अघि माथि तपार्इंहरूलाई सङ्केत गरेको थिएँ । तपाईंहरूले कत्तिको ध्यान दिनुभयो, भारतमा किसानहरूको सङ्ख्या निकै डरलाग्दो तरिकाले तल झरिरहेको छ ।
सन् १९९१, २००१ र २०११ को जनसङ्ख्याको तथ्याङ्क हेर्नुभयो भने तपाईंहरूले किसानको घट्दै गरेको सङ्ख्या कति डरलाग्दो छ भन्ने थाहा पाउनुहुन्छ । सन् १९९१–२००१ सम्मको दश वर्षमा ‘मेन कल्टिभेटर’ किसानको सङ्ख्या ७२ लाखले तल झरेको छ भने २००१–०११ सम्ममा ७७ लाख किसानले आफ्नो पुरानो पेसा छोडेका छन् । यसको अर्थ २० वर्षमा ढेड सय लाख किसानहरूले आफ्नो कृषि पेसा छोडेका छन् ।
यसको अर्थ प्रत्येक दिन झण्डै २ हजार किसान देशले गुमाइरहेको छ । तपाईंलाई लाग्न सक्छ, यतिका किसानले आफ्नो कृषि पेसा छोडेर कहाँ जाँदैछन् त ? पहिलो त उनीहरू बसाइसराई गर्दैछन् । अर्को कुरा तपाईंले त्यही जनगणनामा खुट्याउन सक्नुहुन्छ किसानको सङ्ख्या घट्दै छ तर खेती मजदुरको सङ्ख्या निकै नै वृद्धि भइरहेको छ । यसको सीधा अर्थ के हो भने लाखौँ किसानको भूमि र खेती चौपट भयो र ऊ वास्तविक किसानबाट खेती मजदुरमा परिणत भयो ।
मेरो आफ्नो आन्ध्र प्रदेशमा (त्यतिबेला आन्ध्र र तेलङगाना छुट्एिको थिएन) २००१–२०११ सम्म किसानहरूको जनसङ्ख्या १३ लाखले घट्यो भने खेती मजदुरको जनसङ्ख्या ३६ लाखले बढ्यो । यसको सोझो अर्थ ग्रामीण क्षेत्रहरूमा किसानहरू मात्र सरकारी नीतिको शिकार भएका छैनन् कि अरू पनि धेरै यस्ता मान्छेहरू छन् । जो आफ्नो पुस्तैनी पेसा छाड्न बाध्य छन् ।
तपाईंहरूले किसानहरूले आत्महत्या गरेका बारेमा पढ्नु भएको छ । तर ग्रामीण क्षेत्रका डकर्मी, सिकर्मीहरू भोकले मारिँदै गरेको पढ्नुभएको छैन होला । भारतका ग्रामीण क्षेत्रहरूमा डकर्मी, सिकर्मीको भोकका कारण मृत्युको सङ्ख्या अपत्यारिलो ढङ्गले बढिरहेको छ । यसको सम्बन्ध पनि किसानहरूको आत्महत्या, किसानहरूको कृषिबाट विस्थापनलगायतका कारणसँग जोडिएको छ । किसान भने बैङ्कको ऋण चुक्ता गर्न नसकेर आत्महत्या गर्दैछ । ऊ कृषि पेसामा टाट पल्टिने अवस्थाले पलायन हुँदैछ । तर को मोटाउँदैछन त ? यो प्रश्नको जवाफ सरकारमा बसेका कसैले पनि दिन खोज्दैनन् ।
वास्तविकता यही हो ।
(पी साइनाथ भारतका वरिष्ठ पत्रकार तथा ग्रामिण क्षेत्रमा किसानहरूको आत्महत्या बारे लेख्ने पत्रकार हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपा लिगमा लियोंको शानदार प्रदर्शन
-
मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे सोझै कारबाही
-
रिसाए पुटिन, युक्रेनको मुख्य केन्द्र भागमै क्षेप्यास्त्र प्रहारको धम्की
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओली र चीनका राष्ट्रपतिबिच भेट तयदेखि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा अलमलसम्म
-
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो