शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ईस्मा बन्यो ‘डेन्जर जोन’:  ५ महिनामा  ५ बलात्कार

बुधबार, २८ कात्तिक २०७५, १८ : ०६
बुधबार, २८ कात्तिक २०७५

बुटवल– ५ नम्बर प्रदेशभरमा गुल्मीको ईस्मा गाउँपालिका बलात्कार घटनामा ‘डेन्जर जोन’का रुपमा देखा परेको छ । अत्याधिक मदिरा सेवन र कुटपिट घटनामा पनि यो गाउँपालिकाले अन्य स्थानीय तहलाई उछिनेको छ ।

गत ५ महिनामा मात्रै सो गाउँपालिकामा पुरुषले मदिराकोे मातमा पाँच जना महिला बलात्कार गरेका छन् ।  सो गाउँपालिका वडा नम्वर ६ ईस्मारजस्थलका ३७ बर्षका एक पुरुषले आफ्नै १० बर्षीया छोरीलाई यौन दुव्र्यबहार समेत गरे ।

सोही वडाका धनबहादुर चुँदराले ७ भदौमा मानसिक सन्तुलन गुमाएकी ३५ बर्षीया महिलालाई बलात्कार गरे । नसाकै मातमा वडानम्वर ३ दर्लामचौरका ३६ बर्षे देवबहादुर सार्कीले २० बर्षीया युवतीलाई बलात्कार गरे । त्यस्तै वडा नम्वर २ हस्तीचौरका ३९ बर्षका प्रेमबहादुर कार्कीले ११ असारमा ११ बर्षे बालिकालाई बलात्कार गरे । उनी फरार छन ।
 
कार्की बाहेक चारवटै घटनाका अभियुक्तलाई प्रहरीले पक्राउ गरी कानुनी कठघरामा उभ्याइसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका मुद्धा शाखाका प्रहरी नायव निरीक्षक शेरबहादुर खत्रीले बताए । गत  फागुन २९ मा वडा नम्वर ३ दर्लामचौरका १६ बर्षे किशोरले ६ वर्षीया बालिका बलात्कार गरेका थिए । उनी अहिले सुधार गृहमा छन् ।
 
गत हप्ता मात्रै ईस्मा ६ अमरपुरका २५ बर्षीय रेशम कुमालले १४ बर्षीया किशोरीलाई बलात्कार गरे  । उनी पनि अहिले प्रहरी हिरासतमा छन् ।  मदिराकै कारण यौन हिंसासहित अन्य प्रकारका हिंसाका घटना  पनि त्यस गाउँपालिकामा हुँदै आएका छन् ।

ईस्मा ६ अमरपुरका भुवनबहादुर कुमालले केहिदिन अघि मात्र मदिरा सेवन गरी श्रीमति बिना कुमाललाई निर्घात कुटपिट गरे । सोही वडा वुल्म गाउँकी तिल्ली कुमालले मदिरा पिएको झोंकमा आफ्नै घरमा आगो लगाइन् । यस अघि पनि मदिरा सेवन गरी एक पुरुषले पनि आफ्नो घरमा आफै आगो लगाएका थिए ।

केहि बर्षअघि त्यसै ईस्मा गाउँपालिकोको वुल्म गाउँका एक पुरुषले मदिरा सेवन गरी श्रीमतीको हत्या गरेका थिए । हत्या गरी  घरको तलामा हत्मा हत्या गरिन् भन्ने पार्न उनले झुण्डाएका थिए । मेडिकल रिर्पोटबाट समेत ती महिलाले आत्माहत्या नै गरेकी हुन् भन्न प्रहरीले ठहर गरेर ती पुरुष केही महिना मुक्त भएर बसे ।
 
पछि स्थानीय र मिडियाले उनले कुटेर हत्या गरेको आवाज बाहिर ल्याए । त्यसलगत्तै प्रहरीले उनलाई पक्राउ गर्यो र हत्यानै गरेको पुष्टि गर्दै कारागार चलान गरियो । आत्महत्याका घटना पनि ईस्मामा अन्यत्रभन्दा बढीनै भएका छन् । बिरामी अबस्थामा औषधि लिइरहेका बेला मदिरा सेवन गर्न नछाडेका कारण ईस्मा २ हस्तीचौरका ५८ बर्षे शिवबहादुर खत्रीको भाइटिकाको राती ज्यान गयो ।  ईस्माको  स्थिति विकाराल बन्दै गएको भन्दै  ईस्मागाउँपालिका प्रमुख लक्ष्मण बिष्टले चिन्ता व्यक्त गरे ।

उनी भन्छन्– ‘मदिरा सेवन र हिंस्रक घटनामा ईस्मा डेन्जर जोननै बन्न पुगेपछि आजै मात्र मैले एसपी  र सिडियोलाई फोन गरेर यसको न्युनिकरणका लागि के गर्न सकिन्छ ? भनेर सुझाव लिने काम गरें ।  उहाँहरुको सल्लाह अनुसार मंसिर १० पछाडी घरघर र टोलटोलमा पुगेर सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने भएका छौं ।’
 
उनी थप्छन– ‘यसको कारक मदिरा नै हो । अब  घरेलु मदिरा विक्री वितरणलाई निषेधनै गर्ने छौं । लाईसन्सवालाहरुलाई पनि को कस्तो व्यक्तिलाई दिने, नदिने नियम बनाएर न्यूनिकरणमा जुट्दै छौं ।’
 
जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले पनि ईस्मा  भईरहेका यस्ता घटना मदिरा सेवन ब्याप्त भएकै कारण घटेको बताउँदै त्यहाँ विशेष कार्यक्रम  लैजानुपर्नेमा जोड दिन्छन् । गुल्मीमा १५ दिनका अन्तरालमा मदिराकै मातमा दुई पुरुषले आ–आफ्ना श्रीमतीको कुटेर हत्या गरेका छन् ।
 
केहि दिनअघि गुल्मीकै चन्द्रकोट गुल्मीको चन्द्रकोटमा पनि एक महिलाको रहस्यमय रुपमा ज्यान गएको छ । उनका माईती जनले परिवारका सदस्यबाटै हत्या गरेको आरोप लगाउँदै न्यायका लागि विभिन्न व्यक्ति र निकायमा धाईरहेका छन् ।  
    
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप