प्रहरीलाई देखेर जुवाखालमा भागदौड, एकको मृत्यु, ३ घाइते
बुधबार, २८ कात्तिक २०७५, ०९ : ३७
डिआर भट्ट
बैतडी । जात्रामा गएका एक व्यक्ति प्रहरीलाई देखेर भाग्ने क्रममा भिरबाट खसेर मृत्यु भएको छ ।
सिगास गाउँपालिका वडा नं ३ को भूमिराज मन्दिर डुडैमा लागेको जात्रा हेर्न गएका वडा नं ५ का अन्दाजी २० वर्षीय बिरे चुनाराको भिरबाट लडेर मृत्यु भएको हो ।
मेलामा गलत काम भइरहेको छ भन्ने सूचना पाएपछि सिगास प्रहरी चौकीबाट खटिएको टोली पुग्दा राती करिब ११ बजे जुवाखालमा भागदौड मच्चिएको र सो क्रममा चुनाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता कान्तिराज जोशीले जानकारी दिए ।
घटनामा अन्य ३ जना घाइते भएका छन् ।
मन्दिरमा लागेको रतेडी मेलाबाट पाँच सय मिटर पर सो घटना भएको वडा नं ३ का वडा अध्यक्ष सेर सिँह बोहराले जानकारी दिए ।
उनका अनुसार त्यहाँ जुवातास खेल्नेहरुको अखडा रहेको थियो ।