दराजको मेगा डिल : यसरी ठगिए उपभोक्ता
काठमाडौँ । अनलाइन सपिङको जायण्ट अलिबाबाको दक्षिण एसिया संस्करण दराजले ११.११ अर्थात् नोभेम्बर ११ लाई आफ्नो सेल डे मनाउने भनेर सामाजिक सञ्जालदेखि मिडियाबाट ठूलै प्रचारप्रसार गर्यो । ८० प्रतिशतसम्म डिस्काउन्ट दिने भन्दै ‘मेगा डिल’ को हौवा फिँजायो र १० लाखभन्दा बढी सामानको लिस्ट रहेको भन्दै व्यापक प्रचारप्रसारमा उत्रियो ।
नोभेम्बर ११ आयो, दराजले आफ्नो लिस्टमा रहेको लाखौँ लाख सामानको व्यापार गरायो र त्यसबापतको निश्चित प्रतिशत कमिसन पनि पायो ।
तर दराजले जसरी हेभी डिस्काउन्टको ललिपप देखायो, त्यो केवल झुट मात्रै भएको सिद्ध भएको छ ।
दराजले डिस्काउन्टको ललिपप देखाएर आम उपभोक्तालाई ठगी गरेको भन्दै सामाजिक सञ्जालदेखि चिया पसलमा समेत चर्चा र बिरोध सुरु भएको छ ।
पहिले हेरौं दराज डट कम डट एनपीको मेगा सेलका केही फन्डा ।
पहिले यो घडी हेर्नुहोस् । न्याभी फोर्सको एन एफ ९११७ मोडलको यो घडी दराजमै २ वटा मूल्यमा बेचिएको छ ।
घडीको एमआरपी ४ हजार ५ सय ७५ रुपैयाँ राखिएको छ र त्यसमा ५२ प्रतिशत छुट दिइएको भनी २ हजार १ सय ९९ रुपैयाँमा बेच्न राखिएको छ ।
यही कम्पनीको यही मोडलको अर्को घडी पनि हेर्नुहोस् ।
यो घडी पनि न्याभी फोर्स कम्पनीको एन एफ ९११७ मोडलकै उही रङको अर्को घडीलाई भने २ हजार ६ सय ५० रुपैयाँमा बेच्न राखिएको छ । यो घडीको मूल्य ४ हजार ६ सय रुपैयाँ भनिएको छ र त्यो मूल्यमा ४२ प्रतिशत छुट भनी २ हजार ६ सय रुपैयाँमा बिक्रीमा राखिएको छ ।
यो घडी दराजमा मात्रै किन्न पाइने घडी होइन । यो घडी बाहिर बजारमा पनि किन्न पाइन्छ र यो घडी करिब २ हजारको हाराहारीमा किन्न सकिन्छ ।
तर दराजले मेगा सेल भन्दै बिक्रीमा राखेको यो घडीलाई अधिकांश उपभोक्ताले २ हजार ६ सय ५० रुपैयाँमा अनलाइन सपिङ गरी डेलिभरी चार्जबापत थप ५० रुपैयाँ तिरेका छन् ।
अनलाइनमा बढी बिक्री भएको अर्को घडीको कथा पनि हेरौं ।
दराजले मेगा सेलमा राखेको पाइडुको यो लेडिज वाचको मूल्य दराजमै दुई तीनवटा राखिएको छ ।
दराजमा बिक्रीका लागि राखिएको र हेर्दा पनि आकर्षक देखिने यो घडीको वास्तविक मूल्य २ हजार रुपैयाँ भनिएको छ ।
तर एमआरपी अर्थात् वास्तविक बिक्री मूल्य २ हजार भनिएको यस घडीलाई दराजको मेगा सेलमा ५२ प्रतिशत छुट दिँदै ९ सय ५० रुपैयाँमा बिक्रीमा राखिएको छ । त्यसमा ५० रुपैयाँ डेलिभरी चार्ज तिरी उपभोक्ताले एक हजार रुपैयाँमा यो घडी किन्न सकिने बताइएको छ ।
तर दराजमा यही मोडलको अर्को घडी पनि राखिएको छ । यो घडीको मूल्य भने जम्मा ६ सय ९९ रुपैयाँ राखिएको छ । यो त्यही पाइडुको त्यही घडी हो, जसको मूल्य दराजमै फरकफरक राखिएको छ ।
अब कुरा रह्यो यसको बजारमूल्य । आखिर यो घडी बजारमा कति मूल्यमा किन्न पायन्छ त ? नयाँबजारका एक घडी व्यापारीका अनुसार यो घडी उनीहरूले होलसेलमा खरिद गर्दा करिब ५ सय रुपैयाँमा खरिद गर्न सकिन्छ । बिक्री गर्दा पनि ६ सय ५० रुपैयाँभन्दा बढी लिने गरिएको छैन । तर घडीको एमआरपी भन्दै खरिद मूल्यमा ४ सय प्रतिशत बढाएर त्यसमा डिस्काउन्टको नाटक मञ्चन गरिएको छ ।
अब अर्को सामानको मूल्य पनि हेरौं ।
हेर्दा आकर्षक देखिने यो लेडिज ब्लेजरको मूल्य दराजमा १ हजार ८ सय ५० रुपैयाँ राखिएको छ ।
तर दराजमै यही ब्लेजरको अर्को मूल्य पनि छ । यही ब्लेजरको अर्को मूल्य भने १ हजार ६ सय ६५ रुपैयाँ राखिएको छ ।
यी दुवै ब्लेजरमा एमआरपी कति हो भन्ने उल्लेख गरिएको छैन । तर डिस्काउन्टको कुरा उल्लेख नगरे पनि दराजमै दुईवटा मूल्य राखेर बिक्री गरिएको छ ।
अब यसको बजार मूल्य हेर्नतिर लागौं । न्युरोडको होलसेल पसलमा काम गर्ने धादिङका आकाश श्रेष्ठले वनस्थली ढुङ्गेधारामा कपडाको पसल खोलेका छन् । आकाशले यही मोडलका धेरै ब्लेजर बेचे ।
आकाशले यस ब्लेजरलाई पहिले ७ सय ५० रुपैयाँ प्रतिपिसका दरले किनेका थिए । उनले यो ब्लेजरलाई अधिकतम १ हजार १ सय रुपैयाँसम्ममा बिक्री गरेका छन् ।
तर दराजले मेगा सेल भनेर बिक्रीमा राख्दा भने यो ब्लेजरको मूल्य १ हजार ८ सय ५० रुपैयाँ तिर्नु परेको छ ।
दराजको ‘मेगा’ फन्डा
दराजले ११.११ अर्थात् नोभेम्बर ११ मा ८० प्रतिशतसम्म छुट दिने भन्दै व्यापक प्रचारप्रसार गर्यो । १० लाखभन्दा बढी सामानहरूको लिस्ट आफूसँग रहेको भन्दै लाखौँ लाख रुपैयाँको विज्ञापन पनि गर्यो । उपभोक्ताहरू दराजले ८० प्रतिशतसमम छुट दिने भन्दै बजार नगई नगई दराजको ११.११ अफर कुरेर बसे ।
तर जब नोभेम्बर ११ अर्थात् मेगा डिलको दिन आयो । सामानहरूको मूल्यलाई दुई गुणाभन्दा बढी राख्दै त्यसमा डिस्काउन्टको नाटक गरियो ।
अब स्यामसुङको केही मोबाइलहरूको मूल्यसूची हेरौं ।
यो दराजले बिक्रीमा राखेको मोबाइलको मूल्यसूची हो ।
अब स्यामसुङले बिक्री गर्ने मूल्य, एमआरपी र रिटेलर प्राइस पनि हेरौं ।
यो मूल्यमा अझै २ प्रतिशतसम्म छुट पाइन्छ ।
एउटा उदाहरण हेरौं ।
स्यामसुङको जे सिक्स प्लस मोबाइलको मूल्य दराजमा २२ हजार ८ सय रुपैयाँ राखिएको छ । यसको एमआरपी अर्थात् बजार मूल्य भने २६ हजार ९ सय ९० रुपैयाँ राखिएको छ । त्यो मूल्यमा १६ प्रतिशत छुट दिएको भन्दै उक्त मोबाइललाई २२ हजार ८ सय रुपैयाँमा बिक्रीमा राखिएको छ ।
अब जाऊँ यसको होलसेल मूल्य र बजार मूल्यतर्फ ।
स्यामसुङले नै जारी गरेको मूल्यसूची अनुसार यस मोबाइलको होलसेल मूल्य २२ हजार ६० रुपैयाँ हो । अझ यो मूल्यमा २ प्रतिशतसम्म छुट पाउँछन् खुद्रा बिक्रेताले । यसरी बिक्रेताले करिब २१ हजार ६ सय रुपैयाँमै पाउँछन् ।
स्यामसुङले जारी गरेको अधिकतम खुद्रा मूल्य पनि जम्मा २३ हजार ६ सय ९० रुपैयाँ मात्रै हो ।
तर दराजमा भने यसको अधिकतम बिक्री मूल्यलाई बढाएर २६ हजार ९ सय ९० रुपैयाँ बनाइएको छ र त्यसमा हेभी डिस्काउन्टको फन्डा राखेर १६ प्रतिशत छुटको नाटक गरिएको छ ।
बजारमा आफै गएर किन्ने हो भने पनि यस मोबाइल अधिकतम २२ हजार ५ सय रुपैयाँमा पाउन सकिन्छ ।
खासमा डिल वा मेगा डिलको अर्थ वास्तविक बजार मूल्यमा छुट भन्ने अर्थ लाग्छ ।
उदाहरणका लागि एक किलोग्राम आयोडिन नुनको बजार मूल्य अहिले २० रुपैयाँ पर्छ । यदि दराजले मेगा डिल दिएकै हो भने यो नुन १० रुपैयाँ प्रतिकिलोमा पाउनुपर्छ । यो बजारमा सबैभन्दा बढी पाइने र प्रयोग हुने खाद्यवस्तु हो ।
एमआरपी प्रिन्ट हुने र बजारमा धेरै पाइने वस्तुमा दराजको मेगा डिल कहाँ छ ?
दराजले अहिले मेगा डिल र सेल गरेको वस्तु भनेको मूल्यमा व्यापक वृद्धि गराई डिस्काउन्ट दिइएको नाटक मात्रै गरेको हो ।
अहिले दराजमा सेलमा राखिएको अधिकांश वस्तुको मूल्य वास्तविक बजार मूल्यभन्दा धेरै बढी छ । उपभोक्तालाई गुमराहमा राखेर दराजले ठगी मात्रै गरेको यी उदाहरण काफी छन् ।
के भन्छ त दराज ?
यता दराज भने आफूले ठगी गरेको कुरा स्वीकार गर्न तयार छैन । दराजमा मार्केटिङ हेर्ने एक अफिसरका अनुसार दराज आफैले सामान बिक्री गर्ने होइन । दराज प्लेटफर्म मात्रै भएको र आफैले सामान बिक्री नगरेको उनले स्पष्टीकरण दिएकी छिन् ।
आफूहरूले बिक्रेतालाई प्लेटफर्म दिएको र बिक्रेता आफैले सामान राख्ने र बिक्री गर्ने गरेको ती अफिसरले आफ्नो नाम नछाप्ने शर्तमा रातोपाटीलाई बताइन् ।
तर डिस्काउन्टको पोलिसीमा केही गडबढ भएको भने उनले स्वीकार गरिन् ।
मूल्य बढाएर छुट दिएको कुरा हामीले पनि सुनेका छौँ । यदि त्यस्तो भएको हो भने त्यो गलत हो र हामी पनि यसमा छानबिन गरिरहेका छौँ । तर यसमा दराजको कुनै संलग्नता छैन । मूल्य बढाएर डिस्काउन्ट दिने हाम्रो नीति होइन । बजारमूल्यमा डिस्काउन्ट दिइनुपथ्र्यो । यस बारेमा दराजमा छलफल भइरहेको छ र हामी पनि छिट्टै केही निर्णय गर्नेछौँ ।